विचार

किन बन्दैछौँ ‘आफन्तकै’ ज्यानको दुश्मन?

साउन २३, २०७६

    कर्म पत्रकारिता। धेरैजसोले ओछ्यान नछोड्दै बिहान सबेरै कार्यकक्ष पुग्नुपर्छ। ढोकाबाट भित्र पस्दा नपस्दै मोबाइलमा ‘टुङ टुङ’ गर्न थाल्छ, हाँडीमा विकासे मकैका फूल उठेझैँ। संस्थाको इमेल र आफ्नो फेसबुक खोल्दै गर्दा आशा हुन्छ, आज त अनलाइनमा नराम्रा समाचार ‘पोस्ट’ गर्न नपरोस्।

    रेडियोमा दुःखद समाचार सुनाउन नपरोस्। टेलिभिजन स्क्रिनमा ‘ब्लोर’ गरिएका दृश्य राख्न नपरोस्। कम्तीमा बिहानैचाहिँ दुर्घटना, मृत्यु  र हत्याजस्ता दुःखद समाचार नआऊन्।

    फेसबुक ग्रुपमा रिपोर्टर मित्रहरूको सूचना आएको हुन्छ, ‘हट न्यूज’ इमेलमा छ। फेसबुके सूचना शिरोपर गर्दै हतारहतार इमेल हेर्यो। शीर्षक हुन्छ, मादक पदार्थ ‘सेवन’ गरी छोराले बाबुको हत्या गरे। बिमाको रकम खान बाबुले गरे छोरीको हत्या। 

    नौ महिनासम्म पेटमा राखेर जन्माई, आफूले खाएर नखाएर अनेक कष्ट गरेर हुर्काइएकी छोरीले आफैँलाई सिध्याउलिन् भन्ने सपनामा पनि कसैले सोचेको हुन्छ र? गत महिना भक्तपुरको चाँगुनारायणमा छोरीले भाडाको हत्यारा लगाएर आमाको ज्यान लिइन्। विवाहित र एक सन्तानसमेत रहेकी छोरीको अवैध सम्बन्ध थाहा पाउनु उनका लागि यति महङ्गो सावित भयो।

    आफ्नो अवैध सम्बन्धको बाधक बनेको निहुँमा छोरीले आमालाई सिध्याइन्। ठूलो बुबा र ससुराको हत्या गरी फरार। साली भित्र्याउन पतिले गरे पत्नीको हत्या। प्रेमीसँग मिलेर पत्नीले गरिन् पतिको हत्या। बुहारी गरिन् सासुको हत्या। परिवार नै मिलेर बुहारीको हत्या...इत्यादि। अचेल हरेक दिनजसो यस्ता समाचार सुन्नुपर्ने–पढ्नुपर्ने अवस्था छ।

    अवैध सम्बन्ध थाहा पाउँदा हत्या

    पाँचथरमा दुई महिनाअघि एकजनाले ससुराली र साडुभाइका गरी ९ जनालाई सिध्याए र आफूले पनि आत्महत्या गरे। श्रीमतीसँगको सम्बन्धमा चिसोपनले उनले यत्रो महाभारत मच्चाएका थिए भन्छ, प्रहरीको अनुसन्धान। आमाभन्दा यो संसारमा ठूलो कोही हुँदैन। यो विश्वव्यापी सत्य हो।

    नौ महिनासम्म पेटमा राखेर जन्माई, आफूले खाएर नखाएर अनेक कष्ट गरेर हुर्काइएकी छोरीले आफैँलाई सिध्याउलिन् भन्ने सपनामा पनि कसैले सोचेको हुन्छ र? गत महिना भक्तपुरको चाँगुनारायणमा छोरीले भाडाको हत्यारा लगाएर आमाको ज्यान लिइन्। विवाहित र एक सन्तानसमेत रहेकी छोरीको अवैध सम्बन्ध थाहा पाउनु उनका लागि यति महङ्गो सावित भयो।

    यी त केही घटना भए। सुन्दै आङ सिरिङ्ङ बनाउने यस्ता समाचार अचेल नौला नलाग्ने भइसके। अन्यत्रबाट असुरक्षा हुँदा सुरक्षा दिने, आडभरोसा दिने परिवार र आफन्त नै हुन्छन्। अरुले चोट दिए मल्हम लगाउने परिवारका मानिस वा आफन्त नै हुन्छन्। तर परिवारभित्रै अविश्वासको वातावरण बन्नुलाई के भन्ने?

    नेपाली समाजमा केही समययता बढेका यस्ता घटनाले समाजशास्त्री र अपराध अनुसन्धान गर्ने प्रहरी प्रशासनलाई समेत चकित बनाएको छ, आखिर किन बन्दैछौँ हामी ‘आफ्नै’को ज्यानको दुश्मन? किन बढ्दैछन् आफ्नैको हत्याको घटना?

    केही समययता भएका यस्ता घटनाको विश्लेषण गर्ने हो भने परिवार आफ्नैको हत्या श्रृंखला बढ्नुमा यी कारण प्रमुख देखिन्छन्, बढ्दो आधुनिकता, पश्चिमाको अन्धानुकरण, जसरी भए पनि भौतिक सुखसुविधा भोग्ने लालसा, वैदेशिक रोजगार, सम्बन्धमा एकअर्काप्रति अविश्वास, अनैतिक सम्बन्ध र मादक पदार्थ।

    केही दशकयता मात्र पनि हाम्रो पारिवारिक संरचना कति दृढ थिए। श्रीमान्श्रीमती, बाबु आमा छोराछोरी दिदीभाइ दाजुबहिनी, दाजुभाइ आदिको सम्बन्ध कति मजबुत थियो। एउटै घर तीन पुस्ता अटाएको थियो। घरमूलीको नियन्त्रण परिवार निर्देशित हुन्थ्यो। मिलेर काम गर्ने, मिलेर खाने र मिलेर बस्ने संस्कृति थियो।

    गाह्रोसाह्रो पर्दा परिवारका सदस्य र आफन्तको भरथेग हुन्थ्यो। घरमा पाहुना आउँदा देवताझैँ महत्त्व दिइन्थ्यो। तर आज नातासम्बन्ध महत्त्व ओझेलमा पर्दै गएको छ। रगतको नाताभन्दा भावनाको नाता ठूलो भन्दै स्वार्थमा गाँसिने नाताहरूले महत्त्व पाउने गरेका कारण पनि आफ्नाहरूको सम्बन्ध महत्त्वहीन बन्न पुगेको हो।

    पैसाको बढ्दो लालसा

    बाबुआमाले छोराछोरीलाई दिनुपर्ने संस्कार दिन सकेका छैनन्। छोराछोरीले बाबुआमालाई गर्नुपर्ने कर्तव्यको ज्ञान हुन छाडिसकेको अवस्था छ। पश्चिमाको अनुकरण बढ्दै गर्दा सानोमा हुर्काउने, बढाउने र पढाउने बाबुआमा बोझ बन्न थालेका छन्। अरु नातासम्बन्धको कुरा त परै जाओस्, आफैँले जन्म दिएका छोराछोरीको विश्वास नहुने अवस्था आइसकेको छ। जुनीजुनी साथ बिताउने प्रतिज्ञा गरेका श्रीमान् श्रीमतीबीचको सम्बन्ध पनि विश्वासको कमी देखिन थालेको छ।

    भौतिक सुखसुविधा भोग्ने लालसा र पैसाभन्दा ठूलो यो संसारमा केही छैन भन्ने भ्रमले पनि आफ्नैको हत्यालाई बल मिलेको छ। बिमा रकम चाँडै खाने लोभमा गत महिना रौतहटमा एक बाबुले चार वर्षकी छोरीलाई मारेको घटनाले त्यो पुष्टि गर्दैन? चाँडै बाबुआमाको सम्पत्ति हात पार्न वा दाइजो नदिएको बहानामा श्रीमतीको हत्या गरेको घटना पनि प्रशस्त सुनिएका छन्। 

    राति अबेरसम्म खुल्ने भट्टीहरू नियन्त्रणमा प्रहरी प्रशासनले आँखा चिम्लिएको पाइन्छ। कतिपय ठाउँमा प्रहरीकै मिलेमतो पनि देखिन्छ। दिनभरि काम गरेको पैसा भट्टीमा सिध्याउने टन्न खाएर श्रीमती, छोराछोरी र आमाबाबुमाथि खनिनेहरू हाम्रो समाजमा छन्। मादक पदार्थ खाएर श्रीमान्ले श्रीमती र छोराले बाबुआमा मारेका थुप्रै घटना घटेका छन्।

    अचेल ‘यौन शरीरको आवश्यकता’ भन्ने हौवा फैलाइएको छ। हो यौन शरीरको आवश्यकता हो। सबै प्राणीमा यो हुन्छ। त्यो भन्दा बढी मानिसमा विवेक हुन्छ। नैतिक बन्धन पनि हुन्छ। त्यही नैतिक बन्धनले के कहाँ र कसरी गर्ने भन्ने तय गरेको हुन्छ। आवश्यकता भन्दैमा यसलाई जथाभावी प्रदर्शन गर्ने हो भने मानिस र पशुमा के फरक भयो! यौनलाई सर्वोपरि मान्दा आफन्त हत्याजस्तो जघन्य अपराधको घटना बढ्दो छ। श्रीमान् श्रीमतीभन्दा बाहिर सम्बन्ध राख्ने लालसाले यी घटनालाई बढावा दिइरहेका छन्। एकअर्काप्रति विश्वासको वातावरण नहुँदा ज्यान लिनेसम्मको घटना बढिरहेका छन्।

    अनैतिक सम्बन्ध र मादक पदार्थ समस्या

    केही दशकयता युवापुस्ता रोजगारका लागि विदेशिने क्रम बढेको छ। श्रीमान् श्रीमतीमध्ये एक विदेशिँदा यहाँ रहनेले जोड्ने अनैतिक सम्बन्धले पनि दुःखद परिणाम ल्याएको छ। शंकाको भरमा एकले अर्कालाई सिध्याएका अनेकोँ दृष्टान्त छन्। यहाँ कुरा सम्बन्धको मात्र नभई आर्थिक पक्ष पनि जोडिएको हुन्छ। विदेशमा कमाएको पैसा यहाँ आउँदा आफ्नो नरहेपछि कसको मथिङ्गल नखल्बिलिँदो होला? तीमध्ये केहीको परिणाम भयानक हुन्छ।

    राति अबेरसम्म खुल्ने भट्टीहरू नियन्त्रणमा प्रहरी प्रशासनले आँखा चिम्लिएको पाइन्छ। कतिपय ठाउँमा प्रहरीकै मिलेमतो पनि देखिन्छ। दिनभरि काम गरेको पैसा भट्टीमा सिध्याउने टन्न खाएर श्रीमती, छोराछोरी र आमाबाबुमाथि खनिनेहरू हाम्रो समाजमा छन्। मादक पदार्थ खाएर श्रीमान्ले श्रीमती र छोराले बाबुआमा मारेका थुप्रै घटना घटेका छन्।

    आफूभित्र खोजी गर्नुपर्ने खुशी हामी बाहिर खोज्दैछौँ। भित्र तनावग्रस्त भएर खोजिएको खुशीले कतिञ्जेल सुख देला! भौतिक विकास वा आर्थिक समृद्धि मात्र मानिसका लागि आवश्यक तत्त्व होइनन्। स्वतन्त्रताको नाममा अति छाडातन्त्र पनि समाज र देशकै लागि प्रत्युत्पादक हुन्छन्।

    समाज सुसंस्कृत बन्न व्यक्ति र परिवार नैतिकताको बन्धनमा बाँधिन आवश्यक हुन्छ। संघीय संरचनामा बनेका तीनै तहका सरकार, समाज र प्रत्येक व्यक्तिले गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको छ, हामी कता जाँदैछौँ? यी समस्याको निराकणतर्फ नलाग्ने हो भने नेपाली समाज अझै भयानक दलदलतर्फ जानेमा दुईमत छैन। अनि हामी पत्रकारहरू यस्तै समाचार लेख्न, पढ्न र ‘पोष्ट’ गर्न बाध्य भइरहने छौँ।

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]