फिचर

ह्विलचियरमा बसेर १४ वर्ष पढाएका शिक्षक भन्छन्– ज्ञान छर्न पाउँदा खुसी लाग्‍छ
SHARES

सरकारले अपांगमैत्री व्यवहार नगरेको गुनासो

जेठ १५, २०७६

    काठमाडौं : ‘एकजना व्यक्ति आफूमा पर्याप्त हो। उसले चाहेको खण्डमा धेरै प्रगति गर्न सक्छ। प्रगति गर्न, समाजको सेवा गर्न मानिसको भिड नै चाहिन्छ भन्ने छैन।’ यो भनाइ हो, शिक्षक विष्णुप्रसाद अधिकारीको। उनको भनाइ र जीवनशैली अरूभन्दा भिन्न छ।

    उनको जन्म २०२५ साल फाल्गुन २४ गते माता चन्द्रकला अधिकारीबाट भएको थियो। उनी परिवारको जेठो सन्तानका रूपमा जन्मिएका थिए। जन्मिँदा त उनी शारीरिक रूपमा अब्बल नै थिए तर भाग्यको लीला कक्षा १ मा पढ्दै गर्दा उनको शरीरमा पोलियोको कमी भयो। फलस्वरूपः दुवै खुट्टा चल्न छाडे, उनी ह्विलचियरको सहारामा जीवन बिताउन बाध्य भए।

    मानिसको जीवनको सबैभन्दा रमाइलो क्षण हो बाल्यकाल। तर, उनी बाल्यकालदेखि नै न त आफ्नो इच्छाअनुसार खेल्न,डुल्न पाए न त हिँड्न नै। उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘मलाई पोलियो हुँदा म कति वर्षको थिएँ, त्यो मलाई याद छैन तर कक्षा १ मा पढ्दै थिएँ। मेरो बाल्यकाल बाल्यकाल जस्तो नै भएन।’ उनले थपे, ‘अहिलेजस्तो औषधि र अस्पतालको सुविधा हुन्थ्यो त मलाई ह्विलचियरको साहरामा जीवन बिताउनुपर्ने थिएन।’

    उनको पुर्ख्यौली घर लम्जुङ। उनी त्यहीँ जन्मेका थिए। परिवारको साथ र सहयोगबाट  लमजुङमै कक्षा ४ सम्मको अध्ययनलाई निरन्तरता दिन सफल भए। ४ कक्षाको पढाइ सकेर उनी परिवारकै सदस्यसँग पढ्ने भनेर काठमाडौं आए र बिएडसम्मको अध्ययन गरे। बिएडपछि भने उनले पढाइलाई निरन्तरता दिन सकेनन्।

    उनी अहिले काठमाडौंको नक्सालस्थित नन्दीरात्रि माध्यमिक विद्यालयमा शिक्षण पेसामा आबद्ध छन्। डल्लुमा बस्दै आएका उनी बेलुका पाँच बजे विद्यालयमा पुगिसक्छन्। उनले विद्यालय आवतजावत गर्नलाई स्‍कुटरको लिएका छन्, विद्यालय पुगेपछि भने उही पुरानै ह्विलचियर। उनी भन्छन्, ‘मैले स्कुटरको सहायता लिएको ४/५ वर्ष मात्र भयो, त्यहाँभन्दा अगाडि म ह्विलचियरमै विद्यालय आउने जाने गर्थें।’

    नन्दीरात्रि माध्यमिक विद्यालयमा रातिको समयमा पठनपाठन हुन्छ। उनी बेलुका पाँच बजेदेखि नौ वजेसम्म विद्यालयमै अध्यापन कार्यमा व्यस्त हुन्छन्। नौ बजेपछि मात्र घर फर्किन्छन्। रातको समयमा विद्यालय आवतजावत गर्न समस्या परे पनि आफूमा भएको ज्ञान विद्यार्थीमाझ छर्न पाउँदा खुसी व्यक्त गर्छन् उनी।

    उनी भन्छन्, 'आफूले जानेको कुरा, आफूभित्र भएको ज्ञान कसैले गर्दैन, कसैले छर्दैन, त्यही आफूभित्र रहेको ज्ञान छर्न पाउँदा, अरूले नगरेको काम गर्न पाउँदा निकै खुसी लाग्छ, यो नै मेरो संघर्षपूर्ण यात्राको सफलता भएको अनुभव हुन्छ।’

    निकै मायालु स्वभावका देखिने उनी ह्विलचियरको सहायताले कक्षाकोठामा जान्छन्, अनि त्यसमै बसेर पढाउन थाल्छन्। सबै विद्याथीलार्ई समान व्यवहार गर्छन्। अनि कहिले आफैँ पढेर सुनाउँछन् त कहिले विद्यार्थीलाई उठाएर पढ्न लगाउँछन्।

    उनले आफू ६२ सालदेखि नन्दीरात्रि माविमा रातको समयमा पढाउँदै आएका छन्। विद्यालयमा शिक्षण पेसामा लाग्नुभन्दा अगाडि उनी जिल्ला शिक्षा कार्यालयमा कार्यरत थिए। जसलाई अहिले जिल्ला शिक्षा समन्वय समितिको नामले चिनिन्छ। त्यो समयमा उनी वैवाहिक बन्धनमा बाँधिइसकेका थिए। उनले भने, ‘जिल्ला शिक्षा कार्यालयमा मैले १४ वर्ष काम गरेको छु, जसलाई मैले डिजिलाइट गरे।’ उनी कार्यरत भएको समयमा शिक्षा कार्यालयमा न त कम्प्युटरको व्यवस्था थियो न त पूराना डकुमेन्ट्रीको सुरक्षा नै। उनले त्यहाँ काम गर्ने सिलसिलामा कम्प्युटरको व्यवस्था गरेर सबै पुराना डकुमेन्ट्रीलाई सुरक्षितरूपमा राख्ने व्यवस्थाको विस्तार गरेर मात्र कामबाट अवकाश लिएको बताउँछन्।

    उनी अहिले आफ्नो छोरोको साथमा बस्दै आएका छन्। छोरा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन्। उनले आफ्नो जिन्दगी निकै संघर्षपूर्ण भएको बताउँछन्। ‘एउटा पीपलको जराले ढुङ्गा, माटोसँग कति लडेर, कति जुधेर आफ्नो बाटो बनाएको हुन्छ, उसलाई आफ्नो बाटो बनाउन, ठाउँ बनाउन जति गाह्रो हुन्छ, त्यति नै गाह्रो थियो मेरो जिन्दगीको यात्रा पनि।’ उनले आफ्ना दुःख वेदनालाई स्मरण गर्दै भने। पीपलको जराले ढुङ्गा, माटोसँग जुध्दै आफ्नो बाटो बनाएझैं विविध समस्यासँग जुधेर यहाँसम्म आउनुको यात्रा नै उनले आफ्नो जीवनको सफलता भएको बताउँछन्। उनले आफ्नै मिहिनेत र परिश्रमबाट तनहुँको देवघाटमा घरसमेत बनाएका छन्।

    उनले विद्यार्थीलाई रातको समय पनि नभनी अध्यापन गराइरहेका छन्। सरकारले अपांग शिक्षकलाई शिक्षा ऐनमा नै घरपायक जान अर्थात् सरुवाको व्यवस्था उल्लेख गरिदिएमा केही हदसम्म सजिलो हुने बताउँछन्। शारिरीकरूपमा अशक्त शिक्षकलाई विद्यालयमा छुट्टै शौचालयको व्यवस्था नगरिदिँदा आफूलाई असजिलो भएको उनको गुनासो छ। अन्य व्यक्तिको तुलनामा शारीरिक अशक्त व्यक्तिलाई शौचालयमा समस्या हुने थाहा हुँदाहुँदै पनि सरकारले यसमा ध्यान नदिनु निकै दुःखद पक्ष रहेको बताउछँन्।

    उनले आफू शारीरिकरूपमा अशक्त भए पनि विद्यालयमा जान नपाएका, पढाइबाट वञ्चित भएका विद्यार्थी भाइबहिनीलाई आफूसँग भएको ज्ञान छर्न पाउँदा खुसी लाग्ने बताउँछन्। उनी भन्छन्, ‘मेरा लागि सरकारले केही गर्नुपर्दैन तर यिनी भाइबहिनीलाई पढ्ने व्यवस्था गरोस्, नन्दीरात्रि विद्यालयलाई अझ अघि बढाउन सहयोग गरोस्, ध्यानाकर्षण गरोस्।’

    उनले बिल गेट्सको उदाहरण दिँदै भने, ‘बिल गेट्स पनि एकजना व्यक्ति नै हुन्,जो विश्वभरि चर्चित छन्, काम गरेरै सफल छन्।’ उनले फेरि थपे, ‘मानिसले आफू एक्लो छु भनेर हार मान्नुहुन्न, समस्यासँग जुधेर अघि बढ्न सिक्नुपर्छ, सक्नुपर्छ। यो नै जिन्दगीको सफलता हो, जीवनको सार्थकता हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]