थाहा संवाद : स्थानीय सरकार

'कानुनी अड्चनले विकासमा बाधा पुग्यो'
SHARES

फागुन २०, २०७५

    सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएका दुई वर्ष पुग्नै लाग्यो। यसबीचमा गाउँगाउँमा सिंहदरबारको नाराले चर्चा पायो। सिन्धुपाल्चोक १२ वटा तह छन्। त्यसमध्ये एक हो सुनकोशी गाउँपालिका। साविकको ठोकर्पा, कालिका, थुम्पाखर, सुनखानी, यमुनाडाँडा र पांग्रेटार गाविसलाई मिलाएर यो गाउँपालिका बनाइएको हो। यहाँको जनसंख्या १६ हजार ७१३ छ भने यो ७२ दशमलव ८४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

    सुनकोशी गाउँपालिकामा ७ वटा वडा छन्। यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। ३ वटा वडामा तत्कालीन एमाले विजयी भएको थियो।

    यसबीचमा सुनकोशी गाउँपालिकाले के के काम गर्‍यो? समस्या के के छन् र समाधानको प्रयास के भइरहेको छ? लगायतका विषयमा सुनकोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी पौडेलसँग थाहाखबरकर्मी रमेश पराजुलीले गरेको कुराकानी:

    स्थानीय तहमा निर्वाचित भएर आएपछि के कस्तो काम गर्नुभयो?

    हामी आएपछि विकासको कामलाई तीव्रता दिएका छौँ। भूकम्पले ध्वस्त पारेको भएकाले पुनर्निर्माणमा प्राथमिकताका साथ अगाडि बढ्यौँ। सडक, शिक्षा, स्वास्थ्य खानेपानीको साथमा जनताको आवश्यकता र मर्मलाई ध्यानका केन्द्रित गरेर जनभावनाको पक्षमा जुटेका छौँ।

    चुनावी प्रतिबद्धता त पूरा भएका छैनन् नि?

    पूरा हुँदै छन्। भुलेका छैनौँ। पहिलो एक वर्ष अभ्यासमै सीमित रह्यो। पहिलो वर्षको अनुभवसहित अहिले हामी विकास निर्माणमा जुटेका छौँ। विकास निर्माणको संवाहक नै सडक भएकाले पहिलो वर्ष हामीले पुनर्निर्माणको साथ सडकलाई हेरेका छौँ। यसै आर्थिक वर्षमा सुकुटे–ठोकर्पा १२ किलोमिटर र ठोकर्पा थुम्पाखरको २० किलोमिटर बाटो पिच गर्ने काम हुँदैछ।

    हामीलाई काम गर्न बजेट अपुग छ। सीमित साधन स्रोतले असीमित आवश्यकता पूर्ति गर्न कठीन हुन्छ। गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञानता हाम्रा लागि चुनाैती हुन्।

    चुनावी प्रतिबद्धतालाई आत्मसाथ गर्दै विस्तारै हामीले विकासको लय लिन थालेका छौँ। हामी जनताको घर आँगनमा गएर जनताको समस्या र आवश्यकतालाई आत्मसाथ गर्दै विकासको काम अगाडि बढाउँदै आएका छौँ। अबको करिब ३ वर्षको अवधिका हामीले हाम्रो चुनावी प्रतिबद्धतालाई पुरा गर्न सक्छौ जस्तो लाग्छ। 

    कामको प्राथमिकता कुन क्षेत्रमा दिनुभएको छ?

    विकासको आधार भनेको सडक नै हो। सडकलाई व्यवस्थित गर्ने योजनाका साथै कामको थालेका छौँ। गाउँपालिकाले विकास निर्माणको काम गर्न आर्थिक अभाव छ। कर्मचारी तलबदेखि अन्य क्षेत्रमा बजेट विभाजन गर्दा विकास निर्माणको लागि जम्मा ११ करोड मात्रै छ।

    चुनाैती के छ?

    हामीलाई काम गर्न बजेट अपुग छ। सीमित साधन स्रोतले असीमित आवश्यकता पूर्ति गर्न कठीन हुन्छ। गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञानता हाम्रा लागि चुनाैती हुन्।

    नीतिगत वा व्यवहारिक कठिनाइहरू पनि छन् कि?

    हामीले चुनावमा धेरै ठुला र गर्न नसक्ने आश्वासन बाँडेका छैनौँ। पहिलो वर्ष अभ्यासमै सीमित भयो। दोस्रो वर्षमा विकासले बिस्तारै गति लिदैछन्। काम नभएको हैन। विकास निर्माणको गतिले हाम्रो पालिका धेरैपछि थियो। जुन अहिले बिस्तारै सुध्रर्ने क्रममा छ।

    सरकार सञ्चालनको लागि पहिलो कुरा त कानुन स्पष्ट छैन। कानुनी अन्योलले ठुलो समस्या परेको छ। स्थानीय सरकार सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारले स्पष्ट नीति नबनाउँदा समस्या बन्दै गएको छ। जसले गर्दा हामीलाई काम गर्नलाई नीतिगत मात्रै नभएर व्यवहारिक कठिनाइहरूसमेत देखापरेका छन्। संविधानको कुनै ऐनमा स्थानीय तह सञ्चालनसम्बन्धी अधिकारको उल्लेख नभएकाले हामीलाई काम गर्न असहज भएको हो। प्रदेश र सङ्घीय सरकारले स्थानीय तहको नीति र व्यावहारिक कठिनाइलाई बुझ्‍न आवश्यक छ।

    पालिकाले न्यायिक क्षेत्रको सुधारमा कस्तो भूमिका निर्वाह गरेको छ?

    हामीले न्यायिक क्षेत्रमा सुधारमा जोड दिएका छौँ। पालिकाको सबै वडाहरूमा न्यायिक समितिसमेत गठन गरेका छौँ। गाउँमै न्यायिक समिति गठन भएपछि स्थानीय सरकार सञ्चालनमा आएपछि न्यायिक समितिले सबै मुद्दा गाउँमै मिलाउन्न थालेको छ। न्यायिक समिति गठनपछि कुनै पनि मुद्दा जिल्ला अदालतसम्म पुगेको छ जस्तो लाग्दैन। न्यायिक समिति सक्रिय पार्न पालिकाले बजेट विनियोजनसमेत गरेको छ। प्रत्येक वडामा न्यायिक समितिको कार्यालय स्थापना गरेका छौँ। मेलमिलापकर्ताहरूले सक्रिय भएर आफ्ना भूमिका निर्वाह गर्दै आउनुभएको छ।

    स्थानीय सरकार आउनु अघि र पछिबीच के भिन्नता भएको छ?

    विल्कुलै फरक छ। पहिले एउटा गाविस सचिवले तीन चार वटा गाविस सञ्चालन गर्दै आएका थिए। तर, अहिले हामी निर्वाचित भैसकेपछि जनताको घर घरमा गएर उनीहरूको समस्यालाई समाधान गर्नतर्फ जुटेका छौँ। गाउँगाउँमा सिंहदरबार चुनावमा धेरै बोल्यौँ। त्यसको परिणाम दिने अहिले हामी प्रयत्नशील छौँ। 

    सुनकोशी गाउँपालिकाको आन्तरिक स्रोत के के छन्?

    सुनकोशी गाउँपालिका आत्मनिर्भर बन्ने स्रोत छैन। सुनकोशी बगरको बालुवा, गिट्टी नै हाम्रो आन्तरिक स्रोत हो। पर्यटकीय क्षेत्र छन् त्यसलाई प्रवर्द्धन गर्न हामी लागिपरेका छौँ। सक्दो आत्मनिर्भर बनाउनु प्रयत्नमा छौँ। विकास निर्माणको सम्पूर्ण कामलाई तीव्र रूपमा अगाडि बढाएर गाउँपालिकाको आम्दानी वृद्धि गर्ने योजनामा छौँ। माथिल्लो भूभाग भएकाले कृषि उत्पादनबाट पनि स्थानीयले जीविकोपार्जन बाहेक अरू केही गर्न सकेका छैनन्। 

    यहाँका बासिन्दाको प्रमुख पेसा नै कृषि हो। त्यसलाई आधुनिकीकरण गर्न किन ध्यान दिनु भएन?

    हो, यहाँका बासिन्दाको प्रमुख पेस कृषि हो। यो बुझेर नै हामीले कृषिमा पनि ध्यान दिएका छौँ। जो कृषिमा पूर्ण आश्रित छन्, उनीहरू स्वयंलाई जीविकोपार्जनमा धौँधौँ पर्ने अवस्था छ। त्यसैले हामीले जडीबुटी र उन्नत जातका फलफूल रोपेर जीवनस्तर उकास्ने योजना अघि सारेका छौँ। वातावरणलाई अध्ययन गरेर हावापानी अनुसारका ओखर, किवीलगायतका फलफूल रोप्ने काम थालेका छौँ। पालिकाभित्रका प्रत्येक घरमा अनिर्वाय रूपमा ५ वटा फलफूलको बिरुवा रोप्नैपर्ने नियम बनाएका छौँ। 

    शैक्षिक र स्वास्थ्य क्षेत्र सुधारमा के गर्दै हुनुहुन्छ?

    शैक्षिक क्षेत्रको सुधारको लागि प्राविधिक विद्यालयमा जोड दिएका छौँ। पालिकाभित्रका केही विद्यालयहरूमा प्राविधिक शिक्षाको सुरुवात समेत गरिसकेका छौँ। सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने योजना अगाडि सारेका छौँ। करिब सबै विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षा सुरु भैसकेको छ। नेपालमै परिचित रहेको ठोकर्पा सामुदायिक वन यही भएकाले वन र कृषि सम्बन्धित विषयको अध्यापन गराउने विद्यालय सञ्चालनको लागि पहलकदमीमा जुटेका छौँ।

    साथै, स्वास्थ्य क्षेत्रको सुधारको लागि धेरै परिर्वतनहरू गरेको छौँ। पालिकाले बजेट छुट्ट्याएर औषधि किनेर भए पनि वितरण गरेका छौँ। गर्भवती महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पटक स्वास्थ्य चौकीमा परीक्षण गराउन आउँदा एक क्रेट अण्डा दिन थालेका गरेका छौँ।

    तपाईँले चुनावमा बाँडेका विकास सपना पूरा गर्ने आधार के हुन्?

    हामीले चुनावमा धेरै ठुला र गर्न नसक्ने आश्वासन बाँडेका छैनौँ। पहिलो वर्ष अभ्यासमै सीमित भयो। दोस्रो वर्षमा विकासले विस्तारै गति लिँदै छन्। काम नभएको हैन। विकास निर्माणको गतिले हाम्रो पालिका धेरैपछि थियो। जुन अहिले बिस्तारै सुध्रर्ने क्रममा छ। काम गर्दै जाँदा चुनावमा गरेको प्रतिबद्धता मलाई सहजै गर्न सकिन्छ जस्तो लाग्छ। अझै तीन वर्षको अन्तरालमा हामीले धेरै काम गर्न सक्छौँ। 

    जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?

    स्थानीय सरकार गाउँमा आएपछि जनतालाई धेरै सहज भएको छ। सबै सरकारी कामको लागि सदरमुकाम चौतारासम्म जानुपर्ने बाध्यता टरेको छ। गाविस सचिव खोज्दै हिडुपर्ने अवस्था थियो। तर, अहिले गाउँमै आफैँले चुनेर पठाएको जनप्रतिधिले सबै काम पाएपछि जनताको सेवा सुविधामा सहज भएको महसुस हामीलाई भएको छ। सङ्घीयता कार्यान्वयनको चरणमा विस्तारै हामी धरमराउँदै उठ्ने क्रममा छौँ। जस्तो भए पनि हामीले हाम्रो कार्यकालमा जनताको सेवा र सुविधामा कुनै कुराको कठिनाइ हुने छैन। 

रमेश पराजुली

पराजुली थाहाखबरका लागि सिन्धुपाल्चोकबाट पत्रकारिता गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]