अर्थ

प्रदेश ३ ले विद्युतीय सवारीमा ३० करोड लगानी गर्ने
SHARES

कात्तिक २०, २०७५

    काठमाडौं : प्रदेश ३ ले दिगो सार्वजनिक यातायात सञ्जाल विस्तार गर्न यसै वर्ष ३० करोड लगानी गर्ने भएको छ।

    प्रदेशभित्रका १३ जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आउँदो बैशाखबाटै यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसकालागि मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद सदस्य कृष्ण राई, प्रदेशसभा सदस्य दीपक निरौला, महानगरका प्रमुखसहितका पदाधिकारीसँग  साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेसँग बैठक बसेको हो। सार्वजनिक यातायात सञ्चालनमा साझा यातायातले यस अघि स्थानीय सरकारसँग समन्वय गरेर काम गरेकोले विगत सिकाइ बुझ्न साझाका अधिकारीलाई बैठकमा सहभागी गराइएको हो।

    'सार्वजनिक निजी साझेदारितामार्फत सार्वजनिक यातायात सञ्चालन गर्ने मेरो लक्ष्य हो। इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गरेर वातावरणमा इन्धनजन्य सवारीबाट परेको असर कम गर्ने प्रदेशको नीतिअनुरूप लगानी हुनेछ', बैठकमा मुख्यमन्त्री पौडेलले भने, 'यसका लागि आउँदो बैशाखबाट प्रदेश सरकारबाट सञ्चालित बिद्युतीय बसहरु चल्नेछन्।' मुख्यमन्त्री पौडेलका अनुसार त्यतिबेला सम्ममा प्रदेशको स्थायी राजधानी टुङ्गो लाग्यो भने त्यसैलाई केन्द्रमा राखेर तथा टुंगो लागेन भने काठमाडौंलाई केन्द्रमा राखेर यातायात सञ्चालन हुनेछ। 

    नागरिकको जीवन पद्धतिलाई सहज बनाउन प्रदेश सरकार ठोस कार्यक्रमसहित अगाडि बढेको छ। बैठकमा बोल्दै प्रदेशसभा सदस्य दीपक निरौलाले सार्वजनिक सवारी सञ्चालन गर्ने नीति कार्यान्वयनमा काम भइरहेको बताए।

    'काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात प्रणालीमा सुधार ल्याउन लगानी गरिसकेको छ। यसबाट प्रतिफलको लाभभन्दा नागरिकलाई सहज सेवाको अपेक्षा गरिएको छ', बैठकमा अभ्यास र अनुभव सुनाउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने। काठमाडौंको व्यवस्थापन सहजताका लागि प्रदेश र संघ सरकारसँग मिलेर महानगर लगानी गर्न तत्पर रहेको उनले बताए। सहरभित्र ठूला सवारी साधन चलाएर अहिले काठमाडौंमा चलिरहेका साना सवारीलाई अन्य रुटमा लैजानुपर्ने महानगरले महसुस गरेको समेत उनले बताए

    'अहिले स्थानीय तहमा गरेको अभ्यासका आधारमा प्रदेश सरकारसँग हामी साझेदारिता गर्न तत्पर छौँ। यसबाहेक अरू कुनै ढाँचा तयार पार्न पनि सकिन्छ', बैठकमा साझाका अध्यक्ष कनकमणि दीक्षितको प्रस्ताव थियो। साझा यातायातमा अहिले संघ सरकारको करीव २६ करोड, काठमाडौं महानगरको १५ करोड, ललितपुर महानगरको १ करोड रुपैयाँ तथा ललितपुरकै गोदावरी र महालक्ष्मी तथा काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाको शेयर छ। यसबाहेक अन्य विभिन्न व्यक्ति र संस्था पनि साझाका शेयर सदस्य हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]