कोभिड-१९ {अपडेट}

वीरगञ्‍जमा कसरी फैलियो कोरोना ? को कहाँ चुके ?

सरकारदेखि तस्करसम्मले मनलाग्दी गरेपछि संकट

साउन २१, २०७७

    पर्सा : नेपालको प्रमुख प्रवेशद्वार मानिने वीरगञ्ज क्षेत्र यतिखेर कोरोना (कोभिड-१९) महामारीको चपेटामा परेको छ। समुदायसम्म कोरोना संक्रमण फैलिएको ठानी यो क्षेत्रलाई कोरोनाको हटस्पट भन्न थालिएको छ।

    गएको चैत ३० गते पर्सामा रहेका तीनजना भारतीय जमातीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएको थियो। यो नै जिल्लामा भेटिएको संक्रमणको पहिलो मामिला थियो। पहिलोपटक संक्रमित भेटिएको तीन महिना १९ दिनपछि यहाँको अवस्था निकै खराब बनिसकेको छ। साउन १९ गतेसम्म वीरगञ्ज क्षेत्रमा मात्र ५७५ जना संक्रमित भेटिइसकेका छन्। जिल्लामा १३ जना संक्रमितको ज्यान गएको छ। 

    पर्सामा मात्र नभई २ नम्बर प्रदेशभर कोरोना संक्रमण निकै फैलिइसकेको छ। प्रदेशभर संक्रमितको संख्या पाँच हजारभन्दा धेरै पुगेको छ। १९ साउनसम्म प्रदेशभर १९ जनाकै मृत्यु भइसकेको छ। यी मध्ये धेरै जनाले पछिल्लो १३ दिनमा ज्यान गुमाएका हुन्।

    ​​गएको साउन ६ गते रातीबाट लकडाउन हटेयता पर्सामा थप १२ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसअघी पर्सामा कोरोनाका कारण जम्मा एक जनाको मात्र ज्यान गएको थियो।

    पहिलो संक्रमित फेला परेयता लकडाउनको ९६ दिन अवधिभित्र पर्सामा संक्रमितको जम्मा संख्या १७७ थियो। तर, लकडाउन हटेयता १३ दिनमा थप ३९८ जना संक्रमित थपिएका छन्। लक्षणसहितका संक्रमित भेटिन थालेपछि जिल्लाभर त्रास बढेको छ। 

    यस्तो अवस्था कसरी निम्तियो त? महामारी नियन्त्रणमा प्रभावकारी काम भएको दाबी गर्ने तीनै तहको सरकार, सुरक्षाका मापदण्ड अपनाएर उद्योग-व्यवसाय खोल्ने भन्दै लकडाउन हटाउन सरकारलाई निरन्तर दबाव दिइरहेका उद्योगी-व्यवसायी र सजगता नअपनाउने सर्वसाधारणकै कारण वीरगञ्जमा यस्तो स्थिति निम्तिएको हो भन्नेमा अधिकांश स्थानीय सहमत छन्। 

    सुरुमा के गरियो ? 

    भारतबाट आई बसेका जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते वीरगञ्‍ज क्षेत्रलाई  सिल गरियो। वीरगञ्‍ज-२ छपकैया र वीरगञ्‍ज-१ को घुसुकपुरस्थित मस्जिद क्षेत्रमा ती संक्रमित भेटिएका थिए।

    त्यतिखेर अन्य जिल्लामा एकैपटक तीन जना या सोभन्दा बढी संक्रमित भेटिएकै थिएनन्। त्यसैले महामारी सुरू हुँदाताका नै वीरगञ्‍ज क्षेत्र कोरोना हटस्पटका रुपमा कहलायो। छिमेकी मुलुक भारतसहित विश्वका अरु देशलाई कोरोनाले गाँज्न थालिसकेको थियो।

    नेपाल सरकारले गएको चैत ११ गतेदेखि गरेको लकडाउन सुरुका दिनमा प्रभावकारी नै थियो। तर समय बित्दै गएपछि त्यो प्रभावकारिता घट्न थाल्यो।

    कमजोरीको पहिलो कारण : बोली र व्यवहारमा फरक

    नेपाल र भारत दुवै देशले लकडाउन र सीमा सिल गरेका थिए। जो जतातिर छन्, त्यतै बनाइएको क्वारेन्टाइनमा बस्नुपर्ने र यसको जिम्मा दुवै देशको सरकारले लिनुपर्ने सहमति भएको थियो। नेपालले यो सहमतिलाई गम्भीरतापूर्वक पालना गरेपनि भारतले खासै इमान्दारीता देखाएन।

    लकडाउन र सीमा सिल भएकै बेला भारतले त्यहाँ रहेका नेपालीहरूलाई रेलमा खचाखत हालेर सीमाक्षेत्रमा ल्याई छाड्ने गर्न थाल्यो।  जसोतसो सीमासम्म आएका नेपालीहरूले मुख्य नाकाबाट देश छिर्न नपाएपछि चोरबाटो प्रयोग गर्न थाले। रेलदेखि गाडीसम्म या समूह-समूह बनाएर हिँड्दै सीमासम्म आइपुगेकामध्ये कति नेपाली भारतमै संक्रमित भइसकेका थिए : कसैसँग तथ्यांक हुन सम्भवै थिएन। सुरुका दिनमा कतिपय ठाउँका स्थानीयले नयाँ मानिस देख्दा प्रहरी प्रशासनलाई सूचना पनि दिए।

    भारतमा कोरोनाको संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि त्यहाँबाट सीमासम्म आउने र खुला सीमा तथा चोरबाटो प्रयोग गरी स्वदेश छिर्ने क्रम व्यापक नै भयो। भारत गएका नेपालीमात्र होइन, उनीहरूको आगमनसँगै कोरोना पनि भित्रियो। उताबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीको स्वाब परीक्षण गर्दा निस्केको रिपोर्टले यो तथ्यलाई पुष्टि गरिसकेको छ।

    क्वारेन्टाइनमा नगएका/नलगिएका नेपालीहरू सवारीसाधनमा चढेर र पैदल नै हिँडेर आ-आफ्नो गाउँठाउँ पुगे। यसरी, भारतबाट आएका र खुला सीमाको फाइदा उठाउँदै वारपार व्यवसायहरूबाटै सुरूमा यस क्षेत्रमा कोरोना संक्रमण भित्रियो।

    दोस्रो कारण : चोरी बाटो प्रयोग र घरसम्मै पुग्ने दाउ

    वीरगञ्‍ज क्षेत्रमा पहिलो पटक फेला परेका संक्रमित जमातीको सम्पर्कमा पुगेका मानिसको कन्ट्याक ट्रेसिङ गर्ने र परीक्षणको दायरामा ल्याउने काम प्रभावकारी नै बनेको थियो। किनकी सानो घेरामा रहेका मानिसहरू पहिचान गर्न सजिलो थियो। सेना, प्रहरी र स्वास्थ्यकर्मीको काममाथि पनि यो चरणसम्म प्रभावकारी नै थियो।

    तर, लकडाउनको डेढ महिनापछि संक्रमण फैलिएको ठाउँबाट आएका नेपालीहरू मुख्यबाट नाका यता छिर्न पाएनन्। अनि चोरी बाटो प्रयोग गर्दा गर्न थाले, खुला सिमानाको फाइदा भरपुर उठाए। सुरक्षाकर्मीभन्दा देश छिर्न चोरी दाउ हेरिरहेका र चोरबाटो प्रयोग गर्नेहरू एक कदम अगाडी रहे। उनीहरूले 'परिवार र समाजसम्म मैले कोरोना लाँदै छु!' कि भन्ने हेक्का राखेनन्।  

    राज्यले सीमा नाकामा आई टु आई देखिने गरी सुरक्षाकर्मी राखेको भनेपनि खुला सीमा क्षेत्रमा त्यो उतिको प्रभावकारी हुन सकेन। रातको समयमा खुला सीमाको फाइदा उठाउने तस्करहरूलाई दुवै तर्फका सुरक्षाकर्मीको कडाइले ऐँठन पनि भयो।

    सीमा नाकामा नेपाली सुरक्षाकर्मी बाक्लिँदा तस्करहरूको धन्दा सहज भएन। त्यसैले नेपाली सुरक्षाकर्मीमाथि ठाउँ-ठाउँमा आक्रमण नै गर्न थाले। सुरक्षाकर्मीको पातलो उपस्थिति भए अवैध कारोबार गर्न उनीहरूलाई बल पुग्थ्यो। अहिलेपनि यो काम भइरहेकै छ।

    सोही मेसोमा यता आउनेपनि लुसुक्क चोरबाटो पत्ता लगाई नेपाल छिरे। नेपाल आएपछि क्वारेन्टाइनमा बसिदिएनन्। अन्तत्वगत्वा: खुला सीमा भएका प्रदेश नम्बर २ का ८ जिल्ला लाई कोरोनाले गाँज्न थाल्यो। बाँकी जिल्लामा पनि विभिन्न माध्यमबाट संक्रमण फैलन थाल्यो। खुला सीमाकै कारण यसो भएकोमा दुईमत छैन। मनाङ्ग, मुस्ताङ्ग र जाजरकोटसम्म पुग्ने मानिसहरू यही नाकाबाट भित्रिएका थिए। 

    तेस्रो कारण : समन्वय विना चलेका तीनथरी सरकार

    देशमा तीन तहको सरकार छ। तर, एकद्वार प्रणाली कायम गरी भारतसँगको सिमानाबाट आफ्ना नागरिक ल्याउने र नाकामा नै परीक्षण गर्ने व्यवस्था मिलाउन तीनै तहका सरकार विफल रहे। न समन्वय पुग्यो, न ढङ्ग नै!

    धेरै कोरोना संक्रमितको उपचार भइहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय यस मामिलामा समन्वय नपुगेको भन्न हिच्किचाउँदैनन्। पहिलेदेखि नै उनले यस मामिलामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइरहेका थिए। डा.उपाध्याय भन्छन्, 'सीमामा नै किट र उपकरण व्यवस्था मिलाएर बाहिरबाट आएका मानिसको परीक्षण गर्न सकेको भए भयावह अवस्था भने आउने थिएन।'

    स्थानीय बुद्धिजीवि डा. विश्वम्भर शर्मा पनि मापदण्ड पूरा गरिएका क्वारेन्टाइन, आइसोलेसन र अस्पतालहरू बनाउन सकिएको भए अहिले संक्रमित पुष्टि भएका संक्रमितलाई अस्पतालमा राख्ने ठाउँ नपुगेर घर-घरमा नै छोड्न पर्ने अवस्था आउने थिएन भन्छन्। उनी थप्छन्, 'घरमा छोडिएका संक्रमितले कति मापदण्ड पूरा गर्दैछन् ? त्यो पनि भगवान भरोसामा!'​

     

     


    करिडोरमा श्रमिकको अवैध आवागमन प्रमुख कमजोरी 

    गएको जेठ २९ गते लकडाउन खुकुलो बनाउने निर्णयपछि वीरगञ्‍ज-पथलैया औद्योगिक करिडोर क्षेत्रका अधिकांश उद्योग ह्वात्तै संचालनमा आए। संचालक आफैँले सीमा नाकाका केही सुरक्षाकर्मीलाई प्रभावमा पारेर र चोरी बाटोबाट पनि भारतीय श्रमिक ल्याउने र बोलाउने काम गरेका खुल्यो।

    लकडाउनका बेला यताका श्रमिकहरूबाट आंशिक रुपमा मात्रै लगाइएको उद्योग भारतीय श्रमिक पनि बोलाएर पूर्ण क्षमतामा संचालन गर्न थालियो।

    यसपटक पनि सीमा काटेर भारतीय श्रमिक मात्रै आएनन्, उनीहरूसँग कोरोना पनि आयो। कतिपय उद्योगका श्रमिक त दिनहुँ नेपाल-भारत आउजाउ समेत गर्न थाले। यसरी आउजाउ गर्ने र स्वास्थ्य परीक्षण नै नगरी भित्र्याइएका श्रमिकका कारण पछिल्लो समय वीरगञ्‍ज क्षेत्र एकै पटक कोरोनाबाट गाँजियो।

    विभिन्न उद्योगमा कार्यरत भारतीय श्रमिकमा कोरोना पुष्टि भइसकेको छ। यो करिडोर क्षेत्रमा बारा, पर्सा र रौतहट तीन जिल्लाका श्रमिकहरू कार्यरत छन्। ट्राभल हिस्ट्री नभएका गाउँ-गाउँका मानिसमा संक्रमण भेटिनु पछाडि भारतीय श्रमिकको निर्वाध प्रवेश र नेपालीहरूसँग घुलमिल प्रमुख कारण भएको स्थानीय प्रशासनलाई बल्ल थाहा भएको छ।

    सर्वसाधारणको लापरबाही

    महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन उल्लंघन गर्ने काम सर्वसाधारण नागरिकबाटै भयो। बाहिर जथाभावी हिँड्ने, माक्स नलगाउने, मापदण्ड पूरा नगर्ने, 'राज्यको नीति पालना गर्नुस्' भनी सम्झाउने प्रहरी प्रशासनलाई शत्रु ठान्ने आम नागरिक पनि दोषी रहेको नारायणी अस्पतालका मेसु डा. उपाध्याय बताउँछन्‌।

    ‘हेर! म बाहिर निस्किएर देखाइदिन्छु' भनी प्रहरी प्रशासनलाई चुनौति दिने यस्ता मानिसहरूकै कारण संक्रमण झन्‌ फैलियो,' डा.उपाध्यायले भने, 'बुझेर पनि बुझ पचाएर बाहिर हिँड्नेमा समाजका अगुवा पनि देखिए।'

    अझ यो र त्यो बहानामा लकडाउन वा निषेधाज्ञाकै समयमा वीरगञ्‍जमा आन्दोलन गर्ने पनि दोषी रहेको बल्ल समाजका अगुवाहरूले भेउ पाइरहेका छन्। लकडाउनकै समयमा नेपाली कांग्रेस र जनता समाजवादीका स्थानीय नेता-कार्यकर्ताले नागरिकता विधेयकविरुद्धमा जनता सडकमा ओरालेर आन्दोलन नै गरेका थिए।

     

     


तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]