थाहा संवाद

देउवाले गिरिजाबाट पेल्न सिके, राम्रा कुरा सिकेनन्
SHARES

'सत्ता, शोख र पद नै देउवाका लागि प्रिय'

जेठ ८, २०७६

    धनगढी : वि.सं. २००१ मा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका हुन् रामचन्द्र पौडेल। राजा महेन्द्रले बिपी कोइरालाको निर्वाचित सरकारलाई हटाएर पञ्चायती व्यवस्था लागू गरेदेखि उनी कांग्रेसको राजनीतिमा लागे। राजनीति थाल्दा उनी १७ वर्षका थिए। २०२७ मा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य पौडेल २०४० देखि केन्द्रीय राजनीतिमा छाए। त्यतिबेला उनी केन्द्रीय प्रचार समिति संयोजक भए।

    पञ्‍चायती व्यवस्था उत्कर्षमा पुगेका बेला २०४४ मा कांग्रेस केन्द्रीय सदस्य भएका पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भए। र, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भए। २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भएका उनी त्यसपछि प्रतिनिधिसभाका सभामुख भए।

    वि.सं. २०५६ मा पौडेल तनहुँ २ बाट निर्वाचित भए। कांग्रेसले बहुमत ल्याएर कृष्णप्रसाद भट्टराई जेठमा प्रधानमन्त्री हुँदा पहिलो रोजाइमै नपरेका उनी फागुनमा मन्त्री हेरफेर हुँदा उपप्रधान एवं शिक्षामन्त्री भए। त्यसपछि भट्टराईलाई हटाएर गिरिजा प्रधानमन्त्री हुँदा पौडेलले उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री पाए। त्यही वर्ष मन्त्रिपरिषद्‍ फेरबदल हुँदा उपप्रधानसँगै गृहमन्त्रीको जिम्मेवारी पाए।

    २०६४ मै पार्टी उपसभापति भएका उनी २०७२ माघमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कार्यवाहक सभापति बने। २०७२ मा १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेल गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भए। त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्म पढेका उनी अध्ययनशील नेता मानिन्छन्। उनले पटक पटक पार्टी भित्र चरम गुटबन्दी भइरहेको भन्दै सभापति देउवाको चर्को आलोचना गर्दै आइरहेका छन्। 

    इतिहासमै पहिलो पटक देउवाकै कारणले कांग्रेसले यो अवस्था भोग्नु परेको उनको टिप्पणी छ। कांग्रेसको पछिल्लो अवस्थाको दोषी को त ? यिनै विषयवस्तुमा पौडेलसँग थाहा खबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

    सधैँ सत्ता र शक्तिको नजिक रहनु भएको तपाईं लामो समय दुवैबाट टाढिँदा कस्तो अनुभव भइरहेको छ?

    होइन, म त वास्तवमा मिसनको लागि राजनीति गरेको मान्छे हो। २०१७ सालमा पछि  कांग्रेसमा लागेँ। त्योभन्दा पहिले म अलिकति कम्युनिस्टहरूको संगतमा थिएँ। राजाले जनताले चुनेको प्रधानमन्त्रीलाई थुने, त्यसपछि राजाको व्यवहारसँग रुष्ट भएर विस्तारै कांग्रेसतर्फ सहानुभूति बढ्यो। त्यस्तो बेलादेखि आजसम्म निरन्तर निष्ठाको राजनीति गर्दै आएको छु। सत्ता मेरो लक्ष्य होइन, जनता मेरो लक्ष्य हो। जनता मेरो सोख हो। सत्ता मेरो सोख होइन।

    पार्टीभित्र तपाईंको बलियो उपस्थिति देखिँदैन। किन हैसियत बनाउन सक्नुभएन यतिका वर्षसम्म?

    हेर्नुहोस्, यो बीचमा धेरै प्रकारका खेल भए। पार्टीमा मेरो जुन किसिमको भूमिका थियो, त्यसलाई कमजोर पार्ने कोसिस नभएका होइनन्। कहिले काहिँ बिपी कोइरालाले पनि 'म एक्लो वृहस्पति' भन्नुपर्ने दिन आएको थियो। त्यस भएको हुनाले यसबाट पनि म विचलित छैन।

    अहिले म नेपाली कांग्रेसको लक्ष्य प्रजातान्त्रिक समाजवादको आदर्शलाई अगाडि बढाउन लागेको छु। निमुखालाई न्याय र विपन्‍नलाई आय दिने मेरो लक्ष्य हो। राष्ट्रका लागि केही गर्ने मेरो मिसन हो। म मिसनमा समर्पित भएको मान्छे भएकाले मलाई कति प्राप्ति भयो, कति भएन वा कति सम्मान पाएँ कति पाइनँ त्यति असर गर्दैन।

    वर्षौंसम्म पनि मूल्याङ्कन नहुँदा पीडा नहोला र?

    होइन, मलाई केही पनि छैन। म एउटा लक्ष्यमा हिँडिरहेको छु। यो मुलुकमा समतामूलक समाज निर्माण गर्ने मेरो लक्ष्य छ। म त्यसैमा केन्द्रित छु। म त्यसैमा इन्जोय गर्छु। त्यसैमा रमाउँछु। मैले अरू दु:ख सबै बिर्सन्छु। गौण हुन्छन् मेरो लागि अरू कुराहरू।

    तपाईं त्यसमा रमाइरहँदा तपाईंको दल त त्यसमा रमाउन सकेन नि। सधैँ सत्ता र शक्तिमा रहेको तपाईंको पार्टीले सरकारको स्वाद चाख्‍न नपाएर फेरि छाया सरकारतर्फ लागेको हो?

    यो छाया सरकार त 'पार्लियामेन्सी डेमोक्रेसी'को एउटा 'इन्टरनेशनल प्राक्टिस' हो। खासै ठूलो कुरा होइन। त्यसलाई मैले ठूलो कुरामा मानेको छैन। महत्त्व पनि दिन्‍न। तर यत्ति मात्रै मैले भनेको छु, छाया सरकारको मन्त्री भएँ भनेर साथीहरूले नचाहिने विज्ञापन गर्नुभयो। त्यो अनुसार काम गर्नु पर्‍यो नि। गृह मन्त्रालय हेर्नु पर्‍यो नि। शिक्षा मन्त्रालय भित्र के भइरहेको छ, त्यो पनि हेर्नु पर्‍यो नि। उद्योग, वाणिज्य, अर्थमा के भयो, के छ ? आ-आफ्नो मन्त्रालयको जिम्मा पुरा गर्नु पर्‍यो नि साथीहरूले। उहाँहरू त्यहाँ प्रवेश नगरे त्यसको के अर्थ रह्‍‍यो र?

    छाया सरकार बनाउँदा पनि गुटबन्दी भयो भनिन्छ नि?

    त्यस्तो होइन। फाइदाको पद भएको भए शेरबहादुरजीले गगनलाई शिक्षा र बडूलाई गृह मन्त्री बनाउँदैनथे। फाइदाको पद भएको भए उहाँले आ-आफ्नै मान्छेलाई दिनुहुन्थ्यो। छाया सरकार बनाउँदा उदार हुनुभयो हाम्रो सभापति।

    अहिलेसम्म पार्टी भित्र सभापति उदार भएको यो नै पहिलो हो त?

    अहिलेसम्म उदार भएको नमुना देखाउनुभयो। त्यस्तै कुरामा उदार देखाउनुहुन्छ धेरै बाठो हुनुहुन्छ हाम्रो सभापति।

    कस्तो कुरामा देखाउनु पर्ने थियो उहाँले उदारता?

    उहाँले त गिरिजाप्रसादको चेलो हुँ भन्‍नुहुन्थ्यो। गिरिजाप्रसादका जति नराम्रा कुरा छन् ती सबै मैले सिकिरहेको छु भन्‍नुहुन्थ्यो। चुरोट खान सिक्या छु। रक्सी खान सिक्या छु। गिरिजाका सबै गुण सिकेको छु, पेल्न पनि सिकेको छु भन्‍नुहुन्थ्यो।

    तर गिरिजामा पनि केही राम्रा गुण त थिए नि। गिरिजाबाबुले मौका पाउँदा त त्याग देखाउनु भयो नि त। चुनाव हारेको मैले यसको जिम्मा लिएँ, अब दलको नेता उठ्दिन भन्‍नुभयो उहाँले। गिरिजाबाबुबाट सिकेको बताउने देउवाले दलको नेता आफैँ हुन पाउनुभयो। त्यस्ता त्यस्ता कुरा त सिक्नु भएन उहाँले। उहाँले नराम्रा कुरा मात्रै सिक्नु भयो।

    यो अवस्थामा देउवाले नेतृत्व छोड्नु पर्छ भन्‍न खोज्नुभएको हो ?

    लोकतन्त्रको मान्यता अनुसार उहाँ नचलेकै हो। त्यही हो मेरो गुनासो। कमसेकम उहाँले त्यो उदारता देखाउनु पर्ने थियो। अनेक कारणले चुनाव हारे पनि पार्टी सभापति भएको नाताले मैले यो जिम्मेवारी लिन्छु भनेर उहाँले भन्‍नु पर्ने थियो।

    बिपीले भन्‍नुभयो नि, 'लड्न मैले पठाएको नभए पनि मैले सशस्त्र क्रान्तिको आह्वान गरेको हुँ। त्यो नाताले जो घटना भयो त्यो सबैको नैतिक जिम्मेवारी म लिन्छु ।' उहाँ फासीको तख्तामा चढ्न तयार हुनुभयो नि त। ती नेताका चेलाले केही पनि नसिक्ने हो त?

    देउवा त अझै प्रधानमन्त्री मै बन्छु भनेर हिँडिरहनुभएको छ नि?

    पदकै लागि उहाँ समर्पित हो। पद नै उहाँको लागि सबै चिज हो। सत्ता सोख भए भएपछि के हुन्छ थाहा छ ? जनतालाई प्यादासरह व्यवहार हुन्छ। त्यस कारण नेताको सोख जनता बन्‍नु पर्छ। त्यो उहाँले कहिल्यै जान्‍नु भएन। मान्‍नु भएन।

    चैत ९ गते सिन्धुलीमा तपाईंले समय आएपछि पार्टीको नेतृत्व गर्छु भन्‍नु भएको थियो। त्यो समय खै कहिले आउँछ?

    मैले त्यस्तो भनेको थिएन। मलाई पत्रकारहरूले सोध्नु भएको थियो।  समय आएपछि को हुने भन्‍ने कुरा थाहा हुन्छ। कसको आवश्यक्ता हुन्छ, त्यही बेला निर्णय गरौँला भनेर मैले भनेको हुँ। म उम्मेदवार हुन्छु भनेर कोही पनि नहिँड्नु होस्। मैले साथीहरूलाई पनि भनेको थिएँ। साथीहरूलाई मैले यो पनि भनेको छु कि म आफू एकताको बाधक हुँदिन। हामी जो पनि हुन सक्छौ। कसको आवश्यक्त छ त्यही हुन्छ। मैले त्यही रूपमा भन्ने गरेको छु जहाँ पनि।

    तपाईं उपप्रधामन्त्री र उपसभापति भइसक्नुभएको छ। उपप्रधानमन्त्रीपछि प्रधानमन्त्री र उपसभापतिपछि सभापति बन्‍न कत्ति आतुर हुनुहुन्छ?

    म आतुर छैन। म कार्यवाहक सभापति पनि भएँ। कांग्रेसको सभापतिसरह नै हो त्यो।  उपप्रधानमन्त्री पनि भएँ, सभामुख पनि भएँ। संवैधानिक परिषद्को सदस्य पनि भएँ। त्यसले गर्दा मलाई पदको लोभ छैन। अहिले पार्टीको जुन दखद् अवस्था छ। त्यो अवस्थाबाट पार्टीलाई माथि उठाएर  सफल र पावरफुल पार्टी बनाउने मेरो धोको छ। यही उद्देश्यमा म दौडिरहेको छु।

    दर्जन बढीपटक प्रधानमन्त्रीमा लड्दा पराजित भएपछि मोह हराएको हो र?

    हेर्नुहोस् म त्यतिपटक लडेको होइन। मैले त १ पटक मात्रै दरखास्त दिएको थिएँ। तपाईंहरूले याद गर्नुहोस्। एकपटक मात्रै दिएको मेरो दरखास्तलाई सभामुखले १० चोटी, १५ चोटी र १८ चोटीसम्म खेलाइरहे त्यहाँ। मैले एक पटक मात्रै दरखास्त दिएको हुँ। मलाई कसैले हराएको पनि होइन, कोही जितेको पनि होइन। त्यो सुबाष नेम्वाङले खेलाइरह्‍यो। एमालेले खेलाइरह्‍यो।  त्यो बेला संसदलाई असफल गराउने कुराको जिम्मेवारी एमालेले लिनुपर्छ।

    तपाईंले हालै पनि १४ औँ महाधिवेशन सार्न देउवाले ठूलो कसरत गर्दै छन् भन्‍नु भएको थियो। कस्तो कसरत गर्दैछन् देउवाले?

    त्यति ठूलो कसरत त मैले केही भनेको छैन। तर नेपाली कांग्रेसको ४ वर्षको कार्यकाल हो। त्यो कार्यकाल भित्र पार्टीको अधिवेशन हुनुपर्ने। तर आफ्नो अवधि भित्र चुनावको तयारी नै नगर्ने, सदस्यताको वितरणदेखि तल्लो तहको कमिटी बनाउने काम नगर्ने। त्यसको अर्थ के हो, भन्दा १४ औँ महाधिवेशनलाई अझै धकेल्ने नियत हो। त्यो त प्रस्ट देखिएको छ नि त। त्यसो भएर मैले यो १४ औँ महाधिवेशन सार्न हुन्‍न भनेको छु। यसले पार्टीलाई क्षति पुर्‍याउँछ। कांग्रेसलाई आगामी चुनावको सामना गर्न गाह्रो पर्छ। त्यही भएर समयमै महाधिवेशन सकौँ भनेको हुँ।

    १४ औँ महाधिवेशनमा तपाईंको भूमिका के रहन्छ? उमेरवादी कहाँ रहन्छ?

    अहिले मेरो भूमिकाबारे केही निश्चित छैन। महाधिवेशनमा के गर्ने भन्‍ने हामी सबै बसेर सल्लाह गरेर निर्णय गर्छौँ।

    सिटौला कोइराला र तपाईंहरू मिलेर महाधिवेशनमा देउवालाई एक्लाउने प्रयास भइरहेको हो?

    एक्ल्याउने होइन। पार्टीमा सुधार चाहिन्छ भन्‍नेहरूलाई एकै ठाउँमा राखेर के गर्ने त भनेर सल्लाह गर्ने हो।

    देउवाकै क्षेत्रमा आएर उनैले पार्टी बिगारे भनेर आक्रोश पोखिरहनुभएको छ। यो उनीप्रतिको रिस हो या सहानुभूति पाउने शैली मात्रै?

    मैले यहाँ आएर भनेको होइन। मैले त उतै भनेको कुरा यहाँ आउँदा मिडियामा आएछ। यहाँ त केही भनेको छैन नि मैले। आज पनि बोलेँ देउवाको नामै लिइनँ। देउवालाई दोष लगाएको छैन। मैले कार्यकर्तालाई भनेको छु, 'नेताको मूल्याङ्कन गर। मेरो पनि गर, देउवाको पनि गर अरू नेताको पनि गर। प्रजातन्त्रिक योद्धाहरूले स्वाभिमान राख। तिमीहरूले पनि यो ठीक हो यो बेठीक हो भन्‍ने हैसियत राख्नुपर्छ भनेको मात्रै हो।

    नेविसंघ एक सय दिनदेखि नेतृत्वविहीन छ। भ्रातृ संगठनहरू सबै भद्रगोल छन्। यसको दोषी को?

    मैले भन्दाभन्दै यस्तो बदमासी भएको छ। मैले डेढ वर्षदेखि अधिवेशन गर गर भन्दै आइरहेको छु। अधिवेशन टार्ने मात्रै काम भयो। यही कुरामा मलाई चित्त बुझ्दैन। बेला बेलामा त्यही भएर म रिसाउने हो।

    अधिवेशन टार्ने,  महाधिवेशनको सार्ने, यसको कारण चाहिँ के हो?

    त्यही हो। उहाँहरू जान्नुहोला। उहाँहरूले कुन सफलता कुन बहादुरी गर्नुभएको हो। मैले विकल्प दिऊँ, अधिवेशन गरौँ भनेको हुँ। नत्र म गराइदिन्छु पनि भनेको छु। उसको विरुद्धमा लडेको जो सभापति छ, त्यसलाई जिम्मा दिनु म अधिवेशन गर्दिन्छु पनि भनेको हुँ। त्यो पनि मान्नुहुन्‍न। 

    डराउनु भयो कि सभापति?

    डराउनु भएकै त हो। सायद चुनाव हारिन्छ भनेर होला ?

    बाबुरामले केही दिन पहिले कांग्रेसलाई म्युजियममा राख्दा हुन्‍छ भनेका थिए। त्यस्तो कम्जोर भइसकेको हो र कांग्रेस?

    हाँस्दै ..बाबुराम आफैँ म्युजियम राख्ने हुनु भएको छ। उहाँले दुुईवटा टाउको बनाएर पार्टी बनाउनु भएको छ। त्यो भन्दा दयनीय केही हुन्छ? एउटा नेता भएको पार्टी हुन्छ दुनियाँमा। एउटा अध्यक्ष भएको पार्टी हुन्छ।  उहाँको दुईवटा भए।

    यी कम्युनिस्ट हुँ भन्‍ने त सबै कागजी बाघ रहेछन्। केही गर्ने रहेनछन्। मैले त बाबुरामजीलाई त्यही बेला भनेको थिएँ, 'तपाईं यो पार्टी छोडेर के गर्नुहुन्छ ? महत्वकांक्षीको भीड जम्मा गरेर पार्टी बन्छ ?' हर्नुहोस् पार्टी बन्दैन। पाटी बन्‍नका लागि त 'इमोशनल एट्याचमेन्ट' चाहिन्छ। बरु माओवादीमै थियो नि 'इमोशनल एट्याचमेन्ट।' त्यो छोडेर गएपछि तपाईँ कहाँको न कहाँको हुनुहुन्छ। मैले त उही बेला भनेको थिए। उहाँको बिजोग त देखियो नि। आफ्नो बिजोग भइसक्यो अर्कोलाई भन्‍ने।

    तपाईंहरू केन्द्र र प्रदेश दुवैमा प्रमुख प्रतिपक्षी भएर पनि कमजोर हुनुभएको छ।  किन प्रभावहीन हुनुभयो?

    संस्थागत रूपमा कमजोर भएको हो। बोल्न त संसद्‍मा साथीहरूले नबोलेका होइनन्। पार्टीले पनि कतिपय कुरामा आफ्नो अडान प्रस्तुत गरेको छ। सरकारको विरोधमा उभिएको पनि छ। तर पनि जुन रूपमा पार्टी सदनमा प्रस्तुत हुनुपर्थ्यो त्यो भएको छैन। त्यसमा मूख्य भूमिका त दलको नेताकै हुन्छ नि। उहाँले दारोसँग सदनमा उभिएर फेस गर्ने भए यो सङ्ख्याले केही फरक पर्ने थिएन। हेर्नुहोस्, सङ्ख्या भन्दा ठूलो त मोरल पावल हो। त्यसलाई हामीले प्रयोग गर्न सक्नुपर्छ। त्यो हैसियतमा सरकारलाई च्यालेन्ज गर्न सक्नुपर्छ।

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]