साहित्य

भानुभक्तका रचनामा व्यंग्यचेतना
SHARES

असार २९, २०७६

    भानुभक्त आचार्य (वि‍.सं=१८७१–१९२५)  विशेषगरी रामायणले चिनिन्छन्। वाल्मीकिकृत अध्यात्मरामायणलाई नेपाली जनबोलीमा ढालेको रूपमा उनको ख्याति छ। विशेषगरी धार्मिक तथा आध्यात्मिक कवि हुन्। भक्तमालामा पनि प्रश्नोत्तरमालासहित उनका फुटकर रचनामा पनि धर्म, अध्यात्म र नीतिका कुरा पाइन्छन्। 

    मानिसमा आध्यात्मिकता भरेर नैतिक बनाउने मात्र होइन समाजमा भएका कुरीतिका पक्षमा पनि उनले कलम चलाएका छन्। समाजमा रहेका विकृतिविरुद्ध उनले गतिलै व्यंग्य गरेका छन्। उनका फुटकर थुप्रै रचनामा व्यंग्यचेतना पाइन्छ।

    भानुभक्तकृत भाषारामायण (शिवराज आचार्य कौण्डिन्न्यायन, २०६७) का अनुसार १९११ संवत्तिर मित्र गजाधर सोतीका घरमा बास बस्न गएछन्। पिँढीमा समेत बस्न नदिई गजाधरकी श्रीमतीले उनीहरूलाई साँझैमा घरबाट निकालिछन्। चिनेजानेको मान्छे उनै। बास बस्न कहाँ जाने?

    अलिक पर एक गरिब ब्राह्मणले दिएको खाएर दुःखसुख गरी रात बिताएछन्। राति निद्रा नपर्दा कविजीले लेखेछन्–

    गजाधर् सोतीका घर बुढि अलक्षिन्कि रहिछिन्
    नरक् जानालाई सबसित बिदाबादि भइछन्।
    पुग्यौँ साँज्मा तिन्का घर पिँडिमाँहाँ बास गरियो 
    निकालीन् साँजैमा अलिक पर गुज्रान गरियो ।।    

    नेपाली समाजमा पाहुनालाई देवताको स्वरूप मानिन्छ। घर आएका पाहुनालाई आफू नख्वाएर पनि ख्वाउनुपर्छ, उनीहरूको खातिरदारी गर्नुपर्छ भन्ने मान्यता छ। झन् साँझमा आएका पाहुनालाई फर्काउनु हुँदैन भनिन्छ। इस्तो समाजमा गजाधरकी श्रीमतीको व्यवहार निको नलागेर भानुभक्तले लेखिहाले।

    बाबु धनञ्जय आचार्य सरकारी कर्मचारी भएकाले उनले गरेको हिसाबकिताब नमिलेको सन्दर्भमा भानुभक्तलाई केही समय कुमारीचोकमा थुनिएका थिए। उतिवेला पनि कारागारमा पाइने कहर उस्तै रहेछ। लमखुट्टे, उपियाँले दिने सास्ती। कारागारमा भोग्नुपरेका पीडा लेखेर त्यहाँका प्रमुखलाई देखाइहाले–

    रोज्रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
    रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा छू।
    लाङ्खुट्या उपिञा उडूस् इ सँगि छन् इन्कै लहड्मा बसी
    लाङ्खुट्याहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छू बसी ।।

    सरकारी कार्यालयमा काम लिएर जान नपरोस् भन्ने कामना गर्छौँ, गणतन्त्र नेपालका हामी सेवाग्राही। घूस खान नपाउँदा अहिलेका कर्मचारीले सेवाग्राहीलाई अनेक दुःख दिन्छन्। अहिलेजस्तो ढिलासुस्ती र काममा भोलि भोलि भन्ने चलन त्यो वेला पनि रहेछ। त्यो वेला पनि कर्मचारीका व्यवहार त्यस्तै रहेछ। सेवाग्राहीका काम भोलि भोलि भनेर पन्छाउँदा रहेछन्। त्यसको मारमा परेर भानुभक्तले लेखे–

    बिन्ती डिट्ठा–विचारीसित म कति गरू चुप् रहन्छन् नबोली
    बोल्छन् ता ख्याल् गर्याझैँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली।
    की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
    भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियास् आज झोली।।

    भानुभक्त एकपटक घुमघामको सिलसिलामा मित्रकहाँ पुगे। मित्र आफूले खाजा खान भनी भुटिराखेको मकै दिए। चैतको धुपमा थाकेर पुगेका, न त रसिलो केही चिज न त सितन नै। आशुकविलाई फुरिहाल्यो कविता– 

    असल् मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
    कि ता सेता मूला कि त बरु हवस् साग उसको 
    असल् हुन्थ्यो धुप्मा नतर यसही खानु कसरी
    भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्याँन यसरी।

    अहिले नेपाली भाषामा अंग्रेजी मिसाएर बोल्नेको बाल्य छ। भाषा बुझेकाहरू यसलाई ‘नेपांग्रेजी’ भन्छन्। त्यो वेला पनि नेपाली र संस्कृत शब्द खिचडी बनाएर प्रयोग भएकोप्रति भानुभक्त दुःखी रहेछन्। कि संस्कृत मात्र बोलिदिए हुन्थ्यो, कि नेपाली मात्र प्रयोग गरे हुन्थयो भन्ने सोच्दा रहेछन् उनी। भाषाको खिचडी बनाउनेलाई यसरी दिईहाले दनक– 

    भाषाश्लोक् भनु ता अवश्य अरु ता बुझ्दैन कोई पनी
    संस्कृत् हुन् भनु ता इ शास्त्रिहरु ता धेर् छन् अशुद्धा भनी
    भन्छन् आज ठिमाहका गणतिमा तिम्रा शिलोक् ई गया
    भाषाश्लोक बनाइ राख तिमि नाक् बुद्धी र बर्गत् भया।

    बाबुबाजेका सम्पत्ति धेरै भएकाहरूले फाइँफुट्टी लगाउने चलन त उहिलेदेखिकै। नपढ्ने इलम केही नगर्ने बाबुबाजेको पैसा उडाउँदै हिँड्ने चलन त्यतिखेर पनि रहेछ। पढाइ छाडी फुर्तीफार्ती गर्दै हिँड्ने युवकलाई भानुभक्तले यसरी छेड हाने–

    न पोथी–पात्रा छन् न कलम–मस्यानी छ सँगमा
    सधैँ हुक्का नारी थरकि फिँजि खेल्छौ चयनमा।
    कती बिर्ता तिम्रो कति छ धन दौलथ् यस घरी
    उँडायौ आज्र्याको जति अब गया बाबु त मरी।।

    ‘दुई पोइको जोइ कुना पसी रोइ’ भन्ने नेपाली उखानै छ। दुई श्रीमती भएका श्रीमानको हालत। सौतासौताबीचको झगडा त्रित्रि, साँढे कुखुरा आदिको लडाइँसँग तुलना गरेका छन् भानुभक्तले। दुई जोइको झगडाको बिचमा पर्दा पोइको हालत कस्तो होला?–

    क्या लड्छन् बटई र तित्रि साँडे पहल्मान्हरू
    अर्ना भैँसि र सिंह हात्ति कुखुरा लड्छन् ति एकछिन् बरू।
    राज्यैको थप गर्न मन्सुब हुँदा लड्छन् कि राजाहरू
    की ता स्वामिनिमित्त नित्य घरमा लड्छन् इ सौताहरू।।

    आफ्नो काम ठिकसँग नगर्ने, सरसफाइमा ध्यान नदिने, अरुको कुरा काटेर घरघर डुलेर दिन काट्ने ग्रामीण परिवेशकी महिलालाई उनले यसरी व्यंग्य गरे–

    कतै खरानी छरि भुस् कतै ता
    कतै कसिङ्गर कनिका कतै ता। 
    सुत्न्या दिनदिनै इलमै बिगारी
    तेस्लाइ ता भन्नु सुँगुर्नी नारी।।

    झार्दी न लिप्दी मइली छ धेर
    गन्र्या कुरा धेर् घर–घर् डुलेर।
    राख्न्या ति सब भाँडा सब नील पारी 
    यो चाहिँ हो खास कुकुर्नि नारी।।

    अधिकारकर्मीहरू यी दुई पद्यलाई लिएर भानुभक्तलाई महिलाविरोधीको आरोप लगाउँछन्। तर ग्रामीण परिवेशमा लेखिएका हुनाले यी पद्य त्यहीँको सन्दर्भमा छ। सुगुर्नी र कुकुर्नी प्रतीकका रूपमा रहेको छ। फोहोर गर्ने, सरसफाइमा ध्यान नदिनेलाई त अहिले पनि सुँगुर नै भन्छौँ हामी। आफ्नो काम छाडेर अनावश्यक रूपमा घरघर डुल्ने, यताका कुरा उता गर्नेलाई कुकुरकै संज्ञा दिइन्छ।   

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]