ब्लग

पैसा फल्ने हिमालका वास्तविकता, लोप हुँदै वनस्पति र वन्यजन्तु
SHARES

असार ५, २०७५

    डेढ दशक पहिलेको कुरा हो, दार्चुलाका अधिकांश बासिन्दा एकछाक चामलको भात खानका लागि चाडपर्व कुर्ने गर्थे। त्यो पनि सरकारले खोलेका खाद्यान्नबाट सस्तोमा पाइने चामल वा सडकलगायतका संरचनामा काम गरेबापत पाइने चामल हुन्थ्यो। अहिले त्यो दृश्य १८० डिग्रीको कोणमा फेरिएको छ। हिजो भात खानका लागि चाडपर्व कुर्ने नेपाली अहिले धान चामलको राजधानी तराईका बासिन्दा बनेका छन्। अहिले लगभग ५० प्रतिशत दार्चुलाबासी कैलाली र कञ्चनपुरमा घरघडेरी र चामल फल्ने खेत मैदानका धनी बनेका छन्।

    यसरी एक दशकमा मात्रै कसरी जीवनस्तर फेरियो त? द्वन्द्वको चपेटाबाट भर्खरै निस्किएका बासिन्दाको आम्दानीमा यसरी परिवर्तन आउनुमा के ले भूमिका खेल्यो त? यसमा के सरकार र राजनीतिक दलहरूको हिस्सा छ? यसको सोझो जवाफ हो- दार्चुलावासीको जीवनस्तर फेरिनुमा सरकार र राजनीतिक दलहरूको कुनै हिस्सेदारी छैन। यसरी जीवनस्तरमा व्यापक परिवर्तन आउनुमा कसैको भूमिका छ त त्यो हो दार्चुलाको माटो र त्यसमा उम्रिने जडीबुटी। दार्चुलाका हिमालहरूमा पाइने बहुमूल्य जडीबुटी नै हुन् जीवनस्तर परिवर्तनका आधार, यत्ती भन्दा फरक पर्दैन।

    नेपालको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रका दार्चुला, बझाङ र कर्णालीका डोल्पालगायतका जिल्ला मात्रै नेपालका यस्ता जिल्ला हुन्, जहाँबाट बर्सेनि टनका हिसाबले जडीबुटी संकलन हुने गर्छ। यार्सागुम्बा, च्याउ, सतुवा, वन लसुन, वनआलुलगायतका विभिन्न प्रकारका जडीबुटी संकलनपश्चात् चीन निकासी हुने गर्छन्। दार्चुलाको मार्ग भएर भारतको उत्तराखण्डका हिमालमा जडीबुटी चीनतर्फ निकासी गरिने भएकाले परिमाणका हिसाबले  सबैभन्दा बढी जडीबुटी संकलन हुने तथा निकासी हुने जिल्लामा दार्चुला एक नम्बरमा पर्ने गर्छ।

    काठमाडौंको ठमेलमा डेरा जमाएर बसेका चिनियाँ व्यापारीहरूले प्रतिकिलो १४ लाखदेखि २५ लाखसम्मका दरले किन्ने यार्सागुम्बा मात्रै दार्चुलाबाट बर्सेनि औसत सात क्विन्टलसम्म उठेको देखिन्छ। जिल्ला वनकार्यालय, दार्चुलाका अनुसार जिल्लामा विभिन्न प्रकारका ७८ प्रजातिका जडीबुटी पाइने गर्छन् भने करिब ३५-३६ प्रजातिका जडीबुटीको संकलन तथा निकासी हुने गरेको छ। तर, जडीबुटी संरक्षणबारे भने सबै पक्ष मौन बसेको देखिन्छ।

    जडीबुटीको घरभन्दा फरक नपर्ने दार्चुलामा तिनको वर्षैभरी संकलन र निकासी हुन्छ। यहाँ वर्षभरी कुन कुन जडीबुटी कुन सिजनमा संकलन गरिन्छ भन्नेबारे थोरै जानकारी दिन खोजेका छौँ।

    जेठदेखि साउन : यार्सागुम्बाको सिजन

    यतिबेला दार्चुलामा यार्सागुम्बा संकलनको सिजन चलिरहेको छ। यार्सागुम्बा संकलनमा विद्यार्थी जाने भएकाले विद्यालयहरू बन्द भएका छन्। मकै छर्ने र गोडमेल गर्ने बेला भए पनि गाउँहरू रित्तिएका छन्। बालबालिका, महिला र हिँडडुल गर्नसक्ने वृद्धवृद्धा अपि हिमालको फेदमा रहेको पाटन लोलु र छिमेकी लेकहरू सतगंगा, चाइमटेला, दुधवनका मैदान तथा पाखाहरूमा यार्सा टिप्नेहरू फौजका फौज पुगिरहेका छन्। मान्छेको सैलाबले लेकका पाखा ढाकेको छ।

    महिनौँ पुग्नेगरी खाद्यान्न र बन्दोबस्तीका सामान बोकेर पुगेका उनीहरू त्यहाँ डेरा हालेर बसेका छन्। सबैले आ-आफ्ने गाउँ, ठाउँ र समुदायअनुसार छुट्टाछुट्टै ठाउँमा किल्ला जमाएर बस्ने गर्छन्। किल्लाहरू त्रिपालले छपक्कै छोपिएका छन्। त्रिपाल तयार पार्न निगालो, काठको प्रयोग गरिन्छ। निगालो र काठलाई  भुइँमा रोपेर, टुप्पो नुगाएर घरजस्तै बनाएर त्रिपाल टाँगिने गरिन्छ। यसरी हजारौँ त्रिपालका लागि निलागोका झ्याङ र काठको व्यापक फडानी भएको छ। लेकमा दाउराका लागि मुख्य रूपमा सेतो-बैजनी गुराँसको प्रयोग गरिन्छ।

    दार्चुलाका लेकमा यार्सागुम्बा खोज्दै स्थानीय।

    यार्साको सिजन सुरु हुँदा सेतो-बैजनी गुराँसले छपक्कै छोपिएका लेक केही दिनमै नाँगो डाँडाका रूपमा देखा पर्छन्। यार्सा टिप्नेक्रममा मान्छेहरू पाखा र मैदानमा हातगोडा धसेर टिप्ने गर्छन्। यार्सा टिप्न सुरु गरेको दिन मैदानमा हरियाली देखिन्छ भने दोस्रो दिनदेखि हरियाली हराइसकेको हुन्छ। लेक पूरै उजाड भइसकेको हुन्छ।

    अन्य जडीबुटीको सिजन : साउनदेखि असोज

    साउन महिनाको दोस्रो हप्ता अर्थात् वर्षायामको मध्यतिरसम्म आइपुग्दा खोला नदीमा तर्नै गाह्रो हुने गरी पानी बढेको हुन्छ। यार्सागुम्बा पाइने मैदान तथा पाखाहरूमा विभिन्न प्रकारका वनस्पति उम्रेर बढीसकेका हुन्छन्। उम्रेका ननस्पतीमा आधाआधी जडीबुटी हुने गर्छन्, जस्तो जटामसी, कटुको, पाँचऔँले, सतुवा, वनलसुन, वनआलु, अतिस इत्यादि।

    निगालोका झ्याङ, धुपीसल्लो र सेतो-बैजनी गुराँस फडानी भएको कारण जताततै पहिरो गएको हुन्छ। जसले पहाडको पानीको बेग रोक्न नसकेर घर फर्किनेहरूलाई निकै दुःख कष्ट खेप्नुपर्ने हुन्छ। यार्सागुम्बा टिप्नेहरू घर फर्किएपनि वनलसुन, सतुवा, वन आलु, जटामसी, पाँचऔँले, कटुवाको लगायतका जडीबुटी संकलन गर्न बस्छन्। कुटो-कोदालो बोकेर जाने गर्छन्। नियम कानुनले केही सीमित जडीबुटी मात्र संकलन गर्न अनुमति दिए पनि संकलन गर्नेहरूले भेटेजटि जडीबुटी संकलन गर्छन्। फलस्वरूप विकट जिल्लामा औषधि नहुँदा ज्वरो र टाउको दुखाइको औषधिका रूपमा प्रयोग गरिने कटुको र जटामसी अहिले निकै दुर्लभ भइसकेको छ।

    यति मात्र होइन विगतमा मानिससमेत नपुग्ने लेकहरूमा अहिले भेडा बाख्रा र खच्चड चराउन थालिएकोले जडीबुटी उम्रने ठाउँमा बेसितिर उम्रने झारपात व्यापक रूपमा लेकतिर उम्रन थालेको देखिन्छ।

    असोजदेखि माघसम्म : वन्यजन्तुको सिकार

    यार्सागुम्बा टिपिसकेपछि यत्तिकै फर्किदैनन् मान्छे। उनीहरू बचेखुचेका खाद्यान्न चामल, दाल, नुन, तेल, रक्सी इत्यादिलाई प्लास्टिकका जर्किन र ड्रममा राखेर माटोमुनि गाड्ने गर्छन्, ताकि अर्को साल आउँदा सामाल बोक्न नपरोस्। वर्षमा कम्तीमा नौ महिना हिउँ पर्ने भएकाले त्यसरी राखेको सामान जस्ताको त्यस्तै रहन्छ।

    यसरी सामान राख्नेहरूमा अर्को वर्ष यार्सा र जडीबुटी खोज्ने मात्रै हुँदैनन्। केही शक्तिशाली सिकारीहरू पनि हुन्छन्। जो हिउँदका महिनामा आएर वन्यजन्तुको सिकार गर्न लेक जाने गर्छन्। उनीहरू वन्यजन्तुलाई मार्नका लागि पासो पनि थाप्ने गर्छन्। १५-२० वर्ष पहिले गाउँघरमा आउने, बारीमा चर्ने र बालिनाली खाने वन्यजन्तु लेकका कुनाकाप्चामा पनि देख्न मुस्किल पर्छ। ती वन्यजन्तुमा नाउर, मृग, बाघ, झारल बथानका बथान देखा पर्थे, तर अहिले लोप भएका छन्। उनीहरू पाहुना चराजस्तै उडेर साइबेरिया पुगेका होइनन्, तिनै सिकारीका गोलीका सिकार भएका हुन्।

    लेकमा : जुवातास, रक्सी र रगत

    लेकमा यार्सागुम्बा टिप्ने मात्र पुग्दैनन्। त्यहाँ समाजमा रहेका सबै पक्षहरू देख्न पाइन्छ। उद्देश्य करिब-करिब एउटै हुन्छ, पैसा कमाउने। कसरी कमाउने भन्नेमा भने फरक-फरक बाटो हुन्छ, अधिकांश यार्सागुम्बा टिपेर कमाउने हुन्छन् भने कोही पसल थापेर त कोही जुवा खेलेर। यार्साबाट कमाउन खोज्नेहरूको त कुनै कुरा भएन, बिहानै उठ्यो र दिनभरी पाखामा आँखा डुलायो। जो जुवा खेलेर पैसा कमाउन चाहने हुन्छन् उनीहरूको परिवारमा भने रुवाबासी पनि हुन्छ।

    हिउँमा मान्छेका हिँडेका पदचापहरू

    लेकमा अर्को बिक्ने चिज भनेको रक्सी र मासु हो। कतिपय हिमाली गाउँहरूमा पारिएको रक्सी बोकेर लेक पुर्‍याउने हुन्छ। त्यस्तै, खोल्साहरू रक्सीका बोतलले भरिएर फोहोर बनेका हुन्छन्। साथमा अनगिन्ती भेडाबाख्रा मारिन्छन्। जसको रगतको खोलो बग्ने गर्छ। त्यसरी मारिएका भेडाबाख्राको आन्द्राभुँडीबाट निस्किएको लिदीले पानीको मुहान फोहोर गरिएको हुन्छ।

    लुटपाट, हत्या, मृत्यु

    यार्सागुम्बा र जडीबुटीका रूपमा रुपैयाँ उम्रने, तर राज्यको उपस्थिति नभएको लेकमा लुटपाट र हत्याका घटना घट्नु सामान्य बनिसकेको छ। लेकमा यार्सागुम्बा चोरी हुने र लुट्ने घटना बर्सेनि सुनिन्छन्। 

    लेक लागेर र भीरबाट लडेर मृत्यु हुनेको संख्या पनि बर्सनी बढ्दै गएको छ। गतवर्ष मात्रै लेक गएको बेला थाहा पाएको थिए सतगंगा, पाँच-छ लेकमध्ये सानो लेक सतगंगामा मात्रै सात जनाको मृत्यु भएको थियो। जसमा लेक लागेर र हत्याका घटना थिए। त्यसरी मारिनेमा घरमा दूधेबालक छोडेर धन कमाउन लेक पुगेकी महिला पनि थिइन्।

    असर

    दार्चुलामा अपिनाम्पा संरक्षण क्षेत्र र जिल्ला वन कार्यालयले जडीबुटीको लागि पुर्जी दिने र राजस्व उठाउने गर्छन्। बर्सेनि करोडौँ राजस्व उठ्ने गर्छ। तर, जडीबुटी, वन्यजन्तु र पर्यावरणको संरक्षणमा कसैले पनि ध्यान दिएको देखिँदैन। सम्बन्धित निकायले ध्यान नदिने हो र यसरी नै विनास भइरहने हो भने अबका केही वर्षमा त्यहाँका जडीबुटी र वन्यजन्तु केवल फोटोहरूमा मात्र सीमित हुने निश्चित छ।

सुरेन्द्रसिंह ठगुन्ना

त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नाकोत्तर गरेका लेखक ठगुन्ना शिक्षण पेसामा आबद्ध छन्। उनी समाज, साहित्य र संगीतमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]