विचार

उपत्यकामा कोरोनाको जोखिम यसो गरे कम हुन सक्छ

असार २२, २०७७

    संक्रमित जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं व्यक्तिहरू काठमाडौं आइरहेका छन्। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छैन|  काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर परिक्षण गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो।
    यसरी काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन्|

    यात्राबाट आएका तथा संक्रमितको सम्पर्कमा पुगेको जानकारी नभएका (ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका) बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ।
    अहिले दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको देखिएको छ। विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राख्नु पर्नेमा राखिएको छैन। जसले गर्दा उनीहरू घरमा पुगेपछि संक्रमित देखिएका छन्।

    बजारमा भीडभाड गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन जो गरिनु अनिवार्य छ। सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा संक्रमणको परीक्षण गरिएको छ। जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ। जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन।
     

    स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोच्नेसम्म फुर्सद देखिँदैन।
    आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ सही तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ  भौतिक दूरी पटक्कै कायम भएको छैन थुक्ने बानी उस्तै छ हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृत्तिको रूपमा स्थापित छ।
     

    अब के गर्ने त?

    अब उपत्यका शिल गर्नैपर्छ। यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पिसिआर परीक्षण गर्ने कि क्वारेन्टाइनमा राख्ने उपाय अबलम्बन गरिनुपर्छ।
    विदेशबाट नेपाल आएका व्यक्तिहरूलाई अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसनमा राख्ने। नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने गरिनुपर्छ।

    सबैले सही तरिकाले मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, भिडभाड नगर्ने जस्ता उपाय अपनाएर त्यसको अनुगमन र जरिवाना गर्ने व्यवस्था गरिनुपर्छ।
    बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि भिडभाड हुने ठाउँमा समय लिएर मात्र सेवा लिने/दिने व्यवस्था गरिनु आवश्यक छ।
     अनलाइन प्रविधिलाई सकेसम्म विस्तार गर्ने र ग्राहकलाई प्रशिक्षित गर्ने टेलिमेडिसिन सेवा विस्तार गरिनुपर्छ।

    यस्तो विपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दबाब दिनुपर्छ। यसका लागि कानुनी कारबाहीको पहल नागरिकले पनि गर्नु जरुरी हुन्छ।

    गाउँ नगरका प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दबाब दिएर पिसिआर परीक्षणको दायरा बढाउन जिम्मेवार निकायलगायत जनताले पहल गर्ने। पुलिंग मेथोड़बाट टेस्ट गर्न दबाब दिने।  दबाबबिना परीक्षणको दायरा बढ्ने लक्षण देखिएन त्यसैले निजी प्रयोगशालामा पिसिआर परीक्षण गर्न दबाब दिनु आवश्यक छ।
     तरकारी बजारदेखि भिडभाडमा किनमेल गर्न नजाने। नागरिक आफैँले सुरक्षाविधि अपनाउने। ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने गरे सुरक्षित भइन्छ।

डा. रवीन्द्र पाण्डे

डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]