समाज

भूमिको पूजा गर्दै रिडी पारीका मगर समुदाय, यस्तो छ भूमेको इतिहास

रुकुम जिल्लाको लुकुममा भुम्या पर्व मनाउदै मगर समुदाय । फाइल फोटो : देविका घर्ती मगर
असार २, २०७३

    काठमाडौं : मगर समुदायको भूम्या (भूमे) पर्व बुधबार सुरु भएको छ। भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मशान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन्। 

    मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफु बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन्। पहिले पहिले रिडी नदी पारीका मगर समुदायको मुख्य पेशा भेडापालन थियो। भेंडा चराउन लामो समय घर बाहिर बस्ने परिवारका सदस्य असार महिनामा भेँडा लिएर घर फर्किने हुनाले यो पर्वलाई परिवारसँगको मिलनको रुपमा पनि मनाउने प्रचलन रहेको मगर संस्कृतिका विज्ञ बमकुमारी बुढामगरले बताइन्। स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ।  

    राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व बिशेष महत्वका साथ मनाउँछन्। पछिल्लो समय बसाइसराईको क्रम बढेपछि दाङ, काठमाडौं लगायतका ठाउँमा पनि यो पर्व मनाउनेको संख्या बढेको छ। 

    यसरी मनाइन्छ भूमे पर्व

    असार एक गते मनाइने भएपनि मगर समुदायमा यसको तयारी एक महिनाअघिदेखि नै हुन्छ। जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरु बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन्। यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ। 

    पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ। फूल लिएर फर्कने क्रममा महिलाहरुले न्याउली चराको भाकामा गीत गाउँदै फर्किन्छन्। फूल लिन गएकाहरु फर्किएपछि गाउँमा भूमि देवताको पूजा गरी औपचारिक रुपमा भूम्या पर्वको उद्घाटन गरिन्छ।

    बुकी गएका युवायुवतीलाई भूत प्रेत नलागोस् भन झारफुक गर्ने चलन छ। युवाहरुले बुकी फूल गाउँमा मान्यजनको शिरमा चढाएर आदर प्रकट गर्छन्। भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ। जसलाई भुम्या निकाल्ने भनिन्छ।

    भुम्या निकाल्दा महिलाहरुले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ। भुम्या थानमा देवतालाई बली दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ। पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई बाजाको तालमा भूमि देवतालाई सम्झेर परम्परागत भेषभूषाामा लहरै नाचगान गरिन्छ।  

    पहिले २२ चालामा नाचिने यो नाच अहिले कतै १४ त कतै ९ चालामा मात्र नाच्ने गरिन्छ। सशस्त्र द्वन्द्वको समयमा मनाउन रोकिएको भूम्या पर्व शान्ति प्रक्रिया शुरु भएपछि फेरि मनाउन थालिएको हो।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]