साहित्य

‘झरेको पात’ उपन्यास : अँध्यारो कालखण्डको सशक्त चित्रण
SHARES

साउन १८, २०७६

    काठमाडौं :  पोखरालाई कर्मभूमि बनाएर पत्रकारिता क्षेत्रमा अब्‍बल पहिचान बनाउनुभएका अग्रज साहित्यकार बद्रीविनोद प्रतीकद्वारा लिखित ‘झरेको पात’ नारी चरित्र प्रधान सशक्त सामाजिक उपन्यास हालै सार्वजनिक भइसकेको छ। खासगरी २०३२– ३५ देखि २०४६ सम्मको तत्कालीन पञ्चायती कालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशलाई उपन्यासले समेटेको छ।

    यसरी हेर्दा ‘झरेको पात’ यो यथार्थ फरक समाजिक उपन्यास पनि हो। यो उपन्यासमा वर्णित धेरै परिवेश, परिस्थिति, घटना र सन्दर्भहरू तत्कालीन अवस्था नबुझेको अहिलेको नयाँ पुस्ताका लागि नौलो, अनौठो र सूचनामूलक पनि हुन सक्छ। देशमा, समाजा यो झण्डै चार दशकको अन्तरालमा अनेकौ परिवर्तन भइसकेका छन्। यो अवस्थामा उपन्यासको कथालाई नियाल्दा पाठकलाई कल्पना र अतिरञ्जना मात्रै जस्तो पनि लाग्न सक्छ।

    अहिले हाम्रो समाजमा विवाह, प्रेम, व्यक्तिगत–पारिवारिक सम्बन्ध र सिमाहरुमा धेरै फेरबदल भइसकेको छ। जीवन जिउने शैलीहरू फेरिएका छन्। आवश्यकताभन्दा रहरहरूले जितेको छ। पुराना सामाजिक–सांस्कृति संरचनाहरू भत्कँदै गएका छन् तर अझै नयाँ निर्माण भइसकेका छैनन्। यसरी हेर्दा यतिबेला हाम्रो गाउँ, समाज र संस्कृतिनै झरेको पातझैँ भइसकेको छ।

    तत्कालीन परिवेशमा एउटी सचेत र शिक्षित युवतीको असफल प्रेम, त्यसको परिणाम र भोगाइलाई उपन्यासको केन्द्रीय विषय बनाइएको छ। उपन्यासकी मूलचरित्र ‘करुणा’ कै सेरोफेरोमा सम्पूर्ण कथा वर्णित छ। शाब्दिक अर्थ लगाउँदा ‘करुणा’ दया या निरीहताको प्रतीक पनि हो। तर, यस उपन्यासकी करुणा हिम्मत, साहस र संघर्षमय जीवनकी प्रतिविम्ब बनेकी छ।

    आफुले छानेको, मन पराएको, माया गरेको एउटा शिक्षित, असल र इमान्दार युवालाई आफ्नो पण्डित बाबुले अस्वीकार गर्दाको परिणति करुणाले झेल्नुपरेको छ। एउटी सचेत र शिक्षित नारी भएर पनि आफ्नो बाबुलाई सहमत गराउन नसक्नु या भविष्यको निर्णय गर्न नसक्नु र आफूले नचाहेको, नस्वीकारेको अर्कै  पुरुषसँग अन्मिएर जानु तत्काललाई करुणाको पनि कमजोरी, विवशता र लाचारी देखिन्छ।

    यसरी हेर्दा करुणा तत्कालीन समाजका सचेत र शिक्षित भनिएका मध्यम वर्गीय ब्राह्‍मण परिवारकी एउटी प्रतिनिधि पात्र हो। समाजमा घटित अनगिन्ती त्यस्तै घटनाको एउटा उदाहरण मात्र हो। एकपटकको लाचारीबाट विक्षिप्त भइसकेकी करुणा पुनः ब्यूझिएर आत्मसम्मानको खोजीमा, स्वाभिानलाई बचाउन घरै छाडेर हिँडिदिन्छे। आफ्नो गर्भमा रहेको प्रेमको निसानीलाई जन्माउने साहस गर्छे।

    यसरी विवश र निसहाय देखिएकी करुणा आफ्नो आत्मरक्षा गर्दै, निष्ठालाई जोगाउँदै, समाजका अनेक बाजरूपी पिपासुहरूबाट जोगिँदै, आफ्नो सन्तानलाई खोकिलामा च्यापेर साहस र संघर्षकी प्रतिमूर्ति बनेर अगाडि बढ्छे। जस्तोसुकै आपत्ति र विपत्तिको आँधी–हुरीमा पनि ऊ हिम्मत बटुलेर सतीशाल बनिरहन्छे। सन्तानको मातृत्वको शक्तिले एकदिन आफ्नो हराएको प्रेम प्राप्त गर्ने विश्वासमा ऊ अडिग रहन्छे।

    उता, उसको प्रेमी विनय करुणाकै खोजीमा कैयौँ डाँडा, पाखा छिचोल्दै अनकण्टार गाउँमा पुग्छ। नदीका दुई किनाराझैँ एक अर्काको खोजीमा आशाको धिपधिपे बत्ती बालेर पलपल गुजारिरहेका दुवैको जीवन संघर्षमय छ। करुणको खोजीमा भौतारिएको विनयले गाउँमा शिक्षा र चेतनाको प्रकाश छरेको छ। जाली, फटाहा र शोषक सामान्तको अत्याचारमा थिचिएका जनताको लागि विनय आशा र भरोसाको केन्द्र बनेको छ।

    त्यसैकारण ऊ निरंकुश पञ्चायती व्यवस्थाको चरम अत्याचार र कुशासनको सिकारसमेत भएको छ। गाउँमा स्कुल खोलेको, गाउँलेलाई सचेत गराएको र जनतालाई जागरूक बनाएको कुरा मन नपराउने पञ्चायती शासकहरूले उसलाई अनेक जालझेल प्रपञ्च, गरेर धम्क्याउँदै झुठ्ठो मुद्दामा समेत फसाएका छन्। तर, पनि ऊ निराश नभई लक्ष्‍यमा अगाडि बढिरहन्छ।

    समय क्रमसँगै करुणाको घरमा अनेक परिवर्तन हुन्छ। छोराले अंग्रेजी पढ्दा कान थुन्ने कट्टर पण्डित बाबुका घरमा आफूभन्दा विपन्न परिवारकी जनजाति बुहारी भित्रन्छे। छोराको प्रेमलाई अस्वीकार गर्दा पुनः छोरो पनि गुमाउनुपर्ने डरले लाचार भएर बाबु–आमाले स्वीकार्छन्। करुणाको बाबुलाई आफ्नो घमण्ड– हठको कारण छोरी करुणा र एउटा असल मास्टर बाबु विनयको जीवन बर्वाद भएको सम्झनाले हरेक दिन पश्चाताप हुन्छ। उनी शारिरिकर मानसिक रूपमा गल्दै जान्छन्। एकदिन वृद्ध पण्डित बाबुले छोरो सरोजलाई दिदी खोज्न पठाउँछन्।

    सरोज जसरी दिदी खोजेर पिताजीको सामु ल्याउने वाचा गरेर हिँड्छ। उसले डाँडापाखा र गाउँगाउँ खोज्दै बल्ल दिदी करुणालाई भेट्टाउँछ। दिदीभाइ वर्षौंको विछोडपछिको सुखद मिलनले भावविह्‍वल हुन्छन्। सरोज आफ्नो वृद्ध पितासँग गरेको वाचा पूरा गर्दै दिदी र भाञ्जीलाई लिएर घर आइपुग्छ। वर्षौंदेखि खुसी हराएर निष्प्राण भएको परिवारमा जीवन भरिन्छ। वृद्ध बाबु भावविह्‍वल हुँदै छोरीको हात समाएर माफी मागेर आफू प्रायश्चित भएको अनुभूति गर्छन्। परिवारका सबैमा खुसी र आनन्दको अनुभूति हुन्छ। सबैभन्दा धेरै खुसी करुणा र करुणका पिता पण्डित नै हुन्छन्।

    तर, त्यो खुसी पाउलिन नपाउँदै अचानक अर्को पीडा थपिन्छ। सडक दुर्घटनामा परेर वृद्ध पिताको देहावसान हुन्छ। त्यो वियोगान्त क्षणबाट फेरि पनि सबैजना विस्तारै बाहिर निस्कन्छन्। घरमा वृद्ध आमा, करुणा, करुणाकी छोरी विजया, करुणाको भाइ सरोज र बुहारी मञ्जु छन्। त्यसैगरी, उनीहरूको दिन–चर्या चल्दा चल्दै विनयको वियोग र मिलनको प्रतीक्षामा पल–पल गुजारेकी करुणामा मानसिक विचलन आउन थाल्छ। विस्तारै मानिसहरूले उसलाई बहुलाईको उपनामले उपहास गर्न थाल्छन्। फेरि पनि करुणाकै कारण घरमा अर्को तनावपूर्ण अवस्थाको सिर्जना हुन्छ।

    फेरि पनि करुणा विनयसँगको मिलनको घडीलाई पर्खिरहेकी छ। करुणाको तपस्या पूरा गर्न जसरी पनि विनयलाई खोजेर ल्याउने वाचा गरेर केशर बिदा हुन्छ। एउटा आश्रम चलाएर बसेको, समाजसेवी आदर्श व्यक्ति केशर करुणाको दयनीय अवस्थाबाट पग्लिएर सल साथीको रूपमा उसलाई असहयोग गर्न तत्पर हुन्छ। आफ्नो वालेटमा विनयको फोटो बोकेर उसको खोजीमा केशर महिनौँ गाउँघर, डाँडा–पाखा चहार्छ। उता, करुणाको खोजीमा भौतारिएर खान–पिउन छाडेर महिनौँदेखि कपाल –दाह्री नकाटी हुलियानै फेरिएको विनयलाई बल्ल एउटा चौतारोमा केशरले फेला पार्छ।

    यता केशरसँग भेट र विनयको आगमनको सुखद कल्पनाले करुणाको जीवनमा पुनः नयाँ उत्साहको आरम्भ हुन्छ। उ पुन कलेज पढाउन थाल्छे। मोटरसाइकल कुदाउन थाल्छे। जीवनमा ऊर्जा भरिएको अनुभूति गर्छे। वर्षौं निराशामा विताएको जीवनलाई पुनर्ताजगी बनाउँदै उत्साहित हुन्छे। हरेक पल विनयको आगमनलाई कल्पँदै, छोरीको अनुहार हेर्दै, आफ्ना कुरा काट्नेहरूलाई बेवास्ता गर्दै ऊ आफ्नै खुसी र दुनियाँमा रमाउन थाल्छे।

    एकदिन अचानक कलेज गएकी करुणा घर फर्कन्न। बाटोमा गुडिरहेका हरेक गाडीलाई सडक छेउमा उभिएका एक वृद्धले हात उठाएर सहारा माग्दै हुन्छन्। त्यतिनै वेला फेरि एकपटक समाजसेवी केशरको त्यही सेतो कार ती वृद्धसामु रोकिन्छ। स्कुटर दुर्घटना भएर सडक छेउको नालीमा झरेकी रगतपक्ष युवतीलाई देखेर केशरले नाली बाहिर निकाल्छ। गाडीमा ल्याएको विनयलाई त्यही ओरालेर युवतीलाई अस्तालमा पुर्‍याउँछ।

    आइसियुमा राखेको युवतीको नाजुक अवस्था देखेर भाव विह्‍वल हुँदै आफ्नो रगत दिन तयार भएको केशरले वल्ल थाहा पाउँछ त्यो युवती नै करुणा हो। बल्लतल्ल खोजेर ल्याइपुर्‍याएको विनयले करुणाको अन्तिम धडकन मात्र भेट्टाउँछ। अर्धचेत अवस्थामा विनयको हातमा छोरी विजयालाई सुम्पँदै आशाको त्यान्द्रोमा अल्झिएकी करुणाले संघर्षमय जीवनबाट सदासदाका लागि बिदा लिन्छे। यसरी आशा, भरोसा, आत्मविश्वास र संघर्षमय जीवन व्यतित गर्दै निरन्तर अगाडि बढेको करुणाको जिन्दगीले अन्तिम विश्राम लिन्छ र वियोगमै कथाको अन्त्य हुन्छ।

    आजको स्वतन्त्रता त्यसै पाएको हैन। यो समाज आफै परिवर्तन भएको होइन। देशमा राजनीतिक परिवर्तन कति अपरिहार्य थियो भन्ने कथाले अनुभूति गराउँछ। वर्तमानमा  आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र मानव अधिकारका सवालमा,  शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका सन्दर्भ प्राप्त उपलब्त्धि र सुविधालाई आजभन्दा ३० वर्ष अगाडिको राजाको पञ्चायती शासन कालसँग तुलनात्मक अध्ययन गर्न एउटा आधार दस्तावेजका रूपमा पनि लिन सकिन्छ प्रस्तुत उपन्यास ‘झरेको पात’ लाई।

    समग्रमा कोशेली प्रकाशनबाट प्रकाशित यो उपन्यास सकारात्मक र परिवर्तनकामी छ। आशावादी छ। पाठकलाई समेत जीवन जिउने उत्साह र प्रेरणा दिएको छ। कथामा विविध खाले पात्रहरू समेटिएका छन्। स्वभावका दृष्टिले –असल, खराब, आदर्श, मिहिनेती, सदाचारी, दुराचारी, अपराधी, सहयोगी, ईष्यालु, शिक्षित, अशिक्षित। त्यसैगरी, लैंगिक दृष्टिले महिला पुरुष, उमेरका दृष्टिले बाल, वृद्ध, किशोर किशोरी, युवा, अधबैंसे सबै किसिमका छन्। जातीय सन्तुलन र समावेशीता छ।

    वर्गीय दृष्टिले प्रायः समाजका सबै वर्गहरू समेटिएका छन्। कथामा प्रस्तुत सबैजसो नारी पात्रहरू सकारात्मक, सचेत, सबल, मिहिनेती र सहयोगी चरित्रका देखिएका छन्। मनोविश्लेषणात्क पक्षबाट पनि सशक्त छ। उपन्यासकारले कथा वस्तुलाई अत्यन्त सचेत र सजग हुँदै यथास्थितिलाई अस्वीकार गर्दै अग्रगामी र प्रगतिशील धारमा अगाडि बढाएको देखिन्छ। यसरी हेर्दा यो प्रगतिशिल नारी चरित्र प्रधान उपन्यास पनि भन्न सकिन्छ।

कमला पराजुली

पराजुली सामाजिक न्याय र अधिकारका विषयमा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]