थाहा संवाद : स्थानीय सरकार

विकास निर्माणमा प्राथमिकता दिएका छौँ

असार २३, २०७६

    जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै विकट क्षेत्र हो। स्थानीय सरकार आएपछि यहाँका विभिन्न समस्याहरू विस्तारै निर्मूल गर्ने प्रयत्न गर्दै छन्।

    यस गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट सिर्जना तामाङ विजयी बनेकी हुन्। उनी २३ वर्षकै उमेरमा स्थानीय तहको उपाध्यक्षको जिम्मेवारी पाउने सम्भवत: देशकै कान्छी जनप्रतिनिधि हुन्।

    साबिकको सेलाङ, गोल्चे, गुम्बा, बराम्ची, हगाम र पाङताङ गाविस समावेश गरेर यो गाउँपालिकाको निर्माण गरिएको छ। शिक्षा, स्वास्थ्य, जस्ता अत्यावश्यक कुरामा समेत  यहाँका बासिन्दा पछि परेका छन्। ५ सय ९२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा २०६८ को जनगणनाअनुसार करिब २० हजार जनसंख्या छ।

    स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पूरा भइसकेको छ। चुनावताका आफूले गरेका वाचाहरू कति पूरा भए, कति पूरा गर्ने सम्भावना छ, हालसम्म जनताले के कति परिवर्तनको महसुस गरे भन्ने विषयमा केन्‍द्रित रहेर थाहाकर्मी रमेश पराजुलीले जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङसँग गरेको कुराकानीको सम्पादित अंश :

    स्थानीय तहको निर्वाचनको दुईर्ष कसरी बिताउनुभयो?

    निर्वाचनअघि जुगल अध्यारोमुनि रहेको बस्ती थियो। हामीले हाम्रो पहिलो प्राथमिकता विकास निर्माणमा दिएका छौँ। जुगल गाउँपालिका सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिन्छ। यहाँको विकास निर्माण गर्नको लागि शून्‍य तहबाटै विकासको खाका तयार गर्नुपर्ने हुन्छ। सडक, विद्युत्, खानेपानी, शौक्षिक सुधार, स्वास्थ्य र पुननिर्माणलाई प्राथमिकताको साथ अगाडि बढायौँ।  

    चुनावमा त धेरै एजेण्डा लिएर हिँड्नुभएको थियो, ती एजेण्ड कति पूरा गर्नुभयो कति बाँकी छन्?

    हामीले चुनावताका धेरै योजनाहरू लिएर जनतासामु भोट माग्न पुग्यौँ। चुनावमा गरेको वाचालाई साकार पार्नका लागि हामी दिनप्रतिदिन लागिरहेका छौँ। हामीले गर्न सक्ने खालका योजना मात्रै चुनावी एजेण्डा बनाएका थियौँ। दुई वर्षको अन्तरालमा कुनै योजना पूरा भइसकेका छन्। कुनै प्रक्रियाको चरणमै छन्। मलाई लाग्छ चुनावमा गरेका प्रतिबद्धताहरू पूरा गर्न सक्छौँ।

    जुगल गाउँपालिकामा प्रमुख समस्याहरू के कस्ता छन्?

    मैले पहिले नै भनिसकेँ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका भनेको कर्णालीकै रूपमा चिनिन्छ। यहाँ विकास निर्माणका कामलाई अगाडि लैजान पहिलो चरणबाटै काम गर्नुपर्ने हुन्छ।

    विकास निर्माणको मुख्य आधार भनेको सडक हो र यहाँको मुख्य समस्या भनेको पनि सडक नै हो। बर्खा लागेपछि जुगल गाउँपालिका सडक सञ्जालबाट टुट्थ्यो। तर, हामी निर्वाचित भएपछि सडक पूर्वाधार निर्माण गरेका छौँ। यहाँ खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको भौतिक पूर्वाधार सबैको समस्या छ। त्यसलाई सुधार गर्न हामी लागिपरेका छौँ।

    गाउँपालिकाको आगामी र्षको नीति कार्यक्रममा के छ?

    हामीले आगामी आर्थिक वर्षका लागि करिब ४५ करोड जतिको बजेट निर्माण गरेका छौँ। जसमा कृषि तथा पशुपालन, पूर्वाधार निर्माण, पर्यटन पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् लगायतका योजनालाई प्राथामिकता दिएका छौँ। जुन बनेट आगामी २२ गते पारित हुँदै छ।

    विकट क्षेत्रको विकासका लागि कस्ता योजना बनाउनुभएको छ?

    गाउँपालिकाको विकासका लागि स्थानीय स्रोत र साधनको समुचित परिचालनमार्फत आयआर्जन तथा रोजगारी बढाउने खालको योजना तय भएका छन्। कृषि, पशु र सहकारी विकासमा हामी लागेका छौँ।

    हाम्रो माटोलाई सुहाउँदो कृषिजन्य उत्पादनलाई हेरेर आधुनिक कृषि उत्पादनमा जोड दिएका छौँ। यहाँ विकट भए पनि पर्यटकीय दृष्टिले मनमोहक क्षेत्रहरू छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने योजना बनाएका  छौँ। जसका लागि हामीले पाङर्पु, बोल्दे, गुम्बा, क्याङसिङ र तेम्बाथानमा होमस्टेको बनाउँने कार्यलाई जोड दिएका छौँ।

    गाउँपालिका विकासका लागि आन्तरिक स्रोत के के हुन सक्छन्?

    गाउँपालिकामा धेरै आन्तरिक स्रोत छन्। त्यसलाई सदुपयोग गर्नका लागि गाउँपालिकाले विशेष योजना बनाएको छ। गाउँपालिकाले मुख्य आयस्रोतको रूपमा स्लेट ढुंगा, बालुवा, जडीबुटी, कृषि उत्पादन लगायतका वस्तुलाई लिएको छ।

    गाउँपालिकामा हिमाली भेग धेरै भएकाले यहाँ पर्यटकीय र मनोरम क्षेत्रहरू धेरै रहेका छन्। त्यसैले पर्यटक प्रवर्द्धनका लागि महत्वाकांक्षी क्षेत्रहरूलाई संरक्षणको योजना बनाएका छौँ। चिसो र उच्च भेग भएकाले चियाखेतीको समेत सुरुवात गरेका छौँ। महत्वपूर्ण कुरा त हामीले यहाँ रहेको 'भर्जिन' जुगल हिमालको आरोहणसमेत खुलाएका छौँ। हिमाल आरोहणपछि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास लिएका छौँ।

    जुगल हिमालको आरोहणलाई सरी व्यवस्थित गर्ने योजना बनाउनुभएको छ?

    हो, मैले भनिसकेँ जुगल हिमाल भनेको हाम्रो गाउँपालिकाको गौरव हो। यसलाई प्रचारप्रसार गर्न सकेमा मात्र पनि हाम्रो पालिकाको मुहार फेरिनेमा दुईमत छैन। संघीय राजधानीबाट दुरीका हिसाबले नजिक भएको कारणले पनि जुगल आरोहण सहज छ। त्यसैले गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा पनि जुगल आरोहणलाई महत्वका साथ हेरेका छौँ।

    जुगल हिमालले हाम्रो पालिका मात्रै नभएर सिंगो मुलुकको नाम विश्वमा फैलाउने हाम्रो लक्ष्य हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि हामीले विशेष योजना बनाएका छौँ।

    आरोहणको सुरुमा नै प्रदेश सरकारले सहयोग गरेको हुनाले आगामी दिनमा पनि जुगल आरोहणलाई व्यवस्थित बनाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा राखेका छौँ। प्रदेश र संघीय सरकारले जुगल हिमालको बेसक्यापसम्म पुग्ने मोटरबाटो बनाइदिने सहयोगको अपेक्षासमेत राखेका छौँ।

    तपाईले चुनावी घोषणपत्रमा भनेजस्तो समृद्ध जुगल बनाउने योजना पूरा होला त? ती योजना पूरा गर्ने आधार के देख्नुभएको छ?

    हामीले चुनावमा धेरै एजेण्डा लिएर हिँडेका थियौँ। दुई वर्षको अन्तरालमा केही चुनावी एजेण्डा पूरा गरेका छौँ। भने केही विस्तारै गर्दै छौँ। मलाई लाग्छ, हामीले चुनावमा गरेको समृद्ध जुगल बनाउने योजना हाम्रो कार्यकालमा पूरा गर्नेछौँ।

    जुगलको विकासका लागि दिनरात अहोरात्र खटेका छौँ। जुगलको जनतालाई सडक पूर्वाधार आवश्यक थियो। विकासको संवाहक भनेकै सडक हो। जुन वर्षा लागेपछि सडक पूर्वाधारबाट हामी टुट्थ्यौँ। तर, हामीले अब त्यो समस्याबाट छुट्कारा पाएका छौँ।

    शिक्षा, स्वास्थ्य, खानेपानी, आवास निर्माण, सञ्चार, लगायतका पूर्वाधार निर्माण गरेर समृद्ध जुगल निर्माणको क्रममा छौँ। हामीले चुनावमा धेरै ठूला हुनै नसक्ने कुरा गरेका थिएनौँ जस्तो लाग्छ। दुई वर्षको समयमा यत्रो धेरै परिवर्तन गराउन सफल भएका छौँ। अझै तीन वर्ष हाम्रो कार्यकाल छ। जुन अवधिमा हामी समृद्ध जुगल बनाउने अभियानमा हुनेछौँ।

    न्यायिकरूपमा तपाईंको गाउँपालिककाको के कस्ता समस्या धेरै छन्?

    गाउँमा धेरै विभिन्न विषयमा घरभित्रै, छिमेकीसँग तथा अन्य धेरै विवाद हुने गरेका छन्। तर, गाउँपालिका प्रत्येक वडाभित्र मेलमिलाप केन्द्रको स्थापना गरेर मेलमिलापकर्ता खटाएपछि समस्या धेरै कम भएका छन्।

    गाउँपालिकाभित्र मेलमिलामकर्ताहरूले काम गर्न थालेपछि गाउँमै विवाद मिल्न थालेका छन्। जसले गर्दा जिल्ला अदालत चौतारासम्म जानुपर्ने समस्या धेरैजसो हटेको छ। मेलमिलापकर्ताले हेर्न नमिल्ने ठूला केस मात्रै अदालतसम्म पुग्ने गरेका छन्। गाउँघरमा धेरै घरझगडा, जग्गा जमिन, लेनदेन, अंशवण्डा, गाली बेइज्यती, खानेपानी लगायतका विवाद धरै आउने गरेका छन्।

    गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा तपाईंको प्रमुख  भूमिका के छ?

    हामी आएपछि यहाँको शौक्षिक र स्वास्थ्य क्षेत्रमा पनि धेरै परिवर्तन ल्याएका छौँ। भूकम्पपछि जस्ताको टहरामा रहेका विद्यालयहरूको विभिन्न संघसंस्थाहरूको सहयोगमा पुनर्निर्माण गरेका छौँ। विद्यालयको भवनपछि शौक्षिक गुणस्तरमा समेत वृद्धि गर्न विशेष योजना बनाएका छौँ। शिक्षाविना अन्य विकास नहुने भएकाले प्राविधिक शिक्षामा समेत जोड दिएका छौँ। जनतालाई सहज पर्ने स्थानमा स्वास्थ्य चौकीको स्थापना गरेर सहज ढंगले सामान्य उपचार गाउँमै गराउने व्यवस्था मिलाएका छौँ।

    चुनाव भएको दुई वर्षमा तपाईको गाउँपालिकाका जनताले के कस्तो परिवर्तनको महसुस गरेका छन्?

    हामी निर्वाचित भएर आएको दुई वर्ष पूरा भयो। विश्वास गरेरै उहाँहरूले हामीलाई जिताउनुभएको हो। हामी उहाँहरूकै सेवामा लागेका छौँ। प्रशासन, मालपोतको कामबाहेक अन्य सेवा सबै गाउँमै दिएका छौँ। नारामा भनेझैं हामीले सिंहदरबारको अधिकार घरघरमै पुर्‍याएका छौँ। त्यसैले गर्दा यहाँका जनताले धेरै नै परिवर्तनको महसुस गरेका छन्।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]