विचार

ओली-प्रचण्ड दीर्घ वार्ता र गणेशको विवाह

साउन २९, २०७७

    भगवान गणेशले पिता  महादेवलाई मेरो विवाह गरिदिनु पर्यो भनेर भन्दा  महादेवले सधैं भोलि भन्ने गरेका रहेछन्। गणेश फेरि भोलि जान्छन् विवाह महादेव ले भोलि नै भन्छन्। न भोलि आयो न गणेशको विवाह भयो।

    नेकपाका नेताहरुको अवस्था पनि यस्तै छ। राणा गए एउटा भोलि आयो, पार्टी गयो पञ्चको रुपमा अर्को भोलि आयो, पञ्च गयो बहुदलको नाममा पुनर्भोलि आयो, बहुदल गयो, गणतन्त्र आयो नेपालले के पायो ? फेरि अर्को भोलिको आश्वासन मात्र। आज ओली एक भोलिका पात्र हुन् र प्रचण्ड एक भोलिका प्रत्यासी।

    वर्तमानमा ओली र प्रचण्ड मध्ये भोलि कसले राजनीतिक व्यवसाय गर्ने भन्‍ने होड चलिरहेको छ। राजनीतिमा यो होड हुन्छ यसलाई अन्यथा लिनु हुँदैन।

    ओलीमा आफूले गरी रहेको काम ज्यादै राम्रो छ। जनता विरोधमा छैन, बरु समर्थन त्यसैले त स्थायी समितिमा कसैले उनको राजीनामा माग्दा सयौँ मानिस सडकमा उनको राजीनामा माग्न पाइँदैन भन्दै उफ्रिन्छन्।

    त्यसैगरी प्रचण्डलाई लाग्छ कि पक्कै पनि मेरो नेतृत्वले वर्तमानमा भन्दा धेरै राम्रो काम गर्न सक्ने छ। व्यक्तिगत मात्र नभएर आम जनतामा सामूहिकतामा जोड दिनका लागि म सत्तामा जानु पर्छ भनेर अनवरत बालुवाटार धाइरहेका छन्।

    ओली सत्ता नत्याग्ने रणनीति र प्रचण्ड जसरी भए पनि ओली हटाउने रणनीति नै राजनीति हो। त्यसैले त एरिष्टोटलले एक पटक भनेका थिए, ‘राजनीतिज्ञले राजनीति किन  छोड्न चाहदैन भने उसले राजनीतिको माध्यमबाट अन्य वैभव ताकि रहेको हुन्छ’ जस्तै सत्ता, बदला, खुसी मनोरञ्जन आदि आदि।

    जनै पूर्णिमाको दिन ओली आफनो निजी निवास बालकोट गएर अढाई वर्षपछि फर्केर आउँछु भन्नु सबै अरिस्टोटलले भनेका माथिका वाक्यसँग मिल्ने व्यवहार हुन्।

    प्रधानमन्त्री भएको बेलामा  प्रचण्ड बेला बेला  सुकुटे रिसोर्ट जानु, ओलीले आफ्नो जन्मस्थलमा जन्मदिन मनाउनु, माधव नेपाल लोकल गाडीमा चढेर सडक अवलोकन गर्नु, बाबुराम स्थानीयहरुको घरमा गएर खाना खानु सबै अरिष्टोटलीय चिन्तनका समपूरक कृयाकलाप हुन्।

    परिस्थिति र प्रविधि फेरिन सक्छ तर राजनीति कहिल्यै फेरिँदैन, यो अझै पश्चगामी हुन सक्छ तर अग्रगामी हुन सक्दैन। नेपालमा  लामो समयदेखि यही शीर्षक र परिश्रृंखला  भित्र राजनीति  घुमिरहेको छ।

    कानुनत: देशको प्रधानमन्त्री खड्ग प्रसाद ओली पदमा अडिग छन् चाहे उनको पक्षमा  बहुमत सांसद हुन् वा नहुन्। कानून बमोजिम उनलाई हटाउने आधार कतै पनि छैन। आफ्नै पार्टीले अविश्वासको प्रस्ताव ल्याउन भएन, अरुले ल्याए पनि आफ्नै प्रधानमन्त्रीको विपक्षमा जानेगरी  ह्वीप उलंघन हुने सम्भावना  भएन। तसर्थ कानुनी रुपमा उनी बलिया छन्।

    मुखले मागेर ओलीले राजीनामा दिँदैनन्। यो कुरा अर्का नेता पुष्पकमल दाहाललाई पूरा थाहा छ। तर पनि उनले उनी हट्लान् र आफू पाउँला भन्ने आशाले प्रचण्ड साँझ बिहान नभनि बालुवाटार धाइरहेका छन्। यो नै आश्चर्यपूर्ण छ।

    नैतिक रुपमा भन्ने हो ओली पूर्णतया अल्पमतमा भएपनि कानुनी रुपमा बलिया छन्। प्रचण्ड अहिले देख्दा पूर्णरुपमा बहुमतमा छन् र पनि कानुनी रुपमा कमजोर छन्। यिनै दुईजनाको हठमा देशको भविष्यलाई कोरोनाले दिनानुदिन दिमकले जस्तो कमजोर बनाइ रहेको छ।

    विद्यालयहरु बन्द छन्, दिनमा सयौँ कोरोनाले ढलिरहेका छन्। केही मरी रहेका छन् र हप्तामा दर्जनका दरले मानिसहरु पहिरोमा पुरिएका छन्। तर देशका सुप्रिम व्यक्तिहरु मज्जाले सत्ताको अन्तहीन वार्तामा लाजै नमानी निरन्तर जुटिरहेका छन्। 

    कोरोना, पहिरो र अतिवृष्टिमा दुई नेताको सघन वार्तालापले असर पुर्याएको छ भन्ने मूर्खता गर्न खोजेको होइन। यी  नेताले निरन्तर वार्ता गरेका कारण कोरोना घनिभूत भएको र पहिरोले देश छिया छिया भएको होइन। उनीहरुले एक दिन वार्ता नगरेको भए पनि हुने हुनामी हुने नै थियो। तर  कमसे कम  यो बेलामा  देश सञ्चालनका  अख्तियार प्राप्त व्यक्तिहरु यसरी पद केन्द्रित वार्तामा नभुलेको भए हुन्थ्यो भन्ने मात्र हो।

    यो  व्यक्तिगत मात्र नभएर लाखौ नेपालीको मनोभाव हो। परन्तु राजनीतिमा शक्ति र सत्ता अति प्रलोभनको  पराकाष्ठा हो। त्यसैले राजनीति जर्ज अरबेलले भने जस्तै असत्यलाई सत्य जस्तो देखाउन कला हो बनाउने सामर्थ्य होइन।

    हामी अहिले गणतन्त्रमा छौं जहाँ बहुमतले राज गर्छ भन्ने मान्यता राखिन्छ। यसको अर्थ हो दुई मूर्खले एक विद्वानलाई धुलो चटाउन सक्छ। त्यही प्राक्टिसलाई पनि ओलीले कानूनी आडमा धोती लगाई दिए।

    एकपटक यस्तो समय थियो ४५ जना स्थायी कमिटी सदस्यमध्ये ३१ जनाले बिरोध गर्दा पनि ओली ढल्की ढल्की सत्तामा छन् भने गणतन्त्रमा बहुमत पनि कानुनद्वारा बाँधिएको छ। त्यसको लाभ वर्तमानमा ओलीले पाइरहेका छन्। त्यसैले त हेनरी एडमले राजनीतिलाई शिक्षाको शुरुवात र अन्त्य दुबै मानेका थिए। मौका पर्दा यो शिक्षा पनि हो अन्यथा यो शक्ति प्रयोग गर्ने भ्रष्ट क्रीडास्थल पनि हो।

    आजको राजनीतिमा प्रचण्ड र ओली दुवै  दर्शनीय उचाइमा छन्। एउटा कठिन भीरमा बाटो खन्न माहिर र दोश्रो त्यो सडकमा मज्जाले हिँड्न चतुर जस्तो देखिएको छ। एउटा क्रान्ति गर्न माहिर छन् अर्का त्यो परिवर्तन जस्तो सुकै भए पनि त्यसबाट लाभ लिन सफल छन्। एउटाले काम गर्न सक्छन् अर्कोले जस लिन सक्छन् भलै त्यो कामबाट केही उपलब्धी होस वा नहोस।

    यसरी राजनीति औसत व्यक्तिको सत्ता स्वार्थमा झाँगिएको लहरो हो, जसलाई विभिन्न चिजले आफ्नो स्वार्थका लागि सहारा दिएको हुन्छ। पदमा पुगेपछि स्वार्थ समूह आफैं बन्दै जान्छ।

    नियुक्ती गर्ने अधिकार प्राप्त भएपछि सरकारका अन्य अंगहरु जस्तै अख्तियार, निर्वाचन आयोग, सर्वोच्च अदालत, मानव अधिकार आयोग, राष्ट्रबैँक, लगानी बोर्ड हरेक ठाउँमा आफु अनुकुल मानिसहरु राख्न पाउने सत्ता बाल शक्तिशाली हुन्छ। अहिले त्यो पोजिसनमा ओली विराजमान छन्।

    त्यसैले यो बेलामा प्रचण्ड त्यसै कमजोर देखिएका छन् र पनि राजीनामा मागिरहेका छन्। वास्तवमा यो पनि राजनैतिक रणनीति हो।

    ओलीको शक्ति बढेपनि लोकप्रियताको ग्राफ तलतिर सर्दै गएको छ किनभने उनि दिनसक्ने ठाउँमा छन्। तर सबैलाई खुसी तुल्याउन नसक्ने अवस्थामा छन्। प्रचण्डको वर्तमानको शक्ति शून्यता नै उनको स्वाभाविक लोकप्रियता हो। किनभने उनी दिने ठाउँमा छैनन।

    हुनसक्छ कुनै दिन यो दुवै ग्राफ एक आपसमा छोइएमा राजीनामा आइहाल्छ कि भन्ने आशालाई राजनीतिमा अन्यथा मान्न हुदैन।

    नेकपामा अहिले कौरव र पाण्डवको युद्ध भरहेको छ सत्ताका लागि। कृष्णको भूमिकामा माधव नेपाल र झलनाथ रहेका छन् भने बलरामको भूमिकामा वामदेव र रामबहादुर थापा देखिएका छन्। यसमा प्रचण्ड र ओलीमध्ये कौरव र पाण्डव वास्तवमा को हो भन्ने चिन्न गाह्रो छ।

    यहाँ को ठीक र को बेठीक छुट्याउन कठिन छ। काम राम्रो र पारदर्शी देखिएको छैन। त्यसैले गलत ओली हुन पनि सक्छन् वा ठूलो क्रान्तिपछि  सरकार चलाउन पाएर पनि देशलाई पुरानै ढर्रामा चलाएर मूलभूत क्रान्तिको आभास जनतामाझ लैजान नसकेकाले प्रचण्ड पनि गलत हुन सक्छन्।

    यहाँ प्रचण्डले राजीनामा मागिरहने र ओली राजीनामा नदिने दुवै घटनालाई व्यक्तिको प्रवृत्तिसँग जोड्न चाहेको होइन। राजनीतिमा यो सबै हुन्छ किनकि यसमा पद, पैसा, ऐश्वर्य, मनोरञ्जन, मनोउन्माद जोडिएको हुन्छ। त्यसैले यो सबै प्राप्तिका लागि कठीन परिश्रम गर्नुपर्छ। प्रत्येक राजनीतिज्ञ व्यक्तिगत रुपमा जे जस्ता भएपनि लामो संघर्ष गरेका हुन्छन्।

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]