विचार

सानैमा संस्कृति ज्ञान
SHARES

जेठ १, २०७६

    अचेलका अभिभावकको एउटै गुनासो छ, छोराछोरीले सबै कुरा सिके तर संस्कार सिकेनन्। बाबुआमाप्रति गर्नुपर्ने कर्तव्य सिकेनन्। सानैमा अंग्रेजी भाषा नसिके बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै अभिभावकहरूआफ्ना बालबालिकालाई  बोर्डिङ स्कुलमा पठाउँछन्।

    अंग्रेजी भाषा नसिकाएर पछि परेको अनुभूत गर्दै अचेल सरकारी विद्यालयमा समेत नेपाली भाषालाई  ‘निषेध’ गरिँदैछ। सानै उमेरदेखि मोबाइल, ट्याब, टेलिभिजनजस्ता यन्त्रले बालबालिकालाई प्रकृति नचिन्ने यान्त्रिक नै बनाइसक्यो भने हुन्छ। 

    आधुनिक यन्त्रको बढ्दो प्रयोगले एकलकाँटे हुने, प्रकृति नबुझ्ने र आफ्नै वरपर रहेका वस्तुको नामसमेत नेपाली भाषामा नजान्ने स्थिति छ। केही दशकयता आफ्नो देश समाज संस्कृति संस्कारप्रति ठ्याम्मै गौरव अनुभूति नहुने, वितृष्णा हुने शिक्षा दिने गरिएको छ। एसईई (बढीमा १२) सक्न नपाई विदेशै जान चाहनेको क्रम बढेको छ। यो उमेरसम्म आइपुग्दा नै बालबालिका विभिन्न कुलतमा लाग्ने गरेको स्थिति पनि अर्कातिर छ। 

    बढ्दो आधुनिकीकरण र बजारीकरणले खान हुने–नहुने(भक्ष्य–अभक्ष्य), गर्न हुने–नहुने(कर्तव्य–अकर्तव्य) को बोध नै हुन छाडेको छ। यही पक्षलाई दृष्टिगत गर्दै स्वाद्ध्यायशालाका आमोदवर्धन कौण्डिन्न्यायन र प्रमोदवर्धन कौण्डिन्न्यायनको लेखन सम्पादनमा बाल पाठ्यपुस्तक शृङ्खला अन्तर्गत सनातन हिन्दु धर्मसंस्कृति– शिक्षा प्रकाशनमा आएको छ।

    पुस्तकको औचित्यबारे भूमिकामा सम्पादक आमोदवर्धन लेख्छन्, ‘अभिभावककहरूले आफ्ना बालबालिकाका निम्ति सानै उमेरदेखि धार्मिक–साँस्कृतिक शिक्षा, चारित्रिक शिक्षा, नैतिक शिक्षा र सदाचार शिक्षा दिनुका साथै सत्संगको पनि नियमित रूपले व्यवस्था गर्न जरुरी भैसकेको छ। यसै तथ्यलाई हृदयंगम गरी यस्ता बालपुस्तकको अध्ययन–अध्यापनको व्यवस्था गर्न खोजिएको हो।’

    अचेल शहरतिर मानिसले माटो देख्नै नपाउने भएको छ, खाली जग्गा रह्यो कि सिमेण्टले प्लास्टर गर्ने चलन छ। भित्र सिमेण्टको मैदान बाहिर निस्किँदा सडक। बालबालिकाले वास्तविक रूपमा रुखबिरुवा नै देख्न नपाउने र तिनको महत्त्वबारे जानकारी नै नपाउने अवस्था छ। पुस्तकमा पिपल, बर, बेल र शमीजस्ता धार्मिक वृक्षको परिचय महत्त्व दर्शाइएको छ, जो हाम्रा संस्कार संस्कृतिमा प्रयोगमा आइरहन्छन्, हाम्रोजस्तो कृषिप्रधान देशमा बस्तुका लागि घाँस दिन्छन्, मानिसलाई स्वच्छ हावा, फलफूल दिन्छन्। 

    तिथिज्ञान शीर्षकमा चान्द्रमानको पात्रोअनुसारका तिथिहरूको जानकारी दिइएको छ। यस्तै महिना ऋतु शीर्षकमा ऋतुहरूको जानकारी गराइएको छ, जुन हाम्रा संस्कार संस्कृतिका लागि अति आवश्यक छन्। राम्रा बानी शीर्षकमा बालबालिकाले दैनिक व्यवहारमा अपनाउनुपर्ने नियमहरूको बारेमा उल्लेख छ, जसले संस्कारी त बनाउँछ नै स्वस्थ रहन पनि मद्दत गर्छ। संसारको सबैभन्दा पुरानो उपचारपद्धति आयुर्वेदका अति उपयोगी केही नियम पुस्तकमा उल्लेख छन्। जस्तै,

    सत्यवादिनमक्रोधमध्यात्मप्रवणेन्द्रियम्। 
    शान्तं सद्वृत्तनिरतं विद्यान् नित्यरसायनम्।। 

    अर्थात् सत्यवादी हुनु, अक्रोधी हुनु इन्द्रियहरूलाई अध्यात्मचिन्तनतिर लगाउनु, शानत भइरहनु र सदाचारी हुनु सधैँ रसायनको सेवन गर्नुजस्तै हो। यसबाट मानिस स्वस्थ र दीर्घायु हुन सक्छ।

    अचेल भर्खर दाँत उम्रेका बालबालिकादेखि दाँत झरेर थोते भएका वृद्धवृद्धासम्मको बर्थडे मनाउने चलन छ, बत्ती निभाएर केक काटेर। हाम्रो संस्कृतिमा दीप प्रज्ज्वलन गरी अष्टचिरञ्जीवीको पूजा गरेर जन्मदिन मनाउने चलन भुलिसकेको अवस्था छ। पुस्तकमा हाम्रो संस्कृतिमा जन्मदिन मनाउने शैली र अष्टचिरञ्जीवी को हुन् भन्नेबारे ज्ञान दिन्छ।

    पुस्तकमा भएका केही कथाले बालबालिकालाई प्रेरणा दिन्छन्। जस्तो परेवा र मुसाको कथाको सार हो, असल मित्रता गाँसे संकट परेका वेला काम लाग्छ। ‘बाटाका साथी’ले दिने सन्देश हो, मान्यजनले भनेका कुरा माने संकट पर्दैन। ‘बलभन्दा बुद्धि ठूलो’ कथाले शरीर ठूलो भएर वा भौतिकताले सम्पन्न भएर ठूलो ठहरिँदैन, सानै भए पनि बुद्धिले ठूला काम सम्पन्न हुन्छन् भन्ने शिक्षा दिन्छ।

    अचेल विज्ञान–प्रविधिको प्रयोगमा जोड दिइन्छ तर, त्यसले मानिसलाई शारीरिक वा मानसिक रूपमा पार्ने असरबारे आँखा चिम्लिइन्छ। पुस्तकमा विद्युतीय उपकरणबाट हुने हानिबारे सजग गराइएको छ। विद्युत्को प्रयोगविना जीवनयापन सम्भव छैन तर यसबाट हुने बेफाइदा जानेर कसरी प्रयोग गर्ने भन्ने उपाय सिकाइएको छ। 

    अचेल बालबालिका रंगीचंगी प्याकेटका खानेकुरामा लोभिन्छन्। अभिभावलाई पनि घरमा बनाउनभन्दा बजारकै सामग्री किनेर ल्याउन सजिलो। यस्ता पदार्थले स्वास्थ्यमा वेफाइदा गर्ने हुनाले घरकै खाना, खाजा खान प्रेरित गरिएको छ, स्वस्थकर खाना शीर्षकको पाठमा। बजारमा पाइने चिसा पदार्थभन्दा दूध, दही, महीजस्ता पेय पदार्थ, फलफूलको ताजा रस खान सुझाव दिइएको छ।

    हाम्रा प्रमुख चाडपर्व, कर्णाली नदी, घोडा आदि पाठमा तिनका परिचय दिइएका छन्। सनातन धर्मका त्रिदेव, १० अवतारमध्ये मत्स्यावतारबारे पनि पाठ छन्। अदुवा, अमलाजस्ता जडिबुटीको महत्त्व जरिबुटी पाठमा उल्लेख छ। २५ पाठमा विभिाजित पुस्तकमा नीतिश्लोक, नेपाली र संस्कृत गणना, प्रारम्भिक संस्कृत भाषाको ज्ञान सत्यको महिमाजस्ता पाठ पनि छन्।

    प्राथमिक वा प्रारम्भिक तहका बालबालिकालाई संस्कार–संस्कृति र प्रकृतिका विविध पक्ष बुझाउन स्वाद्ध्यायशालाले गरेको प्रयास सह्रानीय नै देखिन्छ। 

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]