विचार

म, मेरा सपना र पत्रकारिता
SHARES

माघ २४, २०७५

    चाहना र सपना त आखिर बादल नै त हुन्। हरेक हेराइ र पर्खाइसँगै आकार बदल्ने, स्वरूप बदल्ने। नीलो आकाशलाई क्यानभास बनाएर। जसरी कालो निद्रालाई क्यानभास बनाएर जीवनका अपूरा र अधुरा सपना पूरा गर्ने चाहना सधैँ मनमा पलाइरहन्छ। तर, मैले अहिलेसम्म दोहोर्‍याएर कुनै सपना देखेको छैन। त्यसैले हिजोलाई कल्पेर आजलाई सराप्ने बानी पनि छैन।

    मेरा चाहना र सपना भनेका त महासागरका पानी जस्तै थिए, छन्। समुद्रले जता लग्छ उतै बगिदिने। न कुनै पीडा, नत कुनै अफसोच नै। पाउँदा पनि नपाउँदा पनि, सधैँ उस्तै। आखिर बादलभित्र हरेक क्षण आकृति जसरी फेरिँदै जान्छ, सपनाका सार पनि परिवर्तन हुँदै जान्छन्। अनि बादलका आकृति र सपनाझैँ दबिएका चाहना र सपना पनि कहिल्यै दोहरिँदैनन्। बस् कल्पनाले बादलको स्वरूपलाई नियाल्नुपर्छ, आफैँले कारेको चित्रझैँ लाग्छन्, तिनीहरू। त्यसमै रमाउनु जिन्दगी हो। 

    जीवनमा कोरिएका कति बिम्ब पनि त्यही बादल जस्ता नै हुँदारहेछन्। हरेकको दृष्टिकोणमा फरक स्वरूप। जसरी बादललाई आफैँलाई आफ्नो हरेक क्षण परिवर्तन हुने नयाँ नयाँ स्वरूपमा कुनै पश्चात्ताप वा खुसी हुँदैन। त्यो उसको नियति हो, उसलाई थाहा छ। हो त्यसरी नै हामीले आफूले बाँचेको जिन्दगी र यसले भोग्ने परिवर्तनप्रति पश्चात्ताप वा घमण्ड गर्नु कुनै तुक पनि छैन।

    बालमुकुन्दमामाले आफ्नो त्यही स्तम्भमा लेखेछन्। ‘पशुपतिनाथ आफैँमा सम्पन्न छन्, बडामहारानीलाई देवादिदेव’ का नाममा चन्दा मागेर किन दुख गर्नुपर्‍यो?! उनको त्यो स्तम्भको प्रकाशनलगत्तै पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहले बालुवाटार बोलाएर निकै झपारेछन्। अरिङ्गालको गोलोमा जानाजान किन हात हाल्नुपर्‍या? भनेर हपारेछन्। भनेछन्- ‘अब जाऊ महारानीसँग माफी माग, तिम्रो पद बच्ला–नबच्ला, तिमी बच्छौँ!'

    मेरा बुढा मावली फसिकेव (न्युरोड)का नामुद छापाखाने पाण्डे। नेपाली छापाखाना र पत्रकारिताको इतिहासको पूर्णता यो परिवारको चर्चाबिना असम्भव नै छ। मेरा पिता त्यही मावलमा हुर्किए, त्यसैले उनमा पनि पत्रकारिताको केही गन्ध थियो नै। टालोको हिङझैँ। नेपाल राष्ट्र बै‌ंकको जागिरे भएका नाताले उनले आफ्नो पत्रकारिताको सोखलाई तिलाञ्जलि दिए। मेरा बुढामामाहरूले धानेको पत्रकारिताको विरासतमा उनीहरूको सन्तानको रुचि कहिल्यै रहेन। दुखका साथ भन्ने हो भने त्यही छापाखाने पाण्डेको पत्रकारिताको इतिहासको अन्तिम हरफ म नै बन्नेछु, अहिलेसम्मको पारिवारिक परिस्थितिअनुसार। पत्रकारिताको विद्यार्थीलाई थाहा छ। यो परिवारले नेपाली पत्रकारिताको सुरुवात र स्थायित्वमा पुर्‍याएको योगदान। मेरा जिजुबाजे र मोतीराम भट्टले नेपाली छापाखानाको इतिहास सुरु गरेका थिए। मेरा पिता जुन घरमा हुर्किए, सुरुवातीकालमा त्यही घरमा छापिन्थ्यो, आजको गोरखापत्र। अनि पत्रकारिताको इतिहास लेखेका समाज र नयाँ समाज दैनिक पनि। त्यो गिद्धेप्रेसको अवशेष मैले पनि देखेकै हो तर, अहिले कहाँ कुन अवस्थामा छ? कसैलाई थाहा छैन।

    त्यसैले दुखका साथ भनेको हुँ। मसँगै पत्रकारितामा यो परिवारको संग्लनता पनि अस्ताउनेछ नै। मेरै भाग्य वा दुर्भाग्य, त्यस्तो इतिहास कोरेको परिवारको अन्तिम अवशेषका रूपमा लड्खडाउँदै भए पनि यो पेसा अंगाल्दै छु। हुन त म पनि ‘हिरो बाइ मिस्टेक’ भनेझैँ यो पेसामा गल्तीले नै फस्दै गएँ कि? कहिले काहीँ यस्तै लाग्छ।

    मेरा बुढामामाहरू पशुपतिदेव पाण्डे, बालमुकुन्ददेव पाण्डे र गोकर्णदेव पाण्डेले जुन दिनसम्म पत्रकारिता गरे, सत्ताकै पहरेदारीका लागि गरे। त्यो उनीहरूको आस्था थियो। शासन पद्धतिमाथिको विश्वास थियो। आखिर मौरीले चुस्ने गुलाफमा पनि काँडा त हुन्छ नै। तर, गुलाफको कडा सुगन्धबाट मौरी टाढा भाग्न सक्दैन। त्यसैले उसलाई गुलाफको हरेक पक्ष आकर्षक नै लाग्दो हो। सिधा अर्थमा भन्नुपर्दा पञ्चायती व्यवस्थाको भजन गाएरै उनीहरूको पत्रकारिता अगाडि बढ्यो। ती तीन दाजुभाइमध्ये बालमुकुन्ददेव पाण्डे अलि बढी व्यावसायिक भने अवश्य थिए। आँखा चिम्लिएर कसैको भजन गरेनन्। तर, सत्ताको नजिक रहे पनि उनीहरूले अथक सम्पत्ति जोड्न सकेनन्। जसरी आजका पत्रकारहरूको जोडिन थालेको छ। सायद पत्रकारिताले आफ्नो मर्यादा नाघेर व्यापारको रूप लिन थालेकोले पनि यस्तो देखिएको होला। पत्रकारिताको धर्ममाथि नोटको सुगन्ध हाबी भएर पनि यस्तो भएको हुन सक्ला। तर, आज पनि आफ्नो धर्म नबेचेर पत्रकारिता गर्नेको कमी भने छैन। तर, आज जुन विकृति पत्रकारिताभित्र दलदल बनेर जमेको छ ती दिन त्यस्ता थिएनन्। बरु मेरा बुढामामाहरूले सम्पत्ति बेचेर पत्रकारिता धानेको कारुणिक कथा निकै सुनेको छु मैले।

    पञ्चायतको अन्तिमकालतिर बालमुकुन्द मामा गोरखापत्रका सम्पादक बनाइएका थिए। ‘चिन्तनको चौतारी’ नामक उनको स्तम्भ अति लोकप्रिय थियो, त्यसताका। तत्कालीन रानी ऐश्वर्य पशुपति विकास कोषको संरक्षक थिइन्। उनको एकमात्र सूत्र थियो, पशुपतिनाथको नाममा चन्दा संकलन गर्ने तर, आफ्नो भण्डार भर्ने। पशुपतिलाई जताततैबाट चन्दा ओइरिन थाल्यो। अहिले त पशुपतिनाथलाई नै थाहा छैन होला ती चन्दाका थैलीहरू कता गए भन्ने। शिव धनको हिनामिना गर्नेले कहिल्यै सुख पाउँदैनन् रे, शास्त्रका अनुसार। शाह परिवारले पनि पाएन नै। बालमुकुन्द मामाले आफ्नो त्यही स्तम्भमा लेखेछन्। ‘पशुपतिनाथ आफैँमा सम्पन्न छन्, बडामहारानीलाई देवादिदेव’ का नाममा चन्दा मागेर किन दु:ख गर्नुपर्‍यो? उनको त्यो स्तम्भको प्रकाशनलगत्तै पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहले बालुवाटार बोलाएर अरिङ्गालको गोलोमा जानाजान किन हात हाल्नुपर्‍यो? भनेर हपारेछन्। भनेछन्- ‘अब जाऊ महारानीसँग माफी माग, तिम्रो पद बच्ला–नबच्ला, तिमी बच्छौँ!'

    तत्कालीन राजा वीरेन्द्रले दुईजना पत्रकार गोपालदास श्रेष्ठ र गोकर्णदेव पाण्डेलाई मीठो गाँस जुटाउन अफसेट प्रेस उपहार दिने भएछन्। प्रेस पनि मगाइयो, जर्मनीबाट। श्रेष्ठको प्रेसको सबै पार्टपुर्जा एउटै लटमा आएछ। विचरो मेरा बुढामामाको भने छाप्ने युनिट मात्र आएछ, पहिलो लटमा। कम्प्युटर, प्लेट बनाउने, नेगेटिभ बनाउने जस्ता प्रविधि अर्को लटमा आउने भएछ। ‘अभागीको गाँसमा ढुंगा’ भनेझैँ त्यही बुढाले बल्लतल्ल दरबारबाट आउन लागेको उपहारमा पनि एउटा भाग मात्र पाएछन्।

    राम्ररी कान नसुन्ने मेरा मामा बाजे मरिचमानको कुराले पनि टसका मस भएनछन्। आफ्नो अडानमै बसेछन्। साँझपख दरबारबाट फोन आएछ। बुढा झसंग त हुने नै भए। परिवार चलाउने पर्ने साधारण नेपालीले जागिरबाटै घर चलाउँथे, त्यसताका। पत्रकारिताले मेरो बुढामावलीलाई महलबाट निकै तलै झारेको थियो। त्यो समयको पत्रकारिता उनीहरूको सम्पत्ति जोड्ने भर्‍याङ बन्न सकेन। नाम कमाउँदा नै मक्ख थिए, उनीहरू। आखिर नदेखिँदो नशा हुन्छ, पत्रकारिता! त्यही नशाको लतले मात्र उनीहरू पत्रकारितामा अडिएका थिए। दरबारको फोनले उनलाई अरू चिन्ता नभए पनि जागिर जाने चिन्ताले भने निकै सताएछ। उताबाट फोन गर्ने व्यक्ति रहेछन्, तत्कालीन राजा वीरेन्द्र। उनले बस् यति भनेछन्, ‘हाम्रो गल्ती कमजोरीलाई औँल्याइदियौँ बालमुकुन्द, तिमीलाई धन्यवाद!’ त्यसपछि बुढा फुरुंग। उनले पत्रकारितामा मेरो रुचि देखेर धेरैपटक सुनाएका थिए, त्यो सत्य कथा। एकाध पेग चढाएपछि।

    मौरीलाई थाहा नै हुन्छ। उसको मेहनतको फललाई एक दिन अरू कसैले आफ्नो भोजन बनाउँछ भन्ने। तर, पनि, ऊ आफ्नो परिश्रमबाट बिदा लिँदैन। त्यसैले श्रमजीवी पत्रकारका रूपमा नै उनले यो धर्ती त्यागे। पत्रकारिताबाट कहिल्यै विश्राम लिएनन्। मेरै खलकका अग्रज पत्रकार जीवनको अन्तिम दिन मेरा पनि सम्पादक थिए, राजधानी दैनिकमा। काम सकाएर राति बिदा भएर घर गएका उनको मृत्यु खबर भोलिपल्ट पहिलो पृष्ठमा मैले नै लेखेँ। उनको मृत्युको समाचार त्यही पत्रिकामा छापियो, जसको प्रिन्टलाइनमा सम्पादकका रूपमा उनकै नाम थियो। गज्जबको संयोग!

    त्यही परिवारका अर्का पत्रकार मेरा कान्छा बुढामामा गोकर्णदेव पाण्डे। आजकाल बुढेसकालमा अमेरिका भासिएका छन्। पत्रकारिताको दक्षताका आधारमा भन्ने हो दाजुभाइभन्दा उनी सबैभन्दा अब्बल थिए। तर, धेरै पत्रकारको कलम बन्द गराएको झोल पदार्थका अत्यधिक शौखिन भएकै कारण उनको क्षमतालाई कमैले आँकलन गर्न पाए। पत्नीले गाली गर्ने भाषामा कुकुरको मुतले ध्वस्त बनायो, उनको जल्दाबल्दो पत्रकारिता। हुरीबतासले आफ्नो शक्ति आँकलन गर्न नसकेर उद्दण्ड बनिदिँदा जसरी ‘धारे हाते’ गालीका पहाडको सामना गर्नुपर्छ। त्यही थियो, उनको अवस्था अमेरिका जानु अघिसम्म। अहिले गुमनाम छन्, पत्रकारिताबाट मात्र हैन नातेदारसँग पनि। हुन त उमेरले मेरा पिताभन्दा पनि केही कान्छा नै हुन्, उनी। आमा र छोरीले एउटै कोठामा सुत्केरी बार्ने समयमा जन्मिएका।

    जसरी कुनै पनि प्राणीलाई मृत्युको आभाष हुँदैन। पञ्चायती व्यवस्थालाई पनि आफ्नो अन्त्यको कहिल्यै आभाष भएन। तत्कालीन राजा वीरेन्द्रले दुईजना पत्रकार गोपालदास श्रेष्ठ र गोकर्णदेव पाण्डेलाई मीठो गाँस जुटाउन अफसेट प्रेस उपहार दिने भएछन्। प्रेस पनि मगाइयो, जर्मनीबाट। श्रेष्ठको प्रेसको सबै पार्टपुर्जा एउटै लटमा आएछ। विचरो मेरा बुढामामाको भने छाप्ने युनिट मात्र आएछ, पहिलो लटमा। कम्प्युटर, प्लेट बनाउने, नेगेटिभ बनाउने जस्ता प्रविधि अर्को लटमा आउने भएछ। ‘अभागीको गाँसमा ढुंगा’ भनेझैँ त्यही बुढाले बल्लतल्ल दरबारबाट आउन लागेको उपहारमा पनि एउटा भाग मात्र पाएछन्। छाप्ने प्रेस मात्र। त्यसपछि, पञ्चायत ढल्यो, दरबारले उपहारलाई पूर्णता दिनेतिर रुचि पनि देखाएन। उनी माग्न पनि गएनन्। विरासतमा पाएको घमण्ड उनीभित्र अलि बढी नै थियो।

    उनले त्यो अफसेट प्रेसलाई आफ्नै घरको भुइँतलामा राखे। बाहिरै कतै समाचार टाइप र डिजाइन गराएर प्लेट बनाएर ल्याउँथे, अनि पारिवारिक धरोहर ‘नयाँ समाज’ साप्ताहिक छाप्थ्यौँ, जेनतेन। वास्तवमा त्यो बेला उनैलाई देख्दा नै लाथ्यो, पत्रकारितामा अफिमभन्दा बढी नशा हुँदो रहेछ।

    उताबाट फोन गर्ने व्यक्ति रहेछन्, तत्कालीन राजा वीरेन्द्र। उनले बस् यति भनेछन्, ‘हाम्रो गल्ती कमजोरीलाई औँल्याइदियौँ बालमुकुन्द, तिमीलाई धन्यवाद!’ त्यसपछि बुढा फुरुंग। उनले पत्रकारितामा मेरो रुचि देखेर धेरैपटक सुनाएका थिए, त्यो सत्य कथा। एकाध पेग चढाएपछि।

    त्यसताका म पनि केही खाली नै थिएँ। कहिले काहीँ त्यो पत्रिकाको कार्यालयमा जान्थे। ‘केही लेख्! भन्थ्ये, म लेख्थ्यें। छापिन्थ्यो पनि। पत्रकारिता नामको नशाको पहिलो सर्को मैले त्यहीँ तानेँ। बुढामामाले धेरै दिन ‘नयाँ समाज’ निकाल्न सकेनन्, बन्द भो’। त्यसपछि मैले दिन कटाउने मेसोका रूपमा ‘परिस्थिति’ साप्ताहिकलाई रोजेँ। त्यसबेला बजारमा निकै चर्चा थियो, त्यो साप्ताहिकको। बिजुलीका हरेक पोलमा ‘परिस्थिति’ साप्ताहिकको बोर्ड झुन्डाइएको थियो। त्यो पत्रिका पनि केही समयपछि बन्द भयो। नेपाली पत्रकारिताकै रोग हो। खोल्न र बन्द गर्न कुनै आइतबार कुर्न नपर्ने। त्यो बेलाका साप्ताहिक, दैनिक र अहिले अनलाइन मिडियाको हाल पनि त्यस्तै छ। मिडियाका स्वरूप बदलिएका छन्, नियति बदलिएको छैन। आज पनि यही देशमा पत्रकार मासिक २० हजार न्यूनतम पारिश्रमिकका लागि आन्दोलन गर्छन्, जहाँका नेताहरू अर्बौँ भष्टाचारमा मुछिन्छन्। न्यायाधीश २४ हजार मासिक तलब नदिन अन्तरिम आदेश जारी गर्छन्। त्यसैले पनि हुनसक्छ, पत्रकारिता कहिल्यै निष्पक्ष र व्यावसायिक बन्न सकेन। होला, पत्रकारका साहु भने मोटाउन थालेका छन्। हिजोका दिनमा पत्रकार नै साहु हुने परम्परा अहिले भत्किसकेको छ। अब त पत्रकारको साहु बन्न व्यापारीबाहेक अरूले आँट पनि गर्न नसक्ने दिन आइसक्यो। मौसमसँगै समय पनि बदलिन्छ नै। हिजोका दिनमा पत्रिका निकाल्ने साहुहरू सडकमा आए, आज पत्रकार बाटामा छन्, साहु महलमा।

    ‘परिस्थिति’ बन्द भएलगत्तै म लागेँ। प्रकासोन्मुख ‘श्री सगरमाथा’ दैनिकको कार्यालयमा। सुरुवाती कार्यका लागि नयाँ बानेश्वरमा थियो, त्यो दैनिकको कार्यालय। पिताले सोर्स लगाइदिएका थिए, भेटेँ सिधै सम्पादक तीर्थ कोइरालालाई। केही बेरको कुराकानीपछि उनले ‘भइहाल्छ नि’ भनेर जवाफ दिँदा मेरो पत्रकारिता अकाल मै नमर्ने भयो, ढुक्क भएँ। तर, त्यही बेला मैले नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) मा सेकेन्ड लेफ्टिनेन्टका लागि पनि फारम भरेको थिएँ। त्यहाँ पनि दह्रो सोर्स लगाइएको नै थियो। श्रीसगरमाथाको भन्दा पनि सेनाको जागिरतिर म बढी आकर्षित थिएँ। त्यस बेला सेनाको उच्च दर्जामा भएकाहरूले नै लोकसेवाले लिने ‘आइक्यु’ परीक्षा उत्तीर्ण गर्न सकेको खण्डमा सैनिक बनाइदिने वचन दिए। लोभियो, त्यो वचनमा, कुनै बच्चा लालीपाप देखेर लोभिए झैँ। झन्डै १४–१५ सय जनाले दिएको आइक्यु परीक्षामा मात्र डेढ सय जना पास हुँदा पनि मेरो नाम थियो। अनि त सपनामा पनि काँधमा सेनाको फुली झुन्डाएको देख्न थालिहालियो नि। मेरो सेना बन्ने सपना पखेटा लगाएर उड्न थाल्यो। अनि सोर्स फोर्सका लागि चलखेल त जारी नै थियो पनि। लगत्तै लिखित परीक्षा भयो, भक्तपुरको सैनिक महाविद्यालयमा। त्यही एक सैनिकले परीक्षाफल प्रकाशित हुने मिति सुनाए। भनेको दिन रिजल्ट हेर्न सेनाको मुख्यालयमा पुगेँ। मेरो पनि नाम थियो, उत्तीर्ण हुनेहरूमा। क्या खुसी भइयो। तर, ‘हलुवामा बालुवा’ भयो, मेरा खुसी। लिखितमा उत्तीर्ण हुनेहरूको त दुई दिनअघि नै स्वास्थ्य परीक्षा पनि सम्पन्न भइसकेको रहेछ। सम्भवतः मैले नतिजा निस्कने गते नै गलत सुनेको हुनुपर्छ। सेना जस्तो मर्यादित संस्थाबाट त के चलखेल भएको होला र? मेरो अर्को एउटा सपनाले अकाल मृत्युवरण गर्‍यो, काँधबाट फुली र पखेटा सबै झरे। सपनाको संसारबाट म जमीनमै पछारिएँ। झसंग भएँ।

    हावामा जति कावा खाए पनि आखिर साँझ परेपछि त गुँडमा फर्कनैपर्ने चराझैँ तत्काल नै अर्को सपनाको पखेटा उमारेँ। अनि फेरि हुइँकिएँ नयाँ बानेश्वरतिर, मेरो आफ्नै ‘हिरो होन्डा सिडी’मा। धन्य मेरो जागिर धरापमा परेको रहेनछ, केही दिन सम्पर्कमा नरहँदा पनि। सेना बन्न नसकेको म। शरीर त खाइलाग्दो नै थियो। श्रीसगरमाथामा मलाई सजिलै प्रवेश दिलाउन सक्ने बिट थियो, खेलकुद। पहिलो भेटमा नै तलदेखि माथिसम्म नियालिसकेका ‘तीर्थ दाइ’ले आदेशको भाषामा भने, ‘ल केटो खेलकुद हेर्ने!’ अनि जिम्मा लगाइदिए एक वरिष्ठ पत्रकार दाजुलाई।

    खेलकुद बुझ्छु कि बुझ्दिनँ थाहा छैन, सिधै बिट नै तोकिदिए। खेलकुदमा विशेष अभिरुचि भएकै नाताले नाइँ भनेर टाउको हल्लाउनुपरेन। बजारमा जसरी तहल्का पिटेर निस्कियो। त्यसको विपरीत, ‘खामोस्!’ पारामा बन्द भयो, श्रीसगरमाथा पनि। तर, बन्द भएन मेरो पत्रकारिताको चस्को। आजसम्म पनि निरन्तरता, चलिरहेको छ। जसरी जतिसुकै कडा हावा बहे पनि डाँठमै टिकिरहने फूलझैँ। 

    सपना त पाइलट बन्छु भनेर पनि देखेकै थिएँ नि। तर, पानीको बाफझैँ उड्यो त्यो चाहना। मेरा आमाबाबुले अति माया नगरेको भए मेरो अकाल मृत्युको अनाहक कल्पना नगरेको भए, अर्थशास्त्रको सिद्धान्तमा नउल्झिएका भए अनि मेरी आमाले विरोधमा टबेल नताकेकी भए आज म पनि कुनै विमान उडाइरहेको हुन्थेँ कि। पखेटा भएको चराझैँ। हुन पनि भ्रूणका रूपमा आमाको कोखमा अटाएकै दिनदेखि मानिस पनि सपनाका लागि तयार बन्दै जान्छ होला। मेरो पनि पहिलो सपना पाइलट बन्ने थियो। समय र अवस्थाले बन्न दिएन। पछुतो छैन। म महासागरमा अटाएको पानी न हुँ, बाफ बनेर पग्लँदै थोपा थोपाको अंशमा जमीनमा खस्दा पनि मुस्कुराइ नै रहने। सुगन्ध छरेर फक्राइरहेको फूललाई जसरी थाहा हुँदैन आफ्नो भविष्य, मलाई पनि कहाँ पत्तो हुन्थ्यो र। फूललाई के थाहा, भोलि कुनै धागोमा सिउरिएर कसैको गलाको हार बन्नुपर्छ कि? कुनै भगवानको पाउमा खस्नुपर्छ  वा अत्तर बनेर कुनै गह्‍नाउने शरीरलाई सुगन्धित पार्नुपर्छ? 

    आखिर मेरो सपना र चाहना पनि त्यस्तै बन्यो, बादलझैँ। नीलो क्यानभासमा जति नै स्वरूप बदले पनि एक दिन थोपा बनेर तरेलीमा खस्नु नै पर्ने। मेरो जिन्दगीको स्क्रिप्ट यस्तै लेखिएको रहेछ, छन्द न बन्दको। हुस्सु लागेको जंगलको अर्को छेउझैँ। गन्तव्यको टुंगो नहुँदा पनि अघि बढिरहनुपर्ने। आफ्नै सुरमा आफ्नै तालमा।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]