राजनीति

करारमा कर्मचारी भर्ना असम्भव : मन्त्री पण्डित
SHARES

जेठ २८, २०७६

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन पूर्ण रुपमा सम्वैधानिक, लोकसेवा आयोगको मूल्यमान्यता र स्थानीय तहको सांगठानिक संरचना अनुरुप नै रहेकोले यसलाई रोक्न अथवा खारेज गर्न आवश्यक नभएको बताएका छन्। लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको आरोप लगाउँदै त्यसलाई रोक्न संसदीय राज्यव्यवस्था समितिले निर्देशन दिनु गलत भएको दाबी मन्त्री पण्डितले भने ‘संघीय निजामति ऐन संसदीय राज्यव्यवस्था समितिमै छलफलको क्रममा रहेकोले पुरानै कानुनी व्यवस्था अनुसार विज्ञापन प्रकाशित भएकोले यो कानुनसम्मत र समावेशिताकै आधारमा विज्ञापन गरिएको हो।’

    सञ्चार केन्द्र नेपालले ‘लोकसेवा आयोगले थालेको परीक्षा र राज्यव्यवस्था समितिको निर्णयले सिर्जना गरेको अन्योलता’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्। कार्यक्रममा मन्त्री पण्डितले प्रदेश लोकसेवा गठन नभइसकेको अवस्थामा संघीय लोकसेवा आयोगद्वारा नै कर्मचारी भर्ना गर्ने कानुनी प्रावधान अनुसार ६ सय ३ वटा स्थानीय तहले १६ हजार ५ कर्मचारी पूर्ति गर्न मन्त्रालयलाई पत्र प्राप्त भए पनि प्राविधिक कारणले सबै कर्मचारीका लागि विज्ञापन खुलाउन नसकिएको भन्दै छिट्टै बाँकी कर्मचारीका लागि समेत विज्ञापन खुलाइ रिक्त कर्मचारीको पूर्ति गर्ने बताए।

    लोकसेवा आयोगले माग गरेको ९ हजार १ सय ६१ कर्मचारीका लागि सोमबार (हिजो) सम्म ८० हजार १ सय ४१ जनाले आवेदन दिएका छन् जसमध्ये २० हजार १ सय ७७ महिला, ९ हजारभन्दा बढी आदिवासी जनजाति,  ४ हजार मधेशी  र ४३ अपाङ्गले आवेदन दिएको मन्त्री पण्डितले जानकारी गराए। संसदीय राज्यव्यवस्था समितिले हाल रिक्त रहेको दरबन्दीमा करार र अस्थायी नियुक्ति गर्न निर्देशन दिएकोप्रति आपत्ति जनाउँदै मन्त्री पण्डितले प्रश्न गरे ‘जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले भर्ना गरेको आफन्तबाट कस्तो जनसेवाको अपेक्षा गर्ने ?’ मन्त्री पण्डितले ६ लाख युवाले एक वर्षमा लोकसेवाको तयारी गरिरहेकोले करारमा कर्मचारी भर्ना गर्न नहुने तर्क गर्दै भने –‘करारमा कर्मचारी भर्ना असम्भव छ।’

    कार्यक्रममा लोकसेवा आयोगका पूर्व सदस्य प्रा.डा. भीमदेव भट्टले संसदीय राज्य व्यवस्था समितिले लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापनलाई इस्यु बनाएर संसद विघटन गर्न खोजेको आरोप लगाए। आयोगले आफ्नो कानुनी मूल्य मान्यताभित्र रहेर कर्मचारी भर्नाका लागि विज्ञापन गरे पनि राज्यव्यवस्था समितिले विनाअध्ययन आफ्नो धारणा सार्वजनिक गरेर आफ्नो गरिमा घटाउने काम गरेको दाबी गरे।

    त्यसैगरी, लोकसेवा आयोगकै पूर्व सदस्य टीकादत्त निरौलाले राज्यव्यवस्था समितिले हालै गरेको निर्णय राजा महेन्द्रको हुकुमी शासन स्मरण गराएको बताउँदै त्यतिबेला पूर्वराजा महेन्द्रले हुकुमीका भरमा लोकसेवा आयोगलाई अविश्वास गरेका थिए। विधिको शासन स्थापित गराउनको निम्ति लोकसेवा आयोग महत्वपूर्ण निकाय भएको बताउँदै सबैको आशा र भरोसा रहेको स्वायत्त निकायमाथि धावा बोल्नु दुःखद भएको बताए।

    त्यस्तै, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले योग्य जनशक्तिले लोकसेवामाथि गरेको भरोसामाथि राज्यव्यवस्था समितिको निर्णयले बज्रपात भएको बताए। उनले यसपटकको लोकसेवाको तयारी गर्नेमा महिलाको संख्या अधिक रहेको बताउँदै अब मुलुकको शासनप्रणालीमा ठूलो संख्यामा महिलाले प्रवेश गर्नेमा आफूँ आशावादी रहेको बताए।

    त्यसैगरी कार्यक्रममा राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितले राज्यसमितिको निर्णयले पत्रकारहरु दुःखित भएको बताउँदै संसदीय समितिहरूले गरेको निर्णयले कस्तो प्रभाव पार्छ भन्ने विषयमा गहिराईमा नपुगी निर्णय गर्दा ठूलो असर पुग्ने कुरा यही राज्य व्यवस्था समितिको निर्णयले पुष्टि गरेको सन्दर्भ उल्लेख गरे।

    त्यसैगरी, कार्यक्रमका सभापति गोविन्दप्रसाद चौलागाई|ले लोकसेवा आयोगले योग्य नागरिकलाई स्वदेशमै रहेर काम गर्ने वातावरण मिलाइरहेको सन्दर्भलाई बिर्सिएर राज्यव्यवस्था समितिले आफ्नो निर्णयलाई पुर्नविचार गर्नुपर्ने अन्यथा परीक्षाको प्रक्रियामा सामेल भएका योग्य युवा विदेशमा पलायन हुने अवस्था आए राज्यले यसको ठूलै मूल्य चुकाउनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]