थाहा संवाद

'पृथ्वीको औसत तापक्रम झण्डै १ डिग्रीले बढेको छ'
SHARES

धनी देशको गल्तीको सजाय गरिब देशले भोग्दैछन्

बैशाख १९, २०७६

    यो पटक अघिल्ला वर्षहरूमा भन्दा धेरै मौसममा फेरबदल देखिएको छ। हिउँदमा धेरै वर्षा भयो भने प्री-मनसुन पनि बढी नै वर्षा भइरहेको छ। अघिल्ला वर्ष खडेरी र सुक्‍खा लाग्ने समयमा यो पटक वर्षा भइरहेको छ। काठमाडौंसहित देशका धेरै भूभागमा वर्षा भइरहेको छ। यस वर्ष तराईका जिल्लाहरूमा 'टोर्नाडो'समेत देखियो। यो केको असर हो? मौसममा किन एकाएक बदली देखियो? थाहा सञ्‍चार नेटवर्कका लागि रवीन्द्र सुवेदीले जलवायु परिवर्तनका जानकार मञ्जित ढकालसँग गरेको कुराकानी :

    यो पटकको मौसम अघिल्ला वर्षहरूभन्दा भिन्‍न देखियो, यसको कारण के हो?

    मौसम’ भनेको छोटो समयमा हुने मौसमी फेरबदल हो। लामो समयको मौसमी फेरबदललाई जलवायु परिवर्तनको असरका रूपमा बुझिन्छ। पृथ्वीको कुनै भूभागको कम्तीमा ३० वर्षको मौसमी विश्लेषणलाई ‘जलवायु परिवर्तन’ भन्‍ने बुझ्नुपर्दछ। अहिले अवस्था कस्तो रह्‍यो भने पृथ्वीको औसत तापक्रम झण्डै १ डिग्रीले बढेको छ। कुनै ठाउँमा तापक्रम अझै धेरै बढिसकेको छ। पृथ्वीको तापक्रम बढ्दा हामीले यसअघि भोग्नुनपरेका नयाँनयाँ असर भोग्नुपरिरहेको छ।

    विग वर्षको यही सिजनमा कम वर्षा हुने गरेको थियो । बरु सुख्खा, खडेरी पर्ने, डढेलो लाग्‍ने गरेको देखिन्थ्यो । यसपटक चाहिँ वर्षा नै बढी भइरहेको छ नि?

    मध्यफागुनदेखि मध्यजेठसम्म प्री- मनसुनको समय हो। नेपालमा ८० प्रतिशत वर्षा मनसुनको समयमा हुन्छ भने बाँकी वर्षा प्री-मनसुन तथा अन्य समयमा हुने गरेको छ। त्यसैले यो समयमा पानी नपर्ने भन्‍ने त होइन। तर, विगत ४० वर्षको नेपालको मौसमलाई हेर्ने हो भने पानी पर्ने ट्रेन्ड चाहिँ अहिलेको जस्तो देखिँदैन। यो वर्ष बढी नै पानी परेको छ। पानी पर्ने तरिका सबै भूभागमा एकै प्रकारको छैन। हिमाली र पहाडी भेगमा वर्षाको मात्रा बढेको छ। समग्रमा यो पृथ्वीमा देखिएको मौसम परिवर्तनकै असर हो।

    हाम्रो देशमा हुने वर्षा खासगरी बंगालको खाडीबाट आउने जल वाष्पयुक्त बादलका कारण हुने गर्छ । यसको अर्थ अहिले देखिएको मौसमी असर हाम्रो देशभित्रको मात्र त होइन नि?

    जलवायु परिवर्तनको असर हाम्रो देशमा वर्ष मात्रै देखिएको होइन। जलवायु परिवर्तनमा यस्ता नयाँ नयाँ असर देखा पर्छन्। यस वर्ष हाम्रै देशमा पनि टोर्नाडो देखियो। यसलाई जलवायु परिवर्तनको भाषामा ‘स्ट्रेलिङ इभेन्ट’ भनिन्छ। जुन पहिले नभोगिएका र अचानक देखिएका असर हुन्। केही समयअघि अफ्रिकन मुलुक मोजाम्बिकमा केन्‍नेथ नामक साइक्लोन आयो। जसको कुनै अपेक्षा वा संकेत थिएन।

    खासगरी यस्तो खालको अवस्था चाहिँ पृथ्वीको वायुमण्डलमा असर पुर्‍याउने हरित गृह ग्यास बढी उत्सर्जन हुँदा देखापर्छ। वायुमण्डलमा कार्बनडाइअक्साइड र मिथेन जस्ता ग्यासको मात्रा बढ्दै गएर सूर्यको प्रकाश बढी सोस्ने र जमिनको तापक्रम बढाउने गर्छ। र, जलवायु परिवर्तनका विभिन्‍न असरहरू देखा पर्छन्। यसले कुनै एउटा भूभाग मात्र नभई समग्र पृथ्वीमै असर पुर्‍याउँछ। यसबाट कुनै देशमा बढी र कुनैमा कम क्षति हुने गर्छ। त्यो त विपत्तिसँग जुध्‍नसक्ने क्षमता कुन देशसँग कति छ त्यसमा भरपर्छ।

    जलवायु परिवर्तनका असर नियमित प्रकारका हुन्छन् कि भिन्दाभिन्दै?

    जलवायु परिवर्तनले मुख्यरूपमा पृथ्वीको तापक्रम नै बढाएको हुँदा यसको असर नियमित प्रकारको वा सधैँ एउटै प्रकारको हुँदैन। तापक्रम बढ्दा सामान्यत: सुक्‍खा बढी हुने अनुमान गरिए पनि त्यसप्रकारको देखिँदैन। अर्कोतर्फ भौगोलिक बनावटका आधारमा मौसमको असर फरकफरक हुने गर्दछ। नेपालकै सन्दर्भमा विभिन्‍न वर्षहरूमा प्रकोप पनि फरक प्रकारको देखिएको छ। त्यसैले यसको असर एउटै प्रकारको हुँदैन।

    पृथ्वीको तापक्रम बढ्दा सुख्खा बढ्नुपर्ने तर वर्षा चाहिँ किन बढी भएको होला?

    जलवायु परिवर्तन सँगसगै समुद्रबाट निस्किने हावाको प्रणालीले वर्षालाई असर गर्ने हो। जसले गर्दा पृथ्वीको तापक्रम बढ्दा वर्षा कम हुने वा बढी हुने भन्‍ने हुँदैन। वायुमण्डलको कारणले कुनै बढी वा कुनै भू-भागमा कम हुने चाहिँ हुन्छ। हावाको चापले बादललाई एक ठाउँबाट अर्को ठाउँमा लगिदिँदा वर्षा पनि त्यतै भइदिन्छ।

    जलवायु परिवर्तनका कारण मौसममा देखिएका मुख्य परिवर्तन के के हुन्?

    एउटा असर मात्रै भन्‍ने छैन। विभिन्‍न भूभागमा विभिन्‍न प्रकारका असर देखिएका छन्। कुनै ठाउँमा वर्षा नै बढी हुने गरेको छ, कुनै ठाउँमा हावाहुरी नै बढी भइरहेको छ भने कुनै ठाउँमा आँधी बढी छ। त्यसैले एकै प्रकारको असर नभएकाले अघि भनेजस्तो नसोचिएका असर नै जलवायु परिवर्तनको विशेषता हो।

    सामान्यतया विश्वका अरू देशमा भन्दा हाम्रो देशमा हरितगृह ग्यास उत्सर्जन कम हुन्छ । यस्तो अवस्थामा हाम्रो देशमा जलवायु परिवर्तनको असर कम हुनुपर्ने हो कि होइन?

    त्यस्तो होइन, पृथ्वीमा जुनसुकै भूभागमा तापक्रम बढेको छ। यो 'पोलिटिकल बोर्डर'ले जलवायु परिवर्तनको असर रोक्न सक्ने कुरै भएन। पृथ्वीभरको जलवायु जहिले जहाँ जुन अवस्थामा पनि पुग्‍न सक्छ। यत्ति हो कि अन्तर्राष्ट्रिय फोरुमहरूमा हामीले हरितगृह ग्यास उत्सर्जन कम गरेका छौँ भन्‍न सक्छौँ।

    तर, जलवायु परिवर्तनको असर त धेरै हरितगृह ग्यास उत्सर्जन गर्नेले जत्ति नै हामीले पनि भोग्नुपर्छ। हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान कम छ। एक प्रतिशत पनि छैन। तर, कतिपय सम्पन्‍न देशहरू जहाँ धेरै उद्योगधन्दा, कलकारखाना छन्, उनीहरूको ठूलो योगदान छ। अर्थात् हाम्रो देशमा सन्तोषजनक अवस्था छ तर समग्रमा भोग्ने क्षति हामीले धेरै भोग्नुपर्ने हुनसक्छ। किनकि यस्तो असरबाट हुने क्षति न्यूनीकरणका लागि हाम्रोमा पर्याप्त पूर्वाधार वा तयारी छैन। यस्ता असरहरूबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले तयारी गर्नुपर्छ।

    हाम्रो देशमा मौसम पूर्वानुमानका लागिसमेत पर्याप्त पूर्वाधार छैनन् । यस्तो देशले ३०-४० वर्षको जलवायु परिवर्तनको असरबारे अनुमान गरेर पूर्वतयारी गर्नसक्छ त?

    मौसम पूर्वानुमानको सन्दर्भमा अहिले धेरै विकास भइसकेको छ। हाम्रो देशमा पनि विभिन्‍न प्रविधि भित्रिइसकेको अवस्था छ। यद्यपि, त्यस्तो धेरै विकसित भइसकेको छैन। तर, समग्र जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न हामीले राम्रै तयारी गर्नुपर्ने देखिन्छ। अहिले पनि काठमाडौं विश्वका प्रदूषित सहरमध्येमा पर्छ। यसलाई न्यूनीकरणतिर ध्यान दिनुपर्ने अवस्था छ। हाम्रो तयारी हामी आफैँले गर्ने हो।

रवीन्द्र सुवेदी

सुवेदी थाहा सञ्‍चार नेटवर्कमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]