थाहा संवाद

रूपचन्द्रले किन भने दलहरूलाई शत्रुको दास?
SHARES

२० वर्षअघिको अन्तर्वार्ता

असार ७, २०७६

    [हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल २० वर्षअघि राजनीतिसँगै पत्रकारिता पनि गर्थे। यी नेताद्वय आवद्ध जनएकता साप्ताहिक र गर्जन साप्ताहिक वामपन्थी विचार-विश्लेषणका लागि निकै प्रसिद्ध थिए। दुवै पत्रिकामा 'थाहा' आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको अन्तर्वाता पटक–पटक प्रकाशित भएका छन्।

    तीमध्ये विष्टको निधन हुनु दुई साताअघि, २०५६ जेठ २४ गते जनएकता साप्ताहिकमा छापिएको अन्तर्वार्ता रुपचन्द्रको २० औं स्मृति दिवशका सन्दर्भमा प्रस्तुत गरिएको छ। यो अन्तर्वार्ता रुपचन्द्र विष्ट स्मारक समितिद्वारा प्रकाशित ''थाहा'' पुस्तकमा संग्रहित छ।

    अन्तर्वार्तामा रुपचन्द्रले तत्कालिन राजनीतिक परिस्थितिको विश्लेषणमात्रै गरेका छैनन्, माओवादी विद्रोहलाई हल गर्ने उपायबारे आफ्नो मत पनि प्रकट गरेका छन्। यो भिन्दै कुरा हो कि दरवार हत्याकाण्डसहितका घटनाक्रम र परिस्थितिका कारण देशको राजनीतिक कोर्स रुपचन्द्रले सुझाएको बाटोभन्दा बिल्कुल अर्कैतिर गयो।]

    म मकवानपुरको दामनमा सात वर्षसम्म रेष्टुराँ चलाएर बसेँ। २०३१ देखि २०३८ सालसम्मको त्यो ७ वर्ष मलाई उमेरमा ७ महिना हिँडेजस्तो पनि लागेन। तर राष्ट्रिय पञ्चायत सदस्य भएर ७ वर्षमात्र काम गर्दा पनि ३०–४० वर्षको उमेर हिँडेजस्तो लाग्यो। यसरी हिसाब गर्दा मेरो उमेर बेग्लै बन्छ। तर पात्रोको हिसाबमा ६५ वर्षको भएँ।

    २००८ सालदेखि राजनीतिमा लागेर म २००९ सालमा कम्युनिष्ट पार्टीको सदस्य भएँ। पार्टीको सेल कमिटिको सचिवसम्म भएको थिएँ। २०२१ सालसम्म पुष्पलालको साथमा रहेर काम गरेँ। त्यसपछि मसँग कम्युनिष्ट पार्टी डराएछ। घर पहिल्यै छाडिसकेको थिएँ, कम्युनिष्ट पार्टी पनि छाडेर स्वतन्त्र संगठन गर्न थालेँ। २०२१ सालमा मकवानपुरको दामनमा प्रधानपञ्च भएँ। त्यसपछि दुईपटक त्यही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्य पनि भएँ। म प्रधानपञ्च हुँदा नै २ वर्ष जेल बसिसकेको थिएँ। रापंस हुँदा पनि ६ महिना जेल बस्नुपर्‍यो। विद्यार्थी हुँदै पटक–पटक जेल परिसकेको थिएँ। म कहिले हिमाल चढ्न गएँ, कहिले समुद्रमा पौडी खेल्न।

    अहिले माओवादी सैनिकतन्त्र र राजावादी सैनिकतन्त्र जुधेर गृहयुद्ध हुने परिस्थिति मेरो चिन्तनमा पाइएकोले महा–जनमूखी अभियानलाई चुनावमा प्रस्ताव गर्नु ठीक ठानेर म काठमाडौं आएको हुँ।

    जनतालाई के 'थाहा' दिन चुनावमा आउनुभएको?

    'थाहा' लेनदेनको विषय होइन। मुख्यगरी सम्बन्ध तीन प्रकारका हुन्छन्– छुट्ने, मिल्ने र जुध्ने। तर 'थाहा' कामले, साधनाले, अनुभूतिले र तपस्याले साक्षात्कार तहका हुन्छन्, जुन आ–आफैँले 'थाहा' पाउनुपर्दछ। कुरा पढेर वा सुनेर 'थाहा' हुँदैन। आगोलाई नछोइकन त्यसको अनुभव हुँदैन। मैले 'थाहा' दिने होइन, ब्युँझाइदिने हो। मान्छेबीचमा केही प्रश्न ल्याइदिएपछि, केही जगाइदिने काम गरेपछि, कोही ब्युँझन सक्छन्। 'थाहा' खरिदबिक्रीबाट फेला पर्ने विषय होइन।

    ''थाहा'' कस्तो अभियान हो?

    'थाहा' आन्दोलन-मान्छेलाई जगाउने, ब्युँझाउने दर्शन वा आन्दोलन हो। ब्युँझिएपछि, उघ्रिएपछि र अनुभव गरेपछि 'थाहा' हुन्छ। निष्पक्ष सक्रियताको अभ्यास 'थाहा'को निम्ति महत्वपूर्ण कुरा हो। पक्ष विपक्षमा लागुञ्जेलसम्म 'थाहा' हुँदैन, ध्यानपूर्वक काम गरे 'थाहा' हुन्छ। ध्यान भनेकै निष्पक्ष सक्रियताको अभ्यास हो। पञ्चायतकालमा जनमुखी राजनीति भयो। कलाबाट विद्रोहकारी परिवर्तन, नारीबाट सामाजिक परिवर्तन, श्रमिकबाट क्रान्तिकारी परिवर्तन, जीवन विषयी वुद्धिजीवीबाट विचार स्वतन्त्रताका अभ्यासहरु जनमुखी राजनीतिबाट भए। शोषक शासकहरुको विरोध भयो।

    यसपालीको चुनावमा विदेशी हस्तक्षेप खुब भयो भनिन्छ, तपाईंलाई कस्तो लाग्छ?

    विदेशीहरुले त आफ्नो काम गरिहाल्छन् नि! तर हाम्रा पार्टीहरुले जो शत्रु उसैको दास बन्ने काम गरे। नेपाली कांग्रेस सरकारमा गएको देखेर एमाले पनि हिन्दुस्तानको रखौटीसम्म नभइ त सरकार चलाउन पाइन्न भनेर दलाली गर्नेतिर लाग्यो। यसरी कांग्रेस नेपालीमाथि कुदृष्टि राख्ने हिन्दुस्तानीहरुको श्रीमतीजस्तो भयो भने एमाले रखौटीजस्तो भयो। कांग्रेस हटाएर सरकारमा जान एमाले पनि सहकांग्रेसजस्तो भयो।

    नेपाली कांग्रेस त जन्मसिद्ध हिन्दुस्तानीहरुको पार्टी भएको छ। यो पार्टीका सबैजसो नेता हिन्दुस्तानकै तावेदारी गर्छन्। शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा चाहिँ अलिकति अडान लिए। चीनतिरबाट केही हातहतियार ल्याएको विषयमा भारतले हेपाहा प्रश्न गर्‍यो। तर शेरबहादुरले 'नेपाल एउटा स्वतन्त्र देश भएकाले उत्तर–दक्षिण वा जताबाट पनि ल्याउन सक्छ' भनेपछि अत्यन्तै अनैतिक प्रकारले प्रधानमन्त्रीबाट झिकियो। यो आलो घटना भएकाले सबैलाई थाहै छ। कांग्रेस एउटा समकालिन पार्टी भएकाले त्यसले गर्ने सुकर्म र कुकर्मको असर हाम्रो जीवनमा पर्छ। त्यसैले उसले गर्ने सबै क्रियाकलाप हाम्रो चासोको विषय बन्नुपर्छ। यसपाली कांग्रेसले बहुमत ल्याएको हिन्दुस्तानकै बलले हो। कांग्रेसलाई जिताउनकै लागि एमाले, राप्रपा फोर्ने काम पनि भए।

    माओवादी जनयुद्धबारे के भन्नुहुन्छ?

    माओवादी र मेरो सबैजसो कुरा मिल्छ। दर्शन, सिद्धान्त र दृष्टिकोण मिल्छ। माओवादी र मेरो निशाना पनि एउटै हो। फरक यत्ति हो, उनीहरु गोलीले हान्छन्, म बोलीले हान्छु। उनीहरुको शोषणरहित समाज सिर्जना गर्ने दर्शन, द्वन्दात्मक भौतिकवादी सिद्धान्त, श्रमलाई प्रधानता दिने दृष्टिकोण...मेरो पनि त्यही त्यही हो। हाम्रो निर्वाचन कार्यनीति र कार्यक्रममात्र फरक छ।

    हामी निर्वाचन राजनीति गर्छौं। तर बहुसंख्यक मान्छेहरु निर्वाचनमा मतदान नगरेर मतपत्रमात्रै दान गरिरहेका छन्। यो एकप्रकारको धाँधली हो। यो धाँधलीले जनताका शत्रुहरुले चुनाव जितिरहेका छन्। बदमासहरु सरकार र प्रतिपक्षमा पुगेकाले यिनीहरुको विरुद्धमा जनमत विकास गर्नुपर्ने आवश्यकता भएकाले जनमूखि अभियान सञ्चालन गर्दैछौं। अहिले माओवादी जनयुद्धले शहीद उत्पादन आन्दोलन गरिराख्या'छ। त्यसमाथि विदेशी दलालहरुले राज्यआतंक मच्चाएका छन्। यी दुइवटै असह्य छ। तर सहिएको छ। यस्तो असह्य चीज सहेर बसिराख्न कसरी सकिएको छ? आफैंलाई प्रश्न गरिँदै छ।

    मतपत्र दान गर्नेहरुलाई साँच्चिकै मत दिने बनाउने राजनीति के हो?

    अहिले म जे गरिरहेको छु, त्यही हो। राज्य सञ्चालकहरुले कानुन कस्तो चाहिन्छ भनेर छोरीमान्छे र गरिब जनतासँग सोध्नुपर्छ। छोरीमान्छे र गरिबले कानुन बनाउने राजनीति गर्नुपर्‍यो। के गर्न पाइने? के गर्न नपाइने? इन्साफे कानुन चाहियो। विकास गर्नका लागि बजेट कसरी उठाउने? खर्च कसरी गर्ने? यस्तो विकासे कानुनसम्बन्धी राजनीति चाहियो। प्रत्येक मान्छेलाई तिम्रो एक मत तिमीजस्ता यो मुलुकका जम्मै मान्छे मात्रै होइन… यहाँका बोटविरुवा, ढुंगामाटो, नदी सम्पूर्णको निम्ति हो, इन्साफ र विकासको निम्ति हो भनेर बुझाउनु पर्‍यो। शोषित–पीडितहरुले आफ्नो मतलाई मुक्ति मतका रुपमा बुझ्नुपर्‍यो। यतिमात्र भएर पनि पुग्दैन, सबैभन्दा पहिले यहाँ नारी दासत्व खत्तम गर्ने क्रान्ति गर्नुपर्‍यो। यसमा नारीहरुको मत हुनुपर्‍यो, नारीहरुले बोल्नुपर्‍यो। समाजलाई देख्नसक्ने विहंगम दृष्टि नारीमा जगाउनु पर्‍यो। नारीको मुक्तिमत नै मुख्य क्रान्ति हो। यो गाँठी कुरा हो।

    एउटी तरुनीलाई बाटामा अपराधी गुण्डाहरुले दु:ख दिन्छन्, तर त्यो देख्‍ने सयौं मान्छेहरु चुप लाग्दै तमासा हेरेर बस्छन्। एउटा सज्जनलाई दुई चारजना फटाहाले दु:ख दिन्छन्, अरु तमासा हेरेर बस्छन्। अनि यिनले के जनतन्त्र गर्छन्!

    मलाई एउटा गजबको कुरा खट्किरहेको छ। यहाँ मुख्य क्रान्ति नै आएको रहेनछ। महात्माहरुले किसान, मजदूर र चोरडाँकालाई उस्तै देख्दा रहेछन्। किनभने किसान मजदूर कमाई गर्छन् र ज्यान पाल्छन्। चोरडाँकाहरु लुटेर, चोरेर खान्छन् र ज्यान पाल्छन्। दुवैथरी जसरी पनि ज्यानमात्र पालिरहेका छन्। तर साधारणले यिनीहरुको फरक नदेख्ने अथवा देखेर पनि नीच मारेर बस्ने गर्‍यो भने जनमतको युद्धमा पनि अपराधीले जित्छ। हाम्रो देशमा अहिले त्यही भइरहेको छ। ठीक बेठीक छान्ने, विचार गर्ने खालको साधारण मान्छे भएनन्।

    माओवादीहरु पनि त्यही क्रान्तिमा लागेका होइनन् र ?

    अनेकौं सम्भावना छाडेर अहिले बन्दुक लिएर हान्दै हिँड्ने कुरासँग म सहमत हुन सकिनँ। तर उनीहरु यसरी नै सफल हुन्छन् र केही हुनसक्छ भन्छन्, त्यो उनीहरुको कुरा भयो। मेरो विचारमा अब राजावादी–राष्ट्रवादी र माओवादी–राष्ट्रवादी यो महा–जनमूखी अभियानमा समाहित हुनुपर्छ। यसरी जनमत विकास हुनासाथ दुवैथरीले मनग्ये महत्व पाउँछन्। अनि भारतको दलाली गर्ने सरकार र प्रतिपक्षीहरु घुँडा टेकेर आउनुपर्ने हुन्छ। उपयुक्त समाधानको बाटो यही हो।

    माओवादीको राष्ट्रवाद र राजाको राष्ट्रवाद मिल्नुपर्छ भनेर के आधारमा भनिराख्‍नुभएको छ? 

    स्वाँठहरुले ध्यानमग्न मान्छे र निदाएको मान्छे उस्तै देख्छ। पागल र महात्मा एउटै देख्छ। जब जापानसँग युद्ध गर्नुपर्‍यो– माओत्से तुङ र च्याङ काइ सेक मिले कि मिलेनन्! अहिले नेपालमा शाही नेपाली सैनिक र माओवादीलाई जुधाउने खेल भइरहेको छ। माओवादीले सैनिकतन्त्र राष्ट्रिय सेनाविरुद्ध प्रयोग गर्ने कि नगर्ने भनेर सोच्नुपर्छ। त्यस्तै राजाले पनि सेनालाई माओवादी छापामारविरुद्ध प्रयोग गर्नुहुँदैन। यदि त्यस्तो भयो भने सिधै कांग्रेसको मालिक भारतको नेपालमाथिको हमलालाई सजिलो पर्छ। यो परिस्थितिमा नेपालको सार्वभौम स्वतन्त्रताको निम्ति राजसंस्थाको महत्व देख्न नसक्नु कत्रो अन्धोपना!

    जुनबेला जनताले मतको दुरुपयोग गरिरहेको छ, कांग्रेस एमालेजस्ता शत्रुलाई भोट दिइरहेका छन्। यस्तो बेलामा गणतन्त्रको नारा दिनु त विदेशी अपराधीको सिआइडी संस्थाहरुको हातमा देश सुम्पिनुजस्तै हो। अहिले गणतन्त्रको नारा दिनेहरुले यही खोजेका छन्।

    दरवारचाहिँ कहिल्यै राष्ट्रियताबारेमा चुक्दैन भन्ने आधार के छ र ?

    टोपी लाउने मान्छेहरुले राष्ट्रियतालाई छोड्लान् तर श्रीपेच लाउनेले कहिल्यै राष्ट्रको माया मार्दैन। हामीसँग श्रीपेच छ, तर हिन्दुस्तानीसँग छैन। नेपालीले वीरेन्द्रलाई शीरमा श्रीपेच लगाउन दिइरहेका छन्। राष्ट्रिय सार्वभौमिकता र अखण्डताको लागि श्रीपेचको महत्व छ।

    तपाईं राजावादी कि गणतन्त्रवादी?

    म गणतन्त्रवादी हुँ। म अमेरिका, हिन्दुस्तान, चीन इत्यादि गणतन्त्र देशमा पनि राजा राख भन्ने मान्छे होइन। अहिले जनताले आफ्नो मतलाई नबुझिरहेको अवस्थामा कसरी मुलुकको हित हुन्छ भन्ने कुरा गम्भीर छ। यस्तो अवस्थामा गणतन्त्रको नारा दिने माओवादीबाहेक सबै हिन्दुस्तानी दलाल हुन्। माओवादीचाहिँ मभन्दा माथिल्लो तहमा भएकाले म विरोध गर्न सक्तिन।

    नेपालमा राष्ट्रियताका लागि लड्ने तपश्वी नेताहरु छैनन्?

    छन्, एउटा म नै हुँ। जसले जे भने पनि अर्को टंकप्रसाद आचार्य नै हो। त्यस्तै डिल्लीरमण रेग्मी, रामहरि शर्मा पनि १९९७ सालदेखिकै तपश्वी हुन्। ऋषि देवकोटा, सरोज कोइरालासहित अनेकौं थिए। उनीहरुको सरकारद्वारा हत्या गरियो। जुन अपराधीहरु अहिले सार्वजनिक भइरहेका छन्।

    अहिलेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कस्ता मान्छे हुन्?

    अहिले हिन्दुस्तानी कृष्णप्रसाद नकच्चरो प्रधानमन्त्री भएका छन्। उनले माओवादी समस्या पुलिस र सेनाले सुल्झाउँछु भने। त्यसोभए प्रधानमन्त्री कृष्णप्रसादको के काम? सेनाको नाम लिनेबित्तिकै उनले राजीनामा दिने वा बर्खास्तीको लागि दरखास्त हालेको बुझिन्छ।

    विद्रोहीहरुले कानुन उल्लंघन गर्छन्, उनीहरुमाथि कानुनअनुसार कारवाही गर्नुपर्छ। गैरकानुनी तवरले प्रहरी प्रयोग गरी जनहत्या गर्ने हो भने कसैले पनि सहेर बस्नुहुँदैन।

    पञ्चायती व्यवस्था र अहिलेको वहुदलीय संसदीय व्यवस्थाको तुलना गर्दा के अन्तर भेट्नुहुन्छ?

    मुख थुनेर शासन गर्ने मण्डले व्यवस्था नै पञ्चायती व्यवस्था हो। २०४६ सालको आन्दोलनपछि केही परिवर्तन आयो भनिन्छ, तर त्यो एउटा नाटक थियो। २०४६ पछि हामी अधिकार र विकास सँगसँगै अगाडि बढ्छ भन्थ्यौं। तर अब त्यो भ्रमबाट दुर भयौं। जनताको अधिकार केही बढेछ, तर विकास बढेन। अधिकार पनि दुरुपयोग भयो। अहिले जनतालाई पनि सही किसिमले इन्साफ दिएको छैन। त्यसैले इन्साफ जति बढ्छ, त्यति विकास बढ्छ भन्न थालेको छु।

    २०४६ सालको जनआन्दोलन एउटा नाटक मात्र थियो र ?

    कसरी भन्ने कुरा त 'थाहा' पाउनु पर्‍यो नि ! भ्रम भए भ्रम पर्‍यो भन्नुपर्‍यो। ज–जसले नेपाललाई ऋण र अनुदान सहयोग दिन्थे, त्यो सहयोगले जनतालाई छोएको छैन भन्ने कुरा उनीहरुका जनसाधारणले 'थाहा' पाए। बाहिरबाट आउने रकम पनि यहाँका अपराधी र सरकारले बाँडेर सक्थे।

    त्यसपछि ती दाता राष्ट्रहरुले 'हामीबाट सहयोग लिने भए तिमीहरुको देशमा प्रजातन्त्रको नाटक खेल, नत्र पाउँदैनौ' भने अनि राजा वीरेन्द्र र गणेशमानलाई छुट्टाछुट्टै अमेरिका बोलाए। त्यहाँ वीरेन्द्र र गणेशमानलाई के के भनेर नेपाल पठाइयो। त्यसपछि दरवारमा वीरेन्द्र र गणेशमानबीच २ घण्टा वार्ता भयो, गणेशमानले राजदरवारमै खाना खाए। तर वार्तामा के भयो त भन्ने कुरा अझैसम्म बाहिर आएको छैन।

    मेरो विचारमा त्यो वार्ता त्यही नाटक खेल्ने वार्ता थियो। यहाँ साँच्चै नै आन्दोलन भयो भनिन्छ। तर त्यो एउटा नाटक नै थियो। तर पनि यो निर्दलीय व्यवस्थाभन्दा एक पाइलो अगाडि टेक्ने काम भयो।

    २०४६ को जनआन्दोलन दबाउन बनेको प्रतिकार समितिमा तपाईं पनि हुनुहुन्थ्यो भन्ने चर्चा चल्यो नि!

    यो हल्लामात्रै हो। त्यसमा कुनै सत्यता छैन। यस्तो हल्ला गर्ने एमाले भन्ने बदमास अहिले प्रतिपक्षमा छ। यसको कुनै प्रमाण मिल्नै सक्दैन। पचहत्तरै जिल्लामा सवाल–जवाफका भाषण (अग्निपरीक्षा) सभा राखेर मूल फटाहा एमाले, सहायक कांग्रेस र राप्रपा इत्यादि जम्मैथरी पुतलीहरु भष्म गर्न सकिन्छ। तिनीहरु तयार हुनुपर्‍यो नि!

    'निष्पक्ष सक्रियताको अभ्यास– 'थाहा'' अभियान किन चुनावको अवसरमा मात्रै सुनिने गर्छ, अरुबेला यो अभ्यास जरुरी छैन?

    कुकुर निष्पक्षमा सक्रिय हुन्छ। 'थाहा' अभियान निष्पक्ष भैकन सक्रिय हुने अभियान हो। यो मज्जाको अभ्यास हो, जो कोहीले गर्न सक्छ। तर स्वाभिमानीहरु किन लेख्दैनन्, राम्रो–राम्रो अक्षरमा 'थाहा'? किन गर्दैनन् अभ्यास? यिनीहरुचाहिँ एक अँगालो लोग्ने/स्वास्नी, एक थाल भात खाएर बस्ने? अनि गरिबहरुका निम्ति कसले साधना गर्ने? पञ्चायतकालमा एक किसिमको अनुकूल अवस्था थियो, केही भन्दै गर्दै हिँडे। अब फेरि चुनाव आयो। चुनावमा धेरै आगो बालिरहन नपर्ने, डढेलोमै चरु होमिदिए पुग्ने। सजिलो भयो, अनि आएँ। चुनाव नभएका बेला बोल्दै हिँड्दा खर्च पनि हुने, मान्छेले चाख पनि दिँदैनन्। नेपाल नेपालीबाटै वेवारिसे बनिरहेको छ। मचाहिँ बहुसंख्यक बहुमत हुनुपर्छ भन्ने आधार तयार गर्न हिँडेको।

    अहिलेको संसदमा पुगेर तपाईंले के गर्न सक्नुहुन्छ?

    म सांसद भएँ भने भोटको भाषा बोल्छु। संसदको समाचार मतदातासम्म ल्याइदिन्छु। एक क्षेत्रको जनमतलाई मुलुकी जनमत बनाउने कोशिस गर्छु।

    अन्त्यमा…हाम्रो समाजमा जसको मति–गति उँधो लागेको छ, त्यसले बदमास, चरित्रहीन, खराबै खराब देखेको सुनेको छु। त्यसबीचमा सत्य र ठीकमा ध्यान भएको, प्रेम भएको कुनै एउटा भेट्यो भने पनि सहँदैन। एक्लोले बदमासहरुको बीचमा के गर्न सक्छ र? भन्छन्। तर एकैबाट त अनेक आउने हो। बुद्ध, गान्धी, माओत्से-तुङ, लेनिन, मार्क्स, नेपोलियन, सुकरात…सबै एउटै त थिए। यहाँ पृथ्वीनारायण शाह, भीमसेन थापा, लक्ष्मीप्रसाद देवकोटा पनि एउटै–एउटै थिए। पञ्चायतकालमा जनताको तर्फबाट म एउटै राष्ट्रिय पञ्चायतमा पुगेको थिएँ।

    अनैतिक फटाहाहरुको सयौं झुटलाई एउटै सत्यले चुनौती दिन्छ। सत्यका विरुद्ध लागेकाहरुलाई घाट पुर्‍याउनु पर्छ। यही कुरामा ध्यानाकर्षण गराउँदै यो भेटलाई तुरिदिन म राजी छु, कुकुर गर्छ निमेकको सोझो, मान्छे गर्छ विवेकको सोझो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]