SHARES
'बम पड्काउँदै जनता रुवाएर नयाँ 'सिस्टम' आउँदैन'
 नरेन्द्र सापकोटा  जेठ २२, २०७६
SHARES

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टीमा प्रवेश गरेका छन्।

वार्तामा पनि नआउने र हिंसात्मक गतिविध पनि नछाड्ने विप्लव समूह पछिल्लो समय सरकारको टाउको दुखाइ बन्दै गएको छ। यो बीचमा विप्लवका एक ठूला नेतालाई सत्तारूढ पार्टीले भित्र्याउन सफल भएको छ। विप्लवमा रहेर पोलिटब्युरोको जिम्मेवारी निर्वाह गरेका उनी पूर्व भौतिक पूर्वाधार तया योजना राज्यमन्त्री पनि हुन्। यसै विषयमा विप्लवको नेकपा छाडेर सत्तारूढ नेकपामा प्रवेश गरेका पदम राईसँग नरेन्द्र सापकोटाले गरेको कुराकानीको सम्पादित अंश। 

जंगलतिरको नेकपा छाडेर शहरतिरको नेकपामा प्रवेश गर्नुभयो नि किन?

पहिलो कुरा हिजो हामीले जुन उद्देश्यले पार्टी बनाएका थियौं। आठौं महाधिवेशनबाट जुन दस्तावेज पारित गरिएको थियो। त्यसअनुसार पार्टी अगाडि बढेन। दोस्रो कुरा हामीले जे गर्ने भनेका थियौं, सरकारको नेतृत्व गरिरहेको पार्टीमा पनि त्यही गर्नुपर्छ भन्‍ने उद्देश्य र सपना मैले देखेँ। त्यसैले सत्तारूढ दललाई सहयोग पो गर्ने हो त डिस्टर्ब गर्ने होइन भन्‍ने लाग्यो मलाई।   

एकीकृत जनक्रान्ति पूरा गर्नुपर्छ भनेर विप्लवलाई तपाईंले साथ दिएको होइन?

एकीकृत जनक्रान्तिको कार्यदिशा हामीले पारित गरेकै हो। तर, यो कार्यदिशामा वार्ताको कुरै नगर्ने, पार्टीलाई भूमिगत बनाउने, डाङडुङ पार्ने भनेर कहीँ भनेको छैन। मध्यमवर्गको घेरा फराकिलो भएको छ। मध्यमवर्गहरूको साथ सहयोग र समर्थनमा जनताको सहभागितामा गाउँ पनि, सहर पनि र राजधानी पनि नछोडीकन जनताको काम गर्दै अगाडि बढ्ने भनिएको थियो। तर, त्यस्तो हुन सकेन। 

शान्तिपूर्ण ढंगबाटै सत्ता परिवर्तन गर्न सकिन्छ भनेर तपाईंहरूले पार्टी गठन गरेको हो त?

सकेसम्म शान्तिपूर्ण गर्ने भन्‍ने हो। अवरोध आउँदा त्यसलाई हटाउने भन्‍ने त छँदै छ। तर, पहिल्यै शान्तिपूर्ण अन्य बाटोहरू हुँदाहुँदै पनि हिजोको पुनरावृत्ति गर्ने काम भयो। एडिक्सनमा  जाने खालको भयो त्यसैले मैले छोडेँ। 

अनि यत्रो 'सिस्टम' फेर्ने लक्ष्य शान्तिपूर्णरूपमा सम्‍भव थियो त? 

'सिस्टम' फेर्ने भनेर अहिलेसम्मका आन्दोलनमा सबैले भनेको कुरा हो। अनि बम पड्काउनेबित्तिकै नयाँ 'सिस्टम' आउँछ त?  जनताका लागि भन्‍ने अनि जनतालाई नै रुवाउँदै हिँड्ने। चन्दा उठाउँदै हिँड्ने। जनताको बालीनाली बिगार्दै हिँड्ने। नेपाल बन्द गरेर गाडी मात्रै पोल्ने। अनि निर्माण र उत्पादन चाहिँ कसले कहिले गर्ने? न उत्पादन, न समृद्धि न विकास केही छैन। खाली ध्वंश मात्रै। विप्लवकै पार्टीको सत्ता आयो भने सबै चिज आकाशबाट खस्छ त। त्यसैले सत्ता परिवर्तन भनको अर्कोलाई ढालेर अफू सत्तामा जानु भन्‍ने होइन। जनताले आफ्नो शासनको अनुभूत गर्ने कुरा हो। 

तपाईं शान्तिपूर्ण भन्‍नुहुन्छ, केही दिनअघि संसदमा गृहमन्त्रीले नै विप्लवको पार्टीले चार कम्पनी सेना निर्माण गरिसकेको भन्‍नुभएको थियो। त्यसो भए कार्यदिशा एकातिर विप्लव हिँडेको अर्कोतिर हो त? 

२०७६ साल जेठ १९ गते बिहान ८ बजेसम्म म औपचारिकरूपमा विप्लवकै पार्टीमा थिएँ। तर, त्यहाँ कति सेना बनाएको भन्‍ने मलाई केही थाहा छैन। म अलि लामो समयदेखि त्यहाँ सरकारसँग वार्ता गर्नुपर्छ भन्‍ने लाइनको बहसमा थिएँ। त्यसकारण मसँग छिपाइएको पनि हुन सक्छ। 

विप्लवले बम पड्काउन थालेको त पार्टी गठन भएदेखि नै हो नि, तपाईंले मलाई थाहा छैन भन्दा जनताले पत्याउँछन्?

म त्यहीँ पार्टीमा थिएँ। थाहा थियो। तर, मैले त्यहाँ बहस चलाइरहेको थिएँ। जेठ १९ गतेसम्म त म उतै हो नि। आज यहाँ आउनेबित्तिकै उताको सबै बेठीक यता मात्रै ठीक भन्‍ने होइन। यसमा लामो 'ब्याकग्राउण्ड' जोडिएको छ। पार्टीले पारित गरेको दस्तावेजअनुसार पार्टी नचलेपछि नै मैले यो भएन भनेर बहस चलाउन थालेको हो। तर सुनुवाइ गर्नु त कता हो कता स्पष्टिकरण पनि नलिइ निलम्बन गर्ने खालको निर्णय भएपछि उहाँहरू वार्ता र शान्तिको पक्षमा हनुहुन्‍न भन्‍ने देखियो। उद्देश्य राम्रो राखेको। तर, यो तरिका त भएन नि। 

उद्देश्य चाहिँ कसरी ठिक?

जनताको लागि गर्ने, समृद्धि सुशासन कायम गर्ने, वैज्ञानिक समाजवाद ल्याउने, जनता र राष्ट्रको लागि मर्न पनि तयार हुने भन्‍ने त राम्रो हो नि। तर, अहिले जे गरिराखिएको छ त्यो त जनताको लागि भएन। 

यिनै उद्देश्य प्राप्तिका लागि १० वर्ष सशस्त्र युद्ध गरिएको होइन र? त्यतिबेला ठिक अहिले बेठिक कसरी?

जनयुद्ध भनेको त्यतिबेलाको आवश्यकता थियो होला। तर, त्यसैलाई पुनरावृत्ति गर्नु भनेको एडिक्सन (लत) हो।  हामी क्रियसनमा जानुपर्छ अब। त्यही पुराना कुरा दोहोर्‍याउनुभनेको एडिक्सनबाहेक केही होइन। नयाँ कुरा गर्नुपर्‍यो नि। त्यो पो क्रियसन हो त। जहिले पनि युद्ध गर्ने, डाङडुङ पार्ने, बाङबुङ पार्ने, तोड्ने, फोड्ने, नेपाल बन्द मात्रै गर्ने, गाडी मात्रै पोल्ने, चन्दा उठाउने भएपछि के भयो त? मार्क्सवादले त यो मात्रै भनेको छैन। जनताको बालीनाली नबिगार भनेको छ। जनताको सहमतिबिना केही नगर भनेको छ। उत्पादन बढाउ भनेको छ। यस्तो चाहिँ केही गर्न नपर्ने? खोइ उत्पादनमा लागेको ? 

त्यसो भए विप्लव युद्धको एडिक्ट हो?

मैले बुझेको विप्लव युद्धको एडिक्ट होइन। विप्लवलाई म अहिले पनि सम्मान गर्छु। उहाँले जे सपना देखेर पार्टी बनाउनुभएको छ। उहाँले देखेको त्यो सपना, जोश जाँगर र हिम्मतप्रति मेरो सम्मान नै छ। तर, पार्टीको गतिविधिले त्यो देखाइराखेको छैन। त्यहाँभित्र पनि केही अवरोधहरू छन् कि भन्‍ने लाग्न थालेको छ।

त्यस्तै सूचना पाइराखेको छु। उहाँसँग मेरो भेट नभएको धेरै भयो परिवर्तन हुनुभयो कि के हो जानकारी छैन। तर, पहिला हामीले सल्लाह गरेर जुन उद्देश्यले पार्टी बनाएका थियौँ, त्योअनुसार चलिरहेको छैन। मैले पार्टी फुटाउन खोज्यो भन्‍ने पनि लाग्ला तर वास्तविकता त यस्तै छ नि। 

विप्लवलाई पछिल्लोपटक कहिले भेट्नुभो?

म पोलिट्ब्युरो सदस्य हुँ। तर, गएको माघ २ गतेबाट उहाँसँग भेट भएको छैन। 

तपाईंले नचाहेको कि उहाँले भेट्न नमानेको?

उहाँले नचाहेको। किनभने मैले शान्ति, समृद्धि, आर्थिक सामाजिक रूपान्तरण, भौतिक विकासका कुरा गरेँ। उहाँहरू त्यो चाहनुहुन्थेन। बैठकमा आफ्ना कुरा राख्ने पनि अवसर पनि पाइनँ। विभिन्‍न कोणबाट मैले आफ्नो कुरा राख्थेँ तर उहाँलाई त्यो निको लागेन। 

विप्लव वार्ता चाहँदैनन् उसो भए?

रिजल्टले त्यस्तै देखायो। सरकारले चाहिँ वार्ताको कुरा गरिरहेको छ तर उहाँमा त्यो छैन। प्रतिबन्ध लगाएको पार्टीको पोलिट्ब्युरो सदस्य मलाई सरकारले किन पक्राउ गरेन त। वार्तासार्ता गोली मार्दे भनेको भए त पदम राईलाई उहिल्यै ठिंगुराइसकेको हुन्थ्यो त। त्यसैले मैले आफ्नो तर्फबाट वार्ताको पहल गरेकाले म स्वतन्त्र भएँ। यसले के देखाउँछ भने सरकार वार्ताको पक्षमा थियो र छ। 

अब तपाईं के सम्‍भावना देख्दै हुनुहुन्छ त?

विप्लव समूहको नेकपाले आठौं महाधिवेशनबाट पारित गरिएको दस्तावेजमा भनेअनुसार मध्यमवर्गको घेरा फराकिलो भएको छ। मध्यमवर्गहरू वार्ताको पक्षमा छन्। तर, उहाँहरुलाई हाम्रो पक्षमा मान्छे आए भन्‍ने लागेको छ। उनीहरूले राजनीतिक मुद्दा हो राजनीतिक ढंगले हल गर्नुपर्छ भनेको दुवै पक्षलाई वार्तामा बस भन्‍ने दबाब हो नि। त्यसैले उहाँहरूले त्यो भ्रम पाल्नुहुँदैन।

राज्यले पनि दमनबाटै सबै कुरा हल गर्नु खोज्छु भन्यो भने त्यो मूर्खता हुन्छ। किनभने शुक्रराजश शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाको हत्या गर्दैमा राणा शासन त टिकेन नि।

त्यसैले जनता र राष्ट्रले के गर्दा फाइदा हुन्छ त्यो गर्नुपर्‍यो नि। अहिलेको जनता आर्थिक समृद्धि प्रेमी छन्। भौतिक विकासवादी छन्। स्थायी शान्तिवादी छन्। र, विज्ञान प्रविधियुक्त जीवन जिउन चाहन्छन्। जनताका लागि हो भने यि चार कुरा ख्याल गर्नुपर्‍यो। योभन्दा बाहिर रहेर सरकार वा विद्रोही जो कोहीले सोच्यो भने केही सम्‍भव हुनेवाला छैन। 

जोसँग वार्ता गर्नुपर्ने हो उहाँहरूलाई नै विप्लवले दलाल, राष्ट्रघाती भन्‍नुहुन्छ अनि कसरी सम्‍भव होला त?

यही त समस्या हो नि। आफूबाहेक अरू सबै दलाल, भ्रष्टाचारी, तस्कारी, राष्ट्रघाती हो। म मात्रै राष्ट्रवादी, क्रान्तिकारी हुँ भन्‍ने सोच नै नेपाली राजनीतिको समस्या हो। मेरो पार्टी मात्रै असल अरूको पार्टी बेकार हो।

अनि मेरो पार्टीको पनि म चाहिँ बुज्रुक हुँ। भन्‍ने नेपाली राजनीतिको संस्कार नै गलत छ। मेरो पार्टी मात्रै होइन अरूको पनि राम्रो छ। म मात्रै होइन मेरो पार्टीमा अरू पनि राम्रा हुन सक्छन् भन्‍ने बुझ्नुपर्यो नि।

'जंगेले जे बोल्यो सही बोल्यो' भन्‍ने संस्कार नेपाली राजनीतिमा डरलाग्दो जडका रूपमा विकास भएको छ। यसलाई तोड्नैपर्छ। त्यसैले विप्लव वार्तामा आउनुको विकल्प छैन। म मात्रै आएर भएन। बन्दुक र बमबाहेक सबै कुरा भ्रम हो भन्‍ने साथीहरू अझै त्यहीँ हुनुहुन्छ।