फिचर

साधनाको अर्को नाम : राजकुमार बगर
SHARES

माघ २५, २०७५

    काठमाडौ : नेपाली सांगीतिक क्षेत्रमा उदाउने र अस्ताउनेको लाम ठूलो छ। कोही शोखले आए। कोही भोकले। भोकको तृप्तिसँगै अस्ताए। शोखमा आउनेहरू सोचेजस्तो नभएपछि हराए। कोही त्यस्ता सर्जक पनि छन् जो भोक र शोख तृप्तिपछि अनवरत रूपमा नेपाली सांगीतिक क्षेत्रको स्तरवृद्धिमा लागि परिरहेका छन्। नेपाली लोकदोहोरी र आधुनिक क्षेत्रमा विगत १५ वर्ष देखि अनवरत साधना रहेको नाम हो, राजकुमार बगर।

    गीतकार बन्न तनहुँको थर्पुबाट वि.स २०५८ सालमा आएका उनी गीतकार सँगसँगै संगीतकार पनि बने। उनका आजका मितिसम्म १९ वटा लोकदोहोरी एल्बम र आधुनिक तर्फ १६ वटा एल्बम छन्। कलेक्सनमा उनको हजार भन्दा धेरै गीतहरू रेकर्डिङ भइसकेका छन्। हिजो पनि आज, पनि संगीतमै रमाएका उनी  भोलि पनि गीत संगीतमा नै आफ्नो जीवन निर्वाह गर्ने बताउँछन्।

    मान्छेको जन्मजात रूचि हुने रहेछ भन्ने लाग्छ उनलाई। गाउँ घरमा मेला, पूजाले नै आफूलाई यसतर्फ आकर्षित गरेको उनी बताउँछन्। विशेष गरेर आफूलाई यस क्षेत्रमा आकर्षित गर्ने श्रेय भने उनी रेडियो नेपाललाई दिने गर्छन्। विद्यार्थी जीवनका गीतका क्यासेट किनेर सुन्ने हैसियत सायदै कसैको हुन्छ। उनको हैसियत क्यासेट किन्ने थिएन। सुने पनि रेडियो नेपाल। नसुने पनि रेडियो नेपाल।

    काठमाडौं आएर रिमा रेकर्डिङ स्टुडियोमा साउण्ड रेकर्डरको काम सुरू गरे उनले। गीतकार बनेर नै अगाडि बढ्छु भनेर सोचे पनि अन्तत उनी संगीतकार बने।

    'गीतकार बन्ने रहर भएपनि त्यसबेला एक चर्चित संगीतकारले आफ्ना गीत रेकर्ड गर्छु भनेर प्रतिबद्धता जनाउनुभयो। केही गीत लिएर जानु भयो। तर कुनै रेस्पोन्स गर्नुभएन।' उनी भन्छन्, ' त्यही इखका कारण मैले आफ्ना गीत आफै कम्पोज र संगीत गर्न थालेँ।'

    आफूलाई संगीतकार बन्छु भनेर कहिल्यै नलागेको उनी बताउँछन्। उनको बुझाइ अनुसार जिन्दगीमा नियतीले जता डोर्‍याउँछ। मान्छे त्यही नियतीको फेरो समातेर अगाडि बढ्ने रहेछ। 'तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि' भन्ने गीत आफ्नै गीत पहिलोचोटि कम्पोज गरे उनले। जहाँ कुमार केसीले लगानी गरेर आफुलाई ठूलो भुमिका खेलेको कुरा उनी बताउँछन्। जब उनको यो गीत बजारमा आएर चर्चा हुन थाल्यो त्यसपछि भने उनमा आफूले कम्पोज गरेका गीतपनि सुन्न र दर्शक श्रोताको मन जित्न सक्दो रहेछ भन्ने लाग्यो उनलाई।

    शान्त र शालिन उनको छवि हो। उनी आफूले गरेको काम प्रति हल्ला गर्न मन पराउदैनन्। तर  उनका गीत शहरका हरेक चोकमा बज्छन्। कहिलेकाहीँ बाटोमा हिड्दै गर्दा आफ्ना गीत बज्दा अडिएर सुन्छन्। आफूले गरेको मेहनतलाई मान्छेले ग्रहण गरेको दृश्य देख्दा असिम आनन्द आउँछ उनलाई।

    'उडेर जुन छुन्छु भन्थे' गीतको चर्चापछि आफूलाई गीतकार नै बन्छु भनेर काठमाडौं आएको हुँ।' लोकदोहोरीमा केही सहज भएपनि आधुनिकमा भने आफूले सोचेजस्तो सहज भएन उनको लागि। काठमाडौं आएको दश वर्ष पछि अर्थात वि.स २०६८ साल देखि कम्पोज र संगीत गर्न लागेका हुन्। उनका अनुसार किराना पसल खोलेपछि सबै सामान राखे मात्र ग्राहक आकर्षित हुने बुझाई।  नेपाली सांगितिक  क्षेत्रमा गीतकारको रूपमा मात्र  स्थापित भएर पारिवारिक जिम्मेवारी पुरा गर्न नसकेपछि संगीतको क्षेत्रमा पनि उनले हात हाले।

    यद्यपि उनले संगीत भने पोखरामा नै काजी तामाङसँग सिकेका थिए। उडेर जुन छुन्छु भन्थे, भन्नु नभाको, मिर्मिरेको घाम लगायतका गीतले दिएको नामले आफुलाई गीतकारको रूपमा मात्र स्थापित गर्न चाहन्थे उनी। लोकदोहोरीको बजार ह्रास हुदैँ जादाँ आफूले जम्प गर्नुपर्ने बाध्यता आइलागेको उनको तर्क छ।

    आफ्नो मूल्याकंन गरे पनि दर्शकको मूल्याकंन सुन्दा आफूलाई संगीकर्मी भन्न रूचाउँछन् उनी। श्रोताले पनि उनलाई संगीचतकर्मी कै रूपमा चिन्छन्। यो उपलब्धि नै उनको खुशी हुने आधार हो। नाम एकातिर पारिवारीक जिम्मेवारी अर्कोतिर। गीत मात्र लेखेर बाँच्न सकिने आधार छैन् भन्ने बुझेका छन् उनले। तर संगीतकारहरू बाँच्ने आधार छन्। संगीतकारहरूले राम्रै पारिश्रमिकहरू लिने गरेका छन्। गीतकारहरूलाई पनि पारिश्रमिक दिनुपर्छ भन्ने संस्कारको विकास गर्न नसकेको उनले बताए।  राम्रा गायक र संगीतकारले मागे गीत दिइहाल्ने गीतकारमा व्यावसायिकता हुन नसकेको उनले बताए। 

    कला संगीतमा आउनु पूर्व उनी आफ्नै गाउँको विद्यालयमा सरकारी शिक्षकका रूपमा आबद्ध थिए। संगीतको नशाका कारण बगरले सरकारी  जागिर छोडिदिए । अहिले पनि उनका गाउँले साथीहरूले भन्ने गरेका शब्द मुस्कुराउँदै बगर सम्झन्छन्,'मान्छे सरकारी जागिर खान मरिहत्ते गर्छन्,  गीतका लागि घर नजिकैको  जागिर छोडेर गयो ।'

    मान्छे जस्तो हुन्छ। ठीक त्यस्तै उसको मनस्थिति नहुन सक्छ। नाम अनुसार मान्छेको अवस्था त्यस्तो नहुन सक्छ। संगीत कर्मले उनको जीवनयापनमा सहजता थपेको छ। तर नामको पछाडि भने 'बगर' राख्छन्। हरियाली जिन्दगीमा त्यस्तो के आइलाग्यो जसको कारण उनले आफ्नो नामको पछाडि बगर राखे त?

    उनलाई आफ्नो नाम कहिल्यै मन परेन। विद्यालयमा हुदाँ उनका अर्का साथीको नाम पनि राजकुमार राना थियो। बगर पढाईमा अब्बल थिए। दुई जनाको नाम एउटै भएपछि विद्यालयमा 'क' र 'ख' राखिदिए।

    उनलाई लाग्यो, 'एउटै क्लासमा त दुई जनाको नाम जुध्यो भने देशभरी राजकुमार राना नामका कति मान्छे होलान्?' आफ्नो नाम जस्तो कसैको नहोस् भन्ने उनलाई लोभ पलाउन थाल्यो। तर राख्ने के त? समस्या यहाँ पनि थियो।

    उनी वि.स २०४८ सालमा ‌प्लस टु पढ्न पृथ्वी नारायण क्याम्पस गए। बगरमा उनको डेरा थियो।  साहित्यमा  रूचि रहेकाले उनी साहित्यका अनेक विधामा कलम पनि चलाउथे। एकातिर निकनेम राखेर साहित्यकार बन्ने भुत, अर्को तिर नाम मन नपरिरहेको अवस्था। यही बिचमा एकदिन सेती नदिको तिरमा बसेर केही सिर्जना गर्दै थिए उनी। त्यसबेला बजारमा 'जिन्दगी खोला जस्तै बगिरहेछ' अनुप जलौटाको गीत आएको थियो। उक्त गीतले उनलाई छोइरहेको थियो।

    सेती आफ्नै सुरमा बगिरहेको थियो। बगरको कानमा जलौटाको गीत गुन्जिरहेको थियो। साच्चै जिन्दगी खोलाजस्तै बगिरहेछ भन्ने कथनसँग सहमत हुने हरेक मान्छे बगर रहेको उनले मनमनै गमे। नदीमा पानी  कहिले वारी कहिले पारी बगिरहँदा बगर सधैँ साँची बसिरह्यो। तर कहिल्यै गुनासो गरेन्। उसो त  नियतीले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ। तर जिन्दगीले कहिल्यै गुनासो गर्दैन। यही भावानुसार उनले आफ्नो नामको पछाडिको थर हटाए र 'बगर' राखे।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]