धर्म-संस्कृति

पशुपतिनाथमा शतबीज छर्न जाँदै हुनुहुन्छ?, थाहा पाउनुस् यी कुरा
SHARES

फाइल तस्विर
मंसिर १९, २०७५

    पितृका नाममा शतबीज छर्ने दिनका रूपमा चिनिन्छ, मार्ग कृृष्ण पक्षको चतुर्दशी तिथि। अघिल्लो दिन अर्थात् त्रयोदशीका दिन शुद्ध भई साँझ शिवालय पुगेर पितृका नाममा दीप बाली रातभर जाग्राम बस्ने चलन छ। बिहान सबेरै बत्ती नदीमा सेलाएर स्नान गरी शिवालयमा शतबीज छर्ने चलन छ। 

    के हो शतबीज?

    बोलीचालीमा सद्बिउ भनिए पनि संस्कृतमा यसलाई शतबीज भनिन्छ। शत अर्थात् सय। बीज अर्थात् बिउ। विभिन्न खाद्यान्न फलफूलहरू शतबीजमा पर्छन्।

    शतबीजमा विशेषगरी धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई  लिइन्छ। यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुन्छन्। यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूलहरू पनि मिसाइन्छ।

    किन छर्ने?

    शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ भन्ने विश्वास छ।  आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमहरूको पालना गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीज छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुने विश्वास गरिन्छ। शतबीज छर्दा पितृहरूले मोक्ष पाउने बताइन्छ। 

    पर्व पौराणिक कि लौकिक?

    हाम्रा चाडपर्वहरू प्रायः पौराणिक र लौकिक हुन्छन्। पुराणमा उल्लेख भएका र लोकव्यवहारमा चलदै आएका। अधिकांश पौराणिक चाडपर्वको चर्चा भविष्योत्तर पुराणमा उल्लेख पाइन्छ तर शतबीज छर्ने पर्वको उल्लेख भने यहाँ पाइँदैन। नेपाल माहात्म्यलगायत ग्रन्थमा यसको छनक पाइन्छ। तर पुराणका कतिपय सन्दर्भसँग मेल खान खोज्छन्।

    पशुपतिनाथ नै किन?

    शतबीज छर्ने परम्परा नेपाली हिन्दुहरूको मात्र हो। त्यसमा पनि काठमाडौं वरपरहरूको। पछि यो फैलिँदै गएर नेपाल अधिराज्यभरका मानिस सम्भव भएसम्म पशुपतिमा शतबीज छर्न आउने चलन चल्यो। 

    बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर बिहार गरेको र थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिनेको भनाइ पनि छ। त्यसैले पनि शतबीज र पशुपतिनाथ एकअर्काका परिपूरक भएका हुन् कि? 

    दूरी र आर्थिक अवस्थाले पशुपतिनाथ आउन नपाउनेहरूले विकल्पमा नजिकका शिवालयमा शतबीज छर्ने चलन बसाएका हुन् कि? 

    बालाचतुर्दशीको मर्म

    बालाचतुर्दशीका दिन छरेका अन्नहरू उम्रिएपछि पशुपति क्षेत्र वरपर रहने मृग, गाई आदि जनावरले खाने र उनीहरूको तृप्ति हुने तथ्य छ। तर हिजोआज सिमेण्टले ढलान गरिएका र ढुंगा छापिएका ठाउँमा गरिने शतबीज रोपणले भने यो तथ्यसँग मेल खाँदैन।  

    'बरखी बारेकै वेला'चाहिँ होइन

    मूल वैदिक सनातन परम्पराअनुसार बाबुआमा बितेको एकवर्ष नपुगुञ्जेल अर्थात् बरखी नहुञ्जेल देवताका मन्दिर जानेका कार्य निषेध गरिएको छ। तर व्यवहारमा भने बरखी बारेकै वर्ष पनि बत्ती बाल्ने र शतबीज छर्ने गरेको पाइन्छ। बरखीमा रहेका वेला पशुपतिनाथमा आदिमा बत्ती बाल्ने, शतबीज छर्ने जस्ता कार्य गर्नु उचित नहुने धर्मशास्त्रीहरू बताउँछन्। 

    धर्मसिन्धुमै पनि बाबुआमा आदिको मृत्यु भएको वर्ष अाशौची पुत्रादिले शिवालयमा जानु, शिवजीको दर्शन गर्नु, पूजा गर्नु आदि केही गर्न हुँदैन भन्ने वचन पाइन्छ। त्यसैले बरखी बारेको वर्ष पशुपतिनाथमा बत्ती बाल्ने र शतबीज छर्ने जस्ता कार्य गर्नु नपर्ने बताइन्छ।
     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]