विचार

फेरि पनि युवा नेतृत्वका पक्षमा यो कलम

जेठ ३०, २०७७

    मैले पटकपटक युवाहरूका पक्षमा लेखेको छु। हाम्रो पुस्ताले नेपाल देश र नेपाली जनतालाई दिन सक्ने जति सबै दिई सक्यो। पञ्‍चायती निरंकुशतन्त्रलाई यही पुस्ताले ठेगान लगायो। बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्रलाई विदा गर्ने काम पनि यही पुस्ताले गर्‍यो। यतिमात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको खाँबो पनि यही पुस्ताले गाड्यो।

    संसारमा कतै एउटै पुस्ताले तीन-तीन तहको आन्दोलनको नेतृत्व गर्न सकेको छ? मैले त अहिलेसम्म थाहा पाएको छैन। नेपालमा कुर्सी मोह भन्नुस अथवा नसक्नेले भारी बोकेर थिति बिगारेको भन्नुस् मैले कुनै प्रतिवाद गर्न मिल्दैन।

    हाम्रो पुस्ताले जति ठूलो काम न हिजोको पुस्ताले गरेको न भोलि कसैले गर्न सक्ने वा गर्न पाउने सम्‍भावना छ। किनभने समाजवादको मूलढोकाको संघारमा टेक्नेसम्मको बाटो जनताको बहुदलीय जनवादले खनिसकेको छ। अब नेतृत्व लिने पुस्ताले त्यो बाटो दुई लेनको साँघुरो अथवा आठ लेनको फराकिलो, कस्तो बनाउने भनेर आफैं निर्णय गर्नेछ। हामीले अतिरिक्त अर्ति दिएर तिनलाई भर्मल्याउनु हुँदैन।

    भूगोल र जीवन अन्तिम सत्य हो। जसरी भूगोलमा प्राकृतिक परिवर्तन भइरहेको त्यसरी नै हाम्रो जीवनमा पनि स्वयम् संचालित परिवर्तन भइरहन्छ। बालककालमा हामी सम्पूर्णरूपमा हामी बाबुआमा, दाजुदिदी माथि निर्भर रहन्छौं। किशोरकालदेखि नै हाम्रो शारीरिक मानसिक परिवर्तनमा प्रवेश गर्छौं। आफ्नो बारेमा आफैं निर्णय गर्ने क्षमताको विकास यसै समयदेखि हुन्छ

    युवावस्थामा पुगेपछि हामी सम्प्रभु बन्छौं। गल्ती कमजोरी भए पनि मान्छेले काम गर्ने भनेको समय यही हो र यसको अन्तराल पनि लामो हुन्छ। २५ देखि ५० वर्षको यो उमेरमा ‘अछ्युँ खाएँ, बछ्युँ खाएँ नाथे झुसे बारुलो’ जस्तो हिम्मत हुन्छ। यो उमेर खतरा देख्दैन। यो उमेरले आफ्नो लक्ष्यबाहेक अरू केही देख्दैन। त्यसैले पच्चिसदेखि पचास वर्षसम्मको यो उमेरले सय वर्ष बराबरको काम गरिसकेको हुन्छ।

    पचास नाघेपछि नेपालीको उमेर थाक्न थाल्छ। के थाकिन्थ्यो भनेर गफ गरे पनि त्यो थाक्न शुरु गर्छ। किनभने प्रकृतिले हामीलाई सय वर्षको आयु दिएको भने, आधा जीवन बाँचेपछि त्यही प्रकृतिले हामीलाई आराम बढा, काम घटा भन्न थालिसकेको हुन्छ। यसलाई तिरस्कार गरेर हामीले पचास वर्ष अघिको सौर्य देखाउन थाल्यौं भने साठी नकट्दै हामी समाजका लागि बोझ हुन थालिसकेका हुन्छौं। 

    संसदमा सरिता गिरीले माइती भाषणका कारण लेख्न मिल्ने, नमिल्ने सबैखाले गाली खानु भयो। त्यो गालीले नेपाललाई नयाँ शिक्षा पनि दिएको छ। नेपालको सम्पर्क भाषा नेपाली नै हुनुपर्छ। पूर्वको राजवंशीदेखि सुदुर पश्चिमको थारू भाषा पनि बुझ्नेहरूका लागि सम्पर्क भाषा हुन सक्छ। तपाईंहरूले हिन्दी भाषालाई तामदानमै बोकाएर सिंहदरबार ल्याउनु भयो भने पनि त्यो नेपालको भाषा हुन सक्दैन।

    अरुहरूको कुरा गर्दिन म, मैले देखेको र भोगेको कुरो मात्रै उठाउँछु। किनभने बुढा स्टालिनको सर्बहारा अधिनायकत्व, माओत्सेतुङको साँस्कृतिक क्रान्ति बुढौतीका गम्भिर गल्ती थिए। यो सबै मार्क्सवादीहरूलाई थाहा भएकै विषय हो। नेपालमा पनि साठी वर्ष नाघेका नेताहरूले अब त थाक्न थालिएछ भनेर दिक्दारी सुनाउने मैले आफ्नै पार्टीमा समेत भेटेको छु।

    त्यस्ता साथीहरूसँग कम्तिमा पनि तीस वर्ष काँधमा काँध मिलाएर काम गरेको छु। पछिल्लो समयमा कसैलाई सुगर भइसकेको  छ। रक्तचाप त सबैको साझा विमार हुने भइहाल्यो। विमारी भए पनि म कमजोर छैन भन्न पाइन्छ।

    हाम्रा प्रधानमन्त्री उदाहरण हुनुहुन्छ। कतिखेर अस्पताल जानुपर्छ, कतिखेर सुत्ने कोठामै अक्सिजनको क्याप्सुल ल्याएर राख्नुपर्छ उहाँलाई थाहा छैन। राष्ट्रिय अडान लिनु हुन्छ, काम पनि सकिनसकी गरिरहनु भएकै छ।

    उहाँका समकालीन साथी राधाकृष्ण मैनालीले उहाँलाई ‘साह्रै ज्याद्रो मान्छे’ भनेर प्रष्ट चिनारी पनि दिनु भएकै छ। यसैले म उहाँको आत्मबलको सम्मान गर्छु र उहाँले राजीनामा गर्नुपर्छ स्याल हुइंया गर्दिन। विमार हुँदाहुँदै पनि उहाँले त्यस्ता राम्रा कामहरू गर्नु भएको छ, जो कुनै पनि प्रधानमन्त्रीले गर्न सकेका थिएनन्। त्यसैले अब उहाँका समकालिनहरूले चाहिं प्रधानमन्त्री पदको लोभ गर्नु भनेको नेपाललाई उल्टो दिशामा हिँडाउनु मात्र हो।

    केपी. ओली अपवाद हो। सबै प्रधानमन्त्रीले यसरी काम गर्न सक्दैनन्। एकैचोटी भारत, प्रतिपक्ष, घरानिया संचार, कोठे पत्रकार मात्र होइन, आफ्नै पार्टी भित्र चलखेल गर्ने भुरा माछाहरूको टोकाइले पनि उहाँलाई सास्ती दिन छाडेको छैन। तर पनि उभिई रहनु भएको छ। काम गरिरहनु भएको छ। तर यो उभ्याइका लागि म उहाँलाई ‘जय नेपाल प्रधानमन्त्रीज्यु’ भन्ने पक्षमा छैन।

    उहाँले केन्द्रीय सल्लाहकार कमिटीको प्रमुख भएर आफुले बनाएका योजना अघि बढाउने साठी वर्ष पुग्ने तरखरतिर लागेको, जनताको बहुदलीय जनवाद बुझेको, अध्ययनशील व्यक्तिलाई जिम्मेदारी सुम्पनु भएन भने उहाँ पनि मार्क्सवादी होइन, स्टालिनवादी कम्युनिस्ट हुनुहुनेछ। स्टालिनवादले समाजलाई कुनै हिसाबमा पनि समाजवादतिर जान दिँदैन। त्यसले लाने भनेको विघटन, भोकमरी, पतनतिर हो।

    अहिले साठी नाघेका नेताहरू पञ्‍चायती संस्कारमा लामो समय बिताएका मानिस हुन्। तिनको राजनीतिक गन्तव्‍य बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र नै थियो। हामी कम्युनिस्टहरू बुझेर होइन, सिद्धान्तको भारीले थिचिएर गणतन्त्र भन्थ्यौं। कुनचाहिं पार्टीले संघीयताको कुरो संविधानमा हाल्यो मलाई थाहा छैन। मलाई मात्र होइन, उतिबेला संघीयताको प्रस्ताव ल्याउनेलाई पनि थाहा होइन।

    समस्याको समाधान गर्ने बुढा नेताहरूबाट हुँदैन। अन्तर्राष्ट्रिय हिसाबमा हेरे पनि हुन्छ। यतिबेला बुढाहरूबाट सताइएका दुई शक्तिराष्ट्र यतिबेला कस्तो बिजोग दिन कटानी गरिरहेका छन् भन्ने जीवित उदाहरण हुन् अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी।

    यस्तो दुर्गती नहोस् नेपालमा। त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पंचायतदेखि अहिलेसम्म राजनीतिक जागिर खाएका सबै नेताहरू, नेपाली कांग्रेसका पनि साठी नाघेका सबै नेताहरू र नेपाल कम्युनिस्ट पार्टीका साठी नाघेका सबै नेताले पार्टी या सरकारको कार्यकारी पदमा बस्ने लोभ गर्ने हो नेपाल कतातिर पुग्ने यतिबेला कोही भन्न सक्दैन। नेपाली जात अलि अनौठो छ। त्यो पढेर जान्दैन, परेर मात्रै जान्दछ। अहिले यो भनाई संझिनुको पनि एउटा कारण छ।

    संसदमा सरिता गिरीले माइती भाषणका कारण लेख्न मिल्ने, नमिल्ने सबैखाले गाली खानु भयो। त्यो गालीले नेपाललाई नयाँ शिक्षा पनि दिएको छ। नेपालको सम्पर्क भाषा नेपाली नै हुनुपर्छ। पूर्वको राजवंशीदेखि सुदुर पश्चिमको थारु भाषा पनि बुझ्नेहरूका लागि सम्पर्क भाषा हुन सक्छ। तपाईंहरूले हिन्दी भाषालाई तामदानमै बोकाएर सिंहदरबार ल्याउनु भयो भने पनि त्यो नेपालको भाषा हुन सक्दैन।

    इण्डियाकै कतिपय प्रदेशमा हिन्दी भाषा सम्पर्क भाषा हुन सकेको छैन। त्यस्ता राज्यहरूमा रैथाने भाषा, दोश्रोमा अंग्रेजी पछि तेस्रो भाषाका रुपमा हिन्दी लेखिन्छ, बोलिन्छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]