समाज : सुरक्षा/अपराध

यसरी खुल्यो नक्कली डिएसपीको रहस्य
SHARES

पुस २७, २०७५

    काठमाडौं :  हट्टाकट्टा ज्यान, हेर्दा स्मार्ट देखिने एक युवा पुस १३ गते काठमाडौं कमलादीस्थित तिरुपती होटलमा पुगे। होटलको काउन्टरमा बसेका कर्मचारीलाई झट्ट हेर्दा लाग्यो, उनी नेपाली सेना, नेपाल प्रहरीमध्ये कुनै एकका हाकिम हुन्।

    ती युवा होटलको काउन्टरमै पुगे। बस्नलाई कोठा सोधे।

    होटलमा कोठा खाली नै थियो। कोठा बुक गर्न खोजे। काउन्टरमा रहेका कर्मचारीले ठेगाना खुल्ने परिचयपत्र मागे। ती युवाले खल्तीमा राखेको पर्स खोलेर परिचय खुल्ने भिजिटिङ कार्ड दिए।

    भिजिटिङ कार्ड हेर्दा काउन्टरका कर्मचारीले ती युवाबारे केहीअघि गरेको अनुमान मेल खायो। भिजिटिङ कार्डमा लेखिएको थियो- 'अपराधविरुद्ध एकता, महानगरीय प्रहरीको प्रतिवद्धता', भीमकिरण बोगटी, 'डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस।'

    उनले नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमकिरण बोगटी नामको सोही कार्ड होटलको काउन्टरमा बुझाए।

    होलटको २०३ नम्बर कोठा बुक गरे। त्यही कोठामा उनी १४ दिनसम्म बसे। होटलमा बस्दा उनको रवाफ नै अर्कै थियो। दिनदिनै फेरीफेरी युवती ल्याउने गर्थे। मोजमस्ती गर्थे। होटल संचालकले रुपैयाँ माग्छन् भनेर आफैँ काउन्टरमा गएर 'ठूलो अपराध अनुसन्धानमा छौँ, पैसा कति हुन्छ पछि नै मिलाउँला' भन्ने गर्थे।

    होटल संचाललाई समेत लागेको थियो, उनी वहालवाला प्रहरीका डिएसपी नै हुन्। त्यसैले उनको गतिविधिमा होटल संचालक मौन थिए। जे माग्यो, त्यही दिन्थे। होटलका कर्मचारीलाई दुर्व्यवहार गरे पनि तैँ चुप मै चुप अवस्थामा बस्थे।

    यसरी खुल्यो नक्कली डिएसपीको रहस्य

    १४ दिनसम्म होटल तिरुपतीमा बस्दै आएका उनको होटलको बिल करिब एक लाख रुपैयाँ हाराहारीमा पुगिसकेको थियो। उनको युवती ल्याउने र मोज मस्ती गर्ने काम भने रोकिएको थिएन, न बिल तिर्ने सुरसार नै थियो।

    बिहीबार राती भने उनले बोलाएकी एक युवतीसँग शारीरिक सम्बन्धका बारे विवाद भयो। ती युवतीले तिरुपती होटलमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरिन्।

    खबर पाएलगत्तै महानगरीय प्रहरी परिसरको टोली होटल तिरुपती पुग्यो। उनलाई बिहीबार राती नै पक्राउ गर्‍यो। प्रहरीले पक्राउ गरेपछि उनको नक्कली धन्दाको पर्दाफास भएको हो।

    उनी डिएसपी भीमकिरण बोगटी नभएर डिएसपीको परिचयपत्र देखाई धाक धम्की देखाई आपराधिक गतिविधिमा संलग्न भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा थिए।
    'प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी भीमकिरण बोगटीको नामको नक्कली परिचयपत्र बनाएर भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेस्टुरेन्टहरूमा समेत डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँडेको पाइएको छ, उनी माथि थप अनुसन्धान गर्छौं', महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले भने। 

    थापा भक्तपुर क्षेत्रमा जग्गा दलाली गर्ने युवा भएको र विभिन्न ठाउँमा समेत डिएसपी भन्दै ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनीमाथि किर्ते अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसरको भनाइ छ।

कृष्णसिंह लोथ्याल

लोथ्याल सुरक्षा तथा अपराधसम्बन्धी रिपोर्टिङ गर्नुका साथै फिचर लेखनमा रुचि राख्‍छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]