फिचर

चेतनामूलक गीत संगीतमा रमाउँदै विनोद
SHARES

पुस १, २०७५

    गाई पाल्यौँ, भैँसी पाल्यौँ करैकरको भारी
    देशभरि जहाँ गए नि करकै महामारी

    नेता चिल्ला गाडीमा, जनता सिस्नु झाडीमा
    नेता चिल्ला गाडीमा, युवा अरब खाडीमा।

    नेपाली सांगीतिक आकाशमा चल्तीका लोक, पप र आधुनिक गीतभन्दा विल्कुलै फरक र यथार्थपरक गीत लिएर आउँदै छन्, संचारकर्मीसमेत रहेका गायक विनोद विश्वकर्मा। विनोदको आफ्नै शब्द, संगीत अनि स्वर रहेको उल्लेखित व्यंग्यात्मक गीतको रेकर्डिङसमेत भइसकेको छ।

    नेपाली सांगीतिक क्षेत्रमा अघिपछि चलेका गीतहरू भन्दा विल्कुलै फरक गीत गाउने गायकका रूपमा परिचित छन् विनोद। जबजब देशलाई दुख्छ, पीडामा पर्छ, तबतब नयाँनयाँ चेतनामूलक, सन्देशमूलक एवं व्यंग्यात्मक गीतहरू लिएर नेपाली बजारमा छाउने विनोदलाई पछिल्लो समय गीतमार्फत् देशका कुना काप्चामा सन्देश पुर्‍याउने गायकका रूपमा चिन्न सकिन्छ।

    लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका विनोदको 'सुस्ता हाम्रै हो', 'मेची नछोड', 'बादलुको घेरा तोड्नेलाई'लगायत दर्जन बढी गीतहरू बजारमा आइसकेका छन्।  ‘मलाई गाउँ समाजका यथार्थपरक गीत गाउनुमा निकै आनन्द लाग्छ’, उनले भने, ‘भलै त्यस्ता गीतहरूले संचार माध्यमहरूमा कम स्थान पाउँछन्। बजारमा कम चल्छन्।’

    नेपाली गीत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल विनोद बाल्यकालदेखि सांगीतिक क्षेत्रमा लागेका हुन्। विनोदले गीतमार्फत् आफ्नो जन्मथलोमा मात्र नभएर देशका कुना काप्चामा रहेका जनताका माझ कुसंस्कार र कुरीति हटाउने सन्देश दिएको पाइन्छ। गीत संगीतमार्फत् कुरीति र कुसंस्कार हटाएर देश, जनता अनि समाजमा सन्देश फैलाउन सक्नु र दैनिक जीवनमा आइपर्ने बाधालाई कम गराउनु जीवनको मुख्य लक्ष्य रहेको उनले बताए।

    कमाउने सम्पत्ति त्यो होस्, जो देश, जनता र समाजका लागि होस्। चाहे एक जना होस् तर सत्यकै बाटो अवलम्बन गर्नुपरोस् भन्ने सोचका साथ विभिन्न चेतनामूलक गीत गाउने गायकका रूपमा आफूलाई परिचित गराउन पाउँदा निकै भाग्यमानी ठान्छन् विनोद। गीत संगीतलाई नै जीवन बाँच्ने आधारका रूपमा लिने विनोदले आफ्ना गीतहरूमार्फत् छुट्टै समाजको निर्माण गरेर देखाउने चाहना राखेको बताए।

    'समाजमा कुसंस्कृति र कुसंस्कार हटाउन संगीत एउटा माध्यम हो', विनोदले भने, ‘त्यो भन्दा पनि सशक्त माध्यम मिडिया भन्ने बुझेपछि मिडिया क्षेत्रमा प्रवेश गरेँ।’ भक्तपुरबाट निस्किने मासिक पत्रिका ‘हाम्रो आवाज’बाट पत्रकारिता सुरु गर्दै एबिसी टेलिभिजनमा सहसम्पादकको कार्यभार सम्हल्दै आएका विनोदले आफ्नै कार्यक्रम ‘दलितको आवाज’लगायतका विभिन्न कार्यक्रमहरू संचालन र सम्पादन गर्दै आएका छन्।

    पारिवारिक पृष्ठभूमि

    दैलेखको तत्कालीन सिहासन गाविस- ४ मा दलित परिवारमा विनोद विश्वकर्माको जन्म भएको हो। बुबा बजिरसिंह र आमा लालशोभा विश्वकर्माको कोखबाट २०४६ सालमा चौथो सन्तानका रूपमा जन्मिएका थिए विनोद। उनका ६ दाजुभाइ र दुई बहिनी छन्। दलित परिवारमा जन्म भए पनि सामान्य खेतीपातीबाटै परिवारको गुजारा चलेको विनोदका बुबा भने पहिलेदेखि नै राजनीतिमा लागेका थिए। 

    त्यो बेला दैलेखमा दलितहरूमाथि हुने ज्यादतीको विरुद्ध आवाज उठाई समाजलाई सुसूचित गर्न बुबा राजनीतिमा लागेको विनोदले बताए। ‘तत्कालीन समयमा दैलेखका शासक वर्गको रूपमा परिचित ठकुरी वर्गले दलितका घरका सरसामान, वस्तुभाउहरू जबर्जस्ती लाने ज्यादतीविरुद्ध लड्न मेरो बुबा राजनीतिमा लाग्नुभएको हो’, उनले भने, ‘गाउँमा दलित भनेपछि सबैले हेला गर्थे। हाम्रो समुदाय छुट्टै हुन्थ्यो। गाउँलेहरूले पशुसरह व्यवहार गर्थे। यी सबै कुव्यवहारबाट मुक्ति पाउन मेरो बुबाले गाउँमा धेरै संघर्ष गर्नुभयो।’

    बुबाको संघर्षलाई सहयोग गर्न आफूले चेतनाका गीत गाएर साथ दिएको बताउँदै विनोदले भने, ‘बुबाले समाज भएका कुसंस्कार र कुरीतिविरुद्ध गीतमार्फत् आवाज उठाउन प्रोत्साहन गर्नुभयो। बुबाको सपना साकार गर्न मैले आफ्नो पढाइ सँगसँगै सांगीतिक यात्रालाई पनि अगाडि बढाएँ। मैले बाल्यकालदेखि नै चेतनाका गीतहरू गाएर गाउँगाउँ डुल्ने अवसर पाएको थिएँ।’

    विनोदले आफू आठ-नौ वर्ष हुँदादेखि नै संगीतिक क्षेत्रमा लागेको बताए। गाउँमा हुने विभिन्न कार्यक्रमहरूमा गीत गाउने विनोदले १० वर्षको कलिलै उमेरमा दैलेखमा हुने ज्यादतीविरुद्ध ५५ वटा गाविसहरूमा चेतनामूलक गीत गाएर डुलेको अनुभव सँगालेका छन्। ‘त्यो बेला गीत भनेपछि अतिप्यारो। गाउँगाउँ डुल्थेँ। कार्यक्रमहरूमा गीत गाउन बोलायो कि जहाँ पनि पुग्थेँ’, उनले भने।

    सानैदेखि गायन क्षेत्रमा लागे पनि पढाइमा खासै असर नपरेको उनले बताए। ‘मैले पढाइ लेखाइ सँगसँगै सांगीतिक यात्रालाई पनि अगाडि लिएर गएँ। यदि त्यो बेला पढाइ लेखाइ भनेर बसेको भए आज म यहाँ पुग्ने थिइनँ', विनोदले भने, ‘कखरा विद्यालयमा गई पढेर सिकेँ तर गीत हाम्रो समुदायमाथि गरेको ज्यादतीले सिकायो।’

    विनोदले दैलेखको तत्कालीन पशुपति प्रावि छेपाडीमा प्राथमिक तह र कालिका मावि तिलेपाटामा कक्षा ८ सम्मको पढाइ पूरा गरेका थिए। त्यसपछि २०५८ सालमा भक्तपुर प्रवेश गरेका विनोदले वागेश्वरी उच्चमाध्यमिक विद्यालयमा एसएलसीसम्मको पढाइ सकेर काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट संगीतमा स्नातकसम्म गरेका छन्।

    कुसंस्कार हटाउन यसरी गरे संघर्ष

    गीतमार्फत् दैलेखमा हुने ज्यादतीविरुद्ध आवाज उठाउने बुबाको सपना सँगसँगै बाजेको सपना पनि पूरा गर्नुपर्ने बोध विनोदलाई भयो। ‘त्यतिबेला गाउँमा सबै समुदाय एकातर्फ र हाम्रो परिवार एकातर्फ रहेर समाजको कुसंस्कार र कुरीति हटाउने कार्यमा लाग्यौँ। यसमा कसैले पनि साथ दिएनन्। यतिसम्म भयो कि हाम्रो समुदायका मानिसहरू समेत पछि हटे’, उनले भने, ‘त्यो बेला गीत संगीततर्फ त्यति चासो नभए पनि पुराना शैली, पुरानै संस्कार हुनुपर्छ भन्ने परंपरा थियो। त्यो परंपराबाट बाहिर आउनुपर्छ भनी गाउँमा सबै एकातिर हाम्रो परिवार एकातिर बसेर गीत संगीतमार्फत् चेतना फैलाउन सुरु गरेँ।’

    गाउँमा दिदीबहिनीसँग देउडा खेल्न नहुने रुढीवादी संस्कार थियो। दिदीबहिनीहरूसँग देउडा खेल्यो कि दिदीबहिनीलाई मान सम्मान गरेन भन्ने प्रश्नको वर्षा हुन्थ्यो। 'ती सबै कुसंस्कारलाई २०५६ सालमा हाम्रो परिवारका बुबाआमा, दाजुभाइ र बहिनी सँगै देउडा खेलेर त्यसलाई तोड्न सफल भयौँ', उनले भने, ‘गाउँमा यी कुराहरू कसैलाई पाच्य भएन। यतिसम्म कि अब त दिदीलाई दिदी मान्दैन कि क्या हो? बहिनीलाई बहिनी मान्दैन के हो? भन्ने आरोप खेप्नुपर्थ्यो। मैले आफ्नो गीतमार्फत् यस्ता कुसंस्कार हटाउन देउडा खेल्दा चेतनामूलक गीत गाएँ।’

    गाउँमा दिदीबहिनीसँग देउडा खेलेको हल्ला चल्न थाल्यो। गाउँमा बस्न निकै गाह्रो भयो। बस्ने स्थिति रहेन तर उनीहरू कसैसँग झुकेनन्। उनले भने, ‘बाटो एकदमै अप्ठ्यारो थियो। कठिनाइहरू निकै आए। ती पन्छाउँदै हामी अगाडि बढ्यौँ। सबैसँग कुरीति र कुसंस्कारविरुद्ध लडाइँ लड्यौँ। मात्र हाम्रो परिवारले। अन्तमा हामी सफल भयौँ।' समाजलाई ती कुराहरू स्वीकार्न बाध्य बनाएकामा उनी गर्व गर्छन्। अहिले गाउँमा सबैसँगै बसेर देउडा खेल्ने परंपराको विकास भइसकेको उनले बताए।

    परिवारबाटै सांगीतिक क्षेत्रमा लाग्ने हौसला पाएका विनोद आफू दलित परिवारमा जन्मएकामा निकै गर्व गर्छन्। उनले भने, ‘अहिले म जे छु, मेरो बुबा र परिवारको सहयोगबाटै छु। मलाई गर्व छ मेरो परिवारप्रति, जुन परिवार दलित भएर पनि समाजमा हुने कुरीतिविरुद्ध सबैसँग लडेर अगाडि बढ्यौँ।’

    संगीतभन्दा मिडिया सशक्त भएर यसमा आएँ

    अरू गायकको तुलनामा विल्कुलै फरक गीत गाउने विनोदले आफ्नै शब्द, संगीत र स्वरमा नेपालका पूर्व-पश्चिमका सबै जिल्लाहरूमा विभिन्न चेतनामूलक गीत गाएर सांगीतिक कार्यक्रम गरिसकेको अनुभव सँगालेका छन्।  उनले नेपालका विभिन्न जिल्लाहरूमा गई

    मेची नछोड, अब काली नछोड
    हाम्रो देशको धमनी कर्णाली नछोड

    छोड्दै नछोड अब कहिल्यै नछोड
    सुस्ता, कालापानी, लिपुलेक नछोड

    जस्ता देशभक्तिपूर्ण गीतमार्फत् जागरण गरे। संगीतले भन्दा संचारले समाजको कुरीति हटाउन सशक्त भूमिका खेल्ने भएकाले आफूलाई संगीतसँगै संचार क्षेत्रमा पनि स्थापित गरेको विनोद बताउँछन्। ‘संगीत समाजको कुसंस्कार र कुसंस्कृति हटाउन एउटा माध्यम भयो तर त्योभन्दा सशक्त माध्यम भनेको मिडिया हो। त्यही भएर म मिडियामा आएँ’, उनले भने, ‘गीत संगीतमार्फत् मैले धेरै जिल्लाहरूमा चेतनामूलक गीत गाएँ। अब संचारमार्फत् देशका कुना काप्चामा यस्ता सन्देश पुर्‍याउँछु।’

    मिडिया र संगीत क्षेत्रमा लागेर आर्थिक रूपमा सबल नभए पनि आफूलाई गरिब मान्न पनि तयार नभएको विनोद बताउँछन्। विनोद आफूलाई जता गए पनि देश, जनता र समाजका निम्ति काम गर्ने अठोटका साथ अघि बढ्ने योद्धाका रूपमा स्थापित गर्न चाहन्छन्।

    २०६७ सालमा बेलमाया लामासँग अन्तरजातीय विवाह गरेका विनोद एक छोरीका पिता हुन्। अबको तीन वर्षभित्र कार्यक्रम गर्न बाँकी विभिन्न जिल्लाहरूमा सांगीतिक अभियान लिएर जाने सपना बोकेका विनोदले सास रहुन्जेल देश र जनताका निम्ति संगीत र संचारमार्फत् सन्देश फैलाउन पाइयोस् भन्ने चाहना रहेको बताए।

    हेर्नुहोस् भिडियो 

लक्ष्मी गारु

गारु थाहा खबरका भक्तपुर समाचादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]