फिचर

‘औँठाछाप सांसद'को पिएचडी गर्ने धोको
SHARES

मंसिर ४, २०७५

    ‘हिजोआज अध्ययनलाई कतिको समय दिनुहुन्छ?’ उनीसँगै रहेकी एक महिलाले सोधिन्। उनी अर्थात् शान्ता चौधरी। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक हुन् शान्ता। यो परिचय त धेरैलाई जानकारी होला तर तिनै शान्ता अहिले एसइईको तयारी गर्दै छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। 
    दाङको महेन्द्र उच्चमाध्यमिक विद्यालय तुलसीपुरमा शान्ता अहिले १० कक्षामा पढ्दै छन्। ती महिलाको जिज्ञासामा शान्ताले भनिन्, ‘पढाइमा खासै समय दिन सकिरहेको छैन तर ८ कक्षा जस्तै राम्रैसँग पास हुने कुरामा म विश्वस्त छु।’

    शान्ताको उमेर अहिले ३८ वर्ष पुग्यो। उनी ३६ वर्षको उमेरदेखि औपचारिक शिक्षा हासिल गर्न विद्यालय जना थालेकी हुन्। विद्यालय जाने उमेरमा अर्काको घरमा काम गर्न बसेपछि उनको बालापन निकै कष्टपूर्ण ढंगले कट्यो। कलिलो उमेरमा कम्लहरी रहेपछि पाको उमेरमा उनी विद्यालय जान थालेकी हुन्।

    ‘...त्यसपछि विद्यालय जानै पर्ने भयो’

    ‘संविधानसभाभित्र पहिलो दिन प्रवेश गर्दा को कता बस्छन् भन्नेसम्म पनि जानकार थिइनँ। सबैभन्दा अगाडि बस्न मन लाग्यो। प्रचण्ड बस्ने सिट रहेछ। त्यहीँ बसेँ’, शान्ताले भनिन्, ‘तत्कालीन एमालेका एक जना सांसदले दौडिएर मलाई तान्नुभयो। यता बस्ने हो भनेर बुझाउनुभयो। त्यो बेला मलाई साह्रै नमज्जा लाग्यो।’
    सभासाद् भइसकेपछि अब नपढे समस्या हुन्छ भन्ने कुरा उनले बुझिसकेकी थिइन् तर यो उमेरमा कापी, किताब र झोला बोकेर स्कुल जाँदा अरूले के भन्लान् भन्ने चिन्ता उनमा व्याप्त थियो। त्यही बेला राष्ट्रपतिको निर्वाचनको मिति आयो। 

    ‘मैले छिटो नाम लेख्न नसक्ने भएपछि नजिकै शान्ती अधिकारी हुनुहुन्थ्यो, उहाँले मेरो हात समातेर हस्ताक्षर गराइदिनुभयो। भोलिपल्ट धेरै मत बदर भएको समाचार आयो। मेरो मत त बदर भएको थिएन तर धेरै मत बदर हुँदा मेरो पनि भयो कि भन्ने मलाई लाग्यो’, उनले भनिन्, ‘संचार माध्यमहरूले पनि औँठाछापहरू पनि सभासाद् भए भन्दा मलाई नै भनेको हो कि भन्ने लाग्थ्यो।’

    शान्तालाई सबैभन्दा बढी समस्या त्यति बेला भयो, जब उनी प्राकृतिक स्रोत साधन समितिको सभापति भइन्। ‘त्यतिबेला मेरो समितिले गरेका निर्णयहरू पनि मैले पढेर सुनाउन सक्दिनथेँ। कतिपयले त मलाई औँठाछापे सभापति पनि भन्न भ्याए’, उनले बिद्यालय जानुको कारण खुलाइन्, ‘सबैबाट हेपिन थालेपछि अब मैले पढ्नुपर्छ भन्ने लाग्यो र पढ्न थालेकी हुँ।’ 

    फर्स्ट डिभिजनमा कट्यो ८

    २०७२ सालमा दाङको उच्चमावि डाँडागाउँमा कक्षा ८ मा भर्ना भएकी शान्ता कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पहिलो श्रेणीमा उत्तीर्ण गरिन्। ८ कक्षा पास हुँदा शान्ताले सामाजिक संजालको माध्यमबाट खुसी बाँडेकी थिइन्। खुसी साट्दै फेसबुकमा लेखिन्, ‘धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ।’शान्ताले आफू जिल्लास्तरीय परीक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि बताएकी छन्। त्यस बेलाको पल सम्झँदै उनले भनिन्, ‘मानिसहरू मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हो भन्छन् तर ८ कक्षा पास गर्नु मेरालागि मन्त्री बन्नुभन्दा ठूलो सफलता थियो।’

    सभासद् बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि शान्ता गाउँको विद्यालयमा भर्ना भएकी थिइन्। यद्यपि, उनी नियमित विद्यालय जान सकिनन्। आठ वर्षको कलिलो उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कम्लहरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। २०६३ सालमा कम्लहरी मुक्त भएपछि २०६४ सालमा शान्ता तत्कालीन एमालेको तर्फबाट समानुपातिक सभासद् भइन् तर लेखपढ नहुँदा उनले निकै समस्या झेल्नुपर्‍यो। 

    ‘म सभासद भएपछि पहिलो पटक मलाई शान्ता लेख्न पाँच मिनेट लाग्यो’, शान्ताले भनिन्, ‘अध्ययनबिना केही काम छैन भनेर गाउँकै विद्यालयमा भर्ना भएँ।’ त्यही पीडापछि घरमै अध्ययन गरेर शान्ताले ‘कम्लहरीदेखि सभासद्सम्म’ पुस्तक पनि निकालेकी छन्। 

    ‘गणित गाह्रो लाग्छ’

    अहिले एसइईको तयारीमा रहेकी शान्तालाई सबैभन्दा कठिन गणित लाग्छ। ‘मलाई गणित गाह्रो लाग्छ’, शान्ताले भनिन्, ‘कठिन त विज्ञान र नेपाली पनि छ तर मलाई अझै कठिन गणित नै लाग्छ।’

    सुरुमा केही कठिन लागे पनि पढ्दै गए त्यो पनि सरल लाग्ने गरेको अनुभव उनले सुनाइन्। उनले भनिन्, ‘मलाई गणित कठिन लाग्छ भनेर चटक्कै छोडेपछि त नहुँदोरहेछ। त्यसैमा घोत्लिनुपर्ने रहेछ’, शान्ताले भनिन्, ‘अहिले मैले पनि त्यस्तै गरिरहेकीे छु।’

    ८ कक्षामा प्रथम श्रेणीमा पास भएपछि ९ कक्षा नपढी उनी कक्षा १० मा भर्ना भइन्। दाङको महेन्द्र उच्चमाध्यमिक विद्यालय तुलसीपुरमा अध्ययन गर्दै गरेकी शान्ता आजसम्म कति दिन विद्यालयमा उपस्थित भइन् भन्नेबारे पनि जानकार नरहेको बताउँछिन्। 

    ‘कार्य व्यस्तताले विद्यालय जानै पाइरहेकी छैन। सरहरूले किताब दिनुभएको छ, घरमै पढ्छु। कहिलेकाहीँ समय मिलाएर विद्यालय पुग्ने गरेकी छु’, शान्ताले भनिन्।
    दुई ठूला पार्टीको एकीकरणपछि सचेतकको जिम्मेवारीमा रहेकी शान्ता अहिले अझै व्यस्तता बढेको बताउँछिन्। ‘पढ्ने समय नै मिलाउन कठिन हुन्छ तर पनि जेनजेत मिलाइरहेकी छु’, शान्ताले भनिन्। उनलाई घरमा छोराछोरीले पढाउने गरेका छन्।

    आमा–छोरी एउटै कक्षामा 

    शान्ताका दुई सन्तान छन्। २० वर्षीय छोरा अनिल चौधरी काठमाडौंको जेभियर्स इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययन गरिरहेका छन्। १७ वर्षीया छोरी बिनु चौधरी सिर्जना बाल विद्यालयमा कक्षा १० मा पढीरहेकी छन्। छोरा–छोरीकी अभिभावक शान्ता भए पनि पढाइमा शान्ताका अभिभावक छोरा–छोरी भएका छन्।
    सामान्यतया आमाबुबाले छोरा–छोरीलाई पढाउँछन् तर शान्तालाई भने उनका छोरा–छोरीले पढाउने गरेका छन्।

    ‘छोरी र म एउटै कक्षामा पढ्छौँ’, मुस्कुराउँदै शान्ताले भनिन्, ‘छोरा–छोरीहरू आफू पढ्दा मलाई पनि पढाउँछन्, कहिलेकाहीँ जान्दिनँ अनि कराउँदै जान्छन्।’
    पहिलो संविधानसभामा औँठाछापे सांसदहरूले केको संविधान बनाउलान् भन्ने सुनेर आफूले अध्ययन सुरु गरेको र अध्ययन गर्न थालेपछि यसको महत्त्व अझै बढी देखेको बताइन्। उनले भनिन्, ‘पढ्ने उमेरमा पढ्न पाइनँ भन्दैमा अहिले उमेर गयो भनेर नपढ्ने कुरा मलाई ठीक लागेन। अहिले म १० कक्षाको किताबसँगै बजारमा पाइने किताबहरू पढ्छु।’ उनले पिएचडीसम्म गर्ने धोको रहेको सुनाइन्। 

    समाज रूपान्तरणको संवााहक

    २०७२ सालमा विद्यालयमा भर्ना भएर जाँदा शिक्षिका आउनुभयो भन्दै सबै विद्यार्थीहरूले जिस्क्याएको शान्ताले बताइन्। ‘दुई–चार दिन कोही पढेनन्, सबैको नजर मतिर नै थियो’, रमाइलो मान्दै उनले सुनाइन्, ‘यति बूढी हुँदा पनि किन पढ्नुहुन्छ आन्टी धेरैले भने।’

    उनी पाको उमेरमा विद्यालय जान थालेपछि कलिलो उमेरमा विद्यालय जान नपाएका अन्य महिलाहरू पनि विद्यालय भर्ना भए। ‘पहिले पहिले यो उमेरमा पढेर के हुन्छ र भन्नेहरू पछि मसँगै विद्यालय जाने भए। उनीहरू अहिले मभन्दा धेरै दिन विद्यालय जान्छन्’, शान्ताले भनिन्।

    सरकारी विद्यालयमा भर्ना हुँदा धेरैले उनको कुरा काटे। कतिले प्रचारका लागि यस्तो गरिन् पनि भने। शान्ताले भनिन्, ‘अक्षर नचिन्दाको पीडा आफैँमा थियो। दुई–चार जनाले कुरा काट्दैमा केही हुनेवाला थिएन।’

    पहिलो पटक ८ कक्षामा भर्ना हुँदा आलोचना गर्नेहरू अहिले प्रशंसक भएको शान्ता बताउँछिन्। सुरुवाती दिनहरूमा भन्दा अहिले शान्तालाई केही सहज भएको छ। विद्यालयमा पनि अहिले अध्ययनमैत्री वातावरण बनेको छ। 

    ‘एक दिन मैले गृहकार्य गरेकी थिइनँ। सबैलाई गाली गर्दै उठाउनुभयो। मलाई भने उठाउन सक्नु भएन। म आफैँ उठेँ’, शान्ताले भनिन्, ‘सरले १० मिनेट उठाएपछि बसाल्नुभयो। सबैलाई हेर्दै रिसाउनुभयो। मलाई हेर्दै मुस्कुराउनुभयो। सरले नदेख्ने गरी म पनि मुस्कुराएँ।’

भानुभक्त आचार्य

आचार्य थाहा खबरका कैलाली समाचारदाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]