समाज

सेनाको कुटपिटबाट ज्यान गुमाएका राजकुमार चेपाङको शव परिवारलाई

परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराइने

साउन १८, २०७७

    चितवन : चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ। 

    नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ बजे काठमाडौँबाट बुझेर आइतवार बिहान चितवन ल्याइएको हो। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको उनले बताए।

    त्रिवि शिक्षण अस्पताल काठमाडौँमा रहेको शव परिवारले चितवन ल्याएको छ। राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो। सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ। 

    बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप १० लाख रकम उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए।

    यही साउन १ गते राप्ती नदीमा माछामार्न गएका राजकुमारसहित पाँचजनालाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवानले कूटपिट गरेको परिवारको आरोप छ। 

    कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राजकुमारको उपचारकै क्रममा मृत्यु भएको थियो। मृत्युपछि परिवारले शव बुझ्‍न अस्वीका गरेको थियो। राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]