फिचर

खुलमखुल्ला मकै भण्डारण, न चाेरकाे डर न बाँदरकै, फोटो
SHARES

मंसिर २०, २०७५

    रुकुम : बारीमा उब्जनी भएको अन्नबालीहरु कसरी राखिन्छ? उत्तर हुन्छ भकारी, बोरा वा अन्य कुनै स्थानमा सुरक्षितसँग राखिन्छ।

    आवश्यक परेको बेलामा मात्र भकारी वा बोराबाट निकालेर खानकालागि तयार गरिन्छ।  तर रुकुम पूर्वमा भने अन्न भण्डारणको तरिका फरक छ। बारीमा उत्पादन भएको सबै मकै घरबाहिर वा करेसाबारीमै राख्ने गरिएको छ। गाउँका प्रत्येक घर अगाडि वा करेसाबारी जताततै मकैको थुप्रो नै हुन्छ। गाउँमा बाहिर राखिएको मकै चोरी हुने, कुहिने वा अन्य प्रकारले क्षति हुने कल्पना समेत गरिँदैन। सबै उत्पादित मकै बाहिरै राखिएको हुन्छ।आवश्यक परे निकालिन्छ । 

    पहिलेदेखिको चलन 

    मकै यसरी बाहिरै राख्ने चलन पहिलेदेखि चल्दै आएको रुकुम पूर्व भूमे गाउँपालिका काक्रीका स्थानीय सुनप्रसाद बुढा बताउँछन्। उनका अनुसार रुकुम पूर्वका ३ वटै स्थानीय तहमा प्राय: यसरी नै मकै राख्ने गरिएको छ। तर सिस्ने गाउँपालिकाको भन्दा भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा गाउँगाउँमा यसको प्रयोग सबैभन्दा बढी देखिन्छ। ‘रुकुम पश्चिम तिरको जस्तो उत्पादन भएको मकै घरमा ल्याएपछि गेडा निकालेर घरभित्र भकारी वा बोरामा राख्ने चहल हाम्रो छैन’, उनले भने, ‘हाम्रो त उत्पादन भएको सबै मकै घरबाहिर नै राखिएको हुन्छ। आवश्यक परेको खण्डमा मात्र निकालिन्छ।’ मकै बाहिरै राख्दा चोरी हुने वा कुहिने समस्या नहुने स्थानीयको भनाइ छ।

    स्थानीय जयमान बुढाले मकै बाहिर राख्दा किराले नखाने र नकुहिने भनेर यस्तो गरिएको बताए। ‘प्रायः मगरबस्तीमा यसरी नै मकै राख्ने गरिएको, कतैकतै गेडा निकालेर घरबाहिर वा छतमा नै राख्ने गरिएको छ’ उनले भने, ‘घरको बार्दली, भित्ता र बाहिरसमेत लहरै  राखिएका मकैले गाउँको सुन्दरतासमेत बढाउँछ।’ 

    मगर समुदायमा ढिँडो खान मकै प्रयोग हुन्छ। त्यसबाहेक खाजा र केही मदिरामा समेत प्रयोग गरिन्छ। मगर समुदायहरुमा मकैको ढिँडो र मकैको मदिरा संस्कृतिकै रूपमा खानपान गर्ने गरिएको छ। रुकुमपूर्वका काक्री, कोल, तकसेरा, सिमा, रन्मामैकोट र हुकाम लगायत गाउँमा मकै यसरी राखिन्छ। जिल्लामा वर्षमा एक बाली मात्र राम्रो उत्पादन हुन्छ, त्यो मकैबाली हो। वर्षेबाली मकै राम्रो उत्पादन हुन्छ तर गहुँलगायतका अन्य बाली खासै हुँदैनन्। यसका कारण उत्पादन भएको मकै वर्षभरिका लागि जोहो गरिन्छ।

    हिजोआज सडक यातायात तथा बजार बिस्तार भएर चामललगायतका खाद्यान्न समेत पुगेका कारण मकैको ढिडोसँगै भात खाने प्रचलन पनि बढेको छ। रुकुम पूर्व हिमाली जिल्ला भएका कारण त्यस क्षेत्रमा रुकुम पश्चिमको तुलनामा निकै चिसो हुन्छ। जिल्लाका अधिकांश ठाउँमा प्रत्येक महिना जस्तो हिमपात हुने गरेको छ। 

मेगराज खड्का

मेगराज खड्का थाहाखबरका रुकुम सम्वाददाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]