समाज

'घरको गारो फोड्न भन्दा जिन्दगी चलाउन गाह्रो'
SHARES

मजदुर दिवसले नछोएका जीवनको पीडा

बैशाख १८, २०७६

    काठमाडौं : वैशाखको प्रचण्ड गर्मी। धुलोधुवाँले ढाकेको काठमाडौं। धुलोधुवाँको प्रवाह नगरी जमलको विश्‍व ज्योती सिनेमाहलसँगैको पुरानो घर भत्काउन व्यस्त छन् जीवन कोइरला।

    खोटाङको निम्‍नस्तरको परिवारमा जन्मिएका जीवन चार वर्षअघि सपनाको पोको बोकरे परिवारसँगै राजधानी छिरे। सामान्य लेखपढ पनि नगरेका उनी काठमाडौंमा पसेदेखि आफ्ना सपनासँग पौँठेजोरी खेल्दैछन्। उनीसँग अब आफ्ना तीन सन्तानलाई राम्रो शिक्षा दिने ठूलो महत्वकांक्षा र सपना छ ।

    छोराछोरीको सुन्दर भविष्यको सपना बोकेका उनी काठमाडौं पसेसँगै ज्यामी भएका छन्। चार वर्षको अवधिमा उनले धेरै घरको गारो मात्रै लगानन्, त्यसैलाई जीवन जिउने आधार पनि बनाए । त्यही घरको गारोसँगै उनको जिन्दगी पनि काठमाडौंको  महँगीमा गाह्रोसाथ गुज्रिरहेको छ । बुधबार मे दिवस धुमधामसँग मनाइरहँदा पुरानो घरको गारो भत्काउँदै थिए जीवन।

    मजदुरी गरेरै उनले श्रीमती, दुई छोरी र एक छोरासहित पाँचजनाको परिवार पालेका छन्। जीवनलाई मजदुर दिवसले मात्रै होइन, हिउँदको जाडो र वर्षाको प्रचण्ड गर्मीलेसमेत कहिल्यै छोएको छैन रे ! ‘आज मजदुर दिवस भन्‍ने थाहा छ, तर के गर्नु काठमाडौंको महँगीमा परिवार पाल्नै परो,  काम नगरे परिवारलाई के खुवाउने?  घरमा बस्नु भन्दा काम गरेरै दुई पैसा आर्जन गर्नु जाति ।'

     ज्यामीमाथि श्रम शोषण

    हरेक ‍दिन सूर्य उदाएसँगै डेराबाट निस्किने उनी एकैचोटी राति आठ बजे घर पुग्छन्। दिनभर गिट्टी, बालुवा र घनसँग खेल्ने जीवन दिनभरको कमाइ आठ सय रुपैयाँ ज्याला लिएर घर पुग्छन् । 

    ‘दिन भर काम गर्ने हो, बेलुकी साहुबाट ज्याला लिएर घर जान्छु,साहूले पैसा नदिएको दिन छाक टार्न गाह्रो हुन्छ', उनी सुनाउँछन् । पुराना घर भत्काउने जीवनलाई  चोट  लागेका बेला काम गर्न गाह्रो हुन्छ। आफू बिरामी परेका बेला परिवारको छाक टार्नै अफ्ठेरो पर्ने अनुभव उनीसँग छ । 

    ‘मैले सधैँजसो पुरानो घरको गारो भत्काउने गर्छु, यस्तो जोखिम मोलेर काम गर्दा चोट लायो भने गाह्रो हुन्छ', उनी भन्छन्, 'काम गर्दा गर्दै चोट पटक लाग्यो भने आफ्नै खर्चले उपचार गर्नुपर्छ।'

    दैनिक १२ घण्टा भन्दा धेरै काम गर्ने जीवनलाई ज्यामी गरेर आएको ज्यालाले परिवार चलाउने गाह्रो छ । '१३ घन्टा भन्दा बढी काम गर्दा जम्मा आठ सय रुपैयाँ ज्याला आउँछ', उनले भने, 'यति पैसाले परिवार पाल्नै गाह्रो हुन्छ, अहिलेको महँगीमा सरकारले दैनिक ज्याला १२ सय रुपैयाँसम्म पुर्‍याइदिए हुन्थ्यो।‘

सविना खनाल

सविना खनाल थाहाखबरकी संवाददाता हुन्। उनी स्वास्थ्य र सामाजिक विषयका समाचार लेख्छिन्। ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]