फिचर

समस्यै समस्याले थिचिएका रौतापोखरी र उदयपुरगढी
SHARES

उदय राजाको नामबाट उदयपुर

माघ २८, २०७५

    उदयपुर : जिल्लाका प्रमुख दुई पर्यटकीयस्थल समस्या र अभावको  घेराभित्र गुज्रिएका छन्। जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने रौतापोखरी र उदयपुरगढी पूर्वाधार अभाव र प्रचारप्रसारको समस्यामा गुज्रिएका हुन्।

    दुवै पर्यटकीयस्थलमा खान र बस्नको लागि होमस्टेको सुविधा छ। तर, होमस्टेमा पनि मुख्यर रूपमा पानीको अभाव छ। उदयपुरका स्थानीय पत्रकार होमबहादुर बस्नेतले जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र मानिने रौतापोखरी र उदयपुरगढीमा समस्या नै समस्या रहेको बताउँछन्। 'हिजो जनप्रतिनिधि नहुँदा दुई पर्यटकीयस्थलमा जे समस्या थियो,’ उनले भने, ‘अहिले पनि त्यही छ, खानेपानी, सडक, गुणस्तरीय सेवा सुविधा सम्पन्न होमस्टे छैन। उदयपुरगढी उदयपुरगढी गाउँपालिकामा पर्छ भने रौतापोखरी रौतामाई गाउँपालिकामा पर्छ। दुवै ऐतिहासकि, धार्मिक र प्रकृतिक दृष्टिकोणले उदयपुरको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छन्।

    रौतापोखरीका समस्या

    रौतापोखरीमा सडकका कारण सिंगो होमस्टे व्यवसाय नै सुस्ताएको छ। जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको रौतापोखरीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना निर्माण गर्ने काम गाउँपालिकाकाले थालेको छ। तर, सडक स्तरोन्नति हुन नसक्दा पर्याप्त पर्यटक भित्रने सम्भावना छैन। रौतामाई गाउँपालिका–६ स्थित पोखरी सडकको समस्याले आन्तरिक पर्यटक पनि कम आउने गरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष जितशेर राई बताउँछन्। ‘गाउँपालिकाले सडक स्तरोन्नति गर्ने बताए पनि अहिलेसम्म गरेको छैन, उनले भने।

    गाउँपालिकाका एक्लैको पहलकदमी र बजेटले अपुग हुनेपछि प्रदेश र संघीय सरकारको समेत संयुक्त लगानीमा सडकलाई व्यवस्थित गर्ने गुरु योजना रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काको भनाइ छ। ‘आन्तरिक र बाह्य गरी दैनिक एक सय पर्यटक आउने गरेका छन,’ उनले भने, ‘सडककै समस्याले गर्दा पर्यटक धेरै मात्रमा भित्र्याउन सकिएको छैन।’

     धार्मिक आस्थाको केन्द्र बोकेको रौता पोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली र छिमेकी मुलुक भारतबट दर्शनार्थी आउने गरेको पूजारी हितबहादुर मगरले जानकारी दिए। ‘सडकको स्थिति नाजुक भए पनि धार्मिक तथा पर्यटकीयस्थल रौता आइपुगेका पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउने गर्दछन्’, उनले भने, ‘स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ।’

    उदयपुरगढीका समस्या पनि उस्तै

    उदयपुरगढी नेपाल सरकारले घोषणा गरेको नयाँ एकसय गन्‍तव्यमा परेको क्षेत्र हो। त्यही क्षेत्रमा डोकेमा बोकेको पानीको भरमा छ। पिउने पानीको अभावमा पटक-पटक होमस्टेसमेत बन्द हुने गरेका छन्। पुरानो सदरमुकाम उदयपुरगढीमा होमस्टे संचालनमा आएका छन्। होमस्टेमा पाहुनाका लागि आवश्यक पर्ने पानी पुर्‍याउन नसक्दा बन्द हुने अवस्थामा पुगेको होमस्टे सञ्चालकहरुको भनाइ छ। डेढ घण्टा पैदल हिँडेर पुगिने पँधेरीबाट पानी बोकेर ल्याउनपर्छ। पुरानो सदरमुकाम रहेको रहेको क्षेत्र उदयपुरगढी हो।

    उदयपुरगढीमा वर्षौंदेखि पिउने पानीको समस्या छ। प्रयाप्त पानी नहुँदा साता दिनको बसाइका लागि आएका पाहुन दुईपछि हिँड्ने गरेको होमस्टे संचालक समितिका अध्यक्ष इन्द्रकुमारी राई बताउँछिन्। ‘होमस्टे संचालन तथा अन्य पूर्वाधर भए पनि पानी नहुँदा ज्यादै समस्या भएको छ, उनले थपिन्। ‘सेन वशंका राजाले राज्य गरेको उदयपुरगढी ऐतिहासिक स्थल हो,’ होमस्टे रहेको उदयपुरगढी गाउँपालिका-५ उदयपुरगढीका वडाध्यक्ष कुमार अधिकारीले भने, ‘सामरिक महत्व बोकेको ऐतिहासिक गढी भएकोले बर्सेनि मुलुकका विभिन्न भागबाट पर्यटन आउने गरेका छन्।’

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले लिप्mटिङ गरेर पानी ल्याउने योजना भएकाले टेन्डर प्रक्रिया अघि बढेको बताए। ‘आन्तरिक र जिल्ला भित्रकै पर्यटकका लागि बास व्यावस्थित गर्न उदयपुरगढीका महिलाले होमस्टेमा पानीकै अभवा छ,’ उनले भने, ‘केही समयपछि समस्या सामधान हुने गरी योजना अघि बढेको छ।’

    अहिले लिफ्टिङ खानेपानीको योजना तयारी हुँदै छ। स्थानीयस्तरमा उत्पादन हुने गुन्द्रुक, कोदोको डिँढो, मकै भटमासका परिकार होमस्टेमा पाइन्छ। सडक, बिजुलीको पनि समस्या मुख्य छ।

    उदय राजाको नामबाट उदयपुर

    उदयपुर जिल्लाको नामाकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ। स्थानीय ७२ वर्षीय स्थानीय धनबहादुर मगरका अनुसार राजा उदयसिंह नामका सेन वंश राजाले राज्य गरेको स्थान हो। पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएएको छ। राजा उदय सेनको बारेमा जिल्लाका विभिन्न विद्वानको विभिन्न धाराणहरु सुन्न पाइन्छ। प्रध्यापक डाक्टर सोमप्रसाद खतिवडाका अनुसार इ.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना भएको हो। ‘उदयपुरगढी संस्कृति र पुरातात्विक हिसावले भरिपूर्ण छ,’ उनले भने, ‘त्यसको लागि राज्यले ध्यान दिन जरुरी छ।’

    पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेका हुन्। त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरी पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरूप सिंह कार्की, अभिमान सिंह बस्नेत लगायतले उदयपुरगढीमा आक्रमण गरे। किम्वदन्तीका अनुसार त्यसपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जंगलका ओडारमा लुक्न गई अलप भएका हुन्। पछि तिनै उदय राजाको नामबाट उदयपुरको नाम रहन गएको बताइन्छ। वि.स. २०२८ सालभन्दा अगाडि उदयपुर जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो। २०२८ सालबाट यता सदरमुकाम गाईघाटमा सारिएको हो।

    समुन्द्री सतह बाट करिब १३०० सय मिटरको उचाइमा अवस्थित छ।  उत्तरमामा सेत्ताम्य हिमालहरु र दक्षिणमा समतल तराईका फाँटहरुका दृश्य अवलोकन उदयपुरगढीबाट गर्न पाइन्छ। गढीलाई पुरातात्विक र पौराणिक सम्पदाको खोजी गर्दा गढी झनै महत्पुर्ण रहेको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर बताउँछन्।

    उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्‍चावती माई मन्दिर, केउरिनी मन्दिर, चुला ढुंगा शिवपार्वती हुन्। पुरानो गढीको भग्नावशेष, टुँडिखेलको गणेश थान, संसारी माईथान, गढीकै पुरानो बरपिपलको बोट, ऐतिहासिक पोखरीको वर्षौ पुरानो इतिहास छ। यस्तै, घ्याम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्न लायक रमणीय ठाउँ छन्। ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढीमा संग्राहलय बनाउन सके पर्यटकलाई थप आकर्षित गर्ने छ। यसैगरी रौतापोखरीको आप्mनै मौलिकता छ।

    पोखरीको बग्ने र आउने मुहान कतै देखिँदैन। पानीको मुहान नदेखिनु नै पोखरीको मुख्य विशेषता हो। जस्तोसुकै खडेरीमा पनि पोखरीको पानी सुक्दैन। वर्षायामको मुलधारे पानी परे पनि पोखरी  भरिएर पानी बाहिर जाँदैन।

    अझ अर्को अनौठो पोखरीमा झरेको पात चराले प्रत्येक दिन टिप्ने गरेको स्थानीयहरु बताउँछन्। पोखरी समुन्द्र सतहदेखि पाँच हजार ९०० फिट उचाइमा अवस्थित छ। खोल्साखोल्सी, डाँडाकाडा, उकाली–ओराली, वनजंगलको बाटो पार गर्दै रौता पोखरी पुग्न सकिन्छ। यहाँ पुग्न बाटामा होमस्टे छन्।  प्राकृति र मनोरम दृश्यमा रमाउन चाहनेका लागि छिटो र सजिलो गन्तव्यको रूपमा रौता पोखरी घुम्न जान सकिन्छ। पोखरीलाई जुनसुकै समयमा हेरे पनि रमणीय र सुन्दर देखिन्छ। रौताको पूर्वतिर हरियाली जंगल, पश्चिम, उत्तर, दक्षिणतिर घाँसे मैदान चौर छ।

    धौलागिरि हिमालको मनोरम दृश्यावलोकन

    बिहानीको घामको किरणसँगै पोखरीको नजिककै चौरबाट भालेबासको चित्रथाम र धौलागिरि हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। पोखरीको छेवैमा एउटा सानो मन्दिर छ। पोखरीभन्दा केही मुनि आकर्षक घाँसे मैदान चौर छ। पूर्व सिमानामा तारेभिर छ। तारेभिरदेखि गाईघाटबजार, उदयपुर सिमेन्ट उद्योग, जलजले बजार, चुहाडे, मोतीगाडा, देउरी आदि ठाउँको मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिन्छ।

      चैत्र–वैशाख महीनामा उराठलाग्दो समयमा पनि पोखरीको नजिकैका वनभित्र ढकमक्क फुल्ने लालीगुराँसले दर्शकका मन लोभ्याउँछ। सूर्योदय र सूर्यास्तको दृश्य समेत यहाँबाट अवलोकन गर्न सकिन्छ। सूर्य अस्ताउँदै जाँदा पोखरीको पानी नीलो रंगमा परिवर्तन भएको देखिन्छ। हुल्मा, बरुवा, राकुली खोलाको मुहान रौता पोखरी नै हुन् भनेर स्थानीय बासिन्दा र बुढापाका बताउँछन्। यहाँ हरेक वर्ष वैशाख १ देखि ३ गतेसम्म भव्य मेला लाग्छ।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]