थाहा संवाद

'निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्छ'
SHARES

पुस २५, २०७५

    कर्णाली प्रदेश सबै प्रदेशभन्दा कान्छो प्रदेश हो। दुई जनाले ज्यान गुमाएर जन्मिएको कर्णाली प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता र विशेषता भएको प्रदेश हो। कान्छो प्रदेश भए पनि सबैभन्दा अगाडि प्रदेशको नामकरण र प्रदेशको राजधानीको टुंगो लगाएको थियो।

    कर्णाली प्रदेशमा १० जिल्ला छन्। यो प्रदेश प्रशस्त सम्भावना बोकेको प्रदेश हो। यहाँ धार्मिक, ऐतिहासिक, पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण प्रदेश मानिन्छ। जल, जमिन, जंगल र जडिबुटीको धनी प्रदेश कर्णाली प्रदेश हो। कर्णाली प्रदेशमा जम्मा जनसंख्याको ५१ प्रतिशत अहिले पनि गरिवीको रेखामुनि रहेको छ। कर्णाली प्रदेश थुप्रै सम्भावना भएको प्रदेश भए पनि यहाँ कलकारखाना र उद्योग स्थापना हुन नसक्नु समस्या हो। कर्णालीमा उद्योगको स्थापना, यहाँका सम्भावना र चुनौती केके छन्? यसै सन्दर्भमा रहेर उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका उपाध्यक्ष शान्तिप्रसाद शर्मासँग थाहाखबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी प्रस्तुत छ।

    कर्णाली प्रदेशमा उद्योग र कलकारखानाको अवस्था के छ?

    संघीयता आएपछि सदरमुकामहरूमा उद्योग व्यपार, व्यवसाय कमजोर देखिन्छ। कर्णाली प्रदेशमा ठूलाठूला उद्योगहरू नभएको अवस्था छ। यहाँ सम्भावना धेरै छन्। पर्यटन उद्योगको  निकै धेरै सम्भावना रहे पनि राज्य र निजी क्षेत्र मिलेर अगाडि बढाउनुपर्ने भए पनि नसकिरहेको अवस्था छ। राज्य पनि त्यति गम्भीरतापूर्वक अगाडि नबढेको देखिन्छ। कर्णाली प्रदेशको व्यवसाय वातावरणका हिसाबले उद्योगहरूको स्थापना गर्न सकिन्छ।

    यहाँको हावापानी काम गर्न सक्ने छ। त्योभन्दा पनि दैलेखमा उद्योग व्यवसायको धेरै सम्भावना छ। मध्यपहाडी राजमार्ग दैलेखको मुटु भएर अगाडि बढेको छ। कर्णाली राजमार्ग पनि दैलेख भएर जानुले यसले चारैतिर व्यापार व्यवसाय बजार क्षेत्र हेर्न सक्ने गरी यसको सम्भावाना छ। कर्णाली प्रदेशभरि लघु उद्योगहरू संचालन भएका छन्। तिनीहरूले प्रशस्त मात्रामा रोजगारी दिइरहेका छन्। कर्णालीको सम्भावना सिस्नु पाउडर उद्योग, कागजका उद्योगहरूको कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा धेरै सम्भावना भए तापनि लघु उद्यमबाहेक अरू उद्योगहरूको अवस्था कमजोर छ।

    भनेपछि प्रदेशमा उद्योगहरू स्थापना नहुनु राज्यले नै सही नीति निर्माण नगर्दा उद्योग स्थापनामा समस्या भएको हो?

    उद्योगहरूको विकास हुनलाई धेरै चिजहरूको विकासदेखि लिएर आन्तरिक र बाह्य लगानीका कुराहरू पनि आउँछन्। एउटा कुरा के हो भने केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनवटा सरकारहरू छन्। यी तीनवटा सरकारहरूले उद्योगहरूको स्थापना गर्न वातावरण तयार पार्नुपर्ने हुन्छ। राज्यबाट पनि त्यो वातावरण तयार भएको छैन। हामी निजी क्षेत्र ढुक्क रूपमा लगानी गर्ने वातावरण छैन। विगतमा दश वर्षे जनयुद्धले ठूलाठूला उद्योगहरू स्थापना हुन सकेनन् किनकि त्यति बेला लगानी गर्ने वातावरण थिएन। यहाँ धेरै कच्चा पदार्थहरू पनि प्रशस्त मात्रामा पाउन सकिन्छ। उद्योगको धेरै सम्भावना छ। संचालन र लगानीका कुराहरूलाई अगाडि बढाउने हो भने हामी निजी क्षेत्रका उद्योगहरूलाई अगाडि बढाउन सक्रियाता रहनेछ।

    कर्णाली प्रदेशमा ५१ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। उद्योग, कलकारखाना स्थापना भएका छैनन्, कर्णालीको यो अवस्थालाई सुधार गर्न प्रदेश उद्योग वाणिज्य संघको के भूमिका हुन्छ?

    हाम्रो भूमिका अवश्य पनि रहन्छ। यहाँ के छ भने दक्ष जनशक्ति भारतलगायत विदेशका गल्लीगल्लीहरूमा भाँडा माझिरहेको अवस्था छ। त्यो जनशक्तिलाई यहीँ स्थापित गर्नका निम्ति ठूलाठूला उद्योग स्थापना हुनु जरुरी छ। उद्योग स्थापना गर्नका निम्ति आन्तरिक र बाह्य लगानी हुनु पनि त्यतिकै खाँचो छ। उद्योग स्थापना गर्नका लागि बाटोघाटो, बिजुलीदेखि लिएर ती सबै आधारहरू तयार हुन जरुरी छ। यी तयार भए भने यहाँ धेरै सम्भावना छ।

    हामी निजी क्षेत्र, आन्तरिक र बाह्य लगानी ल्याउन तयार छौँ। राज्यले त्यो वातावरण तयार गरोस् र पूर्वाधार विकास जहाँ चाहिने चिजहरू हो, त्यहाँ राज्यले त्यो तयार गरोस्। राज्यले लगानी गर्ने वातावरण तयार गर्‍यो भने निजी क्षेत्र पनि लगानी गर्न तयार हुन्छन्। लगानीअनुसारका उद्योगहरू संचालन भए भने कर्णालीमा कोही पनि गरिब हुनुपर्दैन।

    तपाईंले भन्न खोजेको लगानीको ग्यारेन्टी सरकारले नगरेसम्म कर्णालीमा उद्योगहरू स्थापना हुन सक्दैनन् भन्ने हो?

    केही लगानी हामी निजी क्षेत्रबाट पनि ल्याउन सक्छौँ। राज्यले लगानी गर्ने वातावरण तयार गर्नुपर्‍यो र मान्छेले त्यत्रो ठूलो लगानी गर्‍यो भने त्यसको सुरक्षाको ग्यारेन्टी पनि राज्यले गर्नुपर्‍यो भन्ने चाहाना हो

    राज्यले निर्माण गरेका नीति नियमहरू उद्योगी व्यापारीहरूको क्षेत्रमा कार्यान्वयन तहमा फितलो हुने, उद्योग कारखाना संचालनका लागि झन्झटिलो पक्रिया छ,  यसलाई तपाईंले कसरी लिनुभएको छ?

    राज्यका केही कानुनहरू केही व्यवसायहरूका निम्ति काला कानुनहरू छन्। हामी दर्ता हुन जान महिनौँ, वर्षौं लाग्ने यस्ता झन्झटिला कानुनहरू छन्। राज्यले कानुनहरूलाई पनि सहज बनाउनुपर्छ। व्यवसाय दर्ता हुने प्रक्रियादेखि कर प्रणालीलाई पनि लिएर अब सहजता गरिदिनुपर्छ। हाम्रो व्यवसाय बलियो भयो भने हामी बलियो हुने हो। नागरिक बलियो भएमा राज्य बलियो हुने हो। राज्यले व्यवसाय दर्तादेखि लिएर सबै कुराहरूमा सहजता प्रदान गर्न सक्नुपर्छ। कानुनहरूलाई परिवर्तन गर्नुपर्छ। यी कानुनले गर्दा पनि हामी व्यवसायीलाई अप्ठ्यारो परिरहेको अवस्था हो।

    तपाईं दैलेख जिल्लाको उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा दैलेखमा उद्योग स्थापनाका लागि केके पहल गर्नुभएको थियो?

    म त्यति बेला तत्कालीन दैलेख उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा थुप्रै प्रयासहरू हामीले गर्‍यौँ। दैलेख जिल्लामा मध्यपहाडी राजमार्ग ल्याउने कुरा भयो। राजमार्ग सदरमुकामबाटै लैजाने कुरा भयो। दैलेखमा भएको पेट्रोलियम पदार्थ खानीको तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेलाई यहाँ बोलाएर चिनियाँ प्राविधिक टिमलाई ल्याएर अन्वेषण गर्ने काम गर्‍यौँ। दैलेखका ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूलाई काठमाडौंमा हामीले फोटो प्रदर्शनी गरेर विश्व मानचित्रमा चिनाउने केही प्रयास गर्‍यौँ।

    दैलेखका सम्पदाहरू धेरै छन्। जल छ, जमिन छ, जंगल छ, जडिबुटी छ, यिनलाई विकास गरेर उद्योगको रूपमा अगाडि बढाएर जाने हो भने हाम्रा व्यवसायहरू पनि फस्टाउने र दैलेख जिल्ला समृद्धिको जिल्ला पनि बनाउन सकिन्छ भनेर थुप्रै कामहरू हामीले गर्‍यौँ। बजारमा हुने चोरीनिकासीलाई रोक्नका लागि सिसि क्यामेरा राख्यौँ। व्यापारीहरूलाई ई-प्यानमा जारी गर्ने अधिकार दैलेखमा ल्यायौँ। समग्रमा हामी व्यापारीको हक हितका लागि लडिरह्यौँ।

    तीनै तहका सरकारसँग उद्योग वाणिज्य संघले कसरी समन्वय गरिरहेको छ?

    उद्योग वाणिज्य संघ कर्णाली प्रदेशको कुरा गर्दा समग्रमा हाम्रा प्रत्येक जिल्लाहरूमा उद्योग वाणिज्य महासंघ सदस्यहरू, जिल्ला उद्योग वाणिज्य संघ, नगर उद्योग वाणिज्य संघ रहने व्यवस्था छ। सिंगो एउटा प्रदेश उद्योग वाणिज्य संघ छ। म त्यसको उपाध्यक्ष छु। सबै राज्यका तीनवटै तहमा संरचना निर्माण भइसकेका छन्। स्थानीय सरकारले कानुन बनाउँदा उद्योगीहरूका हक हितका लागि बनाउँछन् भन्ने छ। स्थानीय सरकार पनि निजी क्षेत्रबिना अगाडि बढ्न सक्दैन। स्थानीय सरकारसँग समन्वय गर्न हाम्रा उद्योग वाणिज्य संघका शाखाहरू छन्। ती शाखाहरूले समन्वय गरेर अगाडि बढिरहेका छन्।

    सबै जिल्लाहरूमा गएर उद्योगका सम्भावना, उद्योगहरूलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ र लगानीका कुरा कसरी गर्न सकिन्छ? हामीले उत्पादन गरेका माल सामानहरू निर्यात गर्न कसरी सकिन्छ? यी सबै कुराहरूलाई मिलाएर प्रदेश उद्योग वाणिज्य संघले काम अगाडि बढाउने कुरा छ।

    विगतमा दुर्गम ठाउँका व्यवसायीहरूले कर तिर्नका लागि अन्य जिल्ला जानुपर्ने बाध्यता थियो, त्यो समाधान भयो कि भएन?

    विगतमा उद्योग वाणिज्य संघ दैलेखले करका टिम नेपालगंजदेखि बोलाएर हामीले यहीँ सेवा दिने काम भइराखेको थियो भने अब स्थानीय तहसम्म हामी निजी क्षेत्रले, त्यहाँका व्यवसायीहरूले त्यहीँ कर बुझाउने परिपाटीका लागि हामीले पहल गरिराखेका छौँ। यो आगामी वर्षदेखि लागू हुन्छ।

    कर्णालीमा पर्यटनको सम्भावना धेरै छ। सम्भावना भए पनि निजी क्षेत्र टुलुटुलु हेरर किन बसिरहेको छ? पर्यटनमा लगानी गर्न किन सक्नुभएको छैन?

    वास्तवमै कर्णाली प्रदेशमा पर्यटनको सम्भावना धेरै छ। सुन्दरताको महत्त्वको हिसाबले पनि कर्णाली प्रदेश अगाडि छ। रारा जस्ता तालहरू कर्णाली प्रदेशमै छन्। दैलेखको पञ्चकोसी तीर्थस्थल कर्णाली प्रदेशमै छ। विभिन्न जिल्लामा धेरैभन्दा धेरै सम्भावना छन्। हाइड्रोको सम्भावना छ। यी सबै चिजहरू हाम्रो प्रदेशमा हुँदाहुँदै पनि राज्यको आँखा यतातिर परिरहेको छैन। अब हामी निजी क्षेत्र तयार छौँ। लगानी गर्ने वातावरण राजयले तयार गरोस्। कर्णालीलाई सिंगो पर्यटन क्षेत्र घोषणा गरेर राज्य अगाडि बढ्यो भने यहाँ धेरै ठूलाठूला पर्यटन उद्योगहरूको सम्भावना छ। निजी क्षेत्रको तर्फबाट लगानी भित्र्याउने काम हामी पनि गर्छौं। राज्यले पूर्वाधार विकास गर्‍यो भने यसको ठूलो सम्भावना छ। यसलाई अगाडि बढाउन सकिन्छ।

    प्रदेश सरकारले यहाँको पर्यटन र कलकारखाना स्थापनाका लागि निजी क्षेत्रसँग लगानी गर्न आग्रह गर्‍यो भने तपाईंहरू लगानी गर्न तयार हुनुहुन्छ?

    हामी लगानी गर्न तयार छौँ। राज्यले हाम्रो लगानीको ग्यारेन्टी गरोस्, त्यो वातावरण तयार गरोस्। पूर्वाधारको विकासको व्यवस्था गरोस्, हामी लगानी गर्न तयार छौँ। नाफा कमाउनलाई लगानी गर्नु नै पर्छ।

    व्यापारीका हक हितका लागि गरेका प्रतिवद्धता कति पूरा गर्नुभयो?

    सुरुमा त हामीले कर्णाली प्रदेशमा समय प्रादेशिक महोत्सवमा लगायौँ। सचिवालय व्यवस्थापन गर्नु थियो, भवन निर्माण गर्दै छौँ। कर्णाली प्रदेशमा १० जिल्ला पर्छन्। १० वटै जिल्लाका उद्योग वाणिज्य संघहरूलाई बलियो बनाएर लैजाने, अधिकार सम्पन्न बनाएर लैजाने, १० वटै जिल्लाहरूमा केके सम्भावनाहरू छन्? उद्योगहरूलाई संचालन गर्ने र व्यापारीहरूलाई प्रवर्द्धन गर्ने, सबै जिल्लाहरूमा गएर उद्योगका सम्भावना, उद्योगहरूलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ र लगानीका कुरा कसरी गर्न सकिन्छ? हामीले उत्पादन गरेका माल सामानहरू निर्यात गर्न कसरी सकिन्छ? यी सबै कुराहरूलाई मिलाएर प्रदेश उद्योग वाणिज्य संघले काम अगाडि बढाउने कुरा छ।

    माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माणकर्ता भारतिय कम्पनी जिएमआरले अहिलेसम्म लापरवाही गरिरहेको छ। कर्णाली प्रदेश उद्योग वाणिज्य संघले छिटो बनाउनुपर्‍यो भनेर किन दबाब दिएको छैन?

    यति ठूलो आयोजना छ। राष्ट्रिकै गौरवको आयोजना हो। यसलाई जिएमआरले होल्ड गरेर राखेको छ। यसमा दोष राज्यको छ। निजी क्षेत्रले कि छिटो बनाऊ कि छोड पहिलेदेखि नै भन्दै आएका छौँ। म दैलेख उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पनि बारम्बार आग्रह गर्‍यौँ तर पनि म्याद थप्दै जाने केन्द्र सरकारबाट काम भयो। यो केन्द्र सरकारको अधिकार हुन्छ जस्तो लाग्छ।

    केन्द्र सरकारले यसमा छिटोभन्दा छिटो डिसिजन गर्नुपर्छ कि जिएमआरले काम गर्ने वातावरण बनाई काम अगाडि बढोस् होइन भने यो यहाँका जनताले अथवा नेपाल सरकारले आफैँ गरोस्। यत्रो हाम्रो राष्ट्रिय गौरवको आयोजना होल्ड गरेर राख्नु हामीलाई ठूलो धोका हो। जिएमआरलाई म कर्णाली प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्षको हैसियतले के भन्छु भने छिटोभन्दा छिटो तपाईं काम गर्नु छ भने तपाईंले काम गर्नुहोस् होइन भने तपाईंले हलो अड्काएर गोरु पिट्ने काम बन्द गर्नुहोस्।

    कर्णाली प्रदेशका व्यापारीहरू उक्त आयोजनामा लगानी गर्न तयार छन् त?

    तयार छन् किन तयार नहुनु? यो एकदम सस्तो आयोजना पनि हो। यसमा हामी सबै लाग्ने हो भने असम्भव केही पनि छैन। यो गर्न सकिन्छ। हामी तयार छौँ।

उदयराज अधिकारी

अधिकारी थाहाखबरका दैलेख संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]