राजनीति

त्रिविका ३३ प्रतिशत क्याम्पसमा महिलालाई प्रमुख बनाउन माग
SHARES

चैत १, २०७५

    काठमाडौं : संविधानमाअनुसार त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा समावेशी व्यवस्था नअपनाएको भन्दै त्रिविका महिला प्राध्यापक/ कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाएका छन। पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका कर्मचारी र विद्यार्थीले त्रिविमा ३३  प्रतिशत क्याम्पसको प्रमुख महिलालाई बनाउनुपर्ने माग गरेका हुन। 

    बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका कर्मचारीले उक्त क्याम्पसमा महिला नै क्याम्पस प्रमुख हुनुपर्ने माग राख्दा सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाए। 

    ४२ वर्षदेखि अध्यापन गर्दै आएकी प्राडा मनसा थापा ठकुराठीले क्याम्पसमा महिला नै प्रमुख हुनुपर्ने बताइन। उनले महिलाको विषयलाई लिएर पटकपटक आन्दोलन गरे पनि व्यवहारमा लागु गर्ने बेला माथिल्लो तहमा रहेका व्यक्तिले नसुन्ने गरेको उनको गुनासो थियो। 

    डा. कल्पना श्रेष्ठले ‘३३ प्रतिशत महिला अधिकार भनाइमा मात्र सिमित भएको र त्रिविमा यो अधिकार लागु नभएको', बताइन। हालै सम्पन्न नारी दिवसमा पनि ३३ प्रतिशत महिला अधिकारको कुरा उठेको तर त्यसको प्राज्ञिक क्षेत्रमा सुनिश्चितता नभएको उनले बताइन। उनले उपकुलपति प्राडा तीर्थ खनियाँसँग महिला क्याम्पस प्रमुख बनाउन र संविधानमा गरिएको व्यवस्था लागु गराउन माग गर्दा 'अरु क्षेत्रमा लागु भए पनि प्राज्ञिक क्षेत्रमा लागु गर्न नसकिने' जवाफ दिएको उल्लेख गरिन। विगत तीन महिनादेखि पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग राख्दा कुनै सुनुवाइ नभएको उनको भनाइ थियो। 

    क्याम्पसकी प्राध्यापक विमला नेपालले ‘महिला जनशक्ति उत्पादन गर्ने प्रमुख क्याम्पस पद्मकन्यामा प्रमुख महिला हुनुपर्ने' बताइन। उनले त्रिविको रेक्टर र रजिष्टारको कार्यालयमा तालबन्दी पनि गरिएको जानकारी दिइन। 

    कर्मचारी तुलसा पन्तले आन्दोलनमा अघि बढे पनि अधिकार नपाएको बताइन। उनले क्याम्पसमा महिला नै प्रमुख बनाउन अनशन बस्ने तयारी भएको बताइन। 'प्राज्ञिक क्षेत्रमा नेपालको संविधान नै लागु नहुने हो त? के त्रिवि नेपालको संविधान भन्दा माथि हो?' उनको प्रश्न थियो। 

     प्राडा ठकुराठीले महिलालाई क्याम्पस प्रमुख बनाउँदा क्याम्पसमा कुनै पनि असर नपर्ने र माथिल्लो निकायले सकारात्मक रूपमा सोच्नुपर्ने धारणा राखिन।

    पद्मकन्या क्याम्पसमा अध्ययनरत छात्रा रेखा परियारले महिला अधिकार र प्राज्ञिक क्षेत्रमा आएको समस्या एक क्याम्पसको मात्र नभएर देशकै भएको बताइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]