फिचर

क्षमता छ, जागिर छैन
SHARES

आश्वासनले मात्र पेट भरिँदैन हजुर!

जेठ ३, २०७६

    काठमाडौं : भक्तपुरको सानोठिमीस्थित कपिल विक छडीको सहाराले आफ्नो कोठातर्फ जाँदै थिए। जन्मजात दृष्टिविहीन हुन् उनी। दृष्टिविहीन भए पनि उनको यात्रा रोकिएको छैन। दैनिक रूपमा सहरका गल्लीहरू लड्दै, उठ्दै हिँड्ने उनी सहरसँग परिचित छन्। अफसोस्, सहरले अपरिचित ठान्छ। आफ्नो घर डोटी बताउने उनी वि.स २०७० सालमा काठमाडौं आइपुगेका हुन्। गाउँमा उनले सुन्थे। धेरथोर शिक्षित मान्छेले आफ्नै गच्छेअनुसार जागिर पाउँछ। तर, काठमाडौं आइसकेपछि उनले जागिर पाएनन्। हेपिए। चेपिए। अपमानबाहेक केही पाएनन्। उनले गाउँमै एसएलसी सके। उच्चशिक्षा डोटीको सिलगढीबाट गरे। ब्याचलर्स पढ्न सानोठिमी आइपुगे।

    कपिल पोलिटिकल साइन्समा मास्टर्स पढ्दै छन्। उनी पढेर जागिर नै पाइन्छ भन्ने विश्वास नलाग्ने बताउँछन्। आजसम्मको अनुभवले यहिँ बताउँछ। उनी निचोरिन्छन्। भक्कानिन्छन्,'मैले जति पढेँ सबै आत्मज्ञानका लागि मात्र हो कि जस्तो लाग्छ!'

    होस्टेलमा बसाइँ थियो कक्षा १० पढ्दासम्म, खान बस्न कुनै समस्या भएन। उच्च शिक्षा पढ्न डोटीको सिलगढी पुगे। उनले उता श्रेष्ठ थर भएका भेटेरीनरीमा काम गर्ने  एकजना सहयोगी भेटे। उनैले स्नातकसम्म पढ्नका लागि कपिललाई काठमाडौं ल्याइपुर्‍याए। कपिलले सानोठिमी क्याम्पसमा नेपाली संकायमा पढ्न थाले। होस्टल बस्थे। दिनभर धूप बेच्नु उनको दैनिकी थियो। स्नातक प्रथम वर्षमा हुँदा उनले ०७१ मा सेनुका राईसँग बिहे गरे।

    सेनुका माइत जान चाहन्छिन्

    भनिन्छ, प्रेममा जात, धर्म, रूप वर्ण हेरिँदैन। प्रेममा विशुद्द प्रेम मात्र हुन्छ। यसकारण कपिलको जिन्दगीमा सेनुका आइन्। आफ्नो श्रीमानलाई पढ्नलाई अगाडि बढाउन उनले आफूले पढाइ छोडिन्। उनको घर खोटाङ। घरको आर्थिक विपन्नताले गर्दा काम गर्दै उनी पनि काठमाडौं आएकी थिइन्। साथीसँग हिँड्डुल गर्दा सेनुकाको भेट कपिलसँग भएको थियो। भेटघाटको क्रममा कपिलले सेनुकाको मन जिते। मन जितेपछि घरजम गरे। 

    जिन्दगीको नयाँ अध्यायको सुरु हुँदा जन्मघरको बाटो बन्द भयो। माइतीले उनको बिहेलाई स्वीकार गरेन। भन्छिन्, 'पहिलेपहिले खोटाङ जान कसैले रोक्दैनथ्‍यो। हाम्रो अन्तरजातीय बिहेको कारण माइतीले स्वीकार गरेको छैन।' आफू जन्मेको घर नफर्केको वर्षौं भइसकेको छ। उनी आफूलाई जन्मदिएको बाबुआमा भेट्न चाहन्छिन्। आफू खेलेहुर्केको गाउँले माटोसँग न्यानो माया बाँड्न चाहन्छिन्। भन्छिन्, 'अब त सबै बिरानो लाग्न थालेको छ। आफूलाई जन्मेको गाउँले पनि भूल्यो कि!'

    देशमा छुवाछुत अन्त्य भएको वर्षौ भइसक्दा पनि गाउँमा भने विकराल अवस्था उस्तै छ। कागजमा सीमित छुवाछुत अन्त्यको असर गाउँसम्म कहिले पुग्छ होला?

    सिलाइ-बुनाइले श्रीमान् र छोरा हुर्काउँदै सेनुका

    दृष्टिविहीन श्रीमान् र पाँचवर्षे छोरो एकसाथ हुर्काइरहेकी सेनुकाको अगाडि दु:खको पहाड खडा छ। तर, एकअर्काको प्रेमले जेनतेन चलेको छ दैनिकी। जतिसुकै अभावमा पनि ढुंगाको भर माटो, माटोको भर ढुंगा भए केही सुखानुभूत त हुन्छ उनलाई। पाँच वर्षको बच्चा छ। अबोध बालकलाई हुर्काउनु एक ठाउँमा छ। श्रीमान् बेरोजगार छन्। आँखा देख्दैनन्।

    कपिलका सानासाना आवश्यकता पनि सेनुकाले पूरा गरिदिनुपर्छ। यस्तो लाग्छ दुई वटा बच्चा एकैसाथ हुर्काइरहेकी छन् सेनुका। श्रीमान् पढेका छन्। तर, जागिर पाएका छैनन्। उनी भन्छिन्, 'दु:ख गरेर पढाइयो। तर जागिर पाउनु छैन। दृष्टिविहीन भएको व्यक्तीले डिग्रीसम्म पढ्न सक्छ भने, जागिर खान पनि सक्छ। तर, जागिर दिनेले दृष्‍टिविहीनको कारण देखाउँदै जागिर दिन कन्जुस्याइँ गर्छन्।'

    बिहानदेखि बेलुकासम्म सेनुका सिलाइ-बुनाइमै व्यस्त हुन्छिन्। गाउँमा हुँदा नै सिकेको यो सीपले उनलाई केही सहज भएको छ। तर, काठमाडौंको बढ्दो महँगीका अगाडि उनको कमाई सिमलको भुवाजस्तो भइसकेको छ। भन्छिन्, 'अचेल प्रतिस्‍पर्धा बढ्दो छ। मान्छेहरू रेडिमेड कपडा लगाउन थाले कमाइ घट्दै गयो।'

    जागिर पाए इमान्दारीपूर्वक काम गर्ने थिएँ

    कुनै जागिर खान पाए सेनुकाको दैनिकीमा केही सहयोग हुन्थ्यो कि भन्ने सोच्छन् कपिल। सेनुकाको दु:खको पहाड उनले देख्न सक्दैनन् तर महसुस गर्छन्। उनी भन्छन्, 'सेनुकाले पनि साह्रै दु:ख पाइन्। विवाह गरेको वर्षौं भइसक्यो नयाँ फरिया किन्न सकेको छैन।'

    कपिल जागिरको लागि विभिन्न ठाउँमा पुगे। तर, आश्वासन मात्र पाए। आश्वासनले पेट नभरिने रहेको उनी गुनासो गर्छन्। आर्थिक विपन्नताबाट उठेर आफ्नै मिहिनेतले मास्टर्स पढ्दा पनि दृष्टिविहीनताको कारण देखाएर कसैले काम नदिँदा किन पढेँछु भन्ने पनि लाग्छ उनलाई। भन्छन्, 'इमान्दार भएर काम गर्छु। जस्तोसुकै काम दिनुस् भन्दापनि कहीँकतैबाट काम पाइएको छैन। कहिलेकाहीँ पढ्दा लागेको खर्च सम्झँदा पैसाको माया लाग्छ।'

    अहिले उनको बच्चा 'स्मल किड स्कुल'मा पढ्छन्। आर्थिक अभाव एक वर्षदेखिको विद्यालय शुल्क तिर्न सकेका छैनन् उनले। भोलि तिर्छु भन्दाभन्दा एक वर्षभन्दा भइसकेको छ। उनी भन्छन्, 'विद्यालय शुल्क तिर्न सकेको छैन। स्कुलले पढाइ दिइरहेको छ।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]