विचार

भुत्ते कर्मचारी प्रशासनलाई पाइनको खाँचो

आफ्नै क्षमता बुद्धि र आफैंमा आँट चाहिन्छ

असार १४, २०७७

    बूढो बाघ र स्याल तन्‍नेरी भन्‍ने नेपाली उखान छ। अर्थात् बाघ बूढो हुँदैमा स्यालभन्दा कमजोर हुने होइन भन्‍ने अर्थमा यसलाई लिइन्छ। यो उखानसँगै आज मलाई मुलुकी प्रशासनको बागडोर सम्हाल्ने कर्मचारीतन्त्रका तमाम क्रियाशील सत्‍पात्रलाई सलाम गर्दै अझ बढ्न उत्प्रेरित गर्ने इच्छा जागृत भयो।

    ठीक, यसै बखत कर्मचारीतन्त्रभित्र रहेर यसको इतिश्री नै ध्वस्त पार्न उद्यत केही सीमित संख्याका पात्रहरूलाई सच्चिन खबरदारी गर्न मन लाग्यो। अनुमति पाऊँ।

    मेरो जन्मघर धादिङको रमणीय पहाड केवलपुर हो। एकदिन स्कुल जानु नपरेका बेला आमाले घर नजिकैको रुखको हाँगा काट्न खुर्पा दिनुभयो। म रुख चढें। खुर्पाले रुखको एक दुईवटा हांगा काट्न खोजेँ। तर, पटक्कै काटिएन। खुर्पा रुखको हाँगामा बज्रिएर मैरै अनुहारतिर फर्किन थाल्यो। आमालाई भनेँ, 'यो खुर्पाले काट्दैन?' आमाले भन्‍नुभयो, 'त्यो खुर्पा भुत्ते भयो, त्यसले घ्यु काट्ला, आरनमा गएर अर्जापेर ल्याउनु।'

    ​म कान्छो दाइको आरनमा गएँ। कान्छो दाइले हाम्रो खुर्पालाई कोइलाको आगोमा हाले। आगो दन्काए। खुर्पालाई रातो बनाए। एउटा फलामको खामोमा राखेर अर्को घनले मज्जाले ठटाए। रेती लगाए। पानीमा चोपले। खुर्पाको धारमा औँलाले छामे, 'अब यो खुर्पा धारिलो भयो' भनेर दिए।

    आज मलाई नेपालको कर्मचारीतन्त्र देखेर पुरानो घटना याद आयो। मेरो आमाले उस बखत खुर्पा भुत्ते भयो भन्नुभएको थियो। आज म कतै नेपाली कर्मचारीतन्त्र भुत्ते भएको हो कि भनी सोचमग्न भएको छु। गाउँमा, मेरो आमाले त्यो भुत्ते खुर्पालाई आरनमा पाइन हाल्न पठाउनु भएको थियो। आज म शहरमा, नेपालको कर्मचारीतन्त्रलाई तिखार्ने ठाउँको खोजीमा छु। 

    सचिवले निर्णय गर्दा गैरकानुनी हुने तर, मन्त्रिपरिषदले निर्णय गरे कानूनसम्मत हुन्छ भनी सल्लाह दिने सचिवहरूले नै कर्मचारीतन्त्रको हुर्मत लिएका छन्।

    प्रस्तुत सन्दर्भमा, एउटा मननीय कुरा, आफूले आफैंलाई साँध लाउन निकै सजिलो हुन्छ। यसका निमित्त नेपालको कर्मचारीतन्त्र स्व-अध्ययनको लागि तयार हुनुपर्छ। कर्मचारीतन्त्रलाई धारिलो बनाउने एउटा आरन ज्ञान र सीप हो भने अर्को सदाचार। उच्च नैतिकतामा बसेको कर्मचारी अर्काको नजरमा धारिलो देखिन्छ।

    तलब र कानुनी सुविधाबाहेक अन्य कुराको अपेक्षा नगरेपछि सरुवा सामान्य हुन्छ। नेपालका अधिकांश कर्मचारीलाई सरुवाको पुर्जी थमाउने बित्तिकै ती नुन खाएको कुखुरासरह लत्र्याकलुत्रुक्कै परिहाल्छन् भन्‍ने बुझाइ बनेको छ। यो कुरामा विश्वास गर्ने मन्त्रीले कर्मचारीतन्त्रलाई उठबस गराउने दुष्प्रयास गर्ने नै भए। यस विषयमा खरो उत्रिन नसक्ने कर्मचारीतन्त्र स्वयंमा 'एस म्यान' अर्थात् 'हुन्छ प्रसाद' वा 'हुन्छ बहादुर' मा परिणत भएर भुत्ते हुने नै भयो।

    समय व्यवस्थापन र सम्बन्ध 

    कुरो सुन्दा सत्य युगको जस्तो लाग्छ, इमान र धर्म नै कर्मचारीतन्त्रको बल हो। हरेक कर्मचारीले आफूलाई तोकिएको काम निष्ठापूर्वक गर्नेबित्तिकै स्वतः कर्मचारीतन्त्र धारिलो देखिन्छ। हाल यो भुत्ते देखिएको कामै नगरेर हो। कर्मचारीलाई लाग्दो हो,' दश नबज्दै अड्डा पुगेको छु, पाँच नबजी घर फर्किएको छैन, योभन्दा कति बढी काम गरौं?'

    यस स्थितिमा एउटा मन्त्रालयको सचिवको दैनिकी प्रस्तुत गर्दछु। हरेक सचिवले औसतमा दिनको २० वटा फोन उठाउँछन्। औसत प्रत्येक फोनको समय ३ मिनेट भए पनि ती सचिवको १ घण्टा फोनमै बित्छ। प्रत्येक सचिवको पटक-पटक गरी सरदर दिनको १ घण्टा मन्त्रीको कार्यकक्षमा बित्छ। करिब दिनको आधा घण्टा आगन्तुकसँगको भेटघाटमा खर्चनुपर्दछ। दैनिक करिब आधा घण्टा सचिवलाई आफ्नै कर्मचारीले घेर्छन्। चिया र खाजामा ती सचिवको अर्को आधा घण्टा जान्छ। बाँकी दिनको १ घण्टा मिटिङमा बित्छ। यसैबीच सञ्चारकर्मीलाई अन्तर्वार्ता दिने, गोष्ठीमा भाग लिने, प्रमुख अतिथि हुने, चाडपर्वमा बिदा लिने, विदेश जाने, स्वदेशमा अनुगमन गर्नेजस्ता समयको गणना गर्दा काम गर्ने समय देखिँदैन। जसका कारण काम नगरेपछि भुत्ते हुनु प्राकृतिक न्यायको सिद्धान्त अनुकूल नै छ।

    अब प्रश्‍न उठ्छ : यस्तो अवस्थाबाट आफूलाई कसरी चुस्त र दुरुस्त राख्‍ने? पहिलो कुरा, काम गर्ने समय निकाल्ने, अनुत्पादक रूपमा खर्च भइरहेको समय बचत गर्ने नै हो। दोस्रो, बिहानै कार्यालय आएर काम गर्ने र साँझ अबेरसम्म कार्यालयमै रहने, भत्ता नलिने, ओभरटाइम गर्नुपर्छ। तेस्रो, घरलाई नै अड्डा बनाउनुपर्छ, जसअनुसार कार्यालयको काममा आफ्नो पूरा समय दिनुपर्छ। यसरी आफ्नो निकायसम्बन्धी सबै विषयमा लेख्न, बोल्न, वादविवाद गर्न, तर्क गर्न, मिहिनेत गर्न र अर्काको नजरमा क्षमताशील छ भन्‍ने भाव पैदा गराउन सक्नु नै चुस्तताको संकेत हो।

    कर्मचारीतन्त्रलाई नेताले मान्‍ने नै उनको कामका लागि हो। कर्मचारीको मुखैमा हुने तथ्य-तथ्यांकले उनको पहिचान बनाउँछ। सम्बन्धित विषयमा परिपूर्ण भएपछि आफूले गरेका तर्क, निर्णय वा सुझावलाई बल पुग्नेगरी बोल्न सकिन्छ। यसका निम्ति पुनः अध्ययनशील हुनुपर्छ। दौँतरीले लेख लेखेमा खिसीटयूरी गर्ने, कसैले बोलेमा 'उहाँ नेता पल्टिन खोज्नुभयो' भन्‍ने र दौँतरीले माथिल्लो पदाधिकारीसँग बुँदागत तर्क वितर्क गरेमा 'उहाँ अति जान्‍ने सुन्‍ने (अजासु) हुनुहुन्छ' भन्‍ने? अर्थात्, आफू सधैँ भुत्ते भइरहन रमाउने कर्मचारीतन्त्रमा 'भीरमा लड्न लागेको गाईलाई रामराम भन्‍नुको विकल्प छैन, काँध थाप्‍न सकिन्‍न' भन्‍ने नेपाली उखान चरितार्थ भइरहेको छ। यसर्थ कर्मचारीतन्त्रले आफूमा ज्ञान, बुद्धि, क्षमताको विकास गरी आफुलाई धारिलो अर्थात् चुस्त र दुरुस्त बनाई राख्नुपर्छ।

    व्यवस्थापकीय कुशलता

    कर्मचारीतन्त्रको क्षमता भनेकै व्यवस्थापकीय कुशलता हो। कुनै पनि काम खोट रहित ढंगले सम्पादन गर्नुपर्छ। एउटा उदाहरण : बजेट निर्माणको समय छ भने आफू कार्यरत मन्त्रालयले गरिआएको कार्यक्रम के हो? धेरै पहिलेदेखि चर्चामा रहेका विषयहरू के के हुन्? विश्वव्यापीरूपमा कस्तो अभ्यास भई आएको छ? यस क्षेत्रमा सिर्जनशील सोच भएका कार्यक्रम के के हुन सक्छन्? भनी प्रोजेक्ट बैंक बनाउनुपर्छ। प्रत्येक सम्‍भावित कार्यक्रमको सानो भए पनि पूर्व-सम्‍भाव्यता अध्ययन गराउनुपर्छ। प्रत्येक प्रस्तावित कार्यक्रमको अवधारणापत्र निर्माण गर्नुपर्छ। आफूले अघि सार्न खोजेका कार्यक्रमको वार्षिक कार्ययोजना तर्जुमा गर्नुपर्छ। प्रत्येक प्रस्तावित योजनामा सोधिन सक्ने सम्भावित एक दर्जन प्रश्न र तिनका उत्तर तयार गर्नुपर्छ। यत्ति गृहकार्य गरेपछि सचिवसँग प्रभावित नहुने कुन मन्त्री होलान्?

    आफू माखो नमार्ने, उल्टै मन्त्री चिन्तनशील हुने, मन्त्री नै बजेट लगायतको कामका लागि भिड्दै हिँड्ने भएपछि सचिव 'ट्वाँ' पर्ने नै भए। यस अवस्थामा मन्त्रीले सचिवलाई नहेपेर कसलाई हेप्ने? ठन्डा दिमागले सोचौं, भुत्ते भएको, खिया लागेको, स्वयं नकाम भएरै हो। काममा स्वतस्फूर्त क्रियाशील हुनेबित्तिकै पाइन लागेको धारिलो हतियारका रुपमा कर्मचारीतन्त्र अनुभूत हुनेछ।

    लत्रिने र उफ्रिने होइन विधिको शासन

    कर्मचारीतन्त्र विधिको शासनमा अडिग हुनुपर्छ। कानुनले उपसचिवसम्मको सरुवा गर्ने अधिकार सचिवमा छ, यसमा मन्त्रीसँग सोधपुछ गर्ने दरकार नै पर्दैन। आफैँले सरुवा गर्ने भएपछि पो उपसचिवले सचिवलाई टेर्छन्। मन्त्रीको आदेशपछि उपसचिवको सरुवा हुने भएपछि ती उपसचिवले स्वतः मन्त्रीलाई नमस्कार गर्ने नै भए।

    बजेट खर्च गर्ने सचिले हो, मन्त्रीले होआफ्नो निकायका लागि चाहिने वस्तु र सेवा खरिद गर्ने कर्मचारीतन्त्रले होयस्तो अधिकार कानुनले सामान्यतः मन्त्रीलगायत राजनीतिक नियुक्तिलाई दिएको छैनकर्मचारीतन्त्र आफैँ डराएर खरिदको निर्णय मन्त्रिपरिषदमा लैजाने, मन्त्रीका आसेपासेसँग सल्लाह गर्ने मन्त्रीबाट टिप्पणी सदर गराउने भएपछि कर्मचारीतन्त्रको डरपोकपना छताछुल्ल हुने नै भयो

    सचिव लगायतका कर्मचारीले कहिले पनि आफूलाई मन्त्री लगायतले तौलने अवसर दिनु हुँदैन। उसै त कर्मचारीतन्त्रलाई कमजोर ठानिन्छ, त्यसैमा 'त्वम शरणम' भएपछि यसको बचेखुचेका साख पनि सिद्धिने नै भयो। यसर्थ, किन्‍न मिल्ने वस्तु आफैँले किन्‍ने निर्णय गर्नुपर्छ। किन्‍न नमिल्ने विषय मन्त्रीले टिप्पणी सदर गरे पनि हुँदैन भन्‍नुपर्छ।

    सचिवले निर्णय गर्दा गैरकानुनी हुने तर, मन्त्रिपरिषदले निर्णय गरे कानूनसम्मत हुन्छ भनी सल्लाह दिने सचिवहरूले नै कर्मचारीतन्त्रको हुर्मत लिएका छन्। सरकारको शाखा अधिकृतले कानुनको किताब पल्टाउँदा गर्न नहुने ठहर गरेको काम मन्त्रिपरिषद्ले पनि गर्न सक्दैन।

    साथै खरिदको निर्णय आफू गर्ने तर, आफूभन्दा माथिल्ला पदाधिकारीले यो खरिद प्रक्रिया ठीक छ भनिदिनु पर्ने ढंगले कर्मचारीतन्त्र चल्नु भनेको क्रमशः यसको शक्ति क्षयीकरण हुँदै जानुको संकेत हो। गरेका कामको पारदर्शिता कर्मचारीतन्त्र आफैँले बहन गर्नुपर्छ। यसमा मन्त्रीलाई देखाउन मिल्दैन।

    कतिपय सचिव, महानिर्देशक, प्रमुख जिल्ला अधिकारी लगायतले आम सर्वसाधारणसँग कुराकानी गरेको देखेको छु। ती बोल्दा सामान्यतः हाँस्दैनन्‌। अनुहारमा अनुहार मिलाएर कुरा गर्दैनन्। आफू व्यस्त भएको देखाउन फोनमा झुण्डिइरहन्छन्‌। प्रत्येक वाक्यमा झर्कोफर्को गर्छन्। 'मलाई के ठान्नु भएको छ, मन्त्रीसन्त्री जान्दिनँ' भनी मौकामा भन्‍न पनि चुक्दैनन्। कानुनविपरीत डेग नचल्ने बताउन बिर्सिँदैनन्। 'म कहिल्यै भ्रष्टाचारमा सहभागी भइनँ' भनी दम्भ गर्छन्। 'मलाई नातावाद कृपावादमा पटक्कै विश्वास छैन' भन्‍न पनि भ्याउँछन्। 'मलाई लरतरो नठान्‍नोस्, मैले चाहे जे पनि गर्न सक्छु' पनि भन्छन्। तर, आम सर्वसाधारणले जे अनुरोध गरे पनि 'हुँदैनु'भन्‍ने रेडिमेड जवाफ दिन्छन्। मानिससँगको कुरा नसकिँदै बिना टुंगो ती बाहिरिन्छन्।

    आखिर कर्मचारीतन्त्र किन यस्तो भयो? कसरी सुधार गर्न सकिन्छ भनी घोत्लिनु परेको छ।

    सुधारका आठ मन्त्र

    पहिलो, मुख्यसचिवले सबै सचिवलाई आड-भरोसा दिनुपर्छ। मन्त्रालयका हरेक समस्यामा समाधानको पात्र मुख्यसचिव हुनुपर्छ। तिनले मन्त्रीलाई प्रधानमन्त्रीको अगाडि उभ्याउने र प्रधानमन्त्रीलाई कानुनविपरीत काम गर्नु हुँदैन भनी 'कन्भिन्स' गर्ने हैसियत राख्नु सक्नुपर्छ।

    दोस्रो, सचिवहरूले आफ्ना मातहत रहेका कर्मचारीमा विश्वासको वातावरण बनाउनुपर्छ। 'मान्छे खेद्नु अघि लागेर' भनेझैं स्वयं सचिवले कम्तीमा १२-१५ घण्टा खट्ने र सम्बन्धित विषयमा निपूर्ण हुन घरमा रात बिहान विद्यार्थीझैँ भएर विषय पढ्नुपर्छ।

    तेस्रो, पहिलेका प्रशासकहरूसँग हरेक विषयमा टेलिफोनबाट सरसल्लाह लिने बानीको विकास गर्नुपर्छ। 'ओल्ड इज गोल्ड' भनिन्छ। बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएको बूढो प्रशासकले समस्या समाधानको जुक्ति बताइदिन्छ।

    चौथो, विभागका महानिर्देशकहरूले पनि सचिवसँग निकटतम सम्बन्धमा रहेर काम गर्नुपर्छ। रात बिहान महानिर्देशकको फोन उठाउन सचिव पनि उत्सुक हुनु राम्रो। एउटै समयमा मन्त्री र महानिर्देशकको मिसकल देखिएमा सचिवले पहिला महानिर्देशकलाई कलब्‍याक गर्नुपर्छ। उनको कुरा सुनेर मन्त्रीसँग बहस छलफल गर्ने गरे राम्रो। महानिर्देशकले पनि विभागमा सबैसँग विश्वसनीयता कायम राख्नेगरी काम गर्नुपर्छ।

    पाँचौं, प्रमुख जिल्ला अधिकारीहरूले जिल्लास्तरीय सबै कार्यालयको अविभावकत्व लिनुपर्छ। सिडियो भनेको सिडियो नै हो, मन्त्रीसँग तर्क, तथ्य र वस्तुस्थितिमा आधारित भई कुराकानी गरी नहुने काम गरिन्‍न भन्‍ने र भद्रता कायम राख्नुपर्छ।

    छैठौं, प्रदेशका प्रमुख सचिव र सचिवले कर्मचारीतन्त्रको पहिचान निर्माण हुनेगरी डटेर काम गर्नुपर्छ। सातवटा प्रदेशको कार्यशैलीमा एकरूपता ल्याउने, एउटा प्रदेशमा देखिएको समस्यामा सबै मिलेर समाधान निकाल्ने र असल अभ्यासहरू अनुशरण गर्नुपर्छ। हाल सतहमा आएको मुद्दा, यी प्रमुख सचिव र सचिव संघीय सरकारले नियुक्ति गर्ने कि प्रदेश सरकारले भन्‍ने छ? 'जसले नियुक्ति गरे पनि हामीलाई फरक पर्दैन' भन्‍ने भाषा मुख्यमन्त्रीको मुखबाट फुत्काउन सक्नु कर्मचारीतन्त्रको दिग्विजयको संकेत हो।

    कर्मचारीतन्त्र स्वयंमा भुत्ते छैन। यसलाई कसैले भुत्ते बनाएको पनि होइन। केही कु-पात्रहरू स्वयं भुत्ते हुन खोज्दा यो आलेख तयार भएको हो। चेतना भया! कुनै पनि कर्मचारीलाई स्वयं भुत्ते हुने छुट छैन।

    सातौं, केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरीय कार्यालयका प्रमुखहरू पनि कार्यक्षेत्रमा खरो उत्रिनुपर्छ। हाल सेवा प्रवाहमा देखिएको असन्तोष, दलालीको बिगबिगी, दुईचार हजारको नगद घुसमा रंगेहात पक्राउ जस्ता घटनाले कर्मचारीतन्त्रको बचेखुचेको शाख पनि माटोमा मिल्न पुगेको छ। यसमा कि कार्यालय प्रमुख स्वयं नै लोभी-पापी भए, कि उनको नेतृत्व सीप र नियन्त्रण गर्ने हैसियत दुर्बल भयो भन्‍ने संकेत मिल्छ। यसर्थ, हरेक कार्यालय प्रमुख दह्रो हुनैपर्छ। उनी सच्चिनुको विकल्प छैन।

    आठौं, ७५३ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले पनि थिर भएर जागिर खानुपर्छ। म पालिकामा सरुवा भएकाले बितेँ, सकिएँ भनेर रातोदिन पालिकाका जनप्रतिनिधिसँग रुने काम गर्नुहुँदैन। यस्ता पिन्चे कर्मचारीतन्त्रकै कारण मन्त्री, सांसद, जनप्रतिनिधिमा कर्मचारीलाई हेप्ने मनोबल उच्च भएको हो। जसको सन्देश कर्मचारीतन्त्र देखिनेगरी लत्रिनु हुँदैन भन्‍ने नै हो।

    …..र अन्त्यमा

    यसर्थ, कुरोको सार भनेको कर्मचारीतन्त्र यत्ति धैरै दबिनुपर्ने, भुत्ते हुनुपर्ने होइन। यो मुलुककै जेहेन्दारहरूको प्रतिनिधित्व गर्ने संयन्त्र हो। मेरो पालामा म स्कुल र कलेजको उत्कृष्ट विद्यार्थी थिएँ। जसकारण लोकसेवा आयोगको परीक्षा उत्तिर्ण भई शाखा अधिकृत हुँदै सचिव पदमा पुगेर अवकाश प्राप्त भएको छु। विद्यार्थी कालमा म भन्दा पछि परेकाहरू राजनीति लगायतको पेशामा गए।

    कर्मचारीतन्त्रका सबै सदस्यको सबल पक्ष यही हो। यसरी, कर्मचारीतन्त्र स्वयंमा भुत्ते छैन। यसलाई कसैले भुत्ते बनाएको पनि होइन। केही कु-पात्रहरू स्वयं भुत्ते हुन खोज्दा यो आलेख तयार भएको हो। चेतना भया! कुनै पनि कर्मचारीलाई स्वयं भुत्ते हुने छुट छैन।

कृष्णहरि बाँस्कोटा

सूचना आयोगका पूर्व-अध्यक्ष बाँस्कोटा सरकारका पूर्वसचिव पनि हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]