साहित्य

बहिर्मुखी र अन्तर्मुखी गरी दुईखाले हुन्छ मान्छेको मन
SHARES

विभिन्‍न पुस्‍तकको सार हो मनोनेट

असार २८, २०७६

    काठमाडौं :  मलाई सधैं लागिरहन्थ्यो। एउटा मनले अर्को मनको भाव कसरी बुझ्छ? बोलेर त संचार हुन्छ तर नबोलेरै पनि केले कुरा बुझाउँछ। लेखनका नियमित काममा लाग्दा लाग्दै मेरा पाइलाहरु जब किताबतिर चालिए, त्यतिबेलादेखि नै मेरो मनमा यस्तो खुल्दुली भइरहन्थ्यो। के मान्छेसँग त्यस्तो शक्ति वा सुपरपावर हुन्छ? जसको माध्यमबाट अव्यक्त भावलाई महसुस गर्न सकियोस्।

    माया, प्रेम र सुख वा दुःख, खुशी अथवा मनोरञ्जन। यी सबै खाले मानवीय क्रियाकलापले मानिसलाई जसरी उद्धेलित तुल्याउँछ, यो सबैको एउटै कारण मन हो। जसले जे चाहेको हुन्छ, त्यो मात्र पूरा हुन्छ। मनलाई मस्तिष्कले अह्राउँछ तर मनले चाहेन भने मस्तिष्कले भनेर मात्र हुँदैन। जस्तो, कहिलेकाहीँ गर्मीमा मस्तिष्कले पौडी खेल्न अह्राएको हुन्छ, तर मनले अल्छी मानिरहेको हुन्छ।

    जसरी इन्टरनेटले मान्छेलाई एक अर्काबीच क्षणभरमै जोड्छ, त्यसरी नै मनले मनसँग त्यति नै समयमा नै जोड्न सक्छ। जसरी इन्टरनेटको माध्यमबाट मान्छेले आफुले चाहेको सूचना वा जानकारी लिन्छ। त्यसबाट उसले आफुलाई सन्तुष्ट राख्न सक्छ, मनको माध्यमबाट पनि उस्तै अनुभूति प्राप्त गर्न सकिन्छ। जस्तो, कोही हाँस्दा अर्को मानिस पनि हाँस्छ। कोही रिसाउँदा अर्को पनि रिसाएको हुन्छ। एकको दुःखमा रुन्छ, मान्छे। अर्काको सुखमा हाँस्छ, मान्छे।

    एउटा मनले चाहेको कुरा अर्को मनले कतिपय अवस्थामा अभिव्यक्त नगरी पनि महसुस गर्न सक्छ, आत्मसात गर्न सक्छ। हो, त्यही अन्तरमनका कथाको स्वरुप हो, मनोनेट। अव्यक्त पीडाको रुप हो, मनोनेट। मनले चाहेको र तनले पाएको दुःख र पीडाको माध्यम हो, मनोनेट। त्यही मनको अन्तर कुन्तरमा लुकेको भाव र राग हो, मनोनेट। जसलाई बुझ्न र महसुस गर्न मनले मनको जालमा जेलेर तानेको हुन्छ।

    मनोनेट रुपि जाल, जसले कुनै न कुनै रुपमा र कुनै न कुनै दिन जो कोहीलाई पनि जेलिरहेको हुन्छ, छोपिरहेको हुन्छ। आज पनि देख्न सकिन्छ कि मान्छेहरु सानो कुरामा पनि चिन्तित देखिन्छन्।मनोचिकित्सकहरु भन्छन्,बहिर्मुखी र अन्तर्मुखी  गरी दुईखाले हुन्छ मान्छेको मन।    

    बहिर्मुखी मनभन्दा अन्तर्मुखी मन डरलाग्दो हुन्छ। अन्तर्मन दुःख पीडाले आकुल व्याकुल हुन्छ। खुशी र आनन्दले आल्हादित हुन्छ।

    विषम मनस्थितिमा उज्यालो पनि अन्धकारजस्तो देखिन्छ। त्यतिबेला मन भारी भई गह्रौ हुन्छ र मस्तिष्क बोझिलो एवम् असावधान हुन्छ। कहिलेकाहिँ ठूलो उपलब्धिमा पनि मन खुशी देखिँदैन त कहिलेकाहिँ सानो कुरामा पनि मन खुशी देखिन्छ। मानव शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसलाई मन भनिन्छ।

    मानवीय मन अति नै चञ्चल हुन्छ। हरक्षण त्यो मन हावासरह दौडिरहेको, उफ्रिरहेको हुन्छ। त्यसैले गर्दा कहिले मन अशान्त र दुःखी हुन्छ। कहिले मन भित्रभित्रै कलह भैरहेको हुन्छ। अन्तरद्वन्द्व चर्किरहेको हुन्छ।

    शरीरमा लागेको चोटपटक सहन सकिन्छ। तर,  आन्तरिक वेदनाले उब्जाएको दुःख, कष्ट र पीडाका कारणले मनमा भूकम्प नै आउँछ। यो बाहिर देख्न सकिँदैन। त्यतिबेला मानव मस्तिष्कले तीतो, खल्लो अनुभूति गर्छ। त्यतिबेला तर्क र विचारका मार्गहरू विपरीत दिशामा बहन्छन्। यसले गर्दा मानसिक कष्ट निम्त्याउँछ। त्यतिबेला ऊ आफैंमा भित्रभित्रै नैराश्यको गहिरो खाडलमा जाकिन्छ।

    त्यतिबेला व्यक्ति न साथीसंगीका साथ बोल्छ न आफ्नो कुरा नै व्यक्त गर्छ। ऊ जति एकान्तप्रिय हुन्छ उति एक्लोपन महसुस गर्न थाल्छ। अनि एक्लै रोइकराई अश्रुधारा बगाउनुबाहेक केही गर्न सक्दैन। त्यतिबेला मन अति भारी भएर हतोत्साही र निराशाजनक हुन्छ।

    मनको मैला जबसम्म स्वच्छ र निर्मल पार्न सकिँदैन तबसम्म अन्तरकुन्तरमा रहेको विषयले मनमा ठाउँ ओगट्छ। आफ्ना दुःख र वेदना अरूलाई सुनाएर मनको व्यथा हलुका गरिन्छ। मन एकप्रकारको साधन हो।

    हो, त्यही नै मनको प्रवाह हो। मनले बुझ्ने मनको भाका हो, मनोनेट। मनले बुझ्ने मनको नाता हो, मनोनेट।

    प्रष्ट भनौ, मेरो यो लेखन कुनै फ्रायड वा वीपीको मनोबिज्ञानबाट प्रेरित छैन। कतिपयले यसलाई अस्लिल पनि ठान्न सक्लान् त कतिपयले यौन मनोबिज्ञान। न त यो मनोनेटबाद नै हो। जे होस्, मनोनेटले एउटा बहसको प्रारम्भ गर्ने मैले ठानेको छु।

    आज जति पनि पछिल्लो पुस्ताले नयाँ शैली र शिल्पीको प्रयोगमा लेखनलाई अगाडि बढाएको छ, त्यस भित्र देखिएको प्रवृत्तिलाई यसले अगाडि बढाएको छ। जस्तो कि मदन पुरस्कार प्राप्त रामलाल जोशीको ऐना वा सरस्वती प्रतिक्षाको नथिया अथवा मणि लोहनीको निर्वस्त्र मन होस् कि भर्खरै सार्वजनिक उमा सुबेदीको सयौँ पुतली नै किन नहोस्।

    यी सबै किताबको सार भनेको मनोनेट हो। ती किताबमा पात्रहरु बीचका संवाद, अव्यक्त र अप्रकटित भावले एउटा मनको अर्को मनसँग संचार गरिरहेको देख्न सकिन्छ। अर्थात्, ती पात्रहरुबीचका अप्रकटित भाव, जसलाई लेखकले प्रस्तुत गरेको छ। त्यो नै मनोनेट हो।

    मनोनेटमा संग्रहित २२ वटा कथा मध्ये प्रायः कथामा मनोनेटको झलक देखिन्छ। कतै न कतै यी सबै कथामा बढि मात्रामा महिला र पुरुषले भोगेका पीडा र दुःख भेटिन्छ, खुशी र आनन्द भेटिन्छ। कतै कतै अव्यक्तपीडा, कतै भोगाइ र अनुभूति झल्किन्छ।

    अझ भनौं, कता कता यौन मनोबिज्ञान र मनोसामाजिक परिवेश झल्किन्छ। कथाका पात्रहरुले भोगेका पीडा र अव्यक्त भावले कुनै न कुनै रुपमा यही समाजको चित्रण गरेको ठानेको छु। अरु चाहिँ पाठककै भरमा।

    लेखक तीर्थ सिग्देल

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]