थाहा संवाद

'जनताको चेतना र संस्कार बदल्न जरुरी छ'
SHARES

मंसिर ३, २०७५

    कर्णाली प्रदेशको धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको सल्यानभित्र गाउँपालिका रहेको छ। जिल्लाकै पर्यटकीयस्थलको कुमाख लेखको काखमा अवस्थित कुमाख गाउँपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित रहेको छ। साविकका पाँच गाउँ विकास समिति जिमाली, स्विकोट, मर्मपरिकाँडा, कालागाउँ र वडागाउँ मिलेर यो गाउँपालिका बनेको छ। यस गाउँपालिकाको जनसंख्या २०६८ को तथ्यांकअनुसार २४ हजार ९०० रहेको छ।

    यस गाउँपालिकामा ब्राह्मण, ठकुरी, दलित, जनजाति र क्षेत्रीहरूको बढी बसोबास रहेको छ। रुकुम र जाजरकोटलाई छोएको यस गाउँपालिकाका मुख्य संस्कृति मयुर नाच, सिंगारु, सोरठी, झ्याउरे, बन्गाडी टप्पालगायत रहेका छन्।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट दिलमाया बुढा 'सृजना' तत्कालीन एमाले र नेपाली कांग्रेसको प्यानललाई पराजित गर्दै अध्यक्ष बनेकी हुन्।

    ०३५ मंसिर ८ मा पूर्वी रुकुमको चौरजहरी नगरपालिका- १० मा जन्मिएकी बुढा सानै उमेरदेखि विद्रोही स्वभावकी थिइन्। ०५४ सालमा तत्कालीन नेकपा माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वमा भूमिगत भएकी थिइन्। ०५५ मा सल्यानको कालागाउँमा विवाह गरेकी बुढाले द्वन्द्वको समयमा २०५६ सालमा आफ्नो जीवनसाथी गुमाएकी छन्।

    राजनीतिमा सक्रिय बुढा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएकी हुन्। चुनाव भएको झन्डै डेढ वर्ष बित्नै लाग्दा डेढ वर्षको अवधिमा जनतासँग गरेका वाचा के कति पूरा भए र वाचा पूरा गर्न के बाधा भयो भन्ने सन्दर्भमा सल्यान थाहाखबरकर्मी दीपक शर्माले अध्यक्ष दिलमाया बुढा 'सृजना'सँग गरेको कुराकानी प्रस्तुत छ।

    निर्वाचनको समयमा जनतासँग गरेका प्रतिद्धता के कति पूरा भए?

    स्थानीय तहको निर्वाचनको समयमा जनतासाँग अस्वाभाविक र पूरा गर्न नै नसकिने वाचा तथा प्रतिबद्धता व्यक्त गरेका थिएनौँ। जनताका जनजीविकासँग जोडिएका विषयलाई हामीले पहिलो प्राथमिकता दिएर चुनावको समयमा जनताको घरदैलोमा पुगी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ। ती प्रतिबद्धता केही पूरा भएका छन् भने केही हुने प्रयासमा छन्। झन्डै डेढ वर्षको अवधिमा जनतासँग गरिएको मुख्य प्रतिबद्धता थियो- स्वास्थ्यमा पुहँच पुर्‍याउनु। उक्त प्रतिबद्धता अहिले पूरा भएको छ।

    गाउँपालिकाका चार स्थानमा स्वास्थ्य एकाई गठन गरिएको छ भने १५ शय्याका अस्पताल निर्माण गर्नका लागि केही समयभित्रै टेन्डर खुल्दै छ। यस्तै, सिंगो गाउँपालिका विद्युत् सेवाबाट वञ्चित थियो। अहिले केही वडामा बिजुली पुर्‍याइएको छ। चुनावको समयमा व्यक्त गरिएका कुराहरू पाँच वर्षभित्र पूरा गर्ने हो। केही पूरा भएका छन् भने केही पूरा हुने प्रक्रियामा छन्। हामीले जनतासँग गरेका वाचाहरू पूर्ण रूपमा पूरा नभए पनि केही पूरा भएका छन्। जनतालाई प्रदान गरिने सेवाहरू चुस्त दुरुस्त गरेका छौँ। हाम्रो गाउँपालिकामा लामो समयसम्म कार्यालय प्रमुख नहुँदा सोचेका जति योजना सम्पन्न गर्न केही कठिनाइ भए पनि जनतालाई प्रदान गरिने सेवासुविधामा दिनरात नभनी खटिरहेका छौँ। सडक विस्तार, शिक्षा, स्वास्थ्य तथा सरसफाइमा लागिपरेका छौँ।

    सडक खन्नेलगातका काम त जनप्रतिनिधि नहुँदा पनि भरहेकै थिए जनप्रतिनिधि आएपछि विकासका काममा के भिन्नता भयो त?

    पहिलो कुरा के हो भने राज्यले थोरै सीमित मात्रामा बजेट दिन्थ्यो र त्यो बजेटले जनताको आवश्यता पूरा हुँदैनथे। हिजो सडक खन्ने, खानेपानी बनाउनेलगायतका विविध काम तत्कालीन सचिवले पनि गर्दै आइरहेका थिए। हिजो र आज आकाश पतालको भिन्नता छ। त्यो विकास निर्माणको सन्दर्भमा होस् या संस्कार बदल्ने सन्दर्भमा होस्, जनताको चेतना बदल्ने, जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने हिसाबले होस्, हरेक हिसाबले होस्, विगत र जनप्रतिनिधि हुँदाको कामकारबाहीमा निकै फरक छ। आज जननिर्वाचित जनप्रतिनिधि छौँ, हिजो एक जना सचिव मात्र थियो, उक्त सचिवले पर्याप्त मात्रामा काम कारबाही अघि बढाउन सक्दैथ्यो। आज जनप्रतिनिधिको निगरानीमा कर्मचारीले काम गरिरहेका छन् र हामी विकास निर्माण मात्र होइन, जनताको चेतना र संस्कार बदल्ने कामका लागिरहेका छौँ।

    गाउँगाउँमा सिंहदरबार आयो भन्छन्, वास्तवमा गाउँमा सिंहदरबार आएकोत्तिको अनुभूति गरिरहनुभएको छ?

    मुख्य कुरा जनताको चेतनाको विकास र संस्कार बदल्ने कुरा हो। सिंहदरबार आउनु भनेको विकास निर्माण मात्र हुनु हो भन्ने मान्छेको बुझाइ छ। बाटो खन्ने, खानेपानी बनाउनेलगायतका विकास निर्माणलाई मात्र सिंहदरबार भन्ने बुझाइ छ। त्यो बुझाइ बदल्न पहिलो जरुरी छ। प्रत्यक्ष सेवा प्रवाह गर्दा गाउँमा सिंहदरबारको अनुभूति भने भएको छ। हिजो सांसदहरूलाई भेट्न मान्छेहरू काठमाडौं जान सक्दैनथे। मन्त्रीलाई भेट्न सक्ने अवस्था थिएन। आज त्यो समस्या हटेको छ। जनताले हामीलाई जिताए। आज जनताले प्रत्यक्ष गएर हामीलाई गाली गर्न पाउने, भन्न पाउने, समर्थन गर्न पाउने जुन खालको व्यवस्था छ, त्यो नै सिंहदरबार गाउँमा आएको हो भन्ने लाग्छ। आफैँले जिताएका प्रतिनिधिलाई औँला ठड्याउन पाउने अधिकार पाएका छन्।

    जनता नेता सबैको सोच बाटो खन्ने, डोजर लगाउने भन्ने मात्र छ। शिक्षा, स्वास्थ्य, सरसफालगायतका रचनात्मक कार्यमा खासै कसैको ध्यान गएको पाइँदैन तपाईंको सोच पनि यही हो?

    हो, यो वास्तविकता हो। हिजो विकास भनेको बाटो खन्नु मात्र हो भन्ने आमबुझाइ थियो तर आजभोलि त्यो बुझाइ केही फरक हुँदै आइरहेको छ। स्वास्थ्लाई प्रमुख विषय बनाएर चारवटा स्वास्थ्य एकाई पनि घोषणा भई उद्घाटन भइसकेका छन्। त्यसपछि शिक्षालाई दोस्रो नम्बरमा राखेर काम भइरहेको छ। शिक्षामा शिक्षक दरबन्दी मिलान गरेका छौँ। त्यसले राम्ररी प्रभाव पारेको छ। शिक्षालाई कसरी परिवर्तन गर्ने भन्ने चुनौती बनेको छ। त्यस्तै, पशुपालनलाई प्रवर्द्धन गर्नका लागि भैँसी सुत्केरी भत्ता वितरण अभियानकै रूपमा चलाएका छौँ। सडक निर्माणकै सन्दर्भमा पनि हामीले वर्गीकरण गरेका छौँ। सबै ठाउँमा सडक खन्ने भत्काउने भन्दा पनि गाडी चलेका पाँचवटा बाटोलाई मात्र प्राथमकिता दिएका छौँ। 

    कर रहर नभई कहरले तिर्ने कुरा भएकाले सामान्य ०५० सालतिर तिरेको कर ०७५ मा तिर्दा थोरै नबढ्ने भन्ने कुरा भएन तर अस्वाभाविक कर उठाएका छैनौँ। समय परिस्थितिअनुसार कर बढ्नु स्वाभाविक नै हो।

    जनतालाई प्रत्यक्ष सूचनाको हक प्रदान होस् भनेर सबै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका छौँ। सातवटै वडालाई पूर्ण खोपयुक्त वडा पनि घोषणा गरेका छौँ। यसरी हेर्दा बाटो खन्नेलाई मात्र विकास भन्नेभन्दा पनि अन्य विषयलाई पनि अलिक बढी जोड दिएका छौँ।

    कुमाख गाउँपालिकालाई अन्नको भण्डार भनेर पनि चिनिन्छ, कृषिसम्बन्धी के योजना बनाउनुभएको छ?  

    अवश्य पनि यो गाउँपालिका भनेको अन्नको भण्डार भएको गाउँपालिका हो। यसर्थ यस गाउँपालिकालाई अर्गानिक गाउँपालिका बनाउन लागिपरेका छौँ। प्रदेश सरकारले पनि यस गाउँपालिकालाई अर्गानिक गाउँपालिका बनाउन एक करोड लगानी गरेको छ। मानिसहरू परनिर्भर भइरहेको अवस्थामा जग्गा भाडामा लिएर नमुना खेती गर्दै छौँ, जसले खेतीप्रति सबैको आकर्षण बढ्न सकोस्। यस्तै, प्रत्येक वडाले उक्त वडाको संभाव्यता हेरेर कृषि, पशुपालनका कार्यक्रम अघि सार्ने योजनामा रहेका छौँ।

    जिल्लामा तपाईं महिला मात्र मुख्य पदमा रहनुभएको छ, मुख्य पदमा रहेर काम गर्दा के कस्ता समस्या र चुनौतीहरूको सामना गर्नुपरेको छ?

    खास कुरा, यो पुरुषप्रधान समाजमा महिलाले गर्न सक्दैनन् भन्ने बुझाइ वा दृष्टिकोण छ। त्यो दृष्टिकोणलाई चिर्नु मेरो पहिलो चुनौती हो। अवसर दिने हो भने महिलाले पनि काम गर्न सक्छन् है भन्ने बुझाउन म लागिपरेकी छु। पुरुषहरूले नगरे पनि गरे भन्ने र महिलाले गरे पनि गर्न सकेनन् भन्ने जुन बुझाइ छ, त्यो बुझाइ बदल्नु आवश्यक छ। स्वाभाविक रूपमा चुनौती हुन्छन्, ती चुनौतीलाई अवसरको रूपमा लिँदै संघर्ष गर्दै अघि बढ्न् कुरा नै मुख्य विषय हो।

    अहिले ठूलो विषयको रूपमा रहेको कर कति प्रतिशत बढाउनुभयो नि?

    खास हामीले बढाएका छैनौँ। हामीले किन पनि बढाएका छैनौँ भने हिजो हामी द्वन्द्वमा हुँदा जनताको हितका लागि काम गर्ने हो भनेर कसम खाएका थियौँ तर कर राज्यले उठाउने दायित्व हो। त्यो दायित्वबाट पछि त हट्न मिलेन तर चर्को कर भने असुलेका छैनौँ। अन्य गाउँपालिका र नगरपालिकाभन्दा सबैभन्दा कम कर उठाउने हाम्रै गाउँपालिका हो।

    कर रहर नभई कहरले तिर्ने कुरा भएकाले सामान्य ०५० सालतिर तिरेको कर ०७५ मा तिर्दा थोरै नबढ्ने भन्ने कुरा भएन तर अस्वाभाविक कर उठाएका छैनौँ। समय परिस्थितिअनुसार कर बढ्नु स्वाभाविक नै हो।

    अन्त्यमा यस गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने तपाईंका एजेन्डा के कस्ता छन्?

    कुमाख गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने एजेन्‍डा भनेको यहाँको आन्तरिक स्रोत साधनलाई बढीभन्दा बढी प्रयोगमा ल्याई जनशक्तिको अधिकतम प्रयोग हो। कृषि, पशु र पर्यटनको माध्यमबाट नै यस गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने एजेन्‍डा रहेको छ। यो गाउँपालिका भनेको अन्नको भण्डार भएको गाउँपालिका हो। कृषिलाई मात्र हामीले पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्यौँ भने  यो गाउँपालिका समृद्ध हुनेछ र हामी त्यसलाई जोड दिँदै छौँ। जिल्लाकै प्रमुख पर्यटकीयस्थलको रूपमा रहेको कुमाखलेखमा पर्यटक भित्र्याउन सक्यौँ भने पनि यो गाउँपालिका समृद्ध गाउँपालिका बन्न सक्छ। यहाँको श्रमशील जनशक्तिलाई कृषि र पशुमा आकर्षित गर्न जरुरी छ।  

दीपक शर्मा

पत्रकार शर्मा थाहाखबरका सल्यान समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]