फिचर

आशाको केन्द्र बन्यो कर्णाली करिडोर
SHARES

सेनाको जिम्मापछि तीव्र गतिमा काम

भदौ २, २०७६

    कालिकोट : कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो। कर्णाली करिडोरको खुलालुदेखि बाजुरा धुलाचौरसम्म ८० किलोमिटर सडकखण्डमा सवारीसाधन चल्न थालेका छन्।

    कर्णाली करिडोरको ८० किलोमिटर सडकमा यातायातका साधन चल्न थालेपछि कालिकोटका सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिका ६० हजारभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् भने बाजुराका करिब ४० हजार जनसंख्या करिडोरको प्रत्यक्ष उपभोगमा छन्।

    नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुरोको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगायतका क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन्।

    करिडोर क्षेत्रका धेरै ठाउँमा बजार

    सडक नहुँदा विगतका दिनमा जितेगडा बजारसम्म आउने पिठ्युँमा भारी बोकेर आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही व्‍यापार व्‍यावसायमा संग्लन गरेको कालिकोट उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपानेले बताए।

    ‘करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रूपमा विकसित भएका छन्,’ उनले भने, ‘विगतमा पिठ्युँ भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दाहरू अहिले गाडीमा सरर घरमै पुग्ने गरेका छन्।’

    सेवामा खटिए ४० सवारी

    कर्णाली करिडोरको ८० किलो मिटर र रास्कोट नगरपालिकामा अहिले रारा कर्णाली यातायात प्रालि, बुलबुले यातायात प्रालि, बाजुराका बडिमालिका यातायात प्रालि लगायत कम्पनीका सवारीले यात्रुलाई सेवा दिने गरेका छन्।

    त्यस्तै, निजी मोटरसाइकल र अन्य यातायातका सेवाले स्थानीयको दैनिक पैदल हिँड्नुपर्ने दैनिकीलाई समेत परिवर्तन गरेको छ।

    करिडोरको निर्माण र यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले यातायातका साधन जिप र ट्रक किनेर व्‍यावसायिक रूपमा राम्रो आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बलमले बताए। ‘करिडोरमा यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले पनि सवारीसाधन किनेर व्‍यावसायिक रूपमा राम्रो आम्दानी लिएका छन्’ उनले भने, ‘करिडोरको निर्माणले मानिसलाई व्‍यावसायिक बन्न पनि सिकाएको छ। आम्दानी लिन पनि सिकाएको छ।’

    करिडोर खुलेपछि तरकारी खेती गर्ने बढे

    कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिसहरू अहिले तरकारी खेती गर्ने किसान बढ्दै गएका छन्। विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

    गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए। ‘विगतमा बारीमा तरकारी लगायो भने कसरी कता बेच्ने भन्ने चिन्ता हुन्थ्यो।’ उनले भने, ‘बारीछेउमै बजार बनेको छ। कता बेचौं भन्ने समस्या छैन।’

    आम्दानीको स्रोत बढ्दै

    विगतमा परिवार पाल्न खेती किसानमा मात्र गर्ने करिडोर क्षेत्रका स्थानीयबासीहरूले विभिन्न पेसा व्‍यवसायमार्फत आम्दानी लिन थालेका छन्।

    विगत कुनै पनि उपाय नभएका मानिसहरूले अहिले बजार क्षेत्रमा होटेल व्‍यवसाय अन्य व्‍यापार गर्न थालेको मानिसहरूको आम्दानीको स्रोत बढेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘अहिले करिडोर क्षेत्रमा होटेल लगायतका अन्य व्‍यापार व्यवसाय बढेको छ’ उनले भने, ‘मानिसहरूले अहिले राम्रो आम्दानी लिन थालेका छन्।’

    घर-जग्गाको मूल्य आकाशियो

    कर्णाली करिडोर क्षेत्रमा विगतमा सस्तो मूल्यमा बिक्री नहुने जग्गा अहिले भने निकै महँगोमा बिक्री हुने गरेको छ। करिडोर क्षेत्रमा पहलपहल बढेपछि व्‍यापार व्‍यवसाय गर्नका लागि पक्की घर बनाउन थालेपछि जग्गाको मूल्य बढेको हो।

    यहाँका घरजग्गा केही वर्षमा त किन्नै नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए। ‘विगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैनथे’ उनले भने, ‘अहिले यहाँ जग्गा किन्न मारामार हुने गरेको छ।’

    त्रिदेशीय नाका

    कर्णाली करिडोर अहिले त्रिदेशीय नाका पनि हो। चीन र भारतको त्रिदेशीय व्‍यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसका लागि लाइफलाइन नै भएकाले निर्माण कार्य सुरु भएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहलपहल बढेको कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए।

    ‘करिडोर त्रिदेशीय व्‍यापारिक केन्द्र बन्नेमा धेरैको आशा छ। कर्णालीका मानिसका लागि लाइफलाइन हो’ उनले भने, ‘त्यसले गर्दा अहिलेभन्दा आर्थिक चहलपहल आउँदा दिनमा बढी हुनेछ।’

    विगतमा कर्णालीमा कुनै सम्भावना नदेखेर तराईलगायतका क्षेत्रमा बसाइँ सराइ गर्नेले करिडोर क्षेत्रमा भावी संम्भावना देखेर जग्गा खरिद गर्ने गरेको कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए।

    ‘विगतमा कर्णालीमा सम्भावना नदेखेर अन्य क्षेत्रमा बसाइँ सराइ गरेकाहरूले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन्।’ उनले भने, ‘यसले गर्दा अब मानिसले कर्णालीको सम्भवना देख्न थाले।’

    सेनाको जिम्मापछि तीव्र गतिमा काम

    करिब ११ वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन।

    कामले तीव्रता नपाउँदा स्थानीयवासीले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘कर्णाली करिडोरमा ठेकेदारमार्फत करोडौं खर्च भयो।’ उनले भने, ‘अहिले नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीव्रता पाएको छ।’

    लालिघाटदेखि बाजुराको अर्थिङगे चौरसम्मको ६८.५ किमि सडकको ट्रयाक खुला हुने भएको छ। कर्णाली करिडोरको कालिकोट खण्ड ४० र बाजुरा सडकखण्डको ४३ किमि ट्रयाक ओपन गरी सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भएको नेपाली सेनाका कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए।

    ‘कर्णाली करिडोर कालिकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३.३४७ किमि गरी १९६.३४७ किमि रहेको छ’ उनले भने, ‘योमध्ये कालिकोट र बाजुरा सडक खण्डको निर्माणकार्य यसै वर्ष पूरा भई सञ्‍चालनमा ल्याएका छौँ।’ वि.सं २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो। शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो।

    कर्णालीमा पुल नबन्दा समस्या

    कर्णाली करिडोर अन्तर्गतको खुलालुमा रहेको पुल समयमै नबन्दा समस्या भएको छ। कर्णाली नदीको खुलालुमा पुल नबन्दा खुलालुदेखि लालीघाटसम्मको १ किलो मिटर ट्रयाक खुल्‍न सकेको छैन। पुल नबनेका कारणले अहिले जितेगडामा रहेको फेरीबाट सवारी साधनहरूलाई कर्णाली नदी वारपार गर्ने गरेका छन्।

    कर्णाली नदीमा पुल बन्न नसक्दा अहिले खुलालुदेखि लालीघाटसम्मको १ किलोमिटर चट्टानी भागलाई खोल्न समस्या भएको करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए।

    ‘खुलालुमा पक्की पुल नबन्दा समस्या भएको छ। हामीले १ किलोमिटर कडा चट्टानी भाग ओपन गर्ने हो भने त्यसको असरले झोलुङ्गे पुल र फेरी भत्किने सम्भावना छ’ उनले भने, ‘खुलालुमा रहेको पक्की पुल बन्यो भने एक महिनाभित्रै खुलालुदेखि लालीघाटसम्मको ट्रयाक चल्‍नेछ।’

    त्यस्तै, बाजुराको हिमाली गाउँपालिका पिलिचौरमा रहेको कोल्टी गाडमा पनि पक्की पुल नहुँदा समस्या भएको छ। वर्षायाममा यो गाडमा यातायातका साधन चल्न सक्दैनन्।

    करिडोरको लम्बाइ २२ किलोमिटर कम

    कर्णाली करिडोरको लम्बाइ २२ किलोमिटर घट्ने भएको छ। करिडोरको कालिकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलिसल्लासम्मको सडक निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले सडक निर्माणसँगै गरेको सर्वेको प्रतिवेदनमा करिडोरको लम्बाइ घटेको देखिएको हो।

    सडक विभागले गरेको सर्वे प्रतिवेदनमा उल्लेख भएको १४५ किलोमिटर सडकको लम्बाइ सेनाले निर्माणसँगै गरेको सर्वेमा २२ किलोमिटर लम्बाइ घटेको खुलालु, लैफु, कवाडी, दोमुख हुँदै सलिसल्ला सडक निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर मिलन कार्कीले बताए।

    ‘सडक विभागले गरेको सर्वेभन्दा हामीले काम गर्दा कम लम्बाइ सडक देखियो’ उनले भने, ‘हुम्ला खण्डको कवाडीबाट सलिसल्लासम्म यसअघि ६१ किलोमिटर रहेकोमा अब ३९ किलोमिटर हुने भएको छ। नेपाली सेनाले कालिकोट र बाजुरा जिल्लाको ८४ किलोमिटर सडक निर्माण गरेर सञ्‍चालनमा ल्याइसकेको छ।’

    यसअघि सडक विभागले उक्त करिडोरको हिल्साबाट जमुनासम्मको सडकको लम्बाइ ५३० किलो मिटर निर्धारण गरिएको थियो। अब घटेर ५०८ किलोमिटर निर्धारण हुनेछ।

रमेश रावल

रावल थाहा खबरका कालिकोट जिल्ला समाचारदाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]