विचार

पुराणका प्रसंग : कथा सुन्ने, सार ग्रहण गर्ने
SHARES

पौराणिक पात्रका सबै काम अनुकरणीय हुँदैनन्

पुस २१, २०७५

    सञ्चार माध्यममा सनातन धर्मका देवता ऋषि, महापुरुषहरू नै भ्रष्ट भएको, तिनले पितृसत्तालाई प्रश्रय दिएको, नारीहिंसाको सुरुआत गरेको वा त्यसलाई बढावा दिएको लगायतका आलोचना पढ्न र सुन्न पाइन्छन्। त्यस्ता भ्रष्टहरूलाई देवता, महापुरुष वा ऋषि मानेर तिनीहरूको अनुकरण गर्ने कि नगर्ने भन्ने प्रश्न पनि उठ्ने गरेको छ। 

    यसैगरी कतिपयले भने नकारात्मक कुरा देवता, ऋषिहरूले गर्न हुने हामीले चाहिँ किन गर्न नहुने भन्ने प्रश्न उठाएको पाइन्छ। सनातन धर्मका गुरु, पण्डित, पुराणवाचक र संस्कृतका गुरुहरूले स्पष्ट खण्डन वा तथ्य प्रस्तुत गर्न नसक्दा पनि जनमानसमा भ्रम परिरहेको छ।

    सनातन धर्मको आलोचना गर्नेहरूले मूलभूत रूपमा केही प्रचलित प्रसंगलाई उठाउने गरेको पाइन्छ। ब्रह्माजी छोरी सरस्वतीमाथि जाइलागे, भगवान् शिव मोहिनीरूपलाई देखेर उत्तेजित हुँदै उनको पछि दगुरे, महादेवले नै नांगै हिँडेर ऋषिपत्नीहरूलाई लोभ्याएर खैलाबैला मच्चाए, इन्द्रले गौतमपत्नी अहिल्याको सतीत्व नष्ट गरे, इन्द्रले गुरु बृहस्पतिपत्नी तारालाई हरेर भोग गरे, भगवान् रामले धोबीका कुरा सुनेर आफ्नी पतिव्रता पत्नी त्यागे।

    पुराणहरू भावप्रधान मानिन्छन्। वेदको ज्ञान लिन सबैको सामथ्र्य नपुग्ने हुनाले नै इतिहास पुराण र कथाहरूको सिर्जना गरिएको हो। पुराणमा विभिन्न पात्रको कथाको माध्यमबाट सन्देश दिन खोजिएको हुन्छ। कथाको पाटो एकातिर हुन्छ भने कथाको सार वा भाव अर्कोतिर हुन्छ। पुराणका कथाहरूको आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीन अर्थ हुन्छन्। 

    कृष्णले सयौँ गोपिनीहरूसँग रासलीला गरे, पाँच पाण्डवले द्रौपदीलाई साझा पत्नी बनाएर भोग गरे, तिनै साझा पत्नीलाई समेत निर्जीव सम्पत्ति जस्तो दाउमा राखे। आलोचकहरूले यी र यस्तै प्रसंग उठाएर सनातन शास्त्र र समग्र सनातन धर्ममाथि नै प्रश्न उठाएको पाइन्छ। सञ्चार माध्यमले पनि यस्ता निन्दा गरेका प्रसंगलाई प्रमुखताका साथ उठाउने र त्यसको खण्डन गरिएका र वास्तविकता खुलाइएको प्रसंगलाई स्थान नदिने तथ्य पनि छँदैछ। 

    पुराणहरू भावप्रधान मानिन्छन्। वेदको ज्ञान लिन सबैको सामथ्र्य नपुग्ने हुनाले नै इतिहास पुराण र कथाहरूको सिर्जना गरिएको हो। पुराणमा विभिन्न पात्रको कथाको माध्यमबाट सन्देश दिन खोजिएको हुन्छ। कथाको पाटो एकातिर हुन्छ भने कथाको सार वा भाव अर्कोतिर हुन्छ। पुराणका कथाहरूको आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीन अर्थ हुन्छन्। 

    धेरैजसोले शास्त्रमा भएका आध्यात्मिक र आधिदैविक अर्थ ग्रहण गर्न नसक्ने हुनाले कथाको माध्यमबाट रोचक पाराले सन्देश दिने प्रयास गरेको हुन्छ। हाम्रो समाजमा पुराण सुन्ने चलन अहिले पनि उत्तिकै छ। घर, गाउँ, टोल र मन्दिरमा दिनहुँ भागवतलगायतका गुञ्जिरहेका हुन्छन्। पितृमुक्ति वा भौतिक विकास निर्माणका कार्यको सहारा बन्ने गरेको छ, श्रीमद्भागवत महापुराण। भागवतको दशम स्कन्धको ३३औं अध्याय अन्तर्गत ३२औं श्लोकले पौराणिक ग्रन्थबाट के लिने भन्ने विषयमा एउटा सन्देश दिएको छ – ईश्वराणां वचः सत्यं तथैवाऽऽचरितं क्वचित्, तेषां यत् स्ववचोयुक्तं बुद्धिमांस्तत् समाचरेत्। अर्थात् ईश्वरको वचन सत्य हुन्छ मानिसले त्यसको पालन गने हो उनीहरूको कुनै कुनै आचरण अनुकरण गर्न योग्य हुन्छन् तर सबै हुँदैनन्। यसर्थ बुद्धिमानले त्यही उचित आचरणको अनुकरण गर्नु योग्य हो।

    महाभारत शान्तिपर्वको २९४\७ मा ‘लोकमा ख्याति पाएका व्यक्तिले पनि मदमत्त भै मर्यादा नाघेर काम गरको छ भने त्यो अनुकरणीय हुँदैन’ भनिएको छ– संसिद्धि पुरुषो लोक यदाचरति पापकम्। मदेनाऽभिप्लुतमनास् तच्च न ग्राहमुच्यते। यसरी पुराणमा विभिन्न पात्रका विभिन्न चरित्रको वर्णन गरेर रोमाञ्चक बनाइए पनि चरित्रको अनुकरणभन्दा तिनले दिएका सार ग्रहण गर्नुपर्छ भन्ने बताइएको छ।

    सृष्टिका लागि स्त्री र पुरुष दुवैको आवश्यक्ता पर्दछ। ब्रह्मा र सरस्वतीको प्रसंगमा पुराणमा सृष्टिका लागि ब्रह्माले आफ्नै शरीरबाट स्त्रीशक्तिको उत्पत्ति गरेको बताइएको छ। एकअर्थले सृष्टिका लागि उत्पत्ति गरेको र अर्कोअर्थमा शरीरबाट उत्पन्न भएको हुनाले छोरी पनि भनिएको अर्थमा व्याख्या गर्दै आएका छन्। यसकारण यसको भाव बुझ्न जोसुकैले सक्दैनन् र हिजोआज भएका घटनाहरूसँग जोडेर बाबुले छोरीको बलात्कार गर्ने चलन पौराणिक कालदेखि थियो भन्ने आक्षेप लगाउँछन्।

    मोहिनी प्रसंगमा शिवलाई मोहिनी भगवान् विष्णुको रूप हो भन्ने थाहा छँदाछँदै पछि लागे। त्यस्ता महापुरुष भएर पनि चुके। पछि उनले आफैले गल्ती महसुस गरेको देखाइएको छ। अब उनले गरेका कार्यलाई अनुकरण गर्ने कि निष्कर्षलाई? गौतमपत्नी अहिल्यालाई दुषित पार्दा इन्द्रले भोग्नुपरेको श्राप होस् या भगवान् नै भए पनि विष्णुले पतिव्रता वृन्दाको सतित्व हरण गर्दा शिला हुनुपरेको प्रसंग होस् आखिर खराब कामको फल त खराबै हुने रहेछ नि! रह्यो अहिल्याले विनाकसुर शिला हुनुपरेको प्रसंग छ कोहीपनि पुरुष आफ्नी पत्नी अर्कासँग सम्बन्ध गाँसिरहेको देख्दा रिस उठ्नु स्वभाविकै हो। ऋषिको त्यही कोपमा परी अहिल्याले श्राप पाएकी हुन्।

    रामले सीताको त्याग गरेको प्रसंग पनि निकै आलोचित हुँदै आएको छ। त्याग नै गर्ने मनस्थिति भएको भए किन त्यत्रो वर्षसम्म उनको खोजीमात्र गरेनन्, सीताकै लागि रावणसँग त्यत्रो लडाइँसमेत गरे? त्यसैले अरु विवाह गर्न वा अन्य प्रयोजनका लागि उनले सीताको त्याग गरेका थिएनन्। आफ्नो मात्र स्वार्थ नहेरी प्रजालाई खुशी राख्न उनले सीताको त्याग गरेको बुझिन्छ। यसबाट उनी खुशी पनि देखिँदैनन्। रामले जे गरे, त्यो राम्रो गरे भन्ने रामायणको सार पनि होइन।

    रामले सीताको त्याग गरेको प्रसंग पनि निकै आलोचित हुँदै आएको छ। त्याग नै गर्ने मनस्थिति भएको भए किन त्यत्रो वर्षसम्म उनको खोजीमात्र गरेनन्, सीताकै लागि रावणसँग त्यत्रो लडाइँसमेत गरे? त्यसैले अरु विवाह गर्न वा अन्य प्रयोजनका लागि उनले सीताको त्याग गरेका थिएनन्। आफ्नो मात्र स्वार्थ नहेरी प्रजालाई खुशी राख्न उनले सीताको त्याग गरेको बुझिन्छ। यसबाट उनी खुशी पनि देखिँदैनन्। रामले जे गरे, त्यो राम्रो गरे भन्ने रामायणको सार पनि होइन।

    साह्रै विवादित रहेको कृष्णको प्रसंगलाई पनि हाम्रो समाजले नकारात्मक किसिमले बुझ्ने गरेको छ। रासलीला र कृष्णका सोह्र सय गोपिनीजस्ता प्रसंग समाजमा प्रख्यात रहेको छ। रासलीलाको प्रसंगमा कृष्णको उमेर सात आठ वर्षको बताइएको छ। त्यस उमेरको बालकको प्रसंगमा अनेक अर्थ लगाउनु व्यर्थ हुन्छ। यस्तै हाम्रो समाजमा कृष्णले चाहिँ सोह्र सय गोपिनी राख्न हुने हामीले चाहिँ...! भन्ने सुनिन्छ। के अहिलेका मानिस कृष्णले गरेका अन्य चामत्कारिक काम गर्न सक्छन् त?

    पाण्डवसँग द्रौपदीको विवाह हुने प्रसंग बाध्यतासँग जोडिएको छ। त्यसबाट सिर्जित अनेक विकृतिका कारण यसलाई आदर्श विवाह मानिएको छैन। स्वस्थानी व्रतकथामा आउने सात वर्षकी गोमा र सत्तरी वर्षे शिवशर्माको विवाहको प्रसंगलाई पनि धेरैले आलोचना गर्दै आएका छन्। गोमाले पाएको दु:खबाट यस किसिमका अनमेल विवाहले पार्नसक्ने असरबारे कठिनाइबारे सजग गराएको बुझ्नुपर्छ।

    द्रौपदीलाई पासामा थापेको प्रसंगबाट समाजको चरित्रलाई प्रदर्शन गरेको हो। यो राम्रो हो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने बताइएको छैन। यस घटनामा संलग्नको दुर्गति भएको र भीष्म युधिष्ठिर लगायतले पनि आत्मालोचना गरेको प्रसंगबाट पनि जुवातास खेल्नु राम्रो होइन भन्ने सन्देश दिन खोजेको हो।

    पुराणका कथाको भाव बुझ्ने प्रयास गरे महापुरुषहरूले चाहिँ गर्न हुने हामीले चाहिँ नहुने जस्ता तर्कहरूको जवाफ आफैँ प्राप्त हुन्छ। यसैगरी शास्त्रका कारण हिंसा बढ्यो भन्ने कोकोहोलो पनि मच्चिने थिएन। 

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]