राजनीति

प्रधानमन्त्रीले विरोध सुन्नै चाहेनन् : कांग्रेस
SHARES

मंसिर २१, २०७५

    काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधको आवाजलाई दबाउन खोजेको आरोप लगाएको छ। सरकारका गलत गतिविधिविरुद्ध भइरहेको विरोधका आवाजहरूलाई प्रधानमन्त्री ओलीले दबाउन खोजेको कांग्रेसले आरोप लगाएको हो। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि कांग्रेसले आपत्ति जनाएको हो। 

    बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै आइएनजिओको कार्यक्रममा सरकारको विवादास्पद सहआयोजना एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रूपमा उठेको प्रश्नमा ‘आफूले जवाफ दिए वुद्धिजीवि थला पर्ने’ भन्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। उक्त अभिव्यक्तिमा कांग्रेसले प्रधानमन्त्री ओलीले संविधानको धारा १७ को उपधारा २ (क) ले व्यवस्था गरेको अभिव्यक्ति अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। 

    ‘प्रधानमन्त्रीको अभिव्यक्ति संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शब्द, भावना र मर्मको बिल्कुलै विरुद्धमा छ। आफ्नो पदीय गरिमाको हेक्का राख्न यो बैठक प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। 

    यस्तै, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै टाँसिएको पोस्टर  च्यातेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधानले गरेको व्यवस्थामाथिको हस्तक्षेप गरेको कांग्रेसको ठहर छ।  निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने आरोप लगाएको छ। सुशासनमा सरकार चुकेको भए कांग्रेसले यही मुद्दालाई लिएर कडा संघर्षका गर्ने चेतावनी दिएको छ। 

    यस्तै, कांग्रेसले देशव्यापी रूपमा स्थानीय सरकारहरूमा अराजकताको विकास र विस्तार भएको भन्दै सरकारको ध्यानकर्षण गराएको छ। प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापाको गौरादहमा नगरप्रमुखको सहमतिविनै उपप्रमुखले बहुमतको बलमा नगरपालिका बोर्डका बैठक बसाएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। उक्त नगरमा कांग्रेसबाट प्रमुख रोहित साह छन् भने उपप्रमुख नेकपाकी गीता भेट्वाल छिन्।

    ‘संघीयताको मर्मविपरीतको यो घटनालाई केबल एउटा घटनाका रूपमा मात्रै सामान्य रूपमा लिएर नजरअन्दाज गर्ने हो भने आगामी दिनमा यसले प्रवृत्तिको रूप लिएर देशव्यापी रूपमा स्थानीय सरकारहरूमा अराजकताको विकास र विस्तार हुने विषयप्रति हामी खवरदारी गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]