विचार

फाल्गुनन्द : सिपाहीदेखि महागुरुसम्म
SHARES

कात्तिक २५, २०७५
    • आङ्बुहाङ अबोध अविरल

    राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द (वि.सं. १९४२–२००५) समान्य किसान परिवारमा जन्मिएका हुन्। आर्थिक कठिनाइ, विध्वंशकारी प्रथम विश्वयुद्ध र निरंकुश राणा शासनबीच उनको जीवन बितेको थियो। चुनौतीमाझ अध्यात्मिकता, मानवता, समानता, अहिंसा, शान्ति, प्राणी रक्षा र वातावरण संरक्षणका निम्ति उनले धेरै कामहरू गरे। उनका कार्यको उच्च मूल्यांकन गर्दै राज्यले राष्ट्रिय विभूतिका रूपमा विभूषण गर्‍यो। महागुरु फाल्गुनन्दका कार्यहरूको कम बहस भएका पक्षहरूबारे यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ। 

    शान्ति र अहिंसाको वकालत

    महागुरु फाल्गुनन्द वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना भए। उनले १२ वर्ष फौजी जीवन बिताए। वि.सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्ध भई १९७५ कात्तिक २६ मा समाप्त भयो। युद्धमा ९० लाख सैनिक र ७० लाख सर्वसारधण मारिएका थिए। पहिलो विश्वयुद्धमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत थिए।  

    प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रूपमा परिचित थिए। उनको कमाण्डमा एक सेक्सन सिपाही युद्धमा खटिएको थियो। युद्ध चलिरहेको एक दिन आफ्ना सेक्सन सिपाहीहरूलाई भने, ‘हेर! दुश्मन भनिनेहरू पनि हामी जस्तै मानिस हुन्। जर्मनहरूले हाम्रो केही पनि बिगारेका छैनन्। उनीहरूलाई स्वास्नी, छोराछोरीले दुःख पाउँछन्। तर हामीले सरकारको नुनपानी खाएका छौँ, नुनको सोझो गर्नुपर्छ। हुकुम पालना गर्नै पर्छ। यसकारण गोली कि अकाशतिर कि भुँइतिर हान्नू, मान्छेलाई ताकेर नहान्नू। माङलाई सम्झनु। सत्य र धर्ममा बसियो भने मरिँदैन।’ 

    फाल्गुनन्द युद्धको शान्तिपूर्ण सामाधानका पक्षमा थिए। उनी हिंसा चाहँदैनथे। विश्वयुद्ध समाप्त भएपछि उनी स्वदेश फर्किए। पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो। युद्धले पैदा गरेको नरसंहार, रक्तपात, विध्वंस, पीडा, वियोग र विनासप्रति सायद वितृष्णा थियो उनमा। पल्टने जीवनपछि उनले शान्ति र अहिंसाका पक्षमा वकालत गरे।

    महागुरु फाल्गुनन्दले नेपाल, भारत, भूटान र वर्मा पुगेर विश्व शान्ति र अहिंसाको सन्देश छरे। महागुरु फाल्गुनन्दले वि.सं. १९७६, १९८६ र १९९३ मा भूटान भ्रमण गरेका थिए। त्यसबेला साम्ची राजरुख, ताला, ढुंगेना, छुसा, छुङफोलिङ र कोठीलाइन र तुम्बापो गाउँमा भ्रमण गरेका थिए। भूटान दाँगापेलामा छ महिनासम्म बसेर किरात लिपि, मुन्धुम र विश्व शान्तिबारे प्रचार प्रसार गरे। 

    पल्टने जीवनपछि उनले कुनै विलासी जीवन र सुख सहेलको खोजी गरेनन्। सुविधासम्पन ठूला शहर रोजेनन्। पूर्वी नेपालको डाँडाकाँडा, गाउँघर घुमे। समाजमा द्वन्द्व, मारकाट, लडाइँ र झगडाको कारक तत्त्वको खोजी गरे। अधिक मद मदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रूपमा पाए। यसबाट समाजलाई बाहिर ल्याउन के गर्न सकिन्छ भनेर तत्कालीन लिम्बूवान (पूर्वी नेपाल)का थुम तथा गाउँ प्रमुख सुभा र तुम्याहाङहरूसँग थुप्रै चुम्लुङ (बैठक) गरे। त्यसमध्ये सबैभन्दा वृहत र ऐतिहासिक महत्त्वको चुम्लुङचाहिँ वि.सं. १९८८ बैशाख २४ गतेको पान्थर लब्रेमा सम्पन्न चुम्लुङ थियो। 
    महागुरु फाल्गुनन्दले वि.सं. १९९४ हिउँदमा आफ्ना चेलाहरूका साथ माझ किरात भ्रमण गरे। त्यसबेला उनले उदयपुर, ओखलढुंगा र भोजपुरका गाउँगाउँ डुलेर भाषा, लिपि, संस्कृति, शान्ति र अध्यात्मिकताबारे प्रचार प्रसार गरेका थिए।  

    मातृभाषामा शिक्षाको पहल 

    समाजको पछौटेपन र अज्ञानताको कारकका रूपमा ‘अशिक्षा’ रहेको महागुरु फाल्गुनन्दले थाहा पाए। महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैशाख २४ गते सुरु भएको लिम्बूवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण, भक्तजन र तुम्याहाङहरूको भेलाले सात बुँदे सत्यधर्म मुचुल्का निर्माण गर्‍यो। मुचुल्कामा युमा माङ्हिम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कुल खोल्ने उल्लेख गरेको थियो। त्यसबेला विद्यालयहरू खोल्न सहज थिएन। माङ्हिमहरूमा मुन्धुम शिक्षा लिने व्यवस्था गरे। मुन्धुम पठनपाठनका माध्यमबाट हजारौँ भक्तजन साक्षर भए। 

    महागुरु फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गरेको समयमा आमनागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन। राणा शासकहरूले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए। वि.सं. १९८६ मा पुस्तकालय खोल्ने योजना बनाइरहेका लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठलगायतका दर्जनौँ युवालाई एक महिना कैद गरियो। वि.सं. १९८७ मा भीमशम्शेरले पाठशाला संचालनमा रोक लगाए। अन्य आदिवासीका मातृभाषामा शिक्षाका विषय सोच्न सक्ने अवस्था थिएन। जहानियाँ राणा शासनकालमा शिक्षालाई नागरिकका आधिकारका रूपमा लिने गरिन्नथ्यो। शिक्षा शासकहरूको ताजबिजमा थियो। शाह राजा र राणा प्रधानमन्त्रीका सन्तानका निम्ति विद्यालयहरू खोलिएका थिए। 

    हाल ‘मातृभाषामा शिक्षा’को मुद्दा शिक्षा क्षेत्रको जल्दोबल्दो विषय हो। संयुक्त राष्ट्र संघको पहलमा सन् १९९० मा थाइल्याण्डको जोम्तिममा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले ‘सबैका लागि शिक्षा’ नीति पारित गरेको थियो। उक्त नीतिको नेपालले पनि समर्थन गरेको थियो। सन् २००० मा सेनेगलको डकारमा सम्पन्न विश्व शिक्षा मंचको सम्मेलनले ‘डकार ढाँचा’ तयार पार्‍यो। सोही ढाँचाको आधारमा नेपालले ‘मातृभाषाको माध्यमबाट आधारभूत तथा प्राथमिक शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने नीति तय गर्‍यो। ‘राष्ट्रिय शिक्षाको योजना आयोग’ले वि.सं. २०११ मा पेस गरेको प्रतिवेदनमा खस नेपाली भाषालाई शिक्षाको माध्यमको रूपमा सिफारिस गर्‍यो। यसले खस नेपाली भाषाको विकासमा सहयोग पुगे पनि गैरखसभाषी विद्यार्थीमा शिक्षाको पहुँच विस्तार हुन सकेन। मातृभाषामा शिक्षा दिँदा सिकाइ उपलब्धि राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविद्हरूले निकालेका छन्। नेपालको संविधान, २०७२ को धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरेको छ। यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धी दूरदृष्टिलाई स्पष्ट पार्छ। 

    मानवता, समानता र नारीवादी आन्दोलन 

    महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि बढाएका थिए। मुचुल्काले समाजमा लिंगीय, जातीय र भाषिक विभेदलाई हटाउन चाहेको थियो। सत्य धर्म मुचुल्काको पहिलो बुँदामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख गरेको छ। छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ। किरात लिम्बू समुदायमा छोरीको विवाहमा ‘मोल’ नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ।

    बली पूजा त्याग्ने विषयलाई सत्य धर्म मुचुल्काले जोड दिएको छ। मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने गर्छ। अन्य प्राणीलाई विवेकहीन र आत्मारहित प्राणीको रूपमा ठान्छ। आफ्नो भलो हुने आशामा अन्य प्राणीको बली चढाउने चलन पनि छ। सत्य धर्म मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई ‘माङ (ईश्वर)को सन्तान’को रूपमा व्याख्या गर्ने प्रयास गरेको छ। बली पूजा जीव हिंसासँग सम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डोर्‍याउनुपर्नेमा जोड दिएको छ। बली पूजाको ठाउँमा फलफूल चढाउनुपर्नेमा जोड दिएको छ। 

    मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ। मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वाथ्यमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने मुचुल्कामा समावेश गरिएको छ। महागुरु फाल्गुनन्दले यी कार्यका निम्ति राजद्रोहको अभियोग भोग्नुपर्‍यो। उनलाई वि.सं. १९९०–९१ मा ‘लिम्बूवानको राजा बन्न खोजेको’, ‘रीतिथिति बिगारेको’लगायतको अभियोगमा पक्राउ गरी काठमाडौं लगिएको थियो। वि.सं. १९९५ मा दोस्रो पल्ट गिरफ्तार भए उनी। 

    मुन्धुम लिपीकरण 

    महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गरे। वि.सं. १९८८ बैशाख २४–२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्य धर्म मुचुल्का’ले मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरेको थियो। उनले लामो समयदेखि मौखिक परंपरामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गरे। 
    ‘थेबा–युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’लगायत चार दर्जन मुन्धुमहरूलाई महागुरुले लिपिवद्ध गरेका छन्। उनी आफैँमा मुन्धुमसावा थिए। जब उनमा ‘माङ लिन्छिङ’मा गथ्र्यो, उनले मुन्धुम भन्थे। चेलाहरूले किरात सिरिजंगा लिपिमा लेख्थे। चेलाहरू सधैँ गाउँमा निर्मित मसी र बाँसका कलमसँगै हिँड्ने गर्थे। उनले लिपिवद्ध गरेको मुन्धुमलाई सम्पादन र छपाइमा ल्याउने कार्य मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङले गर्दै आएका छन्। हाल नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिंगापुर, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ। माङ्सेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ। अझ धेरै मुन्धुमहरू लिपिबद्ध हुन बाँकी छन्।  

    संहिताकृत मुन्धुमहरूलाई प्रयोग र अध्यायन गर्न माङ्हिमहरूको स्थापना गरियो। महागुरु फाल्गुनन्दका पालामा ताप्लेजुङ, पान्थर, इलाम र भूटानका विभिन्न स्थानहरूमा माङ्हिमहरू स्थापना गरिए। ती माङ्हिमहरूमा ढोड र दियालो बालेर मुन्धुम पढ्ने गरेको महागुरुका जीवित चेला नरदल फेजोङ सुनाउँछन्। यो मुन्धुम पठनपाठनको अनौपचारिक थालनी थियो। यसैको निरन्तरता स्वरूप किरात धर्मगुरुले मुहिङ्गुम अङसिमाङ लिङ्देन आत्मानन्दले वि.सं. २०४० तिर माङ्सेबुङ इलाममा ‘किरात साम्जिक मुन्धुम निसामहिम’ स्थापना गरी मुन्धुमको औपचारिक पठनपाठन सुरु गरेका थिए। 

    बिरामी दुःखीको सेवा

    महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय बिरामी तथा दुःखीहरूको सेवामा बिताए। पल्टनमा आधुनिक औषधिले निको नभएका बिरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपाचार गरे। यसबारे हेमबहादुर गुरुङ र कुलानन्द दाहालद्वारा वि.सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’मा उल्लेख छ। महागुरु फाल्गुनन्द पल्टनमा रहँदा पनि बिरामीहरूको सेवामा तल्लीन रहने गर्थे। 

    महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्त्वहरूलाई माङको अंशका रूपमा सम्बोधन गर्ने गर्थे, जसले प्रकृतिसँग विवेकपूर्ण अन्तर्क्रिया गर्नेतर्फ प्रेरित गर्छ। यसले खोलानाला, हावापानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ। 

    धामी, झाँक्री या फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौँ बिरामीहरूलाई महागुरु फाल्गुनन्दले निको पारेका घटनाबारे थुप्रै पुस्तक, लेख र किंवदन्ती पढ्न र सुन्न पाइन्छ। उनले नेपाल, भारत, भूटान र बर्माका विभिन्न स्थानमा पुगेर बिरामी तथा दुःखीहरूका निम्ति माङ्सेवा तथा जडिबुटीबाट उपचार गरे। वि.सं. १९९३ मा महागुरु फाल्गुनन्द भूटान गए। 

    वि.सं. २००१ मा काठमाडौंका जनरल विक्रमशम्शेर जबरा र उनकी श्रीमतीलाई उपचार गर्न महागुरु फाल्गुनन्दलाई काठमाडौं झिकाइएको थियो। तत्कालीन नायव वडागुरु पं. द्वीपराजको सल्लाहअनुसार जनरलले ‘पूर्वी लिम्बूवान पल्लो किरातमा एक जना तपस्वी लिम्बू ठूला गुरु’ लिन एक सिपाही पठाए। ‘ठूला गुरु’ महागुरु फाल्गुनन्दलाई भनिएको थियो। महागुरु फाल्गुनन्द काठमाडौं गए। सेवा र उपचार गरे। उनीहरू निको भए। महागुरुले दुःखीका निम्ति निःशुल्क सेवा गर्थे। उनलाई जनरलले उपकारवापत ५०० रुपैयाँ भेटी राखी बिदा दिन खोज्दा आफूले उपकारवापत कहिल्यै रुपैयाँ पैसा लिने नगरेको बताए। उनलाई काठमाडौंमा बस्न अनुरोध भयो तर उनी काठमाडौं बसेनन्। उनले समाजका निम्ति सेवा गर्ने जिम्मेवारी रहेको बताए। 

    लामो समय बिराम भएका बिरामीहरू उनले उपचार गरेपछि सजिलै निको हुन्थे। महागुरु फाल्गुनन्द जहाँ पुगे पनि बिरामीको लाइन हुन्थ्यो। उनले योग साधनाबाट माङ्गेप्मा (निर्वाण) गर्नुभएको थियो। योग विज्ञानका अनुसार योगका माध्यमबाट आफूभित्र रहेको अद्भूत शक्तिलाई मानिसले कुनै अंगमा केन्द्रित गर्न सक्छन्। यसरी शक्ति शरीरको कुनै अंगमा केन्द्रित गरेको बिरामीलाई उपचार गर्न सकिन्छ। यसलाई ‘रेकी’ भनिन्छ। गौतम बुद्ध र फाल्गुनन्द बिरामीका अगाडि गइदिए पनि बिरामी निको हुने गरेको सुन्न, पढ्न पाइन्छ। 

    मनोविज्ञका अनुसार मानिस योग साधनाका माध्यमबाट ‘परमचेतन’ (सुपर कन्सियस)मा पुग्न सक्छन्। परमचेतना प्राप्त भएपछि मानिसले भूत, वर्तमान र भविष्यवारे थाहा पाउन सक्छन्। अर्कोतर्फ मानिसको ‘विलिभ सिष्टम’ (विश्वास प्रणाली) जागृत गराएपछि मानिसभित्रको अद्भूत शक्ति सक्रिय हुन्छ। मानिसभित्रको अद्भूत शक्ति जागृत भएमा बिरामीले रोग जित्न सक्छन्। महागुरु फाल्गुनन्दमा बिरामीको विश्वास प्रणाली जागृत गराउने विशेष क्षमता थियो, जसका कारण हजारौँ बिरामीको उपचार संभव भएको थियो।  

    प्रकृति संरक्षण 

    महागुरु फाल्गुनन्द जहाँ पुगे पनि सेवा पूजा गर्ने गर्थे। उनले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरूमा माङ्सेवा गर्थे। उनले नेपाल, भारत, भूटान र बर्माका सयौँ स्थानहरूमा सेवा लगाएको कुरा विभिन्न लेख र पुस्तकमा उल्लेख भएको पाइन्छ। महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्त्वहरूलाई माङको अंशका रूपमा सम्बोधन गर्ने गर्थे, जसले प्रकृतिसँग विवेकपूर्ण अन्तर्क्रिया गर्नेतर्फ प्रेरित गर्छ। यसले खोलानाला, हावापानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ। 

    पल्टने जीवनपछि महागुरु फाल्गुनन्दले स्वदेश विदेशका विभिन्न ठाउँको भ्रमण गरे। खानेपानीको स्रोत नभएका विभिन्न स्थानमा पानी उमारे, कुवाहरू खनाए। वि.सं. १८८३ मा पाँचथरको चोकमागुस्थित लब्रेमा ‘किरात साङसेनवरक’ माङ्हिम निर्माण गरे। माङ्हिम क्षेत्र निपानी थियो। खानेपानीको मुहान थिएन। माङ्हिम नजिकै वि.सं. १८८४ मा माङ्सेवा गरी पानी मागे, कुवा खनाए। उक्त निपानी जग्गामा पानीको मुहान फुट्यो। मुहान संरक्षणका निम्ति लब्रेको सयौँ रोपनी जग्गामा बिरुवा लगाए। 

    महागुरु फाल्गुनन्दले अन्य धेरै स्थानमा पानी उमारेका पाइन्छ। पान्थर रविको मुढेमा साधु गुफा माडे चौर, इलाम जीतपुर पारिगाउँमा उनका काका बलिवन्त लिङ्देनको अनुरोधमा वि.सं. १९८० मा र १९८५ मा इलाम माङमालुङ छेउ तीनचुलेमा पानी उमारेका थिए। यसैगरी वि.सं. १९८६ पान्थर कुरुम्बा– १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा र १९९४ मा इलामकै इभाङ चिम्भुवामा पानी उमारेको उल्लेख छ। महागुरु फाल्गुनन्दले उमारेको पानी आजसम्म पनि प्रयोग भइरहेको छ। 

    निपानी जग्गामा पानीको मुहान फुटाउनुमा उनमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो। पानीका मुहानलाई टिकाउन वृक्षरोपण गर्थे। लब्रे सुरुमा नाङ्गो डाँडाको रूपमा रहेका थियो। महागुरु फाल्गुनन्दले दार्जिलिङको भुसपाते र नेपालका विभिन्न स्थानबाट बिरुवाहरू ल्याएर वृक्षरोपण गरे। उक्त स्थानको बिरुवा नकाट्न एउटा सत्य धर्म मुचुल्का बाँधे। जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो। 

    महागुरुले थुप्रै स्थानहरूमा पहिरो थामेको उनको जीवनी पढ्दा र सम्बन्धित क्षेत्रका मानिसबाट बुझ्न पाइन्छ। महागुरु फाल्गुनन्दबारे लामो समयदेखि खोजमा लागेका रमेश तुम्बापो र मनकुमार फेजोङले ‘महागुरु फल्गुनन्द र लोपोन्मुख कथाहरू’ नामक पुस्तकमा चर्चा गरेका छन्। वि.सं. १९७८ बैशाखमा चोकमागुका सुब्बा हर्कधोजले ‘मेरो जग्गामा हिउँदको वर्ष बगिरहने पहिरो छ, त्यसलाई रोकिदिनू’ भनेपछि उनले सेवा लगाइदिए। पैह्रो थामियो। एकपल्ट मिक्लुक थुम (हाल इलामको साक्फारा– ८) कालीखोला र बुबाना खालाशिरमा ठूलो पैह्रो गएको ठाउँमा त्यहाँ गाउँसमेत लाने आशंका थियो। उक्त स्थानमा पहिरो रोक्न उनले उपाय सुझाए। यसैगरी इलामको बाँझो– ८, आदिपुरमा सेवा लगाएपछि पहिरो थामिएको थियो। उनले स्वदेश र विदेशका विभिन्न स्थानहरूमा पैह्रो रोक्न माङ सेवा लगाउने, वृक्षरोपण गर्न लगाउने र भूमिलाई प्रदूषित नगर्न अनुरोध गर्थे। यसले प्रकृति संरक्षणमा उनको भूमिका देखिन्छ। 

    अन्त्यमा,

    महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति भएपछि उनको जीवनका विभिन्न पक्षबारे छलफल भइरहेका छन्। उनलाई अध्यात्मिक र सांस्कृतिक दृष्टिकोणबाट बढी छलफल गरिएका छन्। महागुरु फाल्गुनन्दका दर्शनलाई मानवतावादी र प्रकृतिवादी दृष्टिकोणबाट व्याखा गर्दा फरक अर्थहरू पाउन सकिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]