विचार

मैले नमानेका हाम्रा भगवानहरू
SHARES

फागुन २३, २०७५

    ‘हामी भगवानलाई किन पुज्छौँ थाहा छ? किनकि हामीभित्र ऊप्रति विश्वासभन्दा बढी भय छ,’ कुनै हिन्दी फिल्ममा बोलिएको यो डाइलग हाम्रो मनोभावसँग निकै मेल खान्छ।

    वास्तवमा हामी हिन्‍दु, भगवानलाई अति माया गर्छौं, आस्था पोख्छौं। मनभरि माया, स्नेह र आस्था भरिभराउ हुँदा पनि उनकै क्रोधसँग डराउँछौँ। हाम्रो मनमा भगवानलाई रिझाउन नसके केही बिग्रिहाल्छ कि? भन्ने भय टन्नै ठोसिएका छन्। तर पनि, अनौठै सम्बन्ध गाँसिएको हुन्छ, भगवान र भक्तमा। भगवानको अस्तित्व छ कि छैन, त्योसमेत थाहा नहुँदा पनि उसकै भक्तिमा लागिरहेका छौँ। त्यसैले लाग्छ, हामी ढोँगी छौँ, हाम्रा धार्मिक मान्यता र प्रचलन ढोँगी छ अनि हाम्रा मठाधीसहरू पनि। त्यसमाथि धर्मका नाममा व्यापार गर्नेहरूले यो ढोङ र भगवानमाथिको भयलाई जीवित रहन अनेकौँ जालझेल पनि गरी नै  रहेका हुन्छन्।

    म न आस्तिक हुँ, न त नास्तिक। कसैको विश्वासलाई गाली गर्दिन। भगवान पुज्नेहरूलाई धृणा पनि गर्दिन। मूर्ति अगाडि पुगे झुकिदिन्छु तर प्रतिफलको आशा कहिल्यै राख्दिन। पशुपति क्षेत्रको जन्मजात बासिन्दा भएकै कारण शिवरात्रि विशेष पर्व लाग्ने गर्छ। म शिवलाई मन पराउँछु। उनका वरिपरि रहने मलाई साह्रै मन पर्छन्। नन्दी–भिङ्ग्रीहरू। शरीरमा वस्त्रसमेत आवश्यक नपर्ने, जीवनका हरेक मोहभन्दा बाहिर निस्किसकेका। हातमा चिलिम, न विगतको कुनै पछुतो न त वर्तमानको कुनै पिर। न त भविष्यको कुनै चिन्ता। लाग्छ, पशुपतिनाथ र उनका अनुयायीहरू पनि म जस्तै बिन्दास छन्। होला, आजभोलि केही साधुसन्तका भेषमा चल्तीमा रहेका ढोँगीहरूले धर्मलाई व्यापार बनाएका छन्। तर, सबै बाबा–योगी त्यस्ता पनि छैनन्। ढोँगीका हुलमा एकाध वास्तविक योगी पनि मिसिएकै छन्। तर, उनीहरू कदर चाहँदैनन्, गुमनाम रहन चाहन्छन्। जो जति प्रचार खोज्छन्, ती त्यति नै ढोँगी हुन्छन् जस्तो लाग्छ।

    वास्तवमा भन्ने हो भने मन्त्री बनियो भने त भइहाल्यो नि भन्ने आशाले आधा लिटर दूध खेर फालेको रहेछु, अहिले थाहा पाएँ। कुनै भोकालाई खान दिएको भए पशुपतिनाथले भन्दा राम्रो आशिर्वाद दिन्थे पनि होलान् कि? शायद। तर पनि, पशुपति मेरा आराध्यदेव नै हुन्। उनीसँग के को गुनासो? गुनासा त उनको नाममा पसल खोलेकाहरूसँग हुँदो रहेछ।

    मेरी हजुरआमा गोपालबाबाकी भक्त थिइन्। त्यस्ता बाबा जसले आफ्नो गुरुको बदनामी सहन नसकेर देहत्याग गरेका थिए रे !  यही काठमाडौँको फसिकेवस्थित एउटा घरमा। त्यसैले मेरो परिवार गोपालबाबाको भक्त नै छ, अहिले पनि। धेरैलाई थाहा नहुन सक्छ, को हुन् गोपालबाबा भनेर। उनी प्रचारको युगभन्दा पुराना थिए। त्यसैले गुमनाम नै रहे। हजुरआमा जीवित रहँदासम्म म पनि एकाध पटक त्यो घरमा लगाइने भजनमा गएको थिएँ। मेरी हजुरआमालाई म वास्तवमा धर्मात्माको सूचीमा राख्छु। यतिसम्म धार्मिक थिइन् कि पति धर्म निभाउन आफ्नै पतिका लागि केटी माग्नसमेत एउटा घरमा पुगेकी रहिछन्।

    लाज नमानी भन्ने हो भने मेरा हजुरबा काठमाडौँमा रक्सी खाने पहिलो पुस्ताका बाहुन। सत्तासीन राणाका नजिक भएको कारण नामुद जुवाडे पनि रे। उनलाई काठमाडौँकी कुनै एक अर्की महिला अति मन परेछ। माग्न पठाएछन्, आफ्नै पत्नीलाई लमी बनाएर। पतिको कुरो नमाने नर्क जाने त्रासमा उनी पनि गइछन् केटी माग्न। मेरी हजुरआमाको सोझोपना देखेर ती केटीका बाबु नै अचम्ममा परेछन्। अनि भनेछन्, ‘हत्, लाटी आफैँले आफूमाथि सौता माग्न आउने हो? दुख पाउछौँ।’ तर, त्यस्ता रसिक भए पनि कहिल्यै गरेनन् एकभन्दा बढी बिहे, मेरा हजुरबाले। उनको मनलाई महिलाले भन्दा रक्सी र जुवाले जितेका रहेछन्।

    मेरा हजुरबा शिवजीका भक्त। गाँजा र रक्सी नियमित झैँ सेवन गर्ने रे। भएभरका सम्पत्ति जुवामा सकाएपछि पत्नी र सन्तानको चिन्ता लिनुको सट्टा जोगी झैँ बनेर पशुपतिको राम मन्दिरमा बस्न पनि थालेछन्। पारिवारिक जिम्मेवारीबाट भाग्न। पछि बाबाले घर बनाएपछि फर्काएर ल्याएका रहेछन्। यो सबै नाटकको मञ्चन म जन्मनु अगावै भएको हो, मैले सुनेको मात्र। तर, पनि त्यति बिन्दास हजुरबाका कथाहरू सुन्दा ओठ त मुस्काइ नै हाल्थ्यो। तर पनि लाग्छ कहिलेकाहीँ, मेरा हजुरआमा र बाबा जस्तालाई महान् बन्ने संस्कार पनि त दिएको छ, यही धर्मले। एउटा नर्क जाने डरमा आफ्नै पतिका लागि केटी माग्न जाने र अर्को पारिवारिक बोझबाट मुक्ति पाउन जोगी बनेका आफ्नै पितालाई घर फर्काएर ल्याउने। पिताले बाल्यावस्थामा गरेको अथाह मायाको ऋण तिर्न।

    म अलि बुझ्न सक्ने भइसकेको थिएँ। एकाबिहानै एक जना जोगी मेरा घरमा आए। सबैको भविष्य बताए। भविष्य देखाउन घरका सबै लाइनमा बसे। मेरा बाबा बाहेक। उनी यस्ता कुरालाई सधैँ ढोङ मान्थे। धर्मको नाममा जिम्मेवारीबाट भाग्ने आफ्ना बाबुले समातेको मार्गमा ठोक्किने सबै कारकसँग उनको नमिठो साइनो थियो। त्यसैले मैले जीवनमा मेरा बाबा घर नजिकै भएपनि पशुपतिनाथ गएको खासै देखिन। किनकि आफूहरूलाई बिचल्लीमा पारेर भागेका पितालाई पनि त्यही पशुपतिनाथले आश्रय दिएका थिए नि। लाग्थ्यो, मेरा बाबा पशुपतिनाथसँग पनि रिसाएका थिए। आफूले खाएको चोटको कारण होला, उनी धर्मलाई ढोङ मान्थे। ममीले पुजाकोठामा घण्टी बजाउँदा ढोङ भनेर खिस्याउँथे। तर, जीवनमा कसैको कुभलो गरेनन्, चित्त दुखाएनन्। आफ्नो धर्मलाई आफ्नै मनको निर्देशनअनुसार चलाए। कुनै धर्मग्रन्थको अनुच्छेद अनुसार आफ्नो जीवन डोहोर्‍याएनन्। 

    त्यो दिन जोगीको भेषमा आए पनि आफूलाई ज्योतिष बताउने उनले मेरो पनि हात हेरे। फुच्चे नै थिएँ। हात हेरेपछि म ठुलै मान्छे बन्ने उद्घोष गरे। नामले नभए पनि शरीरले त अजङ कै बनेको पनि छु। अनि पशुपतिलाई एक माना गाईको विशुद्ध दूध चढाउन आदेश दिए। त्यसो गरे म कुनै दिन यो देशको मन्त्री नै बन्छु भन्ने उनको ठोकुवा थियो। बालक मन नै हो मेरो, मक्ख पर्‍यो। मन्त्री हुने लोभ जाग्यो। मेरो जेठो मामाले गाई पालेका थिए, त्यहाँबाट मैले दूध लगेँ तर एक मानाको सट्टा आधा माना मात्र। गाईले नै थोरै दूध दिएपछि मेरो के लाग्थ्यो र! फेरि भगवान त्यति लोभी मनका पनि हुँदैनन् होला नि भन्ने पनि लाग्यो नै। काम चलाइहाल्लान् नि भन्ने सोचेँ। गाईको विशुद्ध दूध चढाएँ। तर, अहिले भने पुरै एक माना नै नचढाएको रिस पोखे कि जस्तो पो लाग्न थालेको छ, पशुपतिनाथले। कहिल्यै मन्त्री बन्न त के मन्त्री बन्ने बाटोमा पनि हिँडाएनन्। कहिलेकाहीँ लाग्छ, आधा मानाको पनि इज्जत राखेर सहायक मन्त्रीसम्म त बनाइदिएको हुन्थ्यो नि! अनि लाग्छ, विचरा पशुपतिनाथ नै अहिले अल्पमतमा छन्। उनको धर्म नै अहिले जोखिममा छ। उनको पावनभूमिबाट उनको धर्म नै लखेटिँदैछ। उनीसँग कल्याणको अपेक्षा राख्नेहरू अहिले उपेक्षित छन्। उनका देशका चालकहरू अहिले जिससको पो मुख ताक्न थालेका छन्। गाउँ–गाउँमा उनको लिङ्गको सट्टा ‘क्रस’ को निशान देख्न थालिएको छ। त्यो पनि छ्याप–छ्याप्ती।

    वास्तवमा भन्ने हो भने बनियो भने त भइहाल्यो नि भन्ने आशाले आधा लिटर दूध खेर फालेको रहेछु, अहिले थाहा पाएँ। कुनै भोकालाई खान दिएको भए पशुपतिनाथले भन्दा राम्रो आशिर्वाद दिन्थे पनि होलान् कि? शायद। तर पनि, पशुपति मेरा आराध्यदेव नै हुन्। उनीसँग के को गुनासो? गुनासा त उनको नाममा पसल खोलेकाहरूसँग हुँदो रहेछ।

    मानिसको स्वरूपमा जन्मिएर, हजारौँ पाखण्ड र जादुगरीले आफूतिर आकर्षिक गराएकै भरमा भगवान भनाउन खोज्नेप्रति पनि मलाई कहिल्यै आदर जागेन। तीमध्ये कतिपय विद्वान हुन सक्लान् तर भगवान होइनन्। जब विद्वान आफ्नो तर्क बेच्न थाल्छ, उ ठग बन्छ। भगवान बन्दैन। तर, हाम्रो धार्मिक विशेषता नै यस्तो छ कि जो जस्तो होस् उसलाई तत्काल भगवानका रूपमा पुज्न सक्ने, उसका नाममा भजनकीर्तन र उपवास पनि राख्न सक्ने। पूजा कोठामा तस्बिर पनि सजाउन सक्ने। त्यस्ता भगवानले भनेका हरेक कुरालाई धर्म वचनका रूपमा स्वीकार पनि गरिहाल्ने। यस्ता कार्यसँग मेरो सधैँ विमति रह्यो। त्यसैले कहिलेकाहीँ मेरो कर्मलाई पनि धिकार्छन्, मरेपछि नर्क जाने डर देखाउँछन्, मेरै आफन्तहरू। त्यसैले होला, मनभित्र बसाउँदा पनि मनलाई पढ्न नसक्नेहरू नै नास्तिक सम्झन्छन्, मलाई। मेरो सोचमा अहम् देख्छन्, घमन्ड देख्छन्। तर, के गर्नु अरूलाई खुसी पार्न म आफ्नो सोच कदापि बदल्न सक्दिन।

    एकताका मेरी धर्मपत्नी सत्य साईबाबाको परमभक्त थिइन्। उनकै करकापमा ३–४ पटक त साइबाबाको वासस्थान दक्षिण भारतसम्म पनि पुगेको छु। पहिलोपटक जाँदा साइबाबा बैंगलोरनजिकै व्हाइट फिल्ड भन्ने स्थानमा बसेका थिए। हिँडडुल गर्न सक्थे। त्यो उनको गर्मीको समय कटाउने वासस्थान रहेछ। नत्र उनी त पुट्टवर्तीका बासिन्दा हुन्। पहिलोपटक श्रीमतीजीको मन राख्न जान लाग्दा मेरो मन र विचार बुझेका राजधानी दैनिकका तत्कालीन सम्पादक जिवेन्द्र सिम्खडाले भनेका थिए, ‘अब तिमी साइबाबाको भक्त बनेर आउने भयौ।’ म फिस्स हाँसेमात्र।

    भारतीय विकसित सहरमध्ये एक, बैंगलोर। त्यहाँ घुम्न मैले काठमाडौँमा नै केही महँगा हाफपाइन्ट, चप्पल तथा अन्य लुगा किनेको थिएँ, सबै ब्रान्डेड। लागियो भैरहवाको बाटो हुँदै रेलबाट बैंगलोर। साथमा, पत्नीसहित भर्खरैकी सानी छोरी, ममी, दिदी र सानै भान्जी पनि। रेलमा र यहाँ पनि साइबाबाका अनुयायीहरूले निकै गफ दिएका थिए। साइबाबाको आश्रमतिर कुनै अपराध हुँदैन, चोरी–ठगी हुँदैन आदि इत्यादि। विश्वास गरियो। पुगेकै दिन बिहानै बाबाको प्रवचन रहेछ। सुन्नु र हेर्नु पर्‍यो भनेर गएँ, पण्डालमा बस्न। प्रवचन सुरु हुनुअघि नै ‘नेचरको कल’ आयो। बाहिर निस्किए। फुकालेर राखेको ठाउँबाट त मेरो महँगो ब्रान्डेड चप्पल नै गायब। धत्! रिसले मुर्मुरिएर कोठामा गएर बसेँ, दोहोर्‍याएर कहिल्यै प्रवचन सुन्न गइनँ। भोलिपल्ट सुकाएको ठाउँबाट ब्रान्डेड हाइफपाइन्ट पनि गायब! रिसले कति सरापियो, सरापियो। साइबाबा र चोरको समूहलाई। पछि पो थाहा भो, त्यहाँ हवाइचप्पललाई समेत सुरक्षित राख्न कतिले साइकलमा लगाउने ताल्चाको सहायता लिँदा रहेछन् त कतिले दुई चप्पल दुई फरक ठाउँमा फुकाल्दा रहेछन्। त्यसबेला नेपालका चर्चित नायक शिव श्रेष्ठले फोहोर उठाएर साइबाबाको आश्रम सफा गरेको पनि देखेँ। प्रख्यात गायिका ज्ञानु राणाले भजन गाएर साइबाबाबाट जादुगरी शैलीमा सुनको सिक्री उपहार पाएको पनि देखेँ। त्यो उनीहरूले गरेको धर्म होला अनि पाएको फल। तर, कुनै गरिब–दुखीले त्यसरी सुनौलो आशिर्वाद पाएको कहिल्यै देखिन। मेरो रहर बैंगलोर घुम्ने, पवमा जाने थियो, पुरा गरेँ। काठमाडौँ फर्किएँ। अनि जिवेन्द्रदाइलाई भनेँ बाबाले मेरो मन जित्न सकेनन् दाइ!

    त्यसपछि पनि दुई–तीन पटक पुट्टवर्ती गइयो। कहिले आमालाई लगियो त कहिले सासूलाई तर, म अनुयायी वा भक्त हुन सकिन कुनै पनि भ्रमणपछि। जति पटक गइयो, त्यति नै गलेको शरीर देखियो, साईबाबाको। दुई खुट्टा टेकेर हिँडेकोदेखि व्हिलचेयरमासम्म हिँडेको देखियो। अनि लाग्यो, उनी पनि हामी जस्तै सामान्य मानिस न रहेछन्, समयसँगै गल्दै जाने। खिइँदै जाने।

    जुन चमक तत्कालीन रानी ऐश्वर्यले देखेकी थिइन्। रानी ऐश्वर्य र दरबारका अति विश्वास पात्र थिए उनी। बाचुन्जेल उनले राजसंस्थाको उन्नतिका लागि यज्ञ, होम र पूजा गरे। तर, उनका ती उपासनाले कुनै काम गरेनन्। दरबार हत्याकाण्ड भयो, हुँदा–हुँदै राजतन्त्र नै इतिहास बन्यो। कहिलेकाहीँ लाग्छ, उनले करोडौँ खर्च गरेर गरेका ती यज्ञ र होमहरू सही थिए त?

    यद्यपि आन्ध्रप्रदेशको मरुभूमि जस्तो विकट गाउँलाई साईबाबाले दिएको विकासको उपहार भने प्रशंसायोग्य नै छ। जन्मस्थानका लागि उनी राम्रा समाजसेवी होलान्। तर, भगवान् मानेर आरती नै गर्नुपर्ने कुनै गुण मैले उनीमा पाइन, पढिन। उनका किताब पनि पढेँ। तर, उनका जादुगरी चमत्कारका कथाले मलाई कहिल्यै तान्न सकेन। नत उनको अनुहारमा नै मैले भगवानमा हुनुपर्ने चमक देखेँ। मलाई मेरा प्रिय भगवान् शिवसँग उनको तुलना गर्दा रिस पनि उठ्छ। झन् शिवका अवतारका रूपमा प्रस्तुत गर्दा मानिसहरू कति मूर्ख बन्न सकेका झैँ लाग्छ। 

    पुट्टवर्ती जाँदा मेरी पत्नी साइबाबाको सामिप्यता महसुस गरेर जति खुसी हुन्थिन्, त्यति नै खुसी मेरी छोरी पनि हुन्थिन्। तर, छोरीको खुसी साइबाबाको नजिक पुगेका कारण होइन। मेरी छोरी र ममा धेरै समानता छ। जसमा हाम्रो नाक र जिब्रो पनि एक हो। मिठो खानाको वासनाले हामीलाई सधैँ नै तानी रहन्छ। पुट्टवर्तीमा खाना भने अत्यन्त सस्तोमा पाइने, मिठो पनि। दक्षिण–उत्तर भारतदेखि कन्टिनेन्टल परिकारसम्म। पछिल्लोपटक त्यहाँ जाँदा साइबाबा जिउँदै थिएँ। मेरो छोरा सानै थियो। त्यसबेला मेरी पत्नीको काम छोरा समातेर प्रवचन र भजन सुन्ने हुन्थ्यो भने म र छोरीको काम कुन स्टलमा कस्तो परिकार राखिएको छ हेर्दै र चाख्दै हिँड्ने। वास्तवमा भन्ने हो भने साइबाबाले उनकै भान्छामा पाक्ने खानाबाट हटाएर मेरो मनलाई आफूतिर आकर्षित गर्न सकेनन्। मैले उनलाई हृदयदेखि कहिल्यै भावपूर्ण नमस्कारसमेत गर्न सकिनँ। बरु मिष्ठान्न भोजनको प्रशंसा भने गरियो नै।

    हिजोआज टेलिभिजनका सेटमा छ्याप्छ्याप्ती आउने धर्मगुरुहरू पनि मलाई त्यही श्रेणीका लाग्छन्। बरु जीवनमा एक पटक मात्र भेट्ने मौका पाएको खप्तडबाबामा भने मैले निकै चमक देखेँ, बुढ्यौलीमा पनि। शायद उनले आफूलाई जीवनभर एउटा योगीका रूपमा प्रस्तुत गरे। भगवान भनाउन खोजेको भए उनको मुहारबाट पनि चमक उडेको देख्थेँ होला, मैले। एकाध घण्टा उनीसँगको बसाइँमा उनले गरेका जीवनका कुरा, विज्ञानका कुराले मेरो मनलाई अति छोएको थियो। फेरि भेट्ने चाहना थियो, तर पुरा हुन सकेन। उनी मानिस र जनावरमा भेद देख्दैन रहेछन्। शालिनता नै जीवन हो भन्ने उनको मान्यताले मलाई आकर्षित गर्‍यो, विद्वानका रूपमा।

    म कतिपय योगीबाट भने आकर्षित हुन्छु, तर उनको मुहारमा त्यो चमक मैले देख्न सक्नु पर्छ। उसको विचारमा विद्वता झल्कनु पर्छ। जसरी खप्तडबाबाको मुहारमा देखेँ, मैले। त्यसबाहेक नेपाल र भारतका कैयौँ योगी–साधुलाई भेट्ने मौका पाइयो। तर, अहिलेसम्म ती अनुहारहरूले मलाई तान्न सकेका छैनन्। वास्तवमा भन्ने हो भने मलाई नै मेरा कतिपय सोच नास्तिक झैँ लाग्छन्। किनकि म यज्ञकुण्डमा जलिरहेको चामल हेरेर खुसी बन्न सक्दिन। भगवानलाई चढाउने नाममा खेर जाने खाद्यवस्तु जलेर खरानी भएको हेरेर चित्त बुझाउन सक्दिन।

    मेरा एक मित्रका पिता कुनैबेलाका चर्चित योगी नेपाली बाबाका अनुयायी थिए। काम विशेषले बनारस जाँदा नजिकै विध्यान्चलमा उनले यज्ञ लगाइरहेका रहेछन्। हामी पनि गयौँ, त्यहाँ। नेपाली बाबासँग भेट पनि भयो। तर, मैले उनको मुहार कुनै चमक देखिन। जुन चमक तत्कालीन रानी ऐश्वर्यले देखेकी थिइन्। रानी ऐश्वर्य र दरबारका अति विश्वास पात्र थिए उनी। बाचुन्जेल उनले राजसंस्थाको उन्नतिका लागि यज्ञ, होम र पूजा गरे। तर, उनका ती उपासनाले कुनै काम गरेनन्। दरबार हत्याकाण्ड भयो, हुँदा–हुँदै राजतन्त्र नै इतिहास बन्यो। कहिलेकाहीँ लाग्छ, उनले करोडौँ खर्च गरेर गरेका ती यज्ञ र होमहरू सही थिए त?

    केही दिनअघि यस्तै यज्ञमा सरिक हुन चतरा पनि पुगेका थियौँ, हामी पति–पत्नी। त्यहाँ एक दिन बिताउँदा अरूले जे आनन्द लिए, मैले त्यो लिन सकिन। मनमा अनेकौँ विचार खेलिरह्यो। त्यो ९ दिनमा जलेका खाद्य पदार्थले कति भोकाको भेट भरिँदो हो? त्यहाँ खर्च गरिएका रकमबाट राम्रै अनाथाश्रम–बृद्धाश्रम पनि खोल्न सकिँदो हो? त्यहाँ जलिरहेका अग्निमा पट्पट पड्किरहेका अन्नले सुदूरका कति जनाको घरमा खाना पाक्दो हो? त्यहाँ जम्मा हुने चन्दाको रकमले कति जनाको आङ ढाकिँदो हो? 

    हुन सक्ला, होम–यज्ञ गर्नेको पनि आफ्नै तर्क होला। ठोस तर्क वा अध्ययनबिना कसैले प्रचार कै खातिर मात्र पनि यस्तो किन गर्थे होलान् र? तर, एउटा कुरा पक्का छ। संसारमा सबैभन्दा बढी होम–यज्ञ हुने धर्ती यही नेपाल–भारत हो। जहाँ संसारकै अधिक दुखको भण्डारण पनि छ। अशिक्षा, गरिबी, छुवाछुत अनि कुरीतिको कुहिरो पनि। 

    हुन त हामी आधुनिकता र कम्युनिजमको कुरा गर्दै पूजापाठ गर्दै कालोबोको काटने नेताको मार्गमा हिँड्ने देशका नागरिक हौँ। जहाँ सही र गलतको कुनै मापदण्ड छैन। नत्र ‘होली वाटर’ ले सिँचित भएपछि कालोबोको पूजा गर्ने साहस संसारमा कसैले गर्न सक्दैन। त्यसैले लाग्छ, हाम्रो रगत नैं पाखण्डी छ। अनि हामी जस्तो सोच पाल्नेलाई पाखण्डीका चमत्कारले जहिले पनि मोहित पार्न सक्छ नै। अनि किन नजन्मिउन् त हरेक दिन, एउटा नयाँ भगवान, मेरो धर्तीमा?

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]