फिचर

पर्वतका किसान भन्छन् : अबको वर्षा र लगनपछिको पोते उस्तै
SHARES

सिजन घर्केपछि खेती नहुने चिन्ता

साउन ४, २०७६

    पर्वत : असार महिनाभरिमा खेत रोपेर सकेपछि साउने सङ्क्रान्तिमा हिलो पखालेर लुतो फालिन्छ। रोपेर छोडिएको खेतमा गम्खा मिलाउने, मुसाले पारेका प्वालहरू टाल्ने र सबै खेतमा पुग्ने गरी सिँचाइ गर्ने चलन पर्वतमा छ।

    यस वर्षको साउने सङ्क्रान्तिमा पनि कृषकहरूले ‘बलेवाली काँडा, लुतो लैजा’ भन्दै जाँतो रिङाउँदै, नाङग्ला ठटाउँदै झ्याल ढोका बन्द गरेर बलिरहेका अगुल्टा फ्याँकीसकेका छन्। तर खेत रोपेर सकेपछि मनाइने साउने सङ्क्रान्ति मनाइसक्दा पनि पर्वतमा भने पर्याप्त पानीको अभावमा ६५ प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ।

    यस अगाडिका वर्षहरूका यो समयमा आइपुग्दा जिल्लाका लगभग सबै कृषकहरूले धान रोपिसकेका हुन्थे। धन हरियो हुँदै गाँज हाल्न सुरु गरिसकेको हुन्थ्यो। अघिल्ला वर्षका यही समयमा झन्डै ९० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको हुन्थ्यो।

    तर यस वर्ष रोपाइँका लागि आवश्यक पर्ने पानीको अभावमा धेरै खेत ढिलो रोपिने र केही खेत बाँझोसमेत रहन सकिने देखिएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए।

    अन्त डुबे पनि पर्वतमा वर्षा कम

    मनसुन सक्रिय हुँदा देशका केही भागमा डुबान भएको भए पनि पर्वत जिल्लासहित आसपासका क्षेत्रमा पनि पर्याप्त वर्षा नहुँदा पानीका मूल फुट्न सकेका छैनन्। फलेवास नगरपालिकाका कृषक धर्मनाथ रेग्मीले अगाडिका वर्षहरूमा यो समयमा रोपाइँ सकिने गरेको सुनाउँदै भने, ‘हजुरबा र बाहरुले असार मसान्तसम्म रोपाइँ सकेर साउने सङ्क्रान्तिमा हिलो पखालेर साँझमा लुतो फाल्नुहुन्थ्यो।

    लुतो फालेपछि रोप्ने बेलामा फोहोर पानीमा खेलिएको भए पनि लुतो आउँदैन भन्नुहुन्थ्यो।’ गाउँघरमा साउने सङ्क्रान्तिपछि रोपिएको धानको उत्पादन राम्रो नहुने र सङ्क्रान्तिपछिको धानको महत्त्व कम हुने भन्ने चलन रहेको उनको भनाइ छ।

    भरपुर पानी नपर्दा पकेट क्षेत्र पनि बाँझै

    पानीकै स्रोतको अभावमा जिल्लामा धान उत्पादनको पकेट क्षेत्र मानिएका कटुवाचौपारी, फलेवास, पाङ, चुवा, हुवास, खुर्कोट, पैयूँ लगायतका ठाउँका कृषकहरू अझै पनि कहिले पानी बर्सिएला? र खेत रोपौँला? भन्दै आकाश हेर्दै दिन बिताइरहेका छन्। पैयुँ गाउँपालिकाका ८२ वर्षीय धनबहादुर रानामगरले आफ्नो जीवनकालमा यति ढिलोसम्म पनि रोपाइँ गर्न नपाएको अहिलेसम्म नजानेको बताए।

    ‘खोलाका छेउछाउमा परेको खेत मात्र रोपिएको छ, राम्रो धान फल्ने खेत त रोप्नै बाँकी छ।’ उनले भने, ‘म ८२ वर्षको भएँ यसरी पानीले धोका दिएको कमै मात्र सम्झेको छु। अहिलेसम्म त धानले गाँज हालेर गोड्ने बेला भइसक्नुपर्ने हो।’

    सिँचाइ कुलो र नहरको सुविधा पुगेको तथा खोला आसपासमा रहेको खेतमा धान रोपाइँ सकिएको भए पनि आकाशे पानीको भर पर्नुपर्ने ठाउँको जमिन अझै पनि बाँझै छ। त्यति मात्र होइन केही दिन अगाडि केही बढी वर्षा भएको बेलामा भल छोपेर रोपिएको धान सुक्न थालेको छ। सिँचाई नपाउँदा भर्खर धान रोपेका खेतका गराहरू चर्किन थालेका छन्। कुस्मा नगरपालिकाकी कृषक राधिका शर्मा भन्छिन्, ‘आकाशको पानी परेको बेलामा भल छोपेर रोपाइँ गरेको हो।

    तिनै गरा पनि  भिजाउन पाइएको छैन। पिउनको लागि धारामा आउने थोरै पानीले कसरी भिजाउने? त्यही धाराको पानीमा छिमेकीसँग झगडा पर्छ। भगवानले नै ठगेपछि के भन्ने अब?’

    जिल्लाको भौगोलिक अवस्थालाई हेर्दा साउनमा रोपिएको धान भन्दा असारमा नै रोपिएको धानको बिरुवाले छिटै गाँज हाल्ने र उत्पादन पनि बढी हुने कृषि प्राविधिकहरू बताउँछन्। कृषकहरूले समयमा नै धान रोप्न नपाएका कारण यस पटक पर्वतमा धान उत्पादन घट्न सक्ने कृषि प्राविधिक विमल पौडेलले बताए।

    लगनपछिको पोते र यसपालिको वर्षा

    खोला किनार र बाह्रै मास पानी हुने ठाउँमा रोपाइँ भएको भए पनि अन्य ठाउँका कृषकहरू भने चिन्तामा परेको ज्ञान केन्द्र प्रमुख रेग्मीको भनाई छ। अघिल्ला वर्षहरूको यही समयको तुलनामा यस वर्षको यही समयमा झन्डै १५ प्रतिशत कम रोपाइँ भएको कार्यालयको तथ्याङ्क छ।

    अब हुने वर्षाले धान रोपाइँ गरे पनि त्यसले कृषकलाई आशातीत फाइदा नदिने रेग्मीले बताए। ‘लगनपछिको पोते र यसपालिको वर्षा त्यस्तै हुने भए। हिउँददेखि बर्खा लाग्ने बेलासम्म अत्यधिक वर्षा भयो, अहिले पानी चाहिने बेलामा आकाशमा जुन लागेका छन्, कृषकहरू पानीको आशामा तिनै जुन हेर्न बाध्य छन्’ उनले भने।

    जिल्लामा रहेको जमिनमध्ये झन्डै ९ हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य रहेकोमा पूरै क्षेत्रफलमा धान लगाउने गरिएको छ। तर पछिल्ला वर्षहरूमा उक्त क्षेत्रफलमा धान लगाउने क्रममा ह्रास आइरहेको छ।

    आवश्यकता अनुसारको पानी नपाउनु, उत्पात्नयोग्य भूमिलाई घडेरी बनाउनु, सडक बिस्तारका क्रममा खेत नष्ट हुनु, बसाईँसराईँपछि गाउँको खेतबारी बाँझै छोड्नु लगायतका कारणले आजभोलि झन्डै ८ हजार ७ सय हेक्टर जमिनमा मात्र धान लगाउने गरिएको छ। पर्वतमा प्रति हेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]