विचार

संस्कृत लेखौँ, बोलौँ तर शुद्ध
SHARES

मंसिर १५, २०७५


    सन्दर्भ–१

     नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।

    न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।

    आत्मालाई न त हतियारले काट्न वा छिनाउन सक्छ न त आगोले नै डढाउन। न पानीले भिज्छ न हावाले नै यसलाई सुकाउन सक्छ। श्रीमद्भागवत गीता (२।२३) को श्लोकको सार हो, आत्मा अजर र अमर छ। द्वापरयुगमा महाभारत युद्धअघि भगवान् श्रीकृष्णले अर्जुनलाई सम्झाउन भनेका वचन हुन् यी।

    यो श्लोक विशेषगरी मातापिता वा आफन्त दिवंगत भएकाहरूलाई सम्झाउन प्रयोग हुने गरेको छ। बाहिरी शरीर आगोले डढाए पनि पानीले गलाए, हावाले सुकाए पनि उहाँहरूको आत्मा त कहिल्यै मर्दैन भनेर आशौचमा रहेकाहरूलाई सम्झाउने सन्दर्भमा यो श्लोक सान्दर्भिक बन्छ।

    पत्रपत्रिकामा श्रद्धाञ्जली/समवेदना दिने क्रममा पनि मृतकको तस्वीरको मास्तिर यो श्लोक राखिएको हुन्छ, तर अधिकांशमा अशुद्ध ।

    सन्दर्भ—२

    कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन

    मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। गीता २\४७

    अर्थात्, कर्ममा तिम्रो अधिकार छ। तिमी जस्तो कर्म गर्छौ, त्यस्तै फल पाउँछौ। त्यसैले फलको आशा राखेर काम नगर। फलको आशा राखेर तिम्रो मन अकर्ममा नजाओस्। कर्मको महिमा बताउन गीताको यही श्लोक सान्दर्भिक बन्छ।

    विद्वता प्रदर्शन गर्न  वा भनाइलाई पुष्टि गर्न वा आफ्ना कुरा मिठासपूर्ण बनाउन संस्कृतका वचन/श्लोक उद्धृत गर्ने चलन छ। तर शुद्ध छ कि छैन भन्ने ध्यान कमैको पुगेको हुन्छ। संस्कृत शब्द लेख्दा\बोल्दा असावधानी हुँदा वा सानो गल्ती हुँदा अर्थको अनर्थ लाग्छ।

    केही समयअघि त्रिपुरेश्वरस्थित सडकको ‘होर्डिङ बोर्ड’मा पंक्तिकारले देखेको थियो, अतिथि देवोः भवः। सिमेण्टको विज्ञापन थियो, त्यो। यस्तो अशुद्ध लेखिएको देख्दा संस्कृत पढेका पंक्तिकार मात्र होइन अरुको पनि चित्त दुख्छ होला। अतिथिदेवो भव अर्थात् अतिथि (पाहुना)लाई देवतासरहको व्यवहार गर।

    विद्वता प्रदर्शन गर्न  वा भनाइलाई पुष्टि गर्न वा आफ्ना कुरा मिठासपूर्ण बनाउन संस्कृतका वचन\श्लोक उद्धृत गर्ने चलन छ। तर शुद्ध छ कि छैन भन्ने ध्यान कमैको पुगेको हुन्छ। संस्कृत शब्द लेख्दा\बोल्दा असावधानी हुँदा वा सानो गल्ती हुँदा अर्थको अनर्थ लाग्छ।

    पूर्वीय मान्यताअनुसार घरमा आएका ब्राह्मण, गुरु पुरोहितलाई निस्वार्थ भावले सेवा गर्नेे सन्दर्भमा यो वचन(भनाइ) आएको हो। 'सिमेण्ट'को विज्ञापन वा पर्यटन प्रवर्धनका लागि यसको प्रयोग कसरी सान्दर्भिक भयो होला ? पर्यटकहरूलाई त रुपैयाँ लिएर सेवा पुर्‍याउने हो, श्रद्धाले होइन। अझ केहीलाई छोडेर धेरै मानिस अतिथिलाई कसरी लुट्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा हुन्छन्। अनि कसरी भए अतिथि देवता ?

    संस्कृत ज्ञान अभावमा पितृदेवो भव, मातृदेवो भव, मातृदेवो भवमा विसर्ग (उदाहरण– पितृदेवो भवः) हालेको पाइन्छ। ज्ञान नभए पनि शब्द वा श्लोक प्रयोग गर्नैपर्ने तर शुद्धाशुद्धको ख्यालचाहिँ गर्नु नपर्ने। यस पंक्तिकारले पत्रिकामा लेख पठाउँदा आवश्यकै नपर्ने यस्ता वचनमा विसर्ग (:) हालेर प्रकाशित भएका उदाहरण सुरक्षित छन्। संस्कृतमा एउटा विसर्ग मात्र नहुँदा वा बढी हुँदा, आकार, इकार, उकार थपिँदा वा हुनुपर्ने ठाउँमा नहुँदा तथा हलन्त हुनुपर्ने ठाउँमा सिङ्गै अक्षर हुँदा अर्थमा आकाश पातालको फरक पर्छ। त्यसैले संस्कृत वचन वा श्लोक प्रयोग गर्दा संवेदनशीलता अपनाउनुपर्छ। 

    एक निजी विद्यालयको मूलढोकामा यस्तो लेखिएको रहेछ, विद्या धनम् सर्व धनम् प्रधानम्। भन्न खोजिएको विद्याधन सबै धनभन्दा उत्कृष्ट धन हो तर लेख्नै अशुद्ध लेखेपछि के गर्नु। यो वचन नीतिको एक श्लोकको पछिल्लो अंश हो। यसको शुद्ध रूप यस्तो हुन्छ, ...विद्याधनं सर्वधनप्रधानम्

    आवाहन र आह्वानमा मानिसहरू झुक्किने रहेछन्। लेखमा आवाहन लेखेर पठायो सम्पादकहरू आह्वान बनाइदिन्छन्। एउटै अर्थ दिने भए पनि दुवै छुट्टाछुट्टै धातुद्वारा बनेका हुन्। पूजाका क्रममा मन्त्रको प्रयोगद्वारा देवीदेवता ब्राह्मणलाई बोलाउने काम आवाहन हो। बोलाउने नै भए पनि मानिस आदिलाई विशेष परिस्थितिमा एकजुट हुन वा चुनौती दिनु भन्ने सन्दर्भमा आह्वानको प्रयोग हुन्छ। यद्यपि वैदिक यज्ञमा उही अर्थका लागि आह्वान\आवाहन दुवैको प्रयोग हुन्छ।

    नेपाली भाषाको जननी संस्कृत भएकाले अधिक तत्सम शब्दको प्रयोग हुँदै आएको छ। तर तिनै शब्दको लेखाइ र उच्चारण गलत हुँदै आएको छ। संस्कृत ‘ज्येष्ठ’ शब्दलाई जेष्ठ लेखिँदै उच्चारण गरिँदै आएको छ। बरु तद्भव ‘जेठ’चाहिँ हुन्छ। वर्णसङ्कर शब्दलाई वर्णशङ्कर बनाउनुजस्तो गम्भीर भाषिक अपराध के होला ? ‘समृद्धि’लाई बिगारेर सम्बृद्धि भनिएको\लेखिएको थुप्रै उदाहरण पाइन्छन्। हृषिकेश शब्दलाई ऋषिकेश लेख्न कसले सिकाएको होला? ‘दश’ लाई किन दस बनाइएको होला? दशक किन दसक भएको होला?

    भगवान्, विद्वान्, जगत्, महान् आदि शब्दमा अन्तिम अक्षरको खुट्टा काटिएको नै शुद्ध हो अर्थात् भगवान, विद्वान, जगत, महान अशुद्ध हुन्। गुरू होइन, गुरु शुद्ध हो। रुप लेख्दा अशुद्ध हुन्छ। त्यसैले रूप लेख्नुपर्छ। संस्कृतका शङ्ख, पञ्च, पतञ्जली र घण्टजस्ता शब्द शंख, पन्च, पतन्जली र घन्ट लेख्नु भाषिक अपराध हो।

    अति र अधिक मिलेर बनेको 'अत्यधिक' शब्दलाई अधिकांश सञ्चारकर्मी अत्याधिक उच्चारण गर्छन्। ‘पुनःप्रसारण’लाई सञ्चारमाध्यममा पुनर्प्रसारण भनेर विद्वता देखाइएको पाइन्छ। पुन:स्थापनालाई पुनर्स्थापना लेखेको पनि पाइन्छ। ‘स्रोत’लाई जान्ने भएर श्रोत लेख्दा गलत नै भएको छ। यस्तै ‘माहात्म्य’लाई महात्म्य वा माहत्म्य पनि भन्ने गरिएको छ। उद्यत शब्दलाई उद्दत लेख्नेले गल्ती भएको चालै पाउँदैनन् झन् उच्चारण त के हो के ?

    आत्मा त कहिल्यै मर्दैन भन्ने माथि पनि उल्लेख गरियो तर सञ्चारकर्मी वा अरु विद्वान् पनि मृतात्मा (मृत आत्मा) को चीर शान्तिको कामना गर्छन्। आत्मा ‘मृत’ होइन ‘दिवंगत’ हो भनेर कसले सम्झाउने ? वैध र अवैध शब्दलाई बैद्य र अबैद्य बनाएको प्रशस्त देखिँदै आएको छ। शुद्ध ‘ब्रह्मा’ र ‘ब्राह्मण’लाइ अचेल ब्रम्हा र ब्राम्हण बनाइएको प्रशस्तै उदाहरण पाइन्छन्। एक अनलाइनमा 'ब्राह्म मुहूर्त्त'मा होइन 'ब्रह्मा मुहूर्त्त'मा उठ्नुका फाइदा लेखिएको थियो।

    यस्तै ‘संवाद’लाई सम्वाद, ‘संवत्’लाई सम्वत वा सम्बत, ‘सर्वोपरि’लाई सर्वोपरी लेख्नु अशुद्ध हो। यस्तै ‘अक्षरेऽपि’ हुनुपर्नेमा अक्षरेपी, ‘कदापि’ लेखिनुपर्नेमा कदापी र ‘सभासद्’, ‘संसद्’ हुनुपर्नेमा सभासद, संसद भइरहेको हुन्छ। भगवान्, विद्वान्, जगत्, महान् आदि शब्दमा अन्तिम अक्षरको खुट्टा काटिएको नै शुद्ध हो अर्थात् भगवान, विद्वान, जगत, महान अशुद्ध हुन्। गुरू होइन, गुरु शुद्ध हो। 'रुप' लेख्दा अशुद्ध हुन्छ। त्यसैले रूप लेख्नुपर्छ। संस्कृतका शङ्ख, पञ्च, पतञ्जली र घण्टजस्ता शब्द शंख, पन्च, पतन्जली र घन्ट लेख्नु भाषिक अपराध हो। आधा अक्षरसँग जाडिएर आउने अक्षरअनुसार पञ्चम वर्ण अक्षर निर्धारित हुन्छन्।

    संस्कृत भाषा अशुद्ध लेख्दा वा पढ्दा कस्तो अर्थ लाग्छ भन्ने सन्दर्भमा एउटा प्रसङ्ग आइरहन्छ, ‘इन्द्रोशत्रु विवर्धस्वः’ र ‘इन्द्रशत्रु विवर्धस्व’। दुवै वचन उस्तै देखिन्छन् तर पहिलोले इन्द्रको शत्रु नाश गर्न अनुरोध गर्छ। दोस्रोले इन्द्र नै शत्रु भन्ने बुझाउँछ। एउटा सानो हेरफेर हुँदा अर्थ कति फरक पर्छ भन्ने यो प्रसङ्गले पुष्टि गर्छ। त्यसैले संस्कृत बोलौँ\लेखौँ तर बुझेर बोलौँ\लेखौँ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]