फिचर : फोटो फिचर

संरक्षणको अभावमा थला पर्दै गण्डक नहर
SHARES

भारतले पानी दिनै छाड्यो

साउन २३, २०७६

    पर्सा :  बारा र रौतहट जिल्लाको दक्षिणतर्फको ४७ हजार ५००ं हेक्टर जमिन सीञ्चित गर्ने लक्ष्यसहित निर्माण भएको गण्डक नहर पानीको भार बहन गर्न नसक्ने गरी जीर्ण बन्दै गएकोे छ। 

    मुलुकको सबैभन्दा लामो अर्थात ८१ किलोमिटर लम्बाई भएको सिंचाई नहर थला परेको छ। सामान्य टालटुल पारेर आधा जति मात्र पानीको भार बहन गर्दै आएको गण्डक नहरको व्यवस्थापन हेर्ने नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साले जनाएको छ।  

    गण्डक नहरमा व्यवस्थित रुपले पानी आइरहने हो भने पर्सा र बारा दुई जिल्लाको अनाज उत्पादनले मात्र थप ५ जिल्लालाई अन्न पुग्ने अपेक्षा कार्यालयको छ। स्वदेशमा नै उत्पादन बढाई अन्न आयात प्रतिस्थापन गर्ने लक्ष्य सहित निर्माण भएको गण्डक नहर संचालनको ४४ वर्षमा पनि यसको संरक्षणतर्फ कसैको ध्यान नपुगेको पर्सा बाराका किसानले गुनासो छ। ८५० क्यूसेक पानी बहने क्षमता भएको सबैभन्दा लामो सिंचाई नहर (गण्डक नहर) को जीर्ण अवस्थाले सबैलाई गिज्याइ रहेको उनीहरुको भनाइ छ ।  

    भारतमा पनि गण्डक नहरबाट सिंचाइ 

    नारायणी नदिमा ब्यारेज निर्माण भई नहरको मूल विन्दु भारतको विहार राज्यको बाल्मिकीनगरमा भई पूर्वी मुल नहर तर्फ भारतकै ( तिरहुत ) को दोनशाखा मार्फत पश्चिम चम्पारणको इनर्वा गाउँ हुँदै पर्सा जिल्ला स्थित जानकीटोलाबाट यो नहर नेपाल प्रवेश गरेको छ। २ हजार ५०० क्यूसेक क्षमताको ९२ कि.मि.लामो दोनशाखा नहरको अन्तिम विन्दुबाट नेपालको लागि ८५० क्यूसेक क्षमताको नहर विस्तार भई नेपाल तर्फ पनि यो नहर प्रणाली विकास गरिएको हो।

    संचालनमा आएको ४४ बर्षसम्म पनि भारतले सम्झौंता अनुसारको पानी भने नहरमा नछोडेको पाइएको छ। नहरमा सम्झौंता अनुसारको पानी भारतले नछोडेका कारण बारा र रौतहटको दक्षिणतर्फका पाँचवटा ब्लक अन्तर्गतको ९ हजार ५०० हेक्टर जमिन बाह्रै महिना नहरको पानीले सीञ्चित हुन नसकेको गण्डक नहरको व्यवस्थापन हेर्ने नेपालको नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साले जनाएको छ।

    यसको लागि यसै आर्थिक वर्षबाट बाराको जमुनी सिंचाई आयोजनाबाट आउने पानीलाई पनि गण्डक नहरमा जोडेर बारा र रौतहटको दक्षिण तर्फको साढे ९ हजार हेक्टर जमिनमा सिंचाइ पु¥याउने कार्यालयको लक्ष्य रहेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साका कार्यालय प्रमुख राजेन्द्र प्रसाद साहले थाहाखबरलाई बताए। गण्डक नहरको पानी नहरको पुछारका ५ वटा ब्लकमा आजसम्म पुगेकै छैन। ३७ हजार ४०० हेक्टर मात्र सिंचाई पुगेको कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुरशप्रसाद साहले बताए। चारदशक पार गरिसकेको यो नहरको दीर्घकालिन संचालनका लागि भने नेपालको केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले चासो राख्न ढिलो भइसकेको यस क्षेत्रका किसानहरुको तर्क छ। 

    नदीमा अण्डरग्राउण्ड  

    नहरको बाटोमा पर्ने नदिको मुनिबाट अण्डरग्राउण्ड गरेर समेत ल्याइएको यो नहर इन्जिनियरिङ्ग पढिसकेका विद्यार्थीहरुको लागि पनि नयाँ शिक्षा हुने नमूना योजना रहेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साका सूचना अधिकारी साहले बताए।  नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको पूर्वी नहरको उद्घाटन गरेको यो नहर राजतन्त्र भएकै समयमा निर्माण सम्पन्न भइ संचालनमा आएको हो।

    भारतले दिएन पानी 

    भारत सरकारले नेपालसँग पानी छोड्न गरेको सम्झौंता अनुसार वर्षमा २ पटक अर्थात धानबालीको समयमा बैशाख २७ गतेदेखि कार्तिक ८ गते ( मे १० देखि अक्टुवर २५ ) र गहुँ बालीको समयमा पुस १० गतेदेखि चैत ११ गते ( डिसेन्बर २५ देखि मार्च २५ ) सम्म पानी छोड्नु पर्ने नोपल भारत बीचको सम्झौतामा उल्लेख गरिएको छ।

    तर  भारतले समयमा पानी नछाडेको सूचना अधिकारी शाहको भनाइ छ। गतवर्ष भने ८२९ क्यूसेक पानी नेपाल भित्रिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयको तथ्यांकमा छ। अहिलेको धानबालीको लागि पनि भारतले गण्डक नहरमा गएको असार १४ गतेमात्र पहिलो दिन पानी छोडेको थियो। 

    त्यसको हप्तादिन वित्न नपाउँदै आएको बाडीले तराई नै डुवान हुँदा जीर्ण बन्दै गरेको नहरको व्लक नम्बर २, ५, ७, ८ र ९ को दर्जन बढि ठाउँमा क्षति पुगेको व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर साहले बताए। क्षति भएका ठाउँमा बोरामा बालुवा भरेर बाँसको भाटाले अड्याउने र अस्थायी रुपमा नहरमा पानी ल्याउनेभन्दा दिर्घकालिन कुनै योजना नभएको कार्यालयले जनाएको छ।

    वर्षातको पानीले सबैभन्दा बढि क्षति नहरको नेपालतर्फको प्रवेश विन्दुमा नै गर्ने गरेको उनको भनाइ छ। त्यहाँ भारत तर्फको इनर्वा बजार छेउबाट ओरिया नदिको पानी नेपाल तर्फ छछल्किएर नहरमा नै डोलिएर आउँदा नहरको भारबहन क्षमताले थेग्न नसकी नहर फुट्ने गरेको सूचना अधिकारी समेत रहेका साहले बताए। यो क्षेत्रमा नदिको बहाव नछल्किने गरी व्यवस्थापन गर्न भारतको काउण्टर पार्टसँग पटक–पटक अनुरोध गर्दा सुनुवाई नभएको नारायणी व्यवस्थापन सिंचाई कार्यालय पर्साले जनाएको छ।

    किन थला पर्‍यो नहर 

    नहरको स्थायित्वका लागि धेरै वटा समस्याको निरुपण गर्न जरुरी भएको नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साका प्रमुख राजेन्द्र प्रसाद साहले बताए। नहरको दुवै तर्फको डिल सुरक्षीत गर्न लगाइएको सीसौका रुख चोरी कटानी भई डिल उजाड भएको छ।

    त्यसैगरी हरेक वर्ष बाढीले नहरमा पुर्‍याउने क्षति, नहरको डिलमा बनाइएको सर्भिसरोड र पुलमा भारी गाडी संचालनबाट सृजित दयनीय अवस्था, सिंचाइ कार्यालयले नहरको अनुगमन र मर्मतका लागि हल्का सवारी चलाउन मिल्ने नहरका पुल र सडकमा उद्योग र व्यापारिक प्रतिष्ठानले संचालन गरेका भारी सवारीको चाप, नहरको अन्तिम सम्म पानी पुर्‍याउन जमुनी नदिको आयोजना पूर्ण गर्न अझै समय लाग्ने, नहरमा पानीको बहाव बहाउन प्रयोग हुने भूमिगत ट्यूववेलको कमजोर स्थिति र नहरको रेखदेखका लागि ५० वर्ष पहिले नियुक्त भई अवकास भएका फिल्डस्तरका कर्मचारी ढल्पा, चौकिदार र गेट अपरेटरलगायतको कमीले नहरको अवस्था हरेक दिन कमजोर बन्दै गएको कार्यालय प्रमुख साहको भनाइ छ। 

    समस्याको निरुपण 

    उक्त समस्या निरुपण गरी नहरको क्षमता मजबुत बनाउन ठोस नीतिसहितको बजेट विनियोजन हुन जरुरी रहेको व्यवस्थापन कार्यालयका प्रमुख साहले बताए। यसको अतिरिक्त यत्रो सिंचित क्षेत्रका लागि सधै पानीको लागि भारतको मात्र भर परिराख्न नपर्ने गरी नेपाल तर्फ पनि सिक्टा सिंचाइ आयोजनालाई पनि प्राथमिकतामा राखेर यताका अरु पनि नदिहरुको पानी नहरसम्म जोड्न सके सधैं भारतको मात्र भर पर्नु नपर्ने अवस्थाबाट उन्मुक्ति मिल्ने व्यवस्थापन कार्यालयका कर्मचारहरुले बताएका छन्। 

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]