काठमाडौं: केही दिनअघि पुरानो बानेश्वरबाट थापागाउँ जान लागेका एक वृद्धले फुटपाथमा बेच्न राखेको तरकारी कुल्चिए। व्यापारीले आँखा&...
काशीराम शर्मा-
बाँके : परिवारको आर्थिक अवस्था उकास्न र साहुको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे। ६ वर्ष कुवेतको गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन। विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।
खजुरा गाउँपालिका–३ गाउँका सुनारले ६ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती सुरु गरे। स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो। १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन्। उनको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ।
उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रमअन्तर्गत रु ६० हजारबाट तरकारी खेती शुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर रु १६ हजारको लगानीमा च्याउ खेती शुरु गरे। शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनी उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन्। उनले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए। 'लक्ष्मी बैंकबाट रु ३५ लाख ऋण लिएँ', उनले भने, 'यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।'
विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएका उनले बताए। 'अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,' उनले भने। टहराबाट च्याउखेती शुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाए । अहिले च्याउ लगाउनका लागि आठ वटा ठूला कोठा निर्माण गरिएको छ। पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ।
उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन्। च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन् भने चाउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् । आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ। फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भए पनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन शुरु गर्ने सुनारले बताए। च्याउको सिजन शुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यसवर्ष बढाउने लक्ष्य लिएका छन्।
उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालीमबिना नै च्याउ खेती शुरु गरेका सुनार अचेल आफैँ तालीम दिन्छन्। मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो । आत्मविश्वास बढ्यो, यसैमा लागिपरे र कर्म गरे अवश्य फल पाइन्छ। उनले भने, 'हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नुपर्थ्यो र आज दुई/चार लाख दिने मान्छे छन् ।' व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । उनी च्याउखेतीमै लागिपरे र सफल पनि बने।
'विसं २०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिनँ,' उनले भने, 'साथीभाइको साथले फेरि शुरु गरें ।' समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए। सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका छन् । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनी बताउछन्। 'आफ्नो काममा खुसी र सन्तुष्ट छु', उनले भने, 'अझै धेरै गर्न बाँकी छ ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।