विचार

उठ्न नसकेको म्यानहाटन र आफन्तबाटै आतंकित मानिसहरू

न्यूयोर्कले यस्तो संकट कल्पना पनि गरेको थिएन

असार १३, २०७७

    विश्वकै कोरोना भाइरसको इपिसेन्टर भनिएको न्यूयोर्कको मुख्य वाणिज्य केन्द्र म्यानहाटन महिनौंदेखि सुतेको छ। भाइरसले थला परेको विश्वकै व्यापारिक राजधानी म्यानहाटन बिस्तारै उठ्न खोज्दै थियो। जर्ज फ्लोयडको हत्यापछि उत्रेको जुलुसले संक्रमण बढन थालेपछि फेरि सुतेको छ। रंगभेदविरुद्ध उठेको आन्दोलनको मौका छोपी केही लुटेरा समुहले  व्यापारिक केन्द्रहरुमा मच्चाएको लुटपाटले पनि म्यानहाटन डराएको छ।

    त्यो समयमा विश्वको सारा शक्ति केन्द्रित शहरका सुरक्षाकर्मीहरु मूकदर्शक देखिए। त्यतिबेला तोडफोड भएका गगनचुम्बी भवन तथा व्यापारिक प्रतिष्ठानहरु अहिले प्लाइउडले टालेर राखिएका छन। यति बेलाको यो दृष्यले  मनै दुखाएको छ । हिजो चौबीसै घण्टा नसुत्ने शहर आज सुनसान छ।

    विश्‍वास गुमाएको टाइम स्‍क्‍वायर

    अमेरिका छिरेको ठीक चार महिनापछि गत साता म्यानहाटन गएको थिएँ। खुट्टो राख्ने ठाउँ नपाइने म्यानहाटनमा जताततै खाली र सुनसान थियो। चोक चोकमा सुरक्षाकर्मी त थिए तर ती निदाएका जस्ता उदास देखिन्थे । सडकमा असभ्य लाग्ने र बेसोमतिला मान्छेहरु धेरै थिए। उनीहरु नयाँ मानिस देख्न साथ अँगालो खोलेर बाटो छेक्न आउँथे। हामी उनीहरुदेखि डराएर पर पर हुँदै अर्को दिशा तिर भाग्न खोज्थ्यौँ।  यो समस्या  हरेक चोक चोकहरुमा भोग्नु परेको थियो। 

    पहिले पहिले मानिसको भिड हुने टाइम स्‍क्‍वायर यतिबेला खाली खाली छ भन्दा पनि हुन्छ । तिनै खराब मानिसहरु त्यहाँ पनि हात खोल्दै अगाडि उभिन्थे। फोटो खिचिदिन्छु  भनेर क्यामेरा माग्थे। छेउमा बसेको प्रहरीले कसैको विश्वास नगर यिनीहरुले तिम्रो  मोवाइल वा क्यामेरा लिएर भाग्न सक्छन भन्दै सचेत गराउँथे। टाइम स्‍क्‍वायरले यसरी विश्वास गुमाएको थियो।

    वरिपरिका गगनचुम्बी भवनका भित्ताबाट विज्ञापनका स्लाइडहरु झिलिकमिलिक गरिरहेका थिए तर तिनीहरुमा कुनै रौनक थिएन। प्रेमिलहरुको रोजाइमा रहेको प्रेम प्रतीक फ्लोयडको आन्दोलनले हटाइदिएछ। त्यहाँ त एउटा कालो मानिसको सालिक ठडिएछ। अब आउने प्रेमी प्रेमिकाले प्रेमको प्रतीक धुइँपत्ताल लगाएर खोजे पनि त्यहाँ भेट्ने छैनन। म पनि त्यहाँ ठडिएको कालो सालिक ठडिएको  दृष्यले निकै बेर अलमलमा परेको थिए । त्यो देख्दा टाइम स्‍क्‍वायर नै होईन कि जस्तो पनि लाग्यो।

    विज्ञापनका डिजिटल बोर्ड र मासु पोलेर बेच्नेहरूको ठेलाहरूले पहिचान जोगाएका थिए। ग्राहक आउँछन् कि भनेर ढुकिरहेका ती ठेलावालाहरुले  मासु थिचथाच पारेर , मसलाको धुलो र कागतीको रस चुहाएर खुवाउने गर्थे। त्यतिबेला उनीहरुको हात खाली हुँदैनथ्यो। अहिले त्यहाँ ढुकेर बस्ने  दुई तीनवटा थिए। तर तिनीहरुको अगाडि कुनै ग्राहक थिएनन्।

    पानी पुरीको ठेला वाला पनि ग्राहक विहीन थियो। पहिले बाहिरको हल्लाले नसुनिएको भूमिगत रेलको आवाज यसपाली कर्कश लाग्दो सुनियो। पार्किङको कुनै समस्या थिएन। जता जता मन लाग्छ उतै पाइन्थ्यो। ठाउँ सारी सारी पार्किङ गरियो र स्वतन्त्रपूर्वक मनलाग्दी हिँडियो। म्यानहाटनका चोक चोक घुमेर यसरी कहिल्यै हेरिएको थिएन। गगनचुम्बी भवनहरुका छानाबाट देखिने निलो आकाश पनि निकै टाढा पुगे जस्तो लागेको थियो।

    भुइँमै सुते पनि हुने खालका सडक पेटीहरू यसपाली निकै फोहोर थिए। जताततै कागज र प्लास्टिक उडिरहेको थियो। टिपेर डस्टबिनमा राख्ने कोही थिएन।  हड्सन र इस्ट रिभर आफ्नै गतिमा बगिरहेका थिए। त्यताबाट  आउने चिसो हावाले गालामा हानिरहे पनि समर सिजनको कारणले होला निकै प्रिय लागेको थियो।   

    चार महिना अगाडि एक घण्टा लगाएर पार गरेको सडक पाँच मिनट पनि लागेन होला। त्यतिबेला ट्राफिक जामले गर्दा एउटा मोटरले अर्कोलाई धकेले झैं चलाउनु पर्दथ्यो। यसपाली सडकमा सरसर स्पीड दिन पाउँदाको मज्जा एकातिर थियो भने भुतबंगलाहरुको बीचमा गाडी गुडाउँदा कतै केही हुने त होइन भन्ने आशंका अर्कोतिर थियो। गाडी हल्याण्ड टनेल भित्र नछिरुञ्जेल कस्तो कस्तो लागिरहेको थियो।

    म्यानहाटनको घुमेर हामी सेन्ट्रल पार्कतिर लाग्यौँ। पार्क भरि मानिसहरु थिए। घर भित्र बस्दा बस्दा पाकेका र थाकेका तिनीहरुमा कुनै उत्साह थिएन। निरस अनुहारहरू लिएर सानो सानो समुहमा बसेका  थिए। आफुले ल्याएका चकटी म्याट ओछ्याएर अमिलो मन फुकाएका थिए। बीच बीचमा टिफिन बक्स खोलेर केही न केही चपाइरहेका थिए। हाँसो ठट्टा नाचगान केही थिएन। प्रेमी प्रेमिकाहरु समेत अँगालो मारेर प्रेम ब्यक्त गर्न डराएका थिए। मानिससँग मानिस यसरी डराएको मेरो भने यो पहिलो अनुभूति हो।

    सेन्ट्रल पार्कमा घुम्दा एउटा दृष्यले आँखा छोप्यो। न्युयोर्कका अस्पतालहरुमा कोरोना भाइरसका बिरामी नअटाए पछि पार्कहरु पनि प्रयोग भएका थिए। पार्कमा पाल टाँगेर आइसोलेशन कक्षहरु पनि संचालन गरिएको थियो। यो पार्क पनि यस सेवाबाट मुक्त भएको थिएन।

    कुनै कुनै दिन तीन चार हजार भन्दा बढीले ज्यान गुमाएको शहरमा अहिले केही कमी भए पनि  संक्रमितहरुको संख्या कम भएको छैन । पार्कको बेन्चमा बस्नेहरु पनि निकै सतर्क देखिन्थे। संगै गएका साथीहरु थोरै भए पनि दूरी कायम गरेर बसका थिए। पार्कको फलामे मेच र बेन्चमा कोही सेको देखिएन। सोचेँ, उनीहरुले कोरोनाको डर बोकेरै आएका रहेछन्।

    केहीदिन यता ३३ करोड अमेरिकीहरुमा भाइरसका संक्रमितहरु सरदर दिनको  बीस हजारको हाराहारीमा भेटिएका छन्। यसको तुलनामा तीन सयदेखि एक हजारसम्मले ज्यान गुमाउने क्रम यथावत छ। यसमा न्यूयोर्कको संख्या नगन्य भइसकेको छ। तर पनि मानिसहरुमा त्रास हटेको छैन।

    यो हप्ता विश्वको संक्रमित संख्या सरदर दुई लाख देखिए पनि मृत्यु दर भने सरदर चार हजारको हाराहारीमा रहेको छ। यसरी मृत्यु हुनेको संख्या घटेको भए पनि मानिसहरु भयभीत छन्।

    कोरोना भाइरससँग लडन सक्ने क्षमता विकास भैसकेकोले हो कि घरेलु औषधिहरूको प्रभावले हो कोरोना भाइरस  मानिससँग हार्दै गएको तथ्यले देखाएको छ। तथ्यहरूले जे देखाए पनि मानिसहरुमा कोरोना भाइरसले उत्पन्न गरेको त्रास भने यथावत छ।

    सेन्ट्रल पार्क घुम्दा लाग्यो, चट्टानहरूको भण्डारमा बसेका हामीहरुले नेपालमा चट्टानकै मात्र पार्क बनाउन सके कस्तो हुन्थ्यो होला ? पोखराको शान्ति वन सम्झे। नगर योजनाले ओगटेर आसेपासेलाई बाँड्दै आएको र बाँकी सुकुम्वासीको ब्यानरमा कब्जा गरिएको ठूलो भूभाग सम्झिए। त्यसलाई समेटेर  व्यवस्थित पार्क बनाउने हो भने विश्वकै सुन्दर पार्क बन्ने थियो होला भन्ने कल्पना पनि गरे।  झण्डै साढे तीन बर्ग किमी क्षेत्रफलमा फैलिएको सेन्ट्रल पार्क म्यानहाटन शहरको बीचमा छ। न्यूयोर्क शहर  बीचमा भएकोले होला यसको नाम सेन्ट्रल पार्क राखिएको छ। घुमेर नभ्याइने उक्त पार्क हेरे पछि काठमाडौंको रानीपोखरीदेखि दशरथ रंगशाला त्रिपुरेश्वरसम्मको टुँडिखेल सम्झिए।

    अहिलेका शासकहरुको सोचाइ राणाकालीन शासकहरुको जत्ति पनि देखिएन। रानीपोखरीदेखि त्रिपुरेश्वर सम्मको खुल्ला पार्क जोगाएर एउटा सुन्दर उद्यान नाउन सकेको भए , हाम्रो टुँडिखेल काठमाडौंको प्राण हुन सक्ने रहेछ। अहिले टुँडिखेल माथिको अतिक्रमित खेल अति नै घिनलाग्दो छ। केही भाग रंगशाला बनाएर सके। केही भाग सेनाको व्यारेक राखेर सके। अहिले जति बाँकी छ त्यसमा पनि गिद्धे दृष्टि रोकिएको छैन। राजनीतिक व्यक्तिहरुको अदूरदर्शी योजनाको कोप भाजनमा टुँडिखेल परेको छ।

    हाम्रा जस्ता अदूरदर्शी शासक हुन्थे भने, विश्वको सवैभन्दा महत्वपूर्ण र शक्तिशाली मानिएको शहरको माझमा यति विशाल पार्क कसरी रहन सक्थ्यो होला र !

    पार्कको घुमघाम पछि कोरोना भाइरसले आतंक मच्चाएको ठाउँ न्यूयोर्कको पनि इपिसेन्टर क्विन्सतिर लाग्यौ। जहाँ सिंगो अमेरिका एकातिर र अर्कोतिर न्यूयोर्क बराबरीमा थियो। न्यूयोर्क राज्यको पनि  केन्द्र मानिएको थियो क्विन्स। त्यतिबेला न्यूयोर्क र अर्को तिर क्विन्समा बराबरीको ज्यान गएको थियो। त्यही क्षेत्रमा हामी निर्धक्क घुमेको थाहा पाउनेहरूले हामीलाई धेरै माया गर्नेहरुले गाली पनि गरे। क्विन्सतिर त्यतिबेलासम्म  पनि मानिसहरु बाहिर निस्कन सकेका रहनेछन्।

    क्विन्सव्रो बृजमाथि गाडि गुडिरहेको बेलामा मेरो मनमा पनि चिसो पसेको थियो। सेभेन ट्रेनको छेउ छेउको  सडक हुँदै उड साइड पुग्यौँ। सडकमा गुडिरहेको बेलामा बाजेको सेकुवा कर्नर देख्यौँ। सेकुवा कर्नर देख्नासाथ झोल ममको याद आयो।

    सडकको छेउमा गाडि पार्क गरेर फोन गर्यौ। सेकुवा कर्नर पुरा खुलेको थिएन। अर्डरमा खाना बनाइदिने र बाहिर ल्याएर दिने सम्म गर्दा रहेछन्। हामीले त्यसै गर्यौ। दश पन्ध्र मिनेट पर्खायो। त्यही समयमा सेकुवा कर्नरको  शौचालय प्रयोग गर्यौ र अर्डरको मोमो चाउमिन बोकेर हिँड्यौ र गाडीमै बसेर खायौँ र वरपर उड साइड, ज्याक्सन हाइट छेउछाउ घुमेर पुन म्यानहाटन फर्कियौँ। 

    न्यूयोर्क शहरमा घुम्दा यस्तो अवस्था भोग्न पर्ला भन्ने कल्पना समेत गरिएको थिएन। परिस्थितिले यस्तो अवस्था पनि निर्माण गर्दो रहेछ। प्रकृतिक प्रकोप तथा अजैविक भाइरससामु कसैको केही लाग्दो रहेनछ। सन् २०१२ अक्टोबरको अन्तमा आएको सेण्डी नामको आँधीले म्यानहाटनलाई  दुई साता चल्न दिएको थिएन।

    संयोगले त्यो दृष्य पनि हेर्न पाएको थिएँ। त्यति वेला भूमिगत रेल समेत टनेल भरि पानी पसेर बन्द गरिएको थियो। सडकमा ट्राफिक लाइट थिएन, सडक खुलेको कयौ दिनसम्म पनि ट्राफिक प्रहरीले सिठी र हातको ईशाराले यातायात संचालन गरेका थिए। तर त्यति वेला अहिलेको झैँ मानिससँग मानिस डराउँदैनथे।

बद्रीविनोद प्रतिक

वरिष्ठ पत्रकार 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]