विचार

अपरिचित काठमाडौं: ज्यूँदा पद्मरत्नहरूको सम्मान र नबोकिएको डुंगा
SHARES

कात्तिक ३०, २०७५

    त्यसबेला मेरा लागि राजधानी काठमाडौं उपत्यका नौलो थियो र उसका लागि पनि म नौलो नै थिएँ शायद। त्यसैले जता गए पनि म काठमाडौंलाई गहिरोगरी नियाल्थेँ र काठमाडौंले मलाई कता नमिलेको के नमिलेको मान्छे भनेर हेर्थ्यो। कताकता जिस्क्याउँथ्यो, गिज्याउँथ्यो, हेप्थ्यो पनि। काठमाडौं धेरै जान्ने थियो म नजान्ने। पुस्तौंदेखि राजनीति सत्ता संस्कृति शिक्षा र पुँजीको केन्द्र काठमाडौंले ताप्लेजुङको सदरमुकामबाट अलिटाढाको गाउँमा जन्मिएर बल्लतल्ल विद्यालयको मुख देखेको किसानको छोरोलाई चिन्न सजिलो थिएन। न त केटाले काठमाडौंलाई चिन्न सजिलो थियो।

    यसका काखमा बसेको चार दशक हुन लाग्दा पनि बेलाबखत पुन: परिचयको जरुरी हुन्छ। किनभने काठमाडौंसँग अहिले पनि पुस्तौंदेखि राजनीति सत्ता संस्कृति शिक्षा र पुँजीको केन्द्र हुनुको स्वाभिमान मात्र होइन दम्भ छ। त्यसैले ऊ उसको पुरानो ढाचा ढर्रामैं चलेको छ, म मेरै काइदाले चलेको छु। कहिलेकाहीँ जम्काभेट हुन्छ अनि फेरि टाढिन्छौँ हामी। यद्यपि उसको इज्जतमा मैले धावा बोलेको छैन र मेरो स्वाभिमानमा उसले ठेस लाउने जमर्को  गरेको छैन। जे होस् आजभन्दा ३८ वर्षअघि काठमाडौं उपत्यका छिर्दा अहिले भन्दा निक्कै कम भिड। धेरै बढी शान्त र सुरक्षित। संख्याका हिसाबले कम धनीमानी र उनीहरूको बढी फूर्तिफार्ती, काठमाडौं बाहिर र भित्रको भेद ठूलो। अझ पहाडका दूरदराजबाट र तराईबाट आउनेका लागि लगभग बिरानो। त्यसबेला लाउन खान हिँड्न बोल्न काठमाडौंले सिकाउँथ्यो।

    २०३८ साल हिउँदको अन्त्यतिर एक अपराह्न म लैनचौरस्थित एउटा एकतले घरमा पुगेँ। अरुण नेपालका साथ। भीम रावलसँग भेट भयो। त्यहाँ छापाखाना थियो र त्यहाँबाट छलफल साप्ताहिक छापिने गरेको बुझ्न मलाई समय लागेन। भीम रावल छलफल साप्ताहिकका लागि काम गर्नुहुँदो रहेछ। म साहित्यमा चाख राख्न्ने अनि व्यङ्ग्य र कवितामा कलम चलाउने भएकोले छलफलमा नियमित लेख्ने भएँ। त्यसपछि केही समय म छलफलमा जोडिन पुगेँ। नियमित जसो समाचार र समसामयिक व्यङ्ग्य लेखेँ। सुरुमा कसको घर र कसको छापाखाना भन्ने पनि थाहा भएन। तर आवतजावतका क्रममा छापाखानामा निहुरिएर काममा जोतिइरहने फ्रेञ्च कट दाह्री भएको शान्त र शिष्ट त्यो मानिसकै घर र छापाखानाको साहु पनि आफैं रहेको थाहा भयो। र, त्यो हँसिलो मिजासिलो मानिसको नाउँ पद्मरत्न हो भन्ने पनि थाहा पाएँ।

    अलिपछि उनको थर अनेरास्ववियुका केन्द्रीय नेता नन्द कन्दङवा, कोमल भट्टराई र महाराजगञ्ज क्याम्पसमा अध्ययनरत अर्का नेता मोहन दाहालबीच मैले छापाखानाको प्रसंग र पत्रिकामा काम गर्न थालेको सन्दर्भमा पद्मरत्न श्रेष्ठको घरमा जाने गरेको कुरा गर्दा ती मानिस श्रेष्ठ नभई तुलाधर भएको थाहा पाएँ। छापाखानामा जाने क्रमसँगै पद्मरत्नसँग मेरो परिचय भयो। हास्यव्यङ्ग्य र कविता मुक्तक लेखनमा मैले कलम चलाउने गरेको थाहा पाएर हामीबीच लेखनका बारेमा कुराकानी पनि हुन्थ्यो। महको कलामा उहाँको कति योगदान थियो मलाई थाहा छैन तर मह जोडी पनि दुईचार चोटी त्यहाँ पुगेको मैले देखेको थिएँ। यसैकारण २०३९ र २०४० सालको गाईजात्रा महोत्सवमा मेरो एकल प्रदर्शनको तयारीका सन्दर्भमा म पनि पद्मरत्नसँग विषय र प्रस्तुति प्रभावकारी बनाउन सल्लाह लिन पुगेको थिएँ। 

    २०४० सालको मध्यदेखि म युगधारा साप्ताहिकमा संवाददाताका रूपमा सम्बद्ध भएँ। रघु पन्त त्यहाँ 'सतहभित्र खोतल्दा' स्तम्भ लेख्नु हुन्थ्यो। म रघुजी मार्फत नै त्यहाँ पुगेँ। युगधाराका सम्पादक हिरण्यलाल श्रेष्ठ प्रकाशक तीर्थमान ज्यापू  सल्लाहकार पद्मरत्न तुलाधर र कृष्णदास श्रेष्ठ हुनुहुन्थ्यो। जगदीशचन्द्र भण्डारी साहित्य हेर्नुहुन्थ्यो। तुलाधरको सर्वमान्य व्यक्तित्व शिष्ट भद्र र शान्त स्वभावबारे जान्ने बुझ्ने अवसर मैले त्यहाँ पनि पाएँ।

    आफू विद्यार्थी राजनीतिमा पनि सक्रिय पत्रकारितामा पनि केही गरौँ भन्ने जाँगर थियो। गोपाल चिन्तनसँग पैरवी पत्रिकाको लागि पनि काम गरियो। त्यसबेला पनि पद्मरत्नकहाँ बराबर पुग्थ्यौँ गोपाल र म। त्यसबेला ऋषिकेश शाह, गोविन्दप्रसाद लोहनी, डा. हर्क गुरुङ, मञ्जुर वर्ल्ड, आनन्ददेव भट्ट, वासुदेव ढुंगाना र प्रेमकृष्ण पाठकका विचार हामी खोज्थ्यौँ। यस क्रममा पद्मरत्न हाम्रा लागि सल्लाह दिन सक्ने गम्भीर गुरु पनि हुनुहुन्थ्यो। राष्ट्रियता र प्रजातन्त्रका विषय पर्गेल्न सक्ने। यसरी नजिक हुने क्रममा नेपाल भित्र रहेका जातीय र भाषा संरक्षण हुनु पर्छ भन्ने कतिपय विषयमा पनि हामी सहमत भयौँ। यसै क्रममा उहाँ काठमाडौंबाट राष्ट्रिय पञ्चायतको एउटा उम्मेदवार बन्नुभयो। उहाँको प्रचार कार्यालय भोटाहिटीको एउटा निर्माणाधीन घरमा राखिएको थियो। पद्मरत्नको चुनावचिह्न सूर्य थियो। वास्तवमा तत्कालीन मालेको पञ्चायत उपयोगको नीति अन्तर्गत उपत्यकामा राम्रो पकड भएका पद्मरत्नलाई सो दलले समर्थन गरेको थियो भने उनले उठाउँदै आएको भाषा संस्कृति सम्बर्द्धनको विषयलाई मालेले समर्थन गर्न खुला रहेका जनसंगठनहरुलाई निर्देशन पनि दिएको थियो। २०४६को आन्दोलनमा पद्मरत्नको भूमिका संगठकको नभई अभियन्ता वक्ता र समन्वयकर्ताको थियो।

    तत्कालीन अवस्थामा राजबन्दी रिहाइको विषयलाई लिएर पटकपटक पद्मरत्न अनेक शक्तिकेन्द्र धाएको मलाई ताजा सम्झना छ। एकपटक पद्मरत्न, बद्रीप्रसाद खतिवडा, ऋषिकेश शाह, वीरेन्द्रकेशरी पोखरेल र गोपाल चिन्तनसहित म पनि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई भेट्न बालुवाटार पुगेको छु। भेटघाटको चाँजो प्राध्यापक डाक्टर बल्लभमणि दाहालले मिलाउनु भएको थियो। त्यसबेला झापाली बन्दीहरु मुलत मोहनचन्द्र अधिकारीको कुरा भएको थियो। मोहनचन्द्रलाई हामी नेल्सन मण्डेला जस्तै मान्थ्यौँ। जे होस् पद्मरत्नको मानवअधिकार र बहुलवादी समाजका पक्षधर हुनुको नाताले जसलाई जता आवश्यक पर्छ उतै हुने स्वाभाव थियो। २०४६ सालको आन्दोलनमा उहाँ वाममोर्चाका तर्फबाट जहाँ आवश्यक हुन्थ्यो त्यहीँ पुगेको पाइन्थ्यो। उहाँको घर आन्दोलनकारीको जमघटस्थल नै थियो अझ भनौँ वाममोर्चाको खुला कार्यालय सरह।

    हुन त उहाँ प्रजातन्त्रका खातिर जहाँ र जसले आमन्त्रण गरे पनि तयार हुनुहुन्थ्यो तर संकिर्णता र अविश्वासबाट ग्रस्त कांग्रेस वामपन्थीसँग सहकार्य गरे पनि यो गर्न कमै मात्र तयार हुन्थ्यो। आन्दोलनको अन्त्य गर्न राजा वीरेन्द्रले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीसँग वार्ता गर्नुअघि दरबार र आन्दोलनकारीबीच संवादसूत्र पद्मरत्न नै हुनुहुन्थ्यो। आन्दोलनको सफलता पछि टुँडिखेल खुलामञ्चमा आयोजित सभामा गिरिजाप्रसादले यो तपाईँ हाम्रो मात्र होइन सबैको दरबारको पनि राजाको पनि जित हो भन्नासाथ उहाँविरुद्ध नारा लाग्यो र विरोध सुरु भयो। त्यसलाई अरु नेता उठेर 'बस्नोस्, बस्नोस्!' भन्दै थिए।भीडले सुनेन। जब पद्मरत्न उठेर 'साथीहरू' भन्दै शान्त रहन आग्रह गर्नुभयो। सबै चुप। यस अर्थमा पद्मरत्न त्यसबेला सबैको विश्वासपात्र हुनुहुन्थ्यो। लाग्छ दलका नेता भन्दा उहाँ माथि हुनुहुन्थ्यो।

    आन्दोलनपछि पनि उहाँ निरन्तर मानवअधिकार र वाम एकताका पक्षमा हुनुहुन्थ्यो। सबैका सहयोगी पद्मरत्न निकै भावुक हुनुहुन्थ्यो। यही भावुकताले उहाँलाई कहिले बाराको गाईले लखेट्यो कहिले झापाली भाइले पछ्यायो कहिले रोल्पाको हतियारले पुर्जी कटायो । आपसमा कुराकानी गर्दासमेत धेरैपटक उहाँको गला अवरुद्ध भएको र आँखा रसाएको मैले अनुभव गरेको छु। राष्ट्रिय पञ्चायत र संसदमा रोएको त सार्वजनिक चर्चाको विषय नै बन्यो।

    २०४७ सालमा म नेपालीपत्र साप्ताहिकमा कार्यरत थिएँ। तिब्बतबाट भागेर भारत प्रवासमा रहेका नेता दलाई लामालाई धर्मगुरुका रूपमा नेपाल बोलाएर प्रवचन गराउन एउटा समूह लागि परेको थियो भने अर्को पक्ष त्यसो गर्दा नेपालको चीनसँगको सम्बन्ध खतरामा पर्ने भन्दै त्यसको विरोधमा थियो। नेपालको प्रजातन्त्र प्रमुख कुरा हो त्यसैले दलाई लामालाई निषेध गर्नु प्रजातन्त्रविरुद्ध हुनजान्छ भन्नेको दबाब थियो। पद्मरत्न त मानव अधिकारको कुरा गर्ने भएकोले उहाँको राय महत्त्वपूर्ण हुने सम्झेर अन्तरवार्ताका लागि पुगेँ। यस सन्दर्भमा उहाँले भन्नु भएको छ, 'हामी दुई ठूला छिमेकीका बीचमा छौँ। एकतिर फर्केर मात्र हामीले बोल्न मिल्दैन। समान व्यवहार गर्न पनि सक्नुपर्छ। दलाई लामालाई चीनले धार्मिक गुरु मात्र होइन विद्रोही नेताका रूपमा पनि हेर्ने गरेको छ। त्यसैले भोलिका दिनमा हामीले भारतबाट सिख समुदायका भिण्डरेवाल वा कश्मीरबाट कुनै इस्लामिक धर्म गुरु मानिएका तर भारतले विद्रोही मानेको नेतालाई बोलाउन हिम्मत गर्छौँ कि गर्दैनौँ ? यसको जवाफ यसरी खोज्यौँ भने सहज हुनेछ।'  उहाँले जटिल प्रश्नको सरल उत्तर दिएर विषयको निकास दिनुभयो। अन्तत: दलाई लामालाई नेपाल ल्याउने कुरा हरायो।

    पद्मरत्न सूर्य चिह्न लिएर सांसद बन्नु भएको मात्र होइन, एमाले सरकारमा सामेल हुनु भयो तर एमाले हुनु भएन। माओवादीको जनयुद्धमा गोली नचलाए पनि बोलीमा लोली मिलाउनु भयो, माओवादी हुनु भएन। दोश्रो जनआन्दोलनपछि एकदिन उहाँलाई दमननाथ ढुगांनाका साथ तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको निवासमा देखेँ र त्यहाँ पुग्नुको कारणबारे सोधेँ। उहाँको जवाफ थियो, 'कुशल सभामुख बनिसक्नु भएको दमनजी जस्तो मानिसलाई माथिल्लो सदनमा ठाउँ दिलाउन सकिन्छ कि भनेर आएको। माधवजी ले अरुकै निर्णय गरिसक्यौँ, ढिलो आउनुभयो, भन्नुभयो।' 

    कहिले माले त कहिले एमाले कहिले दरबारिया त कहिले कांग्रेस, कहिले ज्ञानेन्द्र त कहिले प्रचण्ड, कहिले राष्ट्रवादी त कहिले राष्ट्रघाती, कहिले हिम्मतिलो त कहिले रुन्चे अनेकका अनेक शंका र मौका अनुसारका गाली व्यहोरिरहेको पाइन्थ्यो पद्मरत्नले।  सबैले नदी तर्ने डुगां जस्तो पद्मरत्नलाई नदी तरे पछि कसैले बोकेर हिड्ने साहस पनि गरेन र उहाँ बोकिन पनि चाहनुभएन।

    म देख्न चाहन्थेँ, गणतन्त्र आएपछि शीतल निवासमा भएको प्रधामन्त्रीको सपथग्रहणमा उहाँको विशेष उपस्थिति वा त्यो जस्ता विशेष समारोहमा पद्मरत्न र उहाँ जस्ता मानिसको विशेष उपस्थिति, जुन त्यो वेला मात्र होइन त्यसपछिका दिनहरूमा पनि देखिएन। न त कुनै तरहले त्यस्ता ज्यूँदा पद्मरत्नहरूको सुशोभन र सम्मान देखियो ।

    कान्तिपुर प्रेसमा कम्पोज गरेर हातको कालो मसीसहित मेरासामु उभिएका पद्मरत्नको भौतिक लीला अब इतिहास भइसक्यो। काठमाडौंसँग मेरो पूरा परिचय अझै भइसकेको छैन। न मैले काठमाडौंलाई चिनिरहेको छु। न त काठमाडौंले मलाई चिनिरहेको छ।

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]