मनोरञ्जन

नयाँ शक्ति : साप, भ्यागुत्ता र बिच्छी (व्यङ्ग्य)
SHARES

चैत १९, २०७३

    स्थान : बालुवाटार

    तिथिमिति : खडेरी मैना (चैत १७ गते)

    ‘हाम्रो चुनाउ चिनो हरन गर्न पाइन्छ? ४८ घण्टाभित्र ऐन संशोधन गरेर चुनाउ चिनो नदिए, चुनाउ सुनाउ हुँदैन भन्ने हाम्लाई लाइरा’च। हामीले साप, भ्यागुत्ता र बिच्छी लिएर चुनाउमा जाने? तीन दलीय सिण्डिकेट मान्दैनौँ। दलीय चुनाउ चिनो नपाए ज्यान गए मान्दैनौँ भन्ने हाम्लाई लाइरा’च।’ 

    ६५ दलको हस्ताक्षरसहितको कुम्लो बालुवाटारमा बिसाउँदै नयाँ शक्तिका संयोजक बाबुरामले एकै सासमा कुरोको चुरो तुर्‍याए।

    प्रधानमन्त्री प्रचण्डले ६५ दलीय पोको हस्तगत गर्दै छेवैको सोफामा थचक्क बसे। दुवै हातका औँला कैँची बनाए र दुवै बूढी औँलालाई घडीको सुई झैँ एकअर्का विपरीत दिशामा घुमाउन थाले। 

    यत्तिकैमा उपस्थित एक व्यक्तिले दलीय नेताहरूले नारा घन्काउन सुरु गरे– ‘तीन दलीय सिण्डिकेट– मान्दैनौँ!’ ‘मुख खोल प्रचण्ड, नत्र चुनाउ सुनाउ– जान्दैनौँ!! साप, बिच्छी, भ्यागुत्ता– लिँदैनौँ!!!’ 

    नारा घन्कँदै गयो। प्रचण्ड चुप लागिदिँदा एक व्यक्ति दलीय नेताको हौसला झन बढ्दै गयो। बालुवाटार होहल्लामा परिणत हुँदै थियो।

    चीनबाट मौन कुटनीतिक दीक्षा ग्रहण गरेर आएका प्रचण्डको मौन ब्रत भङ्ग नभई सुखै भएन। प्रचण्डले दुवै हत्केलाका बूढी औँठा एकअर्काका विपरीत दिशामा जोडले घुमाए। अलिकति आङ उठाए र भन्न थाले– ‘हुँदाखाँदाको चुनाउ चिनो छाडेर जानुहुन्छ बाबुराम जी! अनि बखेडा झिक्नुहुन्छ? पार्टीमा हुँदा पनि सुख दिनुभएन। डिभोर्स गरेर जानु भो फेरि पनि पिरोलिरहनुहुन्छ।’

    प्रचण्डलाई हायलकायल पारेको ठानी बाबुरामले मुख चुच्चो पार्दै दुई प्रतिशत जति दाँत देखाएर मुस्कान छरे।

    प्रधानमन्त्री प्रचण्डले ६५ दलीय हस्ताक्षरसहितको ज्ञापनपत्रको पोको हेर्दै आफ्ना धारना राख्न सुरु गरे– ‘मने चइन्जो, हेर्नुहोस्, शक्ति पृथकीकरनको सिद्धान्तबमोजिम संसदीय व्यवस्थामा सबैले फाल्टु–फाल्टु काम गर्नुपर्ने रहेछ। मैले त चुनाउको मिति घोषणा गर्ने काम मात्रै रहेछ। चुनाउ गर्ने, तलमाथि गर्ने सबै जिम्मा जमानी चुनाउ आयोगकै हो। चुनाउ चिनुबेगर कसरी भोट खसाल्ने? मै पनि अलमलमा छु। यसबारेमा जानकारी त चुनाव आयोगलाई नै होला, तैपनि मलाई प्रधानमन्त्री सम्झेर आउनुभयो। सरकारको नेता हुनुको नाताले यसबारेमा के भएको रहेछ बुझुँला।’

    कुनै एउटा गाउँमा एक जना लोकप्रिय नेतालाई आँखा चुनाउ चिनो परेछ। उनले गाउँलेलाई बोलाएर आँखा चिनोमा भोट लाउनु भनेर सम्झाएछन्। तब त के थियो, गाउँलेले मतदान केन्द्रमा गएर आफ्नै आँखाको ढकनीमा स्वस्तिक छाप लगाएर तिनै नेतालाई देखाउन गएछन्।

    यसपछि बोल्ने पालो बाबुरामको थियो। उनले धारा प्रवाह सुरु गरे–‘हेर्नुहोस्, यो तिललाई पहाड बनाउने काम नगरौँ। चुनाउ चिनोबेगर चुनाउमा जान सकिन्नँ, यत्रो पहिचानको मुद्धा उठिरहेको जो छ। दलको पहिचान गर्ने चुनाउ चिनो नै हो। दलको पहिचान चिनोसम्म नदिने हो भने हामी कडा सङ्घर्षमा उत्रिन्छौँ। हामी कतै साप, कतै बिच्छी, कतै भ्यागुत्ता चिनु लिएर चुनाउमा जाँदैनौँ। कांग्रेसलाई रूख, एमालेलाई सुर्जे, माओवादीलाई हँसिया–हथौडा भएजस्तै हाम्लाई पनि एउटा–एउटा चिनो चाहियो, चाहियो’, उनी कड्किइरहे, ‘हामीलाई बदनाम गर्न साप, बिच्छी र भ्यागुत्ता दिन खोजिँदै छ। त्यो हामी मान्दैनौँ। जतिबेला मैले भ्यागुत्ता जस्तो उफ्रने कार्यदिशा लिएको थिएँ, त्यतिखेर भ्यागुत्ता दर्शनलाई कसैले स्विकारेनन्। अहिले त्यही भ्यागुत्तासँगै हाम्लाई साप, बिच्छीसमेत मिसाएर भ्रष्टीकरण गर्ने? एउटै चुनाउ चिनो हुनुपर्ने यो हाम्रो सामूहिक माग हो। जहाँसम्म नयाँ शक्ति पार्टीको कुरो छ, हामीलाई आँखा चुनाउ चिनो चाहियो। हामी आँखाको माध्यमबाट देशको समृद्धि देखाइदिन्छौँ भन्ने हाम्लाई लाइरा’छ।’

    बाबुरामले ६५ दलसहित नयाँ शक्ति पार्टीको पनि धारना राखेपछि प्रतिनिधिमण्डल बालुवाटारबाट बाहिरियो।

    ‘तीन दलीय सिण्डिकेट– मान्दैनौँ!’ ‘मुख खोल प्रचण्ड, नत्र चुनाउ सुनाउ– जान्दैनौँ!! साप, बिच्छी, भ्यागुत्ता– लिँदैनौँ!!!’ नारा लगाउँदै।

    आँखा चुनाउ चिनोबारे पञ्चायतकालमा रमाइलो प्रसङ्ग पनि जोडिएको छ। उतिखेर व्यक्तिपिच्छै फरक चुनाउ चिनो दिने गरिन्थ्यो। दलीय व्यवस्था नभएकोले त्यस्तो गर्नु बाध्यता नै थियो। कुनै एउटा गाउँमा एक जना लोकप्रिय नेतालाई आँखा चुनाउ चिनो परेछ। उनले गाउँलेलाई बोलाएर आँखा चिनोमा भोट लाउनु भनेर सम्झाएछन्। तब त के थियो, गाउँलेले मतदान केन्द्रमा गएर आफ्नै आँखाको ढकनीमा स्वस्तिक छाप लगाएर तिनै नेतालाई देखाउन गएछन्। यो त भयो पुरानो कुरा। आज त्यस्तो नहोला।

     

भवानी बराल

धरान निवासी लेखक बराल समसायिक राजनीतिकसँगै आदिवासी-जनजाति तथा इतिहास र सांस्कृतिक क्षेत्रमा कलम चलाउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]