फिचर

नाटक नसा : लाग्छ जिन्दगी यसैमा बिताइदिऊँ
SHARES

तालीले हौसला दिन्छ, तर कलाले पेट पाल्ने कहिले?

जेठ २६, २०७६

    काठमाडौं : साहित्य कला र दर्शनको कुनै भूगोल र सीमा हुँदैन। यिनलाई कुनै क्षेत्र वा र सीमा बाँध्न खोज्नु पतनको यात्रा थाल्नु जस्तै हो। तर, हाम्रो नियति यहीभित्र घुमिरहेको छ। साहित्य कलाभित्र पर्ने नाटकको अवस्था झन् नाजुक छ। नेपालमा नाटकको इतिहास लामो छ। नेपाली नाटक प्रवर्द्धन सम्वर्द्धनमा लामो समयदेखि धेरै सर्जक र स्रष्टा लागिपरेका छन्।

    रंगकर्मीको साझा समस्या नाटक व्यवसायिक नहुन हो। तर, नाटक गर्ने कलाकारलाई सोधिने पहिलो प्रश्न हो, के गर्छौ? उनीहरूको जवाफ हुन्छ, नाटक। प्रश्नकर्ता पुन: सोध्छ काम चाहिँ के गर्छौं त? यो सवाल जवाफको सिलसिला लामो समयदेखि रंगकर्मीले भोग्दै आएका छन्।

    नेपालमा साहित्य-कला पूर्णरूपमा व्यावसायिक हुन सकिरहेको छैन। यस क्षेत्रमा लाग्‍ने युवाको संख्या लोभलाग्दो छ। यही भिडमा संगीत तथा नाट्य प्रतिष्ठानको आयोजनामा शुक्रबार सर्वनाममा लोक नाटक 'घेरो' मञ्‍चन भयो। यसका निर्देशक हुन् कपिल शर्मा

    कुनै बेला नेपाली नाटक क्षेत्रमा पोखराको बेग्लै परिचय थियो। तर, एउटा कालखण्डसँगै पोखरेली साहित्य कलाको उत्थानमा लागि परेका धेरै सर्जक हराए। अझै पनि पोखरेली साहित्यको स्तरोन्‍नतिमा उनीहरूको भूमिका अहम् छ। तर यहाँका बेथितिबारे उनीहरू मौन छन्। राम्रो कुराको जस लिने सर्जकले नराम्रो कुराको पनि अपजस लिन जरुरी छ। तर, त्यस्तो झमेलामा फस्ने कसलाई फुर्सद?

    पोखरेलीले ६० को दशकमा कुनै नाटकको स्वाद लिन पाएका थिएनन्। तर, त्यहीबेला कपिल शर्मा, सौगात पोखरेल, रेम विक, मनोज घर्तीमगर, विभु भुसाल लगायतका केही युवाको सक्रियतामा युथ क्रियसन थिएटर खुल्यो। यही संस्थाले आफ्नो छैटौं प्रस्तुति 'घेरो' काठमाडौंमा मञ्‍चन गरेको छ। यसका लेखक हुन्, केदार पौडेल।

    युथ क्रियसन थिएटरले अन्तर्राष्ट्रिय रक्सी भट्टी, अर्को ओरालो,'भर्जिन' लगायत नाटक मञ्‍चन गरिसकेको छ। अहिले 'घेरो'ले चर्चा कमाइरहेको छ। रारा राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्‍चन भएको यो नाटक युरोप जाने तयारीमा छ।

    युरोप यात्रामा केही कठिनाइ भइरहेको सुनाउँछन् निर्देशक कपिल शर्मा। बालन शैलीको यस नाटकमा कलाकारले कमै संवाद गरेका छन्। कथाको विषयवस्तु भजनमार्फत् गाइएको छ।

    संवादमा गण्डक क्षेत्रको आञ्‍चलिकता यो नाटकको मुख्य विशेषता हो। नाटकमा केदार पौडेल, लक्ष्मण डुम्रे, प्रान्जल, शर्मीला बस्नेत लगायतको अभिनय देख्‍न सकिन्छ। यही नाटकभित्रका केही सदस्यहबारे हामी चर्चा गर्दैछौं।

    कपिल शर्मा

    पर्वतमा जन्मिएका शर्माको रंगकर्म यात्रा धेरै लामो छैन। सुस्ताएको पोखरेली नाटकको पुनर्जागरणमा लाग्‍न युथ क्रियसन थिएटरमा उनी सुरुदेखि नै क्रियाशील छन्। अन्तर्राष्ट्रिय रक्सी भट्टी, कविता मञ्‍चन, अर्को ओरालो, 'भर्जिन' कथामा उनको अभिनय देख्‍न सकिन्छ। भट्टीको सपनामा उनको सह-निर्देशन छ।

    'घेरो'मा उनी निर्देशकका रूपमा देखिएका छन्। यो यात्रामा उनी सफल देखिए। 'पोखराको नाटक कर्मलाई अगाडि बढाउने कोसिस गरिरहेका छौँ', उनी भन्छन्, 'घेरो' नाटकको चर्चा र लोकप्रियताले झन् हौसला थपेको छ। दर्शकको साथ र सहयोगले थप उत्साहित छौँ।'

    पोखरा आफैँमा सानो ठाउँ हो। तर, कला साहित्यको विकास गर्न भूगोलले कुनै अर्थ राख्दैन र असर गर्दैन। कलाकारको अभाव र नाटकघरको अभाव भने पोखराले भोगिरहेको छ। पछिल्लो क्रममा पोखरामा नाटक घर थपिँदै गएका छन्।

    युथ क्रियसनले पनि नाटक घर बनाइरहेको छ। आवश्यक भौतिक पूर्वाधार र नाटकमा लगानीको अभाव अहिलेको मुख्य समस्या हो। पोखरालाई काठमाडौं जस्तो सहज छैन। नाटकका लागि नयाँ अनुहारका कलाकार लिँदा अभिनय कलामा कहीँ न कहीँ निखारको अभाव खट्किरहन्छ। तर, यी समस्या विस्तारै समाधान हुँदै जाने कपिल बताउँछन्।

    नाटक व्यावसायिक हुनपर्ने मत राख्ने उनी हरेक कलाकारलाई संस्थाको आर्थिक अवस्थाअनुसार पारिश्रमिक दिइरहेको बताउँछन्। भन्छन्, 'कलाकारलाई तालीले हौसला बढ्छ। आत्मा भरिन्छ। म चाहन्छु कलाकारले कलाबाटै पेट भर्ने वातावरण पनि हुन जरुरी छ।'

    केदार पौडेल

    लेखक या रंगकर्मी बन्‍न नाटक लेखनमा नआएको बताउने पौडेल विभिन्‍न विदेशी नाटक अनुवाद गरिरहेका छन्। 'घेरो'मार्फत् उनले आफूलाई  लेखनमा अब्बल सावित गरेका छन्। कास्कीमा जन्मेका उनी यो नाटकलाई सुरुवातमा वृतचित्र बनाउन लागिपरेको बताउँछन्।

    'घेरो' मा अधिकांश पात्र आफ्नै समाजमा रहेका व्यक्तिहरूको चरित्रचित्रण रहेको बताउँछन् उनी। भन्छन्, 'हामी समाजभन्दा पर गएका छैनौँ, मात्रै समाजमा छरिएका चरित्रलाई एकीकृत गर्ने कोसिस गरेका हौँ।'

    नेपाली नाटकमा विभिन्‍न प्रयोग भइरहेका छन्। उही चरित्र चित्रण र उही कथावस्तु भन्दा फरक तरिकाले आफ्नो समाजलाई देखाउन सके नेपाली नाटकको स्तरवृद्धिमा इँटा थप्न सकिने बुझेर नै बालनशैलीमा नाटक लेखेको बताउँछन् पौडेल। पौडेल स्वयम् नाटकमा झाँक्री र भैँसी बनेर अभिनय गरेका छन्।

    नाटकमा उनको अभिनय कम छ। तर, जीवन्त अभिनय छ। उनले सुनील पोखरेल र अनुप बरालको नाटक कार्यशालामा पुगेर सिके। पोखरामा नाटकमा लागिरहेका नाटककार कृष्ण उदासीको 'तैँ चुप मै चुप' पहिलोपटक अभिनय गरे।

    त्यसपश्चात् कपिल शर्मासँग भेट भएको सम्झन्छन् उनी। 'भर्जिन' कथामा उनले अभिनय गरे।  'भर्जिन' कथा नै आफ्नो नाटक यात्राको टर्निङ प्वाइन्ट मान्छन् उनी। त्यसपश्चात् उनी पनि युथ क्रियसन थिएटरमा आबद्द भए।

    झुक्किएर पोखिएको चामललाई मसानको रूप दिएर एक झाँक्रीले निरक्षर व्यक्तिलाई भ्रममा पारी आर्थिकोपार्जन गरेको देखाउन खोजिएको छ नाटकमा। 'घेरो' पूर्णत: नेपाली परम्परामा रूढीवादी संस्कृतिको रूप हो। पेसाले मोबाइल व्यवसायी उनी 'घेरो'को सफलता सम्पूर्ण कलाकार नै रहेको बताउँछन्।

    उनका केही अनुदित नाटक रिहर्सल गर्ने तयारीमा छन्। उनका योजना पनि कपिलको भन्दा फरक छैन। भन्छन्, 'हामी पोखरेली नाटकलाई थप उचाईमा पुर्‍याउन मिहिनेत गरिरहेका छौँ।' अहिलेको अवस्थामा नाटक लेखन र मञ्‍चन आफ्नो योजना रहेको पौडेलले बताए।

    शर्मिला बस्नेत

    शर्मिला 'अर्को ओरालो' नाटकसँगै युथ क्रियसनमा जोडिइन्। जसको निर्देशन पुरु लम्सालले गरेका थिए। नाटक हेर्दा सजिलो लाग्छ। अर्काले गरेका कमजोरी सजिलै पत्ता लाग्छन्।

    नाटक हेर्नु र अभिनयमा आकाश जमिनको फरक छ। नाटक गर्न सबैभन्दा ठूलो आत्मविश्वास जरुरी रहेको बताउँछिन् उनी।  'भर्जिन' कथामा पनि उनी आबद्ध भइन्।  वादी समुदायको  चरित्र र पश्चिमी लवजमा आफ्नो स्वर फिट हुन नसक्ने डरले तर्किइन्।  स्क्रिप्ट पनि पढिन्। तर आँट आएन। आँट भरिदिने काम कपिलले गरिदिए।

    उनी भन्छिन्, 'कतिपय विषय यस्ता हुन्छन्, जसमा अरूले आँट दिनुपर्छ। नाटकमा पनि हौसला र आँट भरिदिने काम कपिल दाइले गरिदिनुभयो।' 'भर्जिन' कथामा उनले पोखरेली दर्शकको मन जितिन्। उनको चर्चा पोखरेली नाट्यप्रेमीको मुखमै झुण्डियो। लोकशैलीको नाटक गर्ने उनको रहर थियो।

    सुरुमै 'घेरो'मा खेलाउने कुरा थियो। तर त्यसबेला शर्मिला 'कर्पोरेट क्युज ब्युटी प्याजेन्ट'मा प्रतिस्पर्धी थिइन्। जसले 'घेरो'मा खेल्ने अवसर चुकाइन्। यसमा रंगकर्मी एनिकाले अभिनय गरेकी थिइन्। पोखरामा मञ्च‍न भएपछि 'घेरो'को चर्चा सुरु भयो।

    एनिकाको व्यस्तताले यो चरित्रमा पुन: शर्मिलाको कमब्याक भयो। उनी भन्छिन्, 'एनिकाले सुन्दर अभिनय गर्नुभएको थियो। उहाँको ठाउँमा म आबद्द हुँदा अभिनयमा च्यालेन्ज थियो। सबैको साथ-सहयोगले 'पुछारे कान्छी' बन्‍ने अवसर जुर्‍यो।' 

    समाजमा महिलालाई सबैभन्दा धेरै प्रश्न गरिन्छ। उनी नाटक गर्दा पनि धेरै प्रश्नहरू आए। तर, सबै प्रश्नहरूको जवाफ दिँदै हिँड्नु पनि सकस नै हो। उनलाई सोधिने प्रश्न के गर्छ? कहाँ जान्छ? के खान्छ? कस्को संगत छ? लगायतको प्रश्नहरूले तनाव हुन्थ्यो उनलाई।

    'जब कोही व्यक्तिले नयाँ काम गर्न थाल्छ प्रश्न सुरु हुन्छ। प्रश्नको जवाफ दिऊँ कि काम गरूँ? यो एकदमै ठूलो सकसको कुरा हो', उनी भन्छिन्, 'समाजमा बसेपछि समाजले हामीसँग प्रश्न सोध्ने अधिकार राख्छ तर सधैँ प्रश्न मात्र होइन महिलालाई विश्वास पनि गर्नुपर्छ नि।'  'घेरो' मा उनी 'पुछारे कान्छी'को नाममा अभिनय गरेकी छिन्। मायालु, ज्ञानी र असल पात्रको रूपमा देखा परेकी उनले आफ्नो चरित्रमा जीवन्त अभिनय गरेकी छिन्।

    लक्ष्मण डुम्रे

    लक्ष्मण डुम्रेका लागि नाटक टेलिसिरियल लाग्थ्यो। पहिलोपटक सरोज अर्यालले नाटकको कार्यशाला गर्दै थिए। जसमा उनलाई पनि निमन्त्रणा गरेका थिए। कार्यशाला भन्‍ने पनि थाहा थिएन। जब सौगात पोखरेल, कपिलसँग भयो तब नाटकको परिभाषा बदलियो।

    सौगातले उनलाई पहिलोपटक नाटकघर लिएर गएको सम्झन्छन् डुम्रे। उनलाई नाटक घरले तान्यो। यूट्युबमा नाटकसम्बन्धी सबै भिडियो पनि हेरे।नाटकसम्बन्धी लेखेका सबै पुस्तक पढे।

    त्यसभन्दा अघि आफूले नाटक जानेको छु जस्तो लाग्थ्यो उनलाई। जब कार्यशालामा पुगे। त्यसपछि उनले बुझे नाटक भनेको जिन्दगी बुझ्‍नु जस्तै कठिन रहेछ। त्यसलगत्तै उनले 'भट्टीका सपना' भन्ने नाटकमा अभिनय सुरु गरे।

    नाटक यात्रा पनि युथ क्रियसन थिएटरबाटै सुरु भएको बताउँछन्। पोखरा थिएटरमा फस्ट ब्‍याचको तीनमहिने वर्कसपमा सहभागी भए उनी। हालसम्म उनले 'सिरुमै रानी', 'घेरो'मा 'पुछारे कान्छो' को रूपमा अभिनय प्रस्तुत गरे।

    उनी पोखरामा मार्केटिङ अफिसर छन्। एकातिर नाटक अर्कातिर जागिर। जागिरे जिन्दगीबाट फुर्सद निकालेर नाटक गर्छन् उनी। सुरुवातमा उनलाई नाटकको रहर लाग्यो। विस्तारै लत लाग्यो। अहिले अभिनय गर्ने भोक लाग्छ।

    'पोखरेलीहरूको साथ, सहयोग र माया पाउँदा छोड्न मन लाग्दैन। लाग्छ जिन्दगी नै अभिनयमा बिताइदिऊँ', उनी भन्छन्, 'आफूमा पनि परिवारिक  जिम्मेवारी छ। नाटक व्यावसायिक नभएकाले चटक्क छोडिदिऊँ जस्तो पनि लाग्छ।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]