अर्थ

स्थानीय सरकार विदेश घुमेको घुम्यै : अमेरिका र चीन जान होडबाजी

१६४ पदाधिकारीको १०२ पटक भ्रमण

साउन २८, २०७६

    काठमाडौं :  स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो छ। चालु आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले बताए।

    वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ। मन्त्रालयको स्वीकृतबिना वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ। सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन्। 

    काठमाडौं महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्गी अमेरिका र चीन भ्रमणमा गएका छन्। ललितपुरका प्रमुख महर्जन मङ्गोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अष्ट्रेलियाको भ्रमणमा गएका छन्।

    काठमाडौँका प्रमुख शाक्य अमेरिका गत भदौमा जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा गएका छन्। 

    उनी अमेरिका जाँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासहित सातजनाको टोली लिएर गत भदौमा गएका थिए। काठमाडौंका प्रमुख शाक्य भगिनीसम्बन्ध रहेको अमेरिकाको फ्रेडरिकवर्ग शहर र चीनतर्फ चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिजन्स् कन्फरेन्समा भाग लिन गएका हुन्। 

    यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गरेका छन्। उनले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गरेका हुन्।

    यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसकेका छन्। चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरिसकेका छन्। 

    सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी छन्। उनले जापान भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी थिए।

    वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत गएका थिए। 

    यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्‍न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ।

    सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१/२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिए।

    पोखराका प्रमुख जीसी गत वर्षको साउन १४ देखि १८ गतेसम्म गरेका वैदेशिक भ्रमणमा महानगरका पदाधिकारीसहित कर्मचारीसमेत गएका थिए।

    लमहीका प्रमुख चौधरीको तीन दिनको चीन भ्रमण टोलीमा अन्य स्थानीय तहका प्रमुख रहेका थिए। भ्रमणमा जानेमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ। भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया छन्। 

    स्थानीय तहका पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन्। मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका-२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका-२०७५ जारी गरेको छ।

    प्रवक्ता बरालले निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ। 

    'जथाभावी भ्रमणलाई हामीले रोक लगाएका छौँ, उनले भने, 'निर्देशिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेका छौँ।' 

    स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पुर्‍याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृति दिने उनले जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]