समाज

‘भिँसिद्यया लग’ प्रदर्शनसँगै भक्तपुरमा फागु पर्व सुरु
SHARES

फागुन ३०, २०७५

    भक्तपुर : पुरुष जननेन्द्रीयको प्रतीक काठको लिंग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएसँगै भक्तपुरमा बिहीवारदेखि फागु पर्व सुरु भएको छ।

    काठमाडौंको वसन्तपुरमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर फागु पर्व सुरु गर्ने परम्परा भए पनि भक्तपुरमा भने दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा काठको लिंग र योनीको प्रतीक प्वाल परेको रातो कपडाको प्रदर्शनसँगै भक्तपुरमा फागु पर्व सुरु भएको हो। स्थानीय भाषामा ‘भिँसिद्यया लग’ भनिने सो लिंगाकार काठलाई स्थानीयहरू भीमसेन देवताको लिंगको रूपमा लिन्छन भने प्वाल परेको रातो कपडालाई द्रोपदीको योनीको रूपमा लिइन्छ।

    लगलाई प्रदर्शन गर्नुअघि भक्तपुरका इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलहरूमा बोकेर परिक्रमा गराएको थियो। लगलाई टोल–टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याएको हो। घुमाएको लिंगलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गर्दा व्यापार फस्टाउने विश्वास रहेको पाइन्छ।

    भीमसेन मन्दिरको पाटीमा करिव दुई हात लामो र ३० ईन्च मोटाइको लगसँगै बीचमा प्वाल पारिएको रातो कपडा झुण्ड्याएको छ। यसरी झुण्ड्याउँदा हावाले कपडा हलाउँदा वा मानिसले लगलाई हलाउँदा रातो कपडाको प्वालमा लग छिर्ने गर्दछ। यस्तो दृष्यलाई स्थानीयहरू भीमसेन र द्रौपदीको यौन समागमनको रूपमा लिने गर्दछन्।

    लग प्रदर्शनसँगै स्थानीय भीमसेन गुठीका गाइजुहरू मन्दिरको पाटीमा बसेर

    भिँसिद्यया लग खङ लो वान ला,

    बिस्यु वाने मायक स्व वया ला’

    अर्थात् “भीमसेनको लिंगदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको हो कि” भनेर भजन–कीर्तन गाउने गर्छन्। कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने फागु पर्व भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित छ। फागुन शुक्ल अष्टमीका दिन लिंग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ। यसले गहिरो सम्बन्ध गाँस्ने भन्ने अर्थ बुझाउँछ। लिंगको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ। लिंग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन्। यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन सकिन्छ। कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ। फागु पूर्णीमाको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ।

    झट्ट हेर्दा यसले अश्लीलताको झलक दिएता पनि तत्कालीन समयमा यसले यौन शिक्षा दिने गरेको संस्कृतिकर्मीहरु बताउँछन। पौराणिक कालमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको उनीहरूको भनाइ रहेको छ।

    वसन्त क्रतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रूपमा मनाइन्छ। यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए। चीर स्वायगू अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रूपमा लिनुपर्ने राजोपाध्याय बताउँछन्।

    फागु पूर्णिमाको दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि फागु पर्व सम्पन्न हुने परम्परा छ। यसरी लिंग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाइन्छ।

    यसरी लिंग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि शुरु भएको हो भन्ने एकिन तथ्य फेला परेको पाइँदैन। यद्यपि भीमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७ औँ शताब्दीमा निर्माण गरेको इतिहास पाइएकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ। विशेषगरी माघ र फागुन महिना बिहावारीको महिना भएको र नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमंग जगाउने र यौनांग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ। यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको पाइन्छ।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]